हङकङमा विरोध प्रदर्शन कायम रहेपछि विदेश पलायन गर्न खोज्ने बढे

भदौ २९, २०७६

काठमाडौं – हङकङमा तीन महिनाभन्दा बढी समयदेखि चलिरहेको विरोध प्रदर्शन थामिने कुनै संकेत नपाएपछि त्यहाँका स्थानीयहरू विदेश सर्न थालेका छन् । 

अर्को देशमा जानका लागि अनुमति माग्दै निवेदन दर्ता गर्नेहरूको संख्या बढ्दै गएको छ । 


ADVERTISEMENT

राहदानी बनाउनेहरू भीड बढेको छ । आप्रवासी एजेन्टहरू र संसारभरिका घरजग्गा व्यवसायीहरूसँग बुझ्दा हङकङबाट मानिस र पूँजीको पलायन बढ्ने संकेत देखाएको छ । 

हङकङमा फौजदारी मुद्दा चलिरहेका व्यक्तिलाई मुख्यभूमि चीनसमक्ष सुपूर्दगी गर्ने विधेयकको विरोध गर्दै शुरू भएको प्रदर्शन विधेयक फिर्ता लिइएपनि रोकिएको छैन । चीन पनि झुक्ने मूडमा नभएपछि विरोध लामै समय जाने निश्चित छ । 

लगातार विरोध प्रदर्शनका कारण हैरान भएका हङकङवासीहरू पलायनको मन बनाएर बसेका छन् । त्यसैले इम्मिग्रेसन सेमिनारहरूमा भीड बढ्न थालेको छ । 

मलेसिया, अस्ट्रेलिया र ताइवानमा स्थायी बसोबासका लागि हङकङबाट धेरै सूचना माग्ने काम भइरहेको बताइएको छ । मेल्बर्न र भ्यानकूभरमा समेत घरजग्गा व्यवसायीको फोन अहिले व्यस्त हुन थालेको छ । 

एक लगानीकर्ताले भने, ‘हङकङमा अनेकथरी अनिश्चितता छन् । ४०–५० वर्ष उमेरका मानिस आफ्ना बालबालिकाको भविष्यप्रति चिन्तित छन् । विकल्पका रूपमा हामीहरू अर्को देशमा बस्न चाहन्छौं ।’

हङकङमा यूनी इम्मिग्रेसन कन्सल्टेन्सीका सेल्स डाइरेक्टर पेगी लाउ भन्छन्, ‘आप्रवासका बारेमा बुझ्नेको संख्या निकै बढेको छ । जुन महिनामा विरोध प्रदर्शन शुरू भएदेखि अहिलेसम्म विदेश पलायन गर्नका लागि सोधपुछ गर्नेको संख्यामा सात गुणा वृद्धि भएको छ ।’

एजेन्सी

भदौ २९, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस