वाग्मती सफाइ महाअभियानमा विदेशी नागरिक

फाइल फोटो
असोज ४, २०७६

काठमाडौं – ६ वर्ष अघिदेखि शुरू भएको वाग्मती सफाइ महाअभियानमा विदेशी नागरिक पनि सहभागी भएका छन् ।

वाग्मती सफाइ महाअभियानको ३३२ औं हप्तामा त्रिपुरेश्वर र गुसिङ्गाल क्षेत्रमा आयोजना गरिएको कार्यक्रममा नेपाल नदी संरक्षण संस्थाको सक्रियतामा अमेरिका, क्यानडा र बंगलादेशका नागरिक सहभागी भएका हुन् । 


ADVERTISEMENT

नेपाल भ्रमण वर्ष २०२० सफल पार्न नेपालका नदी नाला सफा बनाउन अभियान चलिरहेको छ भन्ने सन्देश प्रवाह गर्न विदेशी नागरिकलाई सहभागी गराइएको संस्थाका अध्यक्ष मेघ आलेले बताए ।

सहभागी विदेशी नागरिकले केही वर्षअघि चर्चा गरिएजस्तो नदीमा फोहर नभेटिएकाले सफाइ अभियानलाई तीव्रता दिइ नदीमा स्वच्छ पानी प्रवाह गरउनुपर्ने बताएका थिए । उनीहरूले काठमाडौं स्वच्छ र सफा बन्दै गएको सन्देश लिएर जाने प्रतिबद्धता समेत व्यक्त गरेको अध्यक्ष आलेले सुनाए ।

सफाइमा २० संस्थाका ३५० भन्दाबढी अभियानकर्मी सहभागी भएका अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति सञ्चालक सदस्य माला खरेलले जानकारी दिइन् । शनिवारको सफाइबाट ५ मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा अधिकार सम्पन्न वाग्मती समितिका अध्यक्ष नरेन्द्रराज बस्नेत, पूर्व आयोजना प्रमुख आशीष घिमिरे, काठमाडौं महानगरपालिका–११ का अध्यक्ष हीरालाल तण्डुकार, ललितपुर महानगरपालिका–२ का अध्यक्ष राजेश महर्जनको पनि सक्रियता थियो । 

विक्रम संवत् २०७० जेठ ५ गतेदेखि शुरू भएको सफाइ अभियानले हाल देशव्यापीस्वरुप ग्रहण गरेको छ । हाल देशका १०५ भन्दा बढी स्थानमा सफाइ भइरहेको जनाइएको छ । यी सबै अभियान वाग्मती सफाइ महाअभियानबाट प्रभावित भई शुरू भएका हुन् ।

यसैक्रममा शनिवार चक्रपथको पश्चिम खण्ड बाफल, मीनभवनस्थित आलोकनगर, ललितपुरको गोदावरी खोला, वाग्मतीको सुन्दरीघाट, गुह्येश्वरीलगायत स्थानमा पनि सफाइ गरिएको जनाइएको छ । –पूर्णप्रसाद मिश्र/रासस

असोज ४, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस