भारतविरुद्ध आणविक हतियार प्रयोग हुनसक्ने इमरान खानको संकेत

भदौ २९, २०७६

काठमाडौं – आणविक शक्तिसम्पन्न पाकिस्तानले भारतविरुद्धको परम्परागत युद्ध हारेमा जुनसुकै परिणाम आउनसक्ने पाकिस्तानी प्रधानमन्त्री इमरान खानले चेतावनी दिएका छन् । 

अल जजीरासँगको अन्तर्वार्तामा इमरान खानलाई ठूलै युद्ध भएमा पाकिस्तानले भारतलाई आणविक हतियार प्रहार गर्छ कि भनी प्रश्न सोधिएको थियो । तर उनले शुरूमा आणविक हतियार आफूले प्रहार नगर्ने बताए । 


ADVERTISEMENT

‘पाकिस्तानले कहिले पनि युद्ध शुरू गर्ने छैन । यसमा म प्रस्ट छु । म शान्तिवादी हुँ, युद्धविरोधी हुँ,’ उनले भने ।

तर आणविक शक्तिसम्पन्न दुई राज्यले परम्परागत युद्ध लडेमा त्यो आणविक युद्धमा गएर टुंगिने सम्भावना ज्यादा हुने उनले बताए । तर आणविक युद्धको कुरा सोच्न नसकिने भन्दा भन्दै पनि उनले भारतसँगको परम्परागत युद्ध हारेमा पाकिस्तानले के गर्न सक्छ भनी प्रस्ट सन्देश दिए । 

‘त्यसो नहोस् तर पाकिस्तानले परम्परागत युद्ध लडेर हार्न लागेमा अनि कुनै पनि देशले कि आत्मसमर्पण गर्ने कि स्वतन्त्रताका लागि मृत्युपर्यन्त लड्ने विकल्प रोज्नुपरेमा मलाई थाहा छ पाकिस्तानीहरू स्वतन्त्रताका लागि मृत्युपर्यन्त लड्नेछन्,’ इमरान खानले भने । 

त्यसैले आणविक शक्तिसम्पन्न देशले मृत्युपर्यन्त लडेमा त्यसको घातक परिणाम आउँछ ।

आरटीबाट

भदौ २९, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस