प्रभू बैंकद्वारा सक्षम, वित्तीय पहुँच परियोजनासँग सम्झौता

भदौ २६, २०७६

काठमाडौं – प्रभू बैंक लिमिटेडले यूके एडको सक्षम, वित्तीय पहुँचसँग परियोजना सञ्चालन गर्नको लागि सम्झौता गरेको छ ।

परियोजना सक्षमको च्यालेन्ज फण्ड अन्तर्गत सञ्चालन गर्न लागिएको हो । 


ADVERTISEMENT

बिहीवार काठमाडौंमा एक कार्यक्रममा दुवै संस्थाका व्यवस्थापन तहका उच्च पदाधिकारी र पत्रकारमाझ प्रभू बैंक लिमिटेडका तर्पmबाट बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र सक्षमको तर्फबाट टीम लिडर निर्मल दाहालले सम्झौता पत्रमा हस्ताक्षर गरे ।

परियोजनाको मुख्य उद्देश्य दक्षिण कोरिया र भारतमा रहेका आप्रवासी नेपाली र भारतमा वैदेशिक रोजगारीमा गएका व्यक्तिका परिवारलाई विप्रेषणको सदुपयोग गरी सम्पत्तिको वृद्धि र संरक्षण गर्नको लागि वित्तीय पहुँच पुर्‍याउनु रहेको छ । 

कार्यक्रमलाई सम्बोधन गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले सम्झौताले आप्रवासमा रहेका व्यक्ति र तिनका परिवारको वित्तीय आवश्यकता पुरा गर्न उद्देश्यमूलक बचतका साथै अतिरिक्त वित्तीय सेवा (जस्तैः क्रेडिट, बीमा) र गैरवित्तीय सेवा जस्तैः वित्तीय शिक्षा र व्यवसाय विस्तार गर्न सम्पत्ति वृद्धि गर्ने प्याकेजको विकास गरी लक्षित वर्गलाई प्रदान गर्न सहयोग मिल्ने बताए ।

सक्षम, वित्तीय पहुँच नेपाल सरकार र यूके सरकारको सम्झौता अनुरुप यूके एडको आर्थिक सहयोगमा सञ्चालित कार्यक्रम हो । कार्यक्रम लुईस बर्जरले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थासँगको सहकार्यमा डीएफआईडीको लागि सञ्चालन गरेको कार्यक्रम हो ।

प्रभू बैंक लिमिटेड नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको इजाजत प्राप्त वित्तीय संस्था हो । यसले स्थापनको कयौं वर्ष पार गरिसकेको र सोको दौरान विभिन्न ७ वटा वित्तीय संस्थालाई समेटेर अघि बढिरहेको छ ।

बैंकले देशको सबै भौगोलिक क्षेत्रलाई समेट्ने गरी विभिन्न स्थानमा १९४ वटा शाखा, २९ वटा विस्तारित काउन्टर र १५२ वटा एटीएमको माध्यमद्वारा १० लाखभन्दा बढी व्यक्तिलाई वित्तीय सेवा प्रदान गरिरहेको छ । 

भदौ २६, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस