नेपालीको प्रतिव्यक्ति आय ५० हजार डलर पुर्‍याउने योजना मसँग छ : वामदेव गौतम

असोज १३, २०७६

शपथ भनेको एउटा संकल्प हो । मैले यसरी काम गर्ने छु, यसरी जानेछु, पढ्ने छु, यसको लक्ष्य प्राप्तिका लागि प्रतिबद्ध भएर लाग्नेछु भन्नको लागि हो । तपाईंहरू किसान महासंघको केन्द्रीय कमिटीको सदस्य बन्नुभएको छ । शपथ ग्रहण नगरेको व्यक्ति बैठकमा आउन पाउँदैन, यस्तो किसिमको कार्यक्रममा आउन पाउँदैन । शपथ ग्रहण गर्नैपर्छ । 

हामीले यो शपथ ग्रहण अनेकपटक गरियो होला भन्ने लाग्छ मलाई । पूर्व एमालेपट्टिको कतिपटक सम्मेलन भए, त्यसमा निरन्तर शपथ ग्रहण हुँदै आएको छ । पूर्व माओवादी तर्फको किसान महासंघका साथीहरूले पनि गर्नुभएको होला । आज हामीले दुईवटा किसान महासंघ विलिन भएर एकीकरण गरेर नयाँ किसान महासंघको नयाँ केन्द्रीय समिति बनाएका छौं, त्यसको शपथ ग्रहण गर्‍यौं ।


ADVERTISEMENT

यो कार्यक्रमका लागि पार्टीका दुवै अध्यक्षलाई निमन्त्रणा गरेको थिएँ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि मैले फोनबाटै टाइम लिएको हुँ, अर्का अध्यक्ष प्रचण्डलाई पनि फोन गरेरै टाइम लिएको हँु । उहाँले खुशी भएर भन्नु भो – यति महत्त्वपूर्ण काम छुटाउँदै छुटाउदिनँ । आउँछुभन्नु भएको थियो । मैले सिस्टम अवलोकन गर्न सकिनँ, उहाँका पीए र सचिवालयका सदस्यलाई भन्नुपर्ने रहेछ । प्रचण्डले बिर्सनुभएछ र यही समयमा अर्को कार्यक्रममा जानुभएछ । 

‘कार्यक्रम जुध्यो, आउन पाइनँ’ भनेर भन्नुभयो । सबै कुराको टीकाटिप्पणी हुन सक्छ, बिर्सने कुराको टीकाटिप्पणी हुँदैन, त्यो देवताको घरमा पनि माफी हुन्छ । जनताको घरमा पनि पाउने चलन छ, संसारको सृष्टि भएदेखि । हामीले यसलाई अन्यथा लिएनौं । उहाँले एकीकरणको महत्त्वलाई गम्भीर ढंगले लिनुभएको छ ।

झण्डै प्रधानमन्त्री पनि नआउनुभएको । उहाँले भन्नुभयो – म त आउन नपाउने भए । मैले भने कमरेड अर्को कमरेड अध्यक्षलाई बोलाएको अर्कै कार्यक्रममा पुगिसक्नुभयो, तपाईं कहाँ हो भन्दा कार्यक्रममा जानको लागि निस्के भन्नुभयो । मैले ‘खुरुखुरु यहाँ आउने । नमस्कार भन्ने । शुभकामना भनेर मात्र जानुभए हुन्छ’ भनेर भने ।

जति समय लिएर भाषण गर्न अनुमति दिनुभयो भने ३ घण्टा, ४ घण्टा बोलेका रेकर्ड छन् । आज शपथ हो पहिलो कार्यक्रम हो । किसान महासंघको ढाँचा धेरै पहिला बनाएको हो । निर्देशनको १५ दिनमै बनाएको हो । अब पनि ढिला गर्‍यौं भने गति बिग्रन्छ ।

अहिले नेकपा र नेकपा सरकारको विरुद्धमा के पाउन सकिन्छ सानोभन्दा सानो छिद्र, त्यो छिद्रबाट छिरेर ठूलो प्वाल बनाउने भयंकर सुरुङ बनाएर ‘जनतालाई कसरी भ्रममा पार्न सकिन्छ’ भनेर एकथरि लागिरहेका छन् । हामीले त्यसलाई रोक्न सक्ने तागत छ तर त्यसलाई हामीले संगठित गर्न सकिरहेका छैनौं ।

