राजुमान तुलाधर : 'ए' डिभिजन लीगका घोडा

भदौ २८, २०७६

काठमाडौं– काठमाडौंको संकटा मन्दिर परिसरमा भेटिए- राजुमान तुलाधर (५४) । 

संकटामै जन्मे हुर्केका तुलाधर अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत छन् । उनले विमानस्थलमा काम गर्न थालेको २५ वर्ष भयो । तर उनको परिचय सरकारी जागिरेमा मात्रै सीमित छैन । उनी पुराना फूटबल खेलाडी पनि हुन् । उनले राष्ट्रिय टीमबाट विश्वकप क्लालिफायर खेले भने 'ए' डिभिजन लीगमा लामो समय बिताए ।


ADVERTISEMENT

संकटा 'ए' डिभिजन क्लब हो । २०७५ सालको शहिद स्मारक 'ए' डिभिजन लीगमा क्लबले दोस्रो स्थान हात पार्‍यो । लामो समय संकटाबाट व्यावसायिक फूटबल खेलेका तुलाधर क्लबको कार्यसमिति सदस्य पनि हुन् । 

*****
फूटबललाई नजोडी तुलाधरको परिवारको परिचय सानो हुन्छ, अर्थ रहँदैन । उनको फूटबल फूटबलमय छ । उनका बुवा पनि फूटबल खेलाडी हुन् । चार छोरामध्ये दुईले राष्ट्रिय टीममा स्थान बनाए भने एकले 'ए' डिभिजन लीग खेले । उनी भन्छन्, 'हाम्रो परिवार फूटबलमय थियो त्योबेलामा पनि । त्यसकै कारण परिवारका सदस्यहरूको फूटबलप्रति छुट्टै मोह छ अहिलेसम्म पनि ।'

तुलाधरको भनाइ मान्ने हो भने उनले बाल्यकाल बिताइरहँदा संकटा आसपासका क्षेत्रमा अहिले जस्तो घरहरू खचाखच थिएन । फूटबल खेल्ने स्पेसहरू हुन्थे । अझ उनले फूटबलका लागि कुनै अभाव भोग्नु परेन । 

किन त ? 
उनको जवाफ छ, 'हाम्रो घरका सबैले फूटबल मन पराउनुहुन्थ्यो/पराउनुहुन्छ । अझ बुवा पनि फूटबल खेलाडी नै हुनुहुन्थ्यो । दाइहरू रजत र ईश्वरमान पनि फूटबल खेलाडी, यस्तो अवस्थामा घरबाट फूटबलका लागि पूरा सपोर्ट भयो । बूट र बलको अभाव भएन । मोजाको बल बनाएर खेल्नुपर्ने अवस्था नै सिर्जना भएन भनौं न ।'

नेपाली फूटबलमा योगदान दिएका ईश्वरमान तुलाधरको निधन ट्रेनिङ गर्दागर्दै भएको उनले बताए । केही भावुक हुँदै उनी भन्छन्, 'चीन जानका लागि ट्रेनिङको क्रममा माइलो दाइ ईश्वरमान तुलाधर आर्मीको मैदानमा दुर्घटना भएर दिवंगत हुनुभयो । उहाँ मिडफिल्डमा एकदमै राम्रो प्लेयर हुनुहुन्थ्यो ।'

उनलाई फूटबल खेल्न सहज हुनुको कारण भनेको नजिकै टुँडिखेल हुनु पनि एक हो । 

दाइहरूसँगै टुँडिखेल खेल्न जाँदाजाँदा उनले फूटबल सिकिसकेका थिए । फूटबलमा शिल्प देखाउन सक्ने भइसकेका थिए ।

भन्छन्, 'एकदिन एन्फाले प्रिन्सेस कपका लागि ट्रेनिङ बोलाएको थियो । त्यसमा भाग लिएँ । मेरो खेलबाट एन्फाका सदस्यहरू प्रभावित भएछन् र टीममा परेँ । अनि सन् १९८३ मा प्रिन्सेस कपका लागि बैंकक गएँ । प्रिन्सेस कपमा अन्डर-१३ का खेलाडी थिए ।' 

*****
उनले नेपालको प्रतिनिधित्व गरेर जुनियर राष्ट्रिय टीमका लागि खेलिरहेका थिए । त्यसैबीच बंगलादेशमा साफ गेम हुने भयो । एन्फाले खेलाडी छनोट प्रक्रिया अघि बढायो ।

राष्ट्रिय टीमको अनुभव बाँड्दै उनी भन्छन्, 'त्यो समयमा भयंकर प्रतिस्पर्धा हुन्थ्यो । एन्फाले ट्रेनिङ बोलाएको थियो । त्यसबीचमा राम्रो खेलेको भन्दै कोचहरूले मलाई राष्ट्रिय टीमका लागि स्थान दिनुभयो ।' तर उनले बंगलादेशमा खेल्न पाएनन् । उनी सेटमै परेनन् । कारण खुलाउँछन् उनी, 'भर्खरै-भर्खरै टीममा परेको थिएँ । मभन्दा सिनियर दाइहरूले राम्रो खेलिरहनुभएको थियो । त्यसैले म सब्सटिच्यूटमै परेँ । त्यो प्रतियोगितामा नेपाल तेस्रो भएको थियो ।'

*****

कोरियामा भएको १९८८ को विश्वकप क्वालिफाइङमा उनी सेटमै परे । तर टीमले कुनै पनि गोल गर्न सकेन । भन्छन्, 'कोरिया टीम निकै बलियो थियो । नेपालले केही कुरामा पनि नभ्याउने खालेको टीम थियो कोरियाको । हामीले कोरियामा खेलेका कुनै पनि म्याचमा स्कोर गर्न सकेनौं ।' सन् १९९० पछि उनले घरेलु समस्याका कारण राष्ट्रिय टीममा आबद्धता जनाउन सकेनन् । 

त्यो गोल …
दशरथ रंगशालामा भएको एन्फा कपको सेमफाइनलमा आफूले हानेको गोल कहिल्यै पनि बिर्सन नसक्ने उनी बताउँछन् । 

'म नेशनल टीममा स्पीडी प्लेयर थिएँ । त्यसबेला राजु शाक्य डिफेन्डर थिए, उनले लङ बल हाने । मैले चिनियाँ खेलाडीहरूलाई पनि उछिनेर भ्याइदिएँ,' उनी सम्झन्छन्, 'अनि त्यो बललाई सेन्ट्रल लाइनको माथिबाट फ्लिक गरेँ । किप्परसँग म ठोक्किएँ । त्यो बल गोल भयो ।'

किप्परसँग ठोक्किएपछि आफू बेहोश भएको र उपचार समेत गर्नुपरेको उनको स्मरण छ । त्यसपछि अर्को गोलमा पनि उनले उमेश प्रधानलाई एसिस्ट गरे । 

*****

उनी लीग खेल्ने खेलाडीहरू मध्ये सबैभन्दा छिटो कुद्ने खेलाडीमा दरिन्थे रे । उनी सम्झन्छन्- मैले खेल्दै गर्दा जुनियर भाइहरूले भन्थे कि सबैभन्दा दुख दिने खेलाडी नै यही राजुमान हो । म नेशनल टीममा सबैभन्दा फास्ट प्लेयर थिएँ । मनाङबाट खेल्दा मलाई साथीहरूले 'घोडा' भनेर नाउँ दिएका थिए ।' लीगमा आफू धेरै पटक 'हाइ स्कोरर' भएको पनि उनले बताए । 

उनले संकटा क्लबका लागि जति गरे त्यो कुनै पैसाका लागि नगरेको उनको भनाइ छ । भन्छन्, 'संकटा क्लब आफ्नै क्लब हो । त्यसबाट खेल्दा मैले कहिल्यै पनि पैसा लिइनँ । आफ्नै टोलको क्लबका लागि सेवा गर्न पाउनु मेरो लागि ठूलो कुरा हो ।'

आफूले खेल्दै गर्दाको अवधिभर संकटा लीग विजेता र उपविजेता दुवै भएको उनले बताए । विंसं २०३९ सालमा संकटा पहिलो हुँदा आफू सबैभन्दा खुशी भएको उनी बताउँछन् ।

*****

उनले लीग खेल्दै गर्दा तत्कालीन शाही नेपाल वायुसेवा निगमले खेलकुदमा पनि भाग लिने गर्थ्यो । तर लीग भने खेल्दैन्थ्यो । उनी भन्छन्, ''ए' डिभिजन लीगबाहेक अन्य प्रतियोगिताहरूमा शानेवानि टीम पठाउँथ्यो । शानेवानिको फूटबलबाहेक ब्याटमिन्टन तथा अन्य गेमहरूको टीम बनाएको हुन्थ्यो ।' आफू सन् १९८५ मा उक्त टीममा परेको उनले सुनाए । 

लीगमा चम्कँदै गर्दा उनलाई वायुसेवाले टीममा पार्‍यो । 

त्यो टीम रहँदासम्म उनले शानेवानिबाट खेले । तर टीम केही वर्षपछि रद्ध हुने भयो । वायु सेवाले खेलाडीहरूको बिचल्ली हुने भन्दै योग्यता हुनेलाई लिखित परीक्षामा सहभागी गराएर निगमबाटै जागिर दियो ।

निगमको जागिरमा आबद्ध हुँदाको कुरा सम्झँदै उनी भन्छन्, 'म पास भएँ । अनि निगमको स्थायी जागिरे भएँ । अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत छु ।'

उनी अहिले पनि फूटबलमै रमाइरहेका छन् । शनिवार एन्फा एकेडेमीमा प्रशिक्षण पनि गराइरहेका छन् । भन्छन्, 'अरू दिन फुर्सद हुँदैन । त्यही एक दिन भएपनि फूटबलमा समय दिइरहेको छु ।'


 

भदौ २८, २०७६ मा प्रकाशित

प्रदिप अधिकारी

अधिकारी लोकान्तरका लागि मनोरञ्जन र खेलकुदमा कलम चलाउँछन् ।

लेखकबाट थप...

प्रतिक्रिया दिनुहोस