कर्णालीमा ६ जनामा डेंगुको संक्रमण, नडराउन प्रदेश अस्पतालको आग्रह

भदौ २६, २०७६

सुर्खेत – कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरस्थित प्रदेश अस्पतालमा ५ जना तथा स्थानीय माया मेडिकल हलमा १ जनामा डेंगुको संक्रमण भेटिएको छ ।

भदौ २१ गतेपछि सुर्खेतमा ६ जनामा डेंगु भेटिएको हो । यसअघि बराहताल गाउँपालिका–१ का यलिना पुलामीलाई भदौ २१ गते डेंगु लागेको प्रदेश अस्पतालले पुष्टि गरेको थियो ।


ADVERTISEMENT

त्यसपछि वीरेन्द्रनगर–६ का कृष्णा विक, ४ का उदय सुनार, भेरीगंगा–११ का लीला रिजाल, वीरेन्द्रनगरका शर्मिलादेवी न्यौपानेलाई डेंगुको संक्रमण देखिएको मेडिकल सुपरिन्टेन्डेन्ट तथा अस्पताल प्रमुख डा. डम्बर खड्काले बताए । उनका अनुसार थप १ जना माया मेडिकल हलमा डेंगुको उपचार गराइरहेका छन् । वीरेन्द्रनगरको यरिचोककी मीना रावतको मेडिकलमा उपचार भइरहेको छ ।

डेंगुबाट आत्तिनुपर्ने अवस्था छैन : डा. खड्का

मेसु डा. खड्काले डेंगुको उपचार सहजै हुने गरेको बताए । ‘अहिले जसरी डेंगुबारे जस्ता कुरा आएपनि डराउनुपर्ने अवस्था छैन । उपचार भइरहेको छ । उपचारपछि बिरामी घर फर्किरहेका छन्,’ उनले भने, ‘तर शुरूमा मेडिकलमा गई ज्वरोको औषधी लिने र त्यसले समस्या थप भएपछि मात्रै अस्पताल आउने क्रमले पैसा खर्च धेरै हुने गरेको छ । जहाँ डाक्टर छन्, त्यही गएर मात्रै उपचार लिन र दक्ष डाक्टरलाई मात्र चेकजाँच गर्न आवश्यक छ ।’

डेंगुबाट बच्न सबैभन्दा पहिले लामखुट्टेको टोकाइबाट जोगिनुपर्ने उनले बताए । ‘झुल लगाउनुहोस्, खाल्डाखुल्डी पुर्नुहोस् अनि कपडा शरीरभरि नै लगाउनुहोस्,’ उनले भने ।

भदौ २६, २०७६ मा प्रकाशित

शेरबहादुर थापा

थापा लोकान्तरकालागि कर्णाली प्रदेशका प्रतिनिधि हुन् ।

लेखकबाट थप...

प्रतिक्रिया दिनुहोस