कांग्रेस अत्तालिएको छ, विरोधीले छिद्रलाई सुरुङ बनाइरहेका छन्

किसान महासंघले आफ्नो काम अगाडि बढाएन भने ६४ प्रतिशत क्षेत्रका जनताले कसरी थाहा पाउने ? नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बारे कसले जानकारी दिने ? पार्टी एकीकरण गरेर यति ठूलो काम गरेका छौं भनेर कसरी जानकारी लिने ? अहिले त बाहिर बाहिरबाट हाम्रा सदस्यले के थाहा पाउनुभएको छ खै ? नेपाली कांग्रेस आफूले सोचेभन्दा धेरै कम शक्तिका साथ संसदमा उपस्थित छ तर प्रमुख प्रतिपक्ष त हो । उ अत्तालिएको छ । ‘यस पटक संसदमा आइहालियो, अर्को पटक यति पनि हुन्न कि’ भनेर कांग्रेसले निहुँ खोजी–खोजी गर्नै नपर्ने विरोध पनि गरिरहेको छ । केही नभएपनि जति छ, त्यति संसदमा गएर उफ्रेपछि संसदको वेलमा गएर नारा लगाएपछि संसद त अवरुद्ध हुन्छ । विधेयक पारित हुँदैन, कुनै प्रस्ताव पारित हुँदैन । कांग्रेसले गरेका यो सबै गलत हो भनेर कसले भन्ने ?

हाम्रो संरचना नै खडा भएको छैन । पार्टीको एकीकरण गरेको यति समय भइसक्यो । हाम्रा संरचना तलसम्म निर्माण भएका छैनन् भने प्रतिवाद कसले गर्ने ?

सरकारले राम्रो–राम्रो काम गरेको छ कि नराम्रो काम गरेको छ कि भनेर समीक्षा गर्ने अवस्था नै रहेन । सरकारले गल्ती गरेको छ, नेताहरूले गलत काम गरेको छ भन्ने बाहेकको अवस्था अन्त्य गर्नुपर्छ भन्ने अठोटका साथ यो बैठक आयोजना गरेको हो । हामी धेरै आत्तियौं, बर्बाद भइरहेको छ, गलत सूचना गइरहेको छ तल–तल र अहिले नेकपा र नेकपा सरकारको विरुद्धमा के पाउन सकिन्छ सानोभन्दा सानो छिद्र, त्यो छिद्रबाट छिरेर ठूलो प्वाल बनाउने भयंकर सुरुङ बनाएर ‘जनतालाई कसरी भ्रममा पार्न सकिन्छ’ भनेर एकथरि लागिरहेका छन् । हामीले त्यसलाई रोक्न सक्ने तागत छ तर त्यसलाई हामीले संगठित गर्न सकिरहेका छैनौं ।  

पार्टी संगठनमा विशेषज्ञता हासिल गरेका २–४ जनामा म पर्छु । पार्टी फुटाएपछि मैले सजाय भोग्नुपर्‍यो । एमालेमा फर्केर आइसकेपछि संगठन विभागको ढोकामा पनि म कहिल्यै आउन पाइनँ । त्योभन्दा पहिले त सबभन्दा धेरै मैले नै पार्टी निर्माण गरेको, मैले संगठन विभाग लिँदा र म उपमहासचिव हुँदा ठूला–ठूला निर्णय भएका छन् र ठूला उपलब्धि हासिल भएका छन् ।

त्यस्तो अवस्थामा हामीले यो भेला आयोजना गरेका छौं, शपथ गर्‍यौं, यहीँ ठूलो उपलब्धि हो आज । केही औपचारिक किसिमका काम छन्, त्यसको बारे कमरेडहरूले भन्नुहुनेछ । पार्टीको एकीकरण पनि पार्टीका जनवर्गीय संगठनहरू, सामुदायिक संगठनहरू सबै एकतावद्ध हुनुपर्ने, एकीकरणमा जानुपर्ने भएकाले अरुले भन्दा चाँडो गर्नुपर्छ भनेर आज यो कार्यक्रम गर्‍यौ । 

वामदेव नै चाहिन्छ संगठन विभागमा भनेर म आएको छु 

यसबीचमा पार्टी एकीकरणका काम पूरा गर्ने मामिलामा केही अप्ठ्यारा आए । अहिले संगठन विभाग मेरो जिम्मामा आएको छ । मेरो लागि यो ठूलो जिम्मेवारी हो । किनभने म संगठनमा धेरै परिचालित भएको, पार्टी संगठनमा विशेषज्ञता हासिल गरेका २–४ जनामा म पर्छु । पार्टी फुटाएपछि मैले सजाय भोग्नुपर्‍यो । एमालेमा फर्केर आइसकेपछि संगठन विभागको ढोकामा पनि म कहिल्यै आउन पाइनँ । त्योभन्दा पहिले त सबभन्दा धेरै मैले नै पार्टी निर्माण गरेको, मैले संगठन विभाग लिँदा र म उपमहासचिव हुँदा ठूला–ठूला निर्णय भएका छन् र ठूला उपलब्धि हासिल भएका छन् ।

म एमालेमा फर्केपछि मलाई रोजाइएको थियो – किसान संघ लिने कि एनजीओ लिने ? एनजीओ बुझेको छैन भनेर किसान संघमा नेतृत्व लिएर बसेको हो । राम्रो काम गरे संगठन विभाग पाइन्छ कि भनेर आश गरें तर त्यो आश कहिल्यै पनि पूरा नहुने । मैले पार्टी सदस्यता दिएकाहरू संगठन विभाग प्रमुख हुन्छन्, त्योभन्दा माथिल्लो तहमा पुग्छन् तर मैले त्यो जिम्मेवारी नपाउने भयो ।

पार्टी एकीकरण भएपछि पुराना त्यस्ता दागसाग सिद्धिए । अब हामी सबै एक भएका छौं । वामदेव नै चाहिन्छ संगठन विभागमा भनेर म आएको छु । यो धेरै यसैमा मूल्यांकन हुन्छ भन्ने लागेको छ । ‘जसले ठीक किसिमले जिम्मेवारी पाएका छैनन्, उनीहरूले जिम्मेवारी पाउँछन्’ भन्ने कुराको शुरूवात हो मैले संगठन विभागको नेतृत्व पाएको भन्ने लागेको छ । मैले संगठन विभागमा रहेर कहीँ पनि अन्याय छिर्न नदिने, अन्याय छिर्न खोजे अवरोध पैदा गर्नेछु । त्यस हिसाबले मैले सोचेको छु ।

दुई वटामध्ये कुन भन्ने कुरा आएन । तपाईं संगठन विभाग प्रमुख पनि हुनुस्, यता पनि हुनुस् भन्ने कुरा आयो । काम कसरी सफल हुन्छ भन्ने कुरा गर्दा – महाभारतमा अर्जुनदृष्टि भन्ने एउटा कथा छ । तपाईंहरूले सुन्नुभएको छ भन्ने लाग्छ मलाई । नेपाली, संस्कृत र अंग्रेजीमा समेत लेखिएको छ । 

एकपटक द्रोणाचार्यले पाण्डव र कौरवलाई एक ठाउँ ल्याएर परीक्षा लिनुपर्‍यो भनेर भनेछन् । गुरुकूलमा पसेर प्रशिक्षित भइसकेपछि अरुलाई अरु किसिमले भने । गुरुले सोधे – ए भीम तिमीले के देख्यौं यहाँ अगाडि ? ‘मैले ठूलो आकाश, त्यो आकाशमा चराहरू उडिरहेका छन्, यहाँभित्र ठूलो मैदान छ, जंगल छ, सब देखिरहेको छु’ भनेर भीमले भने । अझ ध्यान देउ त भन्दा ‘त्योभन्दा बढी देख्नै सक्दिनँ गुरु, मैले त त्यहीँ देखेको छु’ भन्न थाले । 

अर्जुनको पालो आयो । गुरुले ‘अर्जुन तिमीले के देखेका छौ’ भने । मैले अगाडि सबै देखेको छु । अझै गहिरिएर भन्दा के देखेका छौ ? ‘मैले रुख देखेको छु’ । ‘ए अर्जुन तिमी रुखलाई अझै गहिरिएर हेर त’ भनेर भनियो । ‘रुखमा एउटा चरा देखें गुरु’ भनेर अर्जुनले भने । ‘अझ हेर त’ भन्दा ‘चराको आँखा देखें’ भनेर भने । 

गुरुले ‘ल वाण छाड त’ भने । ठ्याक्कै चराको आँखामा वाण लाग्यो । चरा भूइँमा खस्यो । उनले स्याबासी पाए । सय भाइ कौरब, ५ भाइ पाण्डवभन्दा अर्जुन श्रेष्ठ भए । यो श्रेष्ठता प्राप्त गर्नका लागि के गर्नुपर्दो रहेछ त भन्दा – काम त हजारौं किसिमका हुन्छन् नि ! तपाईंको वरिपरि यो पनि काम छ, घरबाट निस्किँदा अनेक–अनेक काम आउँदा, आफ्नो जिम्मेवारीमा पुग्दा साँझ पनि पर्न सक्छ । हाम्रा कतिपय काम त्यस्ता पनि छन्, घरबाट निस्कयो, कामसम्म पुग्दा यता त एउटाले तान्छ, पानी खान पर्‍यो भन्छ । सबैलाई खुशी बनाउँदै जाँदा आफूले गर्नुपर्ने ठाउँमा पुग्न सकिन्न ।

आजसम्म पार्टीले दिएको कुनै पनि जिम्मेवारीमा असफल भएको छैन

पार्टीमा हजारौं काममध्ये एउटा काम एकपटक गर्नुपर्छ, त्यसलाई सफलतामा पुर्‍याउनुपर्छ । त्यस्तो भएकाले मैले संगठन विभाग रोजेंं । मैले भने, ‘मैले काम गर्दा एउटा मात्र गर्छु । या त म किसान महासंघमा काम गर्छु या संगठन विभागमा । २ वटामध्ये एउटा ।’ दुवै ठाउँ लिनुको अर्थ म असफल हुनु हो । दुवै ठाउँमा जिम्मेवारी लिनुको अर्थ एकातिर असफल हुनु हो ।

‘कुन रोज्नु हुन्छ’ भन्दा मैले १८ वर्ष किसान महासंघमा बसेर, मैले ४ वर्ष अगाडि छाड्छु भन्दा साथीहरूले आएर कसैले हात र खुट्टा समाएर भनेकाले अध्यक्ष भएर बसेको न हो । धेरै भयो अब बस्दिनँ, नयाँ अनुहार आयो भने आकर्षक हुन्छ भने । यसपटक पनि मलाई बाध्य गरेको हो । दुवै अध्यक्ष र दुवै किसान महासंघका अध्यक्षले ‘तपाईं बसे हुन्छ, नत्र हुन्न’ भनेर भनेपछि २०–२५ दिन त त्यसको लागि समय लाग्यो । मैले के सोचेभन्दा किसान महासंघको इन्चार्ज हुनुभन्दा पार्टीको संगठन विभागको प्रमुख हुनु महत्त्वपूर्ण छ, किनकि मैले देखिरहेको छु – पार्टी त बनेकै छैन, संगठनै छैन । 

पार्टी अध्यक्षले फेरि इन्चार्ज लिनुपर्‍यो भन्नुभयो । मैले चाहेको थिइनँ । केही दिनपछि इन्चार्ज पनि सहइन्चार्ज पनि तपाई भनेर मैले छाडेर जानेवाला छु । म इन्चार्ज हुने मनस्थितिमा छैन, म एउटा काम दिएपछि पूरा गर्ने मान्छे । आजसम्म पार्टीले दिएको कुनैपनि जिम्मेवारीमा असफल भएको छैन । मेरो आलोचना बरु ‘बढी सफलता लियौ’ भनेर भन्ने हुन्छ । बढी सफलता लिँदा पनि आलोचना हुन्छ । तपाईंले बढी ल्यायौ कसरी हिफाजत गर्ने भन्ने हुन्छ । 

मैले प्रस्ताव के ल्याएको छु त भन्दा – हाम्रो देशको कृषि भूमि सबै सरकारी बनाउने अब । मेरो प्रस्ताव हो । राज्यको मातहतमा ल्याउने । अब नेपालको सबभन्दा पहिलो महत्त्वपूर्ण उत्पादनको साधन कृषि भूमि हो । यो कृषि भूमि राज्यको मातहत ल्याउन सकियो भने उत्पादनको साधन समाजवादी भयो । हामीले समाजवाद यहीँबाट शुरू गर्‍यौं । यसको निम्ति, उपाय सोचौं ।

किसान महासंघले किसानसँग सम्बन्धित विषयमा काम गर्दा–गर्दा किसान महासंघका सदस्यहरू एकप्रकारले वैज्ञानिक सरह हुनुभएको छ । नेपालको कृषिको सम्बन्धमा हामीलाई भन्दा उहाँलाई जानकारी छ भनेर हरिजी (हरि पराजुली)ले भन्नुभयो । सुनिलजी भएपनि हुन्छ । म ढुक्क भएको छु । तलदेखि माथिसम्म प्रशिक्षण चलाएर सबैलाई खुशी बनाएर म उतातिर लाग्छु । मेरो योजना यस्तो छ । त्यस ले पनि केही समय लाग्ला ।

किसान महासंघको एकीकरण कति महत्त्वपूर्ण छ भन्ने कुरा अघि कामरेडहरूले बताइसक्नुभएको छ । प्रधानमन्त्रीले पनि बताउनुभएको छ । मैले त्यसमा थप्न चाहन्छु । हाम्रो देशमा हाम्रो कृषि क्षेत्रको राष्ट्रिय आम्दानीमा पहिलो योगदान छ । त्यसपछि मात्र वैदेशिक रोजगारी गर्छ, उद्योगको त मात्र ६ प्रतिशत योगदान छ । हामी अगाडि बढ्दैछौं, देश अगाडि बढ्छ भन्नलाई उद्योगको उत्पादकत्व १ नम्बरमा रहनुपर्छ । औद्योगिक क्षेत्रको लगानी कति छ भन्ने कुराले राष्ट्रिय आम्दानी कति छ भन्ने कुराको निर्धारण हुन्छ । 

तपाईंले कृषि क्षेत्रको वृद्धि नगरी कुनै पनि क्षेत्रको उत्पादन वृद्धि गर्न सक्नुहुन्न । किन ? किनकि जनसंख्याको ६४ प्रतिशत संख्या कृषि क्षेत्रमा बसोबास गर्दछ । यो हाम्रो राष्ट्रिय बजार हो । हाम्रो देशमा जति पनि उत्पादन हुन्छ, संसारबाट जति चिजबिज आउँछन्, त्यसको बजार किसान हो । तर हाम्रो कृषि क्षेत्र यो बजार कति कमजोर छ भने किसानको गोजीमा पैसा छैन । बजार छ, देखाउनलाई छ यति धेरै । 

हाम्रो राष्ट्रिय बजार कति कमजोर छ भन्दा प्रतिव्यक्ति आम्दानी धेरै कमाउने र थोरै कमाउनको आम्दानी सरदर हेर्दा १३ सय हाराहारीमा पुगेको छ । किसानको आम्दानी कति छ ? ६५ प्रतिशत जनसंख्याको प्रतिव्यक्ति आम्दानी वार्षिक २ सय डलर पनि पुग्दैन । वैदेशिक रोजगारीमा लागेका व्यक्तिको घरमा पैसा छ, भ्यालु एड नगर्ने र अनुत्पादक क्षेत्रमा खर्च गर्ने पैसा नै हाम्रो देशको आम्दानीको रुपमा गणना भएको छ । 

यो कृषि क्षेत्रको विकास नभइकन, यहाँ बस्ने किसानको विकास नभइ देशको विकास हुँदैन । यति महत्त्वपूर्ण क्षेत्र यसलाई नेतृत्व गर्ने दुईवटा विशाल किसान संगठन र सशक्त किसान संगठनहरू हामीले एकीकरण गरेका छौं । यसको महत्त्व आगामी दिनमा अझ महत्त्वपूर्ण हुनेछ । यसले जति धेरै काम गर्न सक्नेछ, त्यति यसले सफलता प्राप्त गरेको हुनेछ, यसका नेताहरूले प्रमोसन हुन पाउने छन् । हाम्रो राजनीतिक प्रतिवेदनमा हाम्रो उद्देश्य प्राप्त गर्न सकेमा हाम्रो देश अगाडि बढ्छ । यति गर्न सकियो भने हाम्रो पार्टीले जस पाउँछ, सरकारले पनि जस पाउँछ ।

अब यसरी गर्ने नेपालको कृषि क्रान्ति

२००७ सालमा स्थापना भएको र प्रचारमा २००९ सालमा आएको किसान संघ किन अगाडि सारियो भन्दा जतिबेला ९८ प्रतिशत किसान थिए । २ प्रतिशत मात्र गैरकृषि क्षेत्रमा मानिस थिए । त्यस्तो किसिमको अवस्थाबाट हामी यहाँसम्म आइपुगेका थियौं । त्यो बेला किसान संघले के सिकायो भने जमिन्दारको जमिन कब्जा गर्ने र जसले जोत्छ त्यसलाई जमिनको मालिक बनाउने भन्ने नारा थियो । त्यो नारा अस्ति भर्खरसम्म चल्यो । आजभन्दा ८–९ वर्ष पहिलेसम्म हाम्रो नारा त्यही थियो – जमिन कस्को ? जोत्नेको । जसले जमिन जोत्छ, त्यो नै मालिक हुन पाउनुपर्छ । जसले जोत्दैन त्यो मालिक होइन । २००७ सालदेखि ९ सालसम्म जमिनदारी प्रथा थियो, त्यसमा काम गर्ने किसान या भूदास थिए या आधा समय काम गर्ने थिए । केही स्वतन्त्र किसान थिए । त्यो बेला जमिनदारको हातमा हजारौं रोपनी जमिन तर अधिकांश भूदास थिए । त्यसबेला हाम्रो किसानले नारा दियो, जमिनदारी प्रथा र भूदास प्रथालाई अन्त्य गर्छौं । जोताहा किसानलाई मालिक बनाउनुपर्छ भनेर हामीले नारा दिएका थियौं । 

आजभन्दा ९ वर्ष पहिले तत्कालीन एमालेको किसान महासंघले अध्ययन कार्यदल बनायो, नेपालमा जमिनको अवस्था के छ भन्नेबारे अध्ययन गर्न । त्यो कार्यदलले दिएको रिपोर्टमा नेपालमा अहिलेका जमिनदार भनेको ४ हेक्टर जमिन भएका मालिक छन्, त्यो भनेको ६ बिगाह । अब जमिनदार छैन, लुकाएर राखेका होलान् – उद्योग सञ्चालन गर्ने भनेर लिएका तर नगरेका केही छन् । उद्योगको रुपमा जमिन लिएकाबाहेक कुनै पनि ठाउँमा जमिनदारी जमिन छैन, त्यस्तो देखियो । ६ बिगाहा जमिन पाउने मानिस धेरै थोरै । १० कट्ठादेखि ३ बिगाह जमिन रहेका मध्यम किसान नै धेरै छन् ।

हाम्रो देश साना किसानको देश हो । भूमि यति खण्डित हुँदै गएको छ, त्यसका मालिक साना किसान हुन् । हामीले जतिसुकै कुरा गरेपनि व्यापकता पाउन सकेनौं । हामीले के कुरा अगाडि सार्‍यौं भने कृषिको व्यावसायिकीकरण गर्ने । किसानले प्राप्त गरेको धेरै थोरै जमिनमा उत्पादन गर्न लगाऔं । किसानसँग राम्रो बिउ र बजारको सुनिश्चितताका लागि आन्दोलन गर्ने कार्यक्रम चलायौं । यसअनुसार कृषि क्षेत्रको व्यावसायिकीकरणको लागि सरकारले प्याक्ट भन्ने कार्यक्रम पनि ल्यायो । हामीले पहिलो पटक खाद्य सम्प्रभूतालाई संविधानमा समावेश गर्न सफल भयौं, यो पनि हाम्रो आन्दोलनको सफलता हो । सारा संसारका किसानका नेताहरू आएर हामीले गरेको काम देखेर खुशी भए । 

३ करोड टुक्रा जमिनलाई जोड्ने सुत्र

अहिले व्यावसायिकीकरणको कुरा उठाइरहेका छौं, भइरहेको छैन । अहिले त स्थिति कस्तो भयो भने सूचना र सञ्चारको विकासले कृषि उत्पादन पनि डिजिटल युगमा प्रवेश गर्‍यो । डिजिटल युगमा कसरी गयो भने २–३ तले भवन बनायो, त्यो भवनमा माटो पनि चहिएन, गमला बनायो, बिरुवा रोप्यो, पाइपबाट लिक्वीड खाना फर्टिलाइजर पठायो, पानी त्यहीँ अनुसारको, घाम पनि त्यहीँ अनुसारको, ल्याएर फलाउन सकिने । ग्रीन हाउस बनाएपनि नबनाएपछि १ बिगाहालाई १० बिगाहा बनाउन सकिने भयो । १ बिगाहमा १० तला बनाउँदा १० बिगाह भयो । १ ठाउँ बसेर तपाईंले लगाएको बिरुवामा पानी पुगेको छ/छैन ? कम्प्युटरबाट कार्यक्रम बनाएर बिरुवामा सिँचाइ गर्नुपर्‍यो । झार गोड्न पनि परेन ।

