अनुपम पर्वत शृंखलाको संवेदनशीलता : बिग्रँदो अवस्था रोक्न हिमालय ‘मिसन’

असोज ८, २०७६

विश्वमा हाम्रो जस्तो प्रकृतिले दिएको अद्भूत, अनुपम र मनोरम पर्वत शृंखलाको बरदान अन्यत्र कतै पाइँदैन । विश्वका १० वटा यस्ता उच्चतम् पर्वत शिखरमध्ये विश्वकै सर्वोच्च सगरमाथा लगायत ८ वटा उच्च शिखर नेपालमै रहेका छन् ।

हिमच्छादित यी पर्वत शिखर केवल मनोरम उच्च शिखर भएकाले पर्यटनको हिसाबले मात्रै सामान्य चर्चामा रहेको जस्तो लाग्छ तर ती सुन्दर र उच्च देखिने  शीखर यतिमै मात्र सीमित छैनन् ।


ADVERTISEMENT

बरु अझ महत्त्वपूर्ण कुरा त त्योभन्दा गम्भीर र अत्यन्तै सोचनीय पनि छ । जुन कुरा हाम्रो देश र यहाँको जनजीवनसँग अभिन्न रुपले गाँसिएको छ र हामी र हाम्रो प्रकृतिको अस्तित्वसँगै जोडिएको छ ।

अहिले हामी पर्यटन वर्ष २०२० को संघारमा छौं  । यो पर्यटन वर्षको सफलता मूलतः हाम्रा यी प्रकृतिका मनोरम हिम पर्वत शृंखलासँग सबैभन्दा बढी भर पर्दछ । किनभने नेपालको चूनौतिपूर्ण पर्वत शृंखलाको यो मनोरम र साहसिलो पर्वत आरोहण गर्न र  सुन्दरतामा रम्न नै मूलत पर्यटक आउने गर्दछन् तर यी हाम्रा पर्वत शृंखला केवल पर्वतारोहणका लागि मात्र सीमित छैनन् । तिनको हाम्रो लागि र खासगरी अझ बढी यो क्षेत्र वरिपरिका १८ देशका लागि समेत जनजीवनसँग अभिन्न रुपले गाँसिएको महत्त्वपूर्ण सम्बन्ध छ ।

पहिलो कुरा त यस क्षेत्रको भूगोलको आकार आफैंमा नै अत्यन्तै महत्त्वपूर्ण र अद्भूत छ । यसले गर्दा यस क्षेत्रका हरेक ठाउँलाई उच्चतम् सम्मान स्वरुप ‘देवता’कै निवास भनेर जनजीवनले मान्दै आएको छ । हुन पनि सूर्यको तापक्रमले बंगालको खाडी र अरब सागरबाट जुन वर्षादी बादल आकाशमा उठ्ने गर्दछन् । त्यसबाट आउने मनसुनी वर्षाको कारण यहीँ हिमालय पर्वत शृंखला हो ।

वास्तवमा भन्ने हो भने हाम्रो वार्षिक वर्षा हिमालयको ऋणी छ भने पनि कुनै अत्युक्ति हुँदैन । अनि हिमालयकै कारण नेपालमा अन्यत्र जस्तो शीतलहर पनि आउन पाउँदैन । हिमालयले गर्दा नै हाम्रो देशले मरुभूमिको समस्या पनि व्यहोर्नुपरेको छैन । यदि यो हिमालय यहाँ हुँदैनथ्यो भने हाम्रो प्राकृतिक स्थिति के कस्तो भयावह हुने थियो त्यसको कल्पना मात्र गर्न सकिन्छ । त्यसैले हाम्रो हिमालय केवल विश्वका सर्वोच्च पर्वत शृंखला भएर मात्र होइन, हाम्रो एउटा प्राकृतिक सुरक्षा कबज भएर पनि हाम्रो उत्तरमा उभिएको छ ।

अनि हाम्रा ठूला कर्णाली, गण्डकी, कोशी जस्ता नदी नालाको शीर पनि हिमालयसँगै गाँसिएको छ भने अरु तीभन्दा साना नदीनाला पनि वास्तवमा उत्तरमा यो हिमालय शृंखला भएकैले निःसृत भएर बगेका हुन् भन्ने कुरा बुझ्न सकिन्छ । अनि हिमालयका हिमतालको महत्त्व पनि त्यत्तिकै छ । यसरी हामीले मानिसको बसोबास, कृषि तथा वनस्पतिको उत्पादन र जीवजन्तुको प्राकृतिक घरको सुरक्षा र संरक्षण पनि यही हिमाली पर्वतका टाकुराकै कारण हुन पुगिरहेको कुरा बिर्सन बिल्कुलै मिल्दैन ।

अर्कोतिर खेतीका लागि उर्बरा माटोको स्रोत पनि यही हिमालय पर्वत माला बनेको छ । हाम्रो खेतीपाती, वनस्पति लहलहाउने एउटा प्रमुख र महत्त्वपूर्ण माटोको स्रोत पनि यही पर्वत माला नै बन्न पुगेको विज्ञले बताइरहेका छन् । भनिन्छ प्रत्येक वर्ष विभिन्न खनिजयुक्त १ हजार ९२० लाख टन जति उत्पादनशील माटो यही हिमालयबाट नेपालको बढीजसो भागमा र भारतमा समेत प्रबिष्ट गर्ने गर्दछ । त्यसै माटोमा खडा भएर हाम्रा बालीनाली लहलहाउने गरेका छन् । त्यसैले एकदमै प्रस्ट छ हिमालय हाम्रो मनोरम भौगोलिक भूभाग भएकाले हामीलाई प्रफूल्ल तुल्याउने दृश्यावली प्रदान गर्ने साधन मात्रै होइन, हाम्रो खाद्यान्न लगायतका कृषि तथा वनोपजलाई सुनिश्चितता प्रदान गर्ने र हाम्रो खाद्य सुरक्षालाई सुनिश्चितता दिने आधारभूत माध्यम पनि हो । यसरी एकदमै प्रस्ट छ कि यो हिमालयको कति ठूलो महत्त्व छ । संक्षेपमा मात्रै  त्यसले दिने उपकारको गणना र वर्णन गर्ने हो भने पनि एउटा ठूलै ग्रन्थ बन्न सक्छ । 

तर यति ठूलो महत्त्वको हाम्रो देशको गौरव र गरिमालाई उच्च उठाउने यो हाम्रो हिमाली शृंखलालाई हामीले उचित संरक्षण र सम्वद्र्धन गर्न यथेष्ठ ध्यान दिन सकिरहेका छैनौं । हुन पनि हिमालयलाई हामीले सामान्यरुपमा पर्वतारोही पर्यटकलाई देखाएर आम्दानी गर्ने स्रोत (सेतो डलर)को रुपमा मात्र हेर्ने गरेका त छौं तर त्यसका लागि पनि हिमालय क्षेत्रप्रति राष्ट्रिय योजनाको बृहत् प्रसङ्गमा कुनै छलफल, चिन्ता र चासो हालसम्म गम्भीररुपमा लिने गरेको पाइँदैन । यो प्रकृतिको अनुपम बरदानलाई कसरी संरक्षण गर्ने र यसको सदुपयोग सही किसिमले कसरी गर्ने भन्नेबारे आज अझ बढी व्यापकरुपमा राष्ट्रिय स्तरमा गम्भीर छलफल चलाउनु अत्यावश्यक देखिन्छ । यसबाट एउटा हिमालय ‘मिसन’ नै लिएर अघि बढ्नुपर्ने ज्वलन्त आवश्यकता रहेको विज्ञ बताउँछन् । 

खासगरी हिमालय क्षेत्रको पर्यावरण जोगाउन, वातावरणलाई सन्तुलित राख्न, बाढीपहिरो र सुख्खाबाट बच्न र तिनबाट कम क्षति मात्र पुग्ने स्थिति सिर्जना गर्नका निमित्त पनि ‘हिमालय मिसन’को बहुआयामिक प्रश्न हाम्रा अगाडि उपस्थित छ । किनकि ती हिमाली हिमनदी, हिमताल र हिमालय निःसृत हाम्रा नदीनालामा अवाञ्छित हस्तक्षेपकै  कारण अप्रत्याशित प्राकृतिक विपत्ति आउने गरेको कुरा पनि अध्ययनकर्ताले औंल्याउने गरेका छन् । 

हालसम्म हामीले हाम्रो जल संसाधनको पनि राष्ट्रिय हितमा उचित सदुपयोग गर्न सकेका र सिकेका छैनौं भने यी हिम शृंखलाबाट भएर बगेका नदीको पानीबाट प्राप्त गर्न सकिने ऊर्जा (विद्युत्), सिँचाइ आदि ऊर्जालाई पनि उत्पादनसँग जोड्ने नाममा जे–जे गर्दै आएका छौं । त्यसले गर्दा नै हिमालयदेखि बंगालको खाडीसम्म मनसुन बाढी र खडेरीको प्रकोपले ठूलो नोक्सानी गरिरहेको छ । त्यसैले जीवनदायिनी हिमालय क्षेत्रलाई प्रकृति र मानव–मैत्री किसिमले सदुपयोग र सुसञ्चालन गर्न सिक्नु र सक्नुपर्ने आवश्यकता पहिले कहिल्यैभन्दा बढी आज छ । किनभने आज विश्व नै जलवायु परिवर्तनको जुन समस्याले आक्रान्त छ । त्यसबाट जोगिन र प्रकृतिलाई सन्तुलित राख्न पनि हामीले यस सम्बन्धी विशेष योजना बनाएरै लाग्नुपर्ने स्थिति टड्कारो बनेको प्रतित हुन्छ ।

हालसम्म हिमालको उचाइ र पर्वतारोहणको रुपमा मात्र हामीले हिमालयलाई बुझ्ने र बुझाउने अल्पज्ञान मात्र लिन सक्यौं र अल्प अल्प सिक्यौं । हिमालयको पर्यावरणीय विज्ञानलाई बहुआयामिक किसिमले विशेष ध्यान दिन सकेनौं । यो हाम्रो अत्यन्तै ठूलो भूल र कमजोरी हो । अनि त्यसैले हामी अप्राकृतिक वर्षा, बाढी वा खडेरी झेल्न बर्सेनि बाध्य हुँदै गइरहेका छौं । अतः अब समय घर्किन नदिइकन हामीले हिमालयको महत्वलाई बुझौं । नभए यो अद्भूत पर्वत माला जुन हाम्रो देश र यस क्षेत्रकै देशका लागि ठूलो महत्त्वको प्राकृतिक बरदान बनेर रहेको छ, हाम्रै कारणले अर्थात् मानवीय कारणले त्यसले हाम्रो साथ छोड्ने स्थिति विकसित हुन्छ र भइरहेको छ ।

हुन पनि आज विश्वभर नै मानिसको जिद्दी र हठीपनाले जस्तो किसिमको प्रकृति–अमैत्री विकास शैली अपनाइएको छ, त्यसले गर्दा यो बरदानलाई ठूलो प्राकृतिक सम्पदाको रुपमा ग्रहण गर्न र त्यसको सही किसिमले संरक्षण गर्न सकिरहेको छैन । यो क्षेत्रका मानिस, पशुपन्छी र वनस्पतिका लागि पानी, माटो र हावाको व्यवस्था यो हिमालय पर्वतले नै गर्छ र यो हाम्रो जीवन र अस्मितासँग अभिन्न किसिमले गाँसिएको अत्यन्तै महत्त्वपूर्ण प्राकृतिक बरदान हो भन्ने कुरा राम्रोसँग मनन गरेर यसको संरक्षण गर्ने विशेष अल्पकालीन र दीर्घकालीन योजनाका साथ अघि बढ्नु आजको टड्कारो राष्ट्रिय आवश्यकता बनेको छ ।

मानिसले गर्न सक्ने र अनिवार्यरुपमा गर्नुपर्ने अंशको यो काम सही ढंगले नगर्ने हो भने यो बरदान विनाशको कारक बन्ने कुरा निश्चित छ । अनि अविरल जलस्रोत, खनिज र माटोको यो अत्यन्तै ठूलो महत्त्वको स्रोत पाएर पनि हामी गरीबीकै दुश्चक्रमा परिरहने कुरा पनि आजसम्मको अनुभवले प्रस्टै पारेको छ । यसलाई पर्यटन, पर्यावरण र प्रकृतिको अमूल्य बरदानको रुपमा हेरेर र लिएर अघि बढ्न बिलम्ब भइसकेको छ । आउँदै गरेको २०२० लाई पर्यटन वर्षको रुपमा हिमालय शृंखलाको अनुपम विषयमा विशेष ध्यान दिइयो भने मात्र यसको सार्थकता हुनेछ ।

असोज ८, २०७६ मा प्रकाशित

लोकनारायण सुवेदी

सुवेदी नेपाल कम्यूनिस्ट पार्टीका उपाध्यक्ष हुन् ।

लेखकबाट थप...

प्रतिक्रिया दिनुहोस