नेकपाको शपथ ग्रहणस्थलमा प्रहरीको लाठीचार्ज, केही कार्यकर्ता घाइते

सांकेतिक तश्वीर
भदौ २४, २०७६

जनकपुरधाम – जिल्ला कमिटी सदस्यको नामावलीमा सहमति नभई शपथ गराउन लागेपछि बढेको विवादले २ नम्बर प्रदेशस्थित महोत्तरीको बर्दिवासमा नेकपा कार्यकर्तामाथि प्रहरीले लाठीचार्ज गरेको छ ।

विवादित जिल्ला कमिटीको शपथ रोक्नुपर्ने माग गर्दै नेकपा कार्यकर्ता विरोधमा उत्रिएपछि प्रहरीले लाठीचार्ज गरेको हो ।


ADVERTISEMENT

नेकपा प्रदेश कमिटी अध्यक्ष प्रभू शाह र सचिव सुमन प्याकुरेलले सिरहा र सप्तरीका विवादित जिल्ला कमिटी सदस्यलाई शपथ गराउने तयारी गरेका थिए ।

विवाद समाधान नगरी प्रदेश कमिटीले बर्दिवास सेवा समितिको हलमा शपथ गराउन लागेको विरोधमा केही कार्यकर्ताले होहल्ला गर्दै कार्यक्रम बिथोल्न थालेपछि प्रहरीले लाठीचार्ज गरेको घटनास्थलमा रहेका नेकपाका एक केन्द्रीय सदस्यले नाम नखुलाउने शर्तमा बताए ।

विरोधमा उत्रिएका कार्यकर्ताले अध्यक्ष शाह र सचिव प्याकुरेलमाथि हातपात समेत गरेका थिए । प्रहरीको लाठीचार्जबाट नेकपा कार्यकर्ता घाइते भएका छन् ।

विरोधमा प्रदेश कमिटी सदस्य देवनाथ यादवको टाउको फुटेको र उनको बर्दिवास अस्पतालमा उपचार भइरहेको ती केन्द्रीय सदस्यले जनाएका छन् । शपथ ग्रहणस्थल तनावग्रस्त बनेको जनाइएको छ ।

भदौ २४, २०७६ मा प्रकाशित

अजय अनुरागी

अजय अनुरागी लोकान्तरका लागि प्रदेश नम्बर दुई प्रतिनिधि हुन् । 

लेखकबाट थप...

प्रतिक्रिया दिनुहोस