सबै काम एउटा कम्प्युटरले २–४ जना बसेर हजारांै हेक्टरमा खेती गर्ने यन्त्रबाटै प्रशोधन गरेर बजार पठाउने काम शुरू भइसक्यो । यस्तो काम गर्नेलाई तपाईं कुन किसान भन्नुहुन्छ ? नेपालमा किन ३ करोड मानिस, जनसंख्या ६ करोड भएपनि हुन्छ, नेपालको खाद्यान्नले त्यो जनसंख्या पाल्न सक्छ । अहिले भएकोभन्दा कति बढी उत्पादन गर्न सक्ने हो ? १ जना विश्लेषकले के लेखे भने अहिलेको २० वर्षपछि नेपालमा बुढाबुढी मात्र हुने भए, १ सन्तान नीतिले । त्यो त सही हो, अहिले पनि प्रत्येकले २ जना जन्माउनु पर्‍यो, त्यसो गर्दा सायद बुढाबुढीको देश मात्र नहोला । यो विषय कृषिसँग जोडियो । कृषिबाट उत्पादन बढाउन सकिन्छ भन्ने उदाहरण यो दिएको हो । 

बेरोजगार कोही बस्नु परेन, एकातिर उद्योगमा लगानी भएको छ, अर्कोतर्फ वैज्ञानिक खेती शुरू गरेका हुन्छन् । यतिले मात्र पनि देशको कायाकल्प गर्न सक्छ, यस्ता कुरा दिमागमा कति छन् कति ! लागू गर्न पाए पो ! गर्नेले गर्दैन, नगर्नेले कुरा गरेर के गर्नु ? तर कुरा त सिक्नुपर्‍यो, भन्नुपर्‍यो, आवाज उठाउनुपर्‍यो नि !

अब किसान आन्दोलन कसरी बढाउनेभन्दा स्थिति कस्तो छ ? हाम्रो देशमा जनसंख्या ३ करोड छ । हामीसँग कृषि भूमि कति छ ? आजभन्दा ५–६ वर्ष पहिले हिसाब गर्दा २६ लाख हेक्टर जमिनमा कृषि उत्पादन हुन्छ । १ लाख ४७ हजार १ सय ८१ हजार वर्ग किलोमिटर अर्थात् १ करोड ४७ लाख हेक्टर जमिन हामीसँग छ । त्यसमध्ये हामीले २६ लाख हेक्टर जमिनमा कृषि उत्पादन गर्छौं तर त्यो जमिन अहिले ३ करोड टुक्रामा विभाजित भएको छ । हाम्रो किताबमा २ करोड ६४ लाख भन्ने छ तर भर्खरै भूमिसुधार मन्त्रीले एक कार्यक्रममा भन्नुभयो जमिनको टुक्रा ३ करोड पुग्यो भनेर ।

२६ लाख हेक्टर जमिन ३ करोड टुक्रामा विभाजित गर्दा कति पर्‍यो होला ? २ आना ४ आना यस्तै पर्ला, त्यस्तो छ । जमिन यसरी टुक्रा भयो । तपाईंले यस्तोमा खेती गर्दा कोदालोले कोतरेर गरे भयो तर तपाईंले कृषिको उत्पादकत्व वृद्धि नगरीकन थोरै जग्गामा धेरै उत्पादन नगरी आजको विश्व बजारमा आफ्नो उत्पादन बिक्री गर्न सक्नुहुन्न । किनकि जहाँ सस्तो छ र गुणस्तरीय छ, त्यही जान्छ ग्राहक । यो नेपालको भन्दैमा किन्दैन । एकछाक त खाला तर त्योभन्दा सस्तो कहाँ छ, त्यहाँ जान्छ ग्राहक । 

आजको विश्व बजार व्यवस्था, विश्वको उत्पादनसँग दाताम्य नगरे हामी टिक्न सक्दैनौं । त्यो गर्नको लागि मशिनको प्रयोग गर्नुपर्छ । तराईतिर आली, मेडी आठोमा बाँधिएको जमिन कति होला ? २६ लाख जमिनलाई ३ करोड टुक्रा बनाउँदा ६–७ लाख हेक्टर  त आठो या आलीमा गएको होला । त्यो आठोले गर्दा आधुनिक प्रविधि प्रयोग गर्न नपाउँदा न्यून स्तरको उत्पादन गर्न परिराखेको छ । त्यसो भएर अबको कृषि क्रान्ति भनेको आजसम्मको यो व्यवस्थालाई अन्त्य गर्ने । कृषि योग्य जमिनलाई टुक्रा बनाउने व्यवस्थाको अन्त्य गरिदिने, त्यसको लागि हामीले क्रान्ति गर्नुपर्छ, आन्दोलन गर्नुपर्छ । कि ३ करोड टुक्रालाई समाप्त गरेर लाखमा ल्याउनुपर्छ, २–४ लाखमा झार्ने । ३ करोड टुक्रा समाप्त गरेर १० लाख टुक्राभन्दा बढी हुन नदिने । त्यस्तो गर्दा कम्तिमा २ हेक्टरको एउटा ब्लक बनाउन सकिन्छ ।

खेती नै गर्न नसक्ने भइयो, खेती नभएपछि बाटो पुर्‍याएर घर बनाउन सक्छ । सधैभरि विदेशबाट आएको खाना खानुपर्ने । मशिन प्रयोग नगरे सस्तो उत्पादन गर्न सक्नुहुन्न र संसारको बजारमा प्रतिस्पर्धा गर्न सक्नु हुन्न । सजिलो कुरा चक्लाबन्दी गरौं भन्ने छ, भन्न सजिलो छ । चक्लाबन्दी कसरी गर्ने ? ३ करोड टुक्रामा विभाजित भएको छ ।

५ वर्षअघिको तथ्यांकमा मालिकहरू ३३ लाख व्यक्तिहरू छन् । अहिले कमसेकम ४० लाख पुगेका होलान् । यस्तो छ अवस्था । यो अवस्थालाई अन्त्य गर्नको लागि व्यवहारमा जाँदा समस्या आउँछ । पहिलो त चक्लाबन्दी गरेर उत्पादन बढाउँछौं र किसानलाई धनी बनाउँछौं भनेर किसानलाई विश्वास दिलाउन सकिन्न । किनकि कृषि क्षेत्रको काम गर्ने सबै कि खाडी या मलेसिया छ । त्यहाँबाट आएको पैसाले देश चलाएका छौं । यो जमिनबाट खान नपुग्ने भएकाले काम गर्न सक्ने युवाहरू विदेशमा छन् । 

देशको सबै कृषि भूमि सरकारी बनाउने

हामीले एउटा शिक्षा यो दिनुपर्‍यो कि – हामीले यो गरिरहेका छौं, कृषि क्षेत्रमा नयाँ ढंगले खेती गरेर सबैलाई रोजगारी दिन्छौं भनेर सरकारले ठोकुवा गरेर भन्न सक्नुपर्‍यो । त्यसको निम्ति मैले प्रस्ताव राखेको र अरु साथीहरूले ढुकचुक ढुकचुक ढंगले समर्थन गरेका छन् । 

मैले प्रस्ताव के ल्याएको छु त भन्दा – हाम्रो देशको कृषि भूमि सबै सरकारी बनाउने अब । मेरो प्रस्ताव हो । राज्यको मातहतमा ल्याउने । अब नेपालको सबभन्दा पहिलो महत्त्वपूर्ण उत्पादनको साधन कृषि भूमि हो । यो कृषि भूमि राज्यको मातहत ल्याउन सकियो भने उत्पादनको साधन समाजवादी भयो । हामीले समाजवाद यहीँबाट शुरू गर्‍यौं । यसको निम्ति, उपाय सोचौं । 

पहिले जस्तो जमिनदारको जमिन खोसेर ल्याउन त सरकारले पनि सक्दैन । अहिले कृषि भूमि जनताको सम्पत्ति भएको छ । सम्पत्ति कसरी भएको छ भने देश विदेशमा काम गरेर जम्मा गरेको पैसाले जग्गाको टुक्रा किनेका छन्, त्यो सरकारी सम्पत्ति हो । सम्पत्ति कसरी त, अरु ठाउँबाट आम्दानी छैन । जमिन किनेर राख्यो भने खेतीपाती नगरेपनि पैसा आउँछ भनेर सबै पैसा लगाएको छ । विना मुआब्जा अर्काको सम्पत्ति लिन मिल्दैन, त्यो अन्याय हुन्छ, नेपालको संविधानले त्यो गर्न अनुमति दिन्न ।

त्यसो भएर सरकारले किन्नुपर्छ, मैले सरकारले किन्न पर्छ भन्दा विद्वानहरूले त्यत्रो पैसा कहाँ छ ? भनेर प्रश्न गरे । हुन पनि २६ लाख हेक्टर जमिन किन्दा कति लाग्ला ? १ हेक्टर जमिनलाई २० लाख पर्‍यो भने २० लाख गुणा २६ लाख गर्दा कति हुन्छ ? त्यति त चाहियