कृषि क्रान्तिमा स्नातक युवा, पाए पनि जागिर नखाने अठोट

चैत १८, २०७३
रोल्पा, १८ चैत- हजारौँ युवा वर्षेनी बेरोजगार भएको बहानामा विदेश पलायन भइरहेको अवस्थामा पाछाबाङ–८, रोल्पाका २६ वर्षीय देवकुमार वलीले भने बरु स्वदेशमै कृषि कर्ममा लागेका छन् ।

चार वर्षदेखि जिल्लामै सबैभन्दा बढी करिब चारसय ५० बोट कागती खेती र दुई सय ६० बोट अनार खेती गर्दै आएका वली पाए पनि जागिर नखाने बताउँछन् । ‘पढ्नु भनेको चरित्र निर्माण गर्नु हो त्यसैले समयले साथ दियो भने स्नात्तकोत्तर पूरा गर्ने रहर छ,’ उनी भन्छन्, ‘तर अब योग्यता सुहाउँदो जागिर पाएपनि खाँदिन, बरु कृषि क्रान्ति गर्छु ।’

गत वर्षबाट कागती सुरु गरेका उनले पहिलो वर्ष २० हजार आम्दानी गरेको बताए । यद्यपी यस वर्ष आम्दानी दोब्बर भन्दा बढी हुने उनको विश्वास छ । ‘प्रत्येक वर्ष बिरुवा थप्दै गएर कागती खेतीबाट वार्षिक १० लाख कमाउने सोच छ,’ उनले आफ्नो योजना सुनाए ।

बाउबाजेको पालादेखि २० देखि ३५ घार मुढे मौरीपालन व्यवसाय सञ्चालन गर्दै आएको भएपनि मौरीपालन व्यवसाय निर्वाहमूखी मात्र बनेको थियो । तर यस वर्षदेखि सञ्चालन गरेको आधुनिक मौरीपालन व्यवसायबाट मात्र मासिक २० हजार देखि ३० हजार आम्दानी भएको उनले सुनाए ।

त्यसैले अब नयाँ प्रविधिको विकाससँगै नयाँ ज्ञान, नयाँ सोच र नयाँ चिन्तनबाट व्यवसाय सञ्चालन गरे उपलब्धिमूलक बन्ने उनको आशा छ । त्यसैले आफ्नो ब्यवसायलाई आधुनिकीकरण गर्दैै जाने उनले बताए ।

वलीले २१ वर्षको उमेरदेखि नै जागिरको अनुभव गरिसकेका थिए । २०६७ सालमा हरियाली प्रावि रोल्पामा अध्यापन गरेसँगै जागिरमा प्रवेश गरेका वलीले २०६९ सालदेखि ग्रामीण विकास तथा चेतना समाज (रुडास), रोल्पामार्फत सञ्चालित स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम (एलजिसिडिपी)मा करिब आठ महिना सामाजिक परिचालकका रुपमा पनि काम गरे । त्यसपछि पनि जागिरकै सिलसिलामा जिविस रोल्पाद्वारा सञ्चालित पश्चिम उच्च पहाडी गरिबी निवारण आयोजनामा करिब चार वर्ष सामाजिक परिचालकका रुपमा काम गरेको उनीसँग अनुभव छ ।

कार्यक्रमको अवधि सकिएपछि केही महिनाअघि उनी जागिरबाट बाहिरिएका थिए । जागिर खाँदा सीमित आम्दानी हुने र परनिर्भर बन्नुपर्ने बाध्यता भएपछि जागिर खाने सोचमा परिवर्तन आएको उनल बताए । संयुक्त परिवारमा रहेका वलीका भाइ भने वैदेशिक रोजगारीका लागि कोरिया पुगेका छन् । भाइ कोरियाबाट फर्किएपछि दुई दाजुभाइ नै कृषि क्षेत्रमा रमाउने उनको सोच छ ।

बोटबिरुवामा मल हाल्ने, गोड्ने, फल टिप्ने, मौरीको रेखदेख तथा संरक्षणमा परिवारको साथ भएपछि उनलाई यस क्षेत्रमा अझ उत्साह बढेको छ । तर मह काढ्न भने सबैले नजान्ने भएको हुँदा आफँैले मह काढ्दै आएको उनी बताउँछन् । चैत १८, २०७३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार