कश्मीरको विषयमा आफूहरूलाई कसैले नपत्याएको पाकिस्तानी गृहमन्त्रीको गुनासो

भदौ २६, २०७६

काठमाडौं – पाकिस्तानका गृहमन्त्री एजाज अहमद शाहले कश्मीर मामिलामा संसारले पाकिस्तानलाई विश्वास नगरेको गुनासो गरेका छन् । विश्वमा पाकिस्तानको छवि गैरजिम्मेवार राष्ट्रका रूपमा बनेको उनले बताए । 

तर इमरान खान सरकारले प्रतिबन्धित आतंकवादी संगठनहरूमाथि कारवाही चलाइरहेको उनले दाबी गरे । 


ADVERTISEMENT

आतंकवादी संगठनहरू पाकिस्तानमा रहेको गृहमन्त्रीले स्वीकार गरे । अन्तर्राष्ट्रिय संगठनहरूले उक्त आतंकवादी संगठनहरूलाई प्रतिबन्ध लगाउने निर्णय गरेको विषयमा बोल्दै उनले तिनै आतंकवादी संगठनहरूले अफगानिस्तान युद्ध र कश्मीरमा अशान्ति फैलाउन सहभागी बनेको बताए । 

एक महिनाअघि पाकिस्तानका प्रधानमन्त्री इमरान खानले पनि ३० हजारदेखि ४० हजार आतंकवादीहरूले पाकिस्तानमा तालिम लिएको बताएका थिए । तिनै आतंकवादीले अफगानिस्तान र कश्मीरमा संघर्ष गरेका हुन् । 

पाकिस्तानले अनेकौं कोशिश गरिरहेको भए पनि संसारले भारतकै विश्वास गरिरहेको शाहले स्वीकार गरे । 

उनले भने, ‘कश्मीरका विषयमा हामी भनिरहेका छौं– त्यहाँ कर्फ्यु लगाइएको छ । मानिसहरूले औषधि पाएका छैनन् । मानिसहरू मारिएका छन् । तर संसारले हाम्रो विश्वास गरिरहेको छैन । संसारले हिन्दुस्तानको विश्वास गरिरहेको छ जबकि हामीहरू सत्य बोल्दैछौं । हाम्रो पक्षमा अन्तर्राष्ट्रिय माहौल बनाउन वर्षौं लाग्छ ।’

एजेन्सी
 

भदौ २६, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस