पाकिस्तानले एफएममार्फत सीमास्थित आतंकवादीहरूलाई सन्देश पठाइरहेको भारतको दाबी

भदौ २६, २०७६

काठमाडौं – पाकिस्तानले कश्मीरमा अशान्ति फैलाउनका लागि विभिन्न प्रयास गरिरहेको भारतीय सञ्चारमाध्यमहरूले दाबी गरेका छन् ।

टाइम्स अफ इन्डियामा प्रकाशित खबरअनुसार, भारतीय जासूसी निकायहरूले हालै केही कोड वर्डहरूको खुलासा गरेका छन् । त्यस्ता कोड वर्ड पाकिस्तानी सेना र आतंकवादी समूहहरूले जम्मु–कश्मीरमा रहेका आतंकवादीसँग सम्पर्क बनाउनका लागि उपयोग गरिरहेका छन् । हिंसा फैलाउने हिसाबमा सञ्चार भइरहेको सूत्रहरूको दाबी छ । 


ADVERTISEMENT

जानकारीका अनुसार, कोड वर्डहरू पाकिस्तानअधीनस्थ कश्मीरमा नियन्त्रणरेखा नजिक एफएम ट्रान्समिसनमार्फत पठाइन्छ । जैश–ए–मोहम्मदका लागि ६६/८८, लश्कर–ए–तैयबाका लागि ए३ र अल बद्रका लागि डी९ कोड राखिएको छ । 

संवाद पाकिस्तानको राष्ट्रगान कौमी तरानामार्फत गरिँदैछ । अगस्ट ५ मा भारत सरकारले अनुच्छेद ३७० खारेज गरेको एक हप्तापछि यस्तो संवाद थालिएको जानकारी छ । 

जानकारीमुताबिक, हाई फ्रिक्वेन्सी रेडियो स्टेसनले कौमी तराना बजाएर भारतमा नियन्त्रण रेखा नजिक संकेत पठाएको थियो । आतंकवादी संगठनका स्थानीय क्याडरहरूसँग संवाद गर्न यसको उपयोग गरिँदैछ । 

जासूसी सूत्रहरूले नियन्त्रण रेखानजिक पाकिस्तानको आतंकवादी शिविर फेरि सक्रिय भएको बताएका छन् । यसका साथै सातवटा लोन्चप्याड तयार पारिएको र २७५ आतंकवादीलाई सक्रिय बनाइएको छ । जम्मु–कश्मीरमा अशान्ति फैलाउनका लागि अफगान र पश्तून सैनिक तैनाथ गरिएको छ । टाइम्स अफ इन्डियाले आफूसँग यसको प्रमाण सहितको कागजात रहेको दाबी गरेको छ ।
 

भदौ २६, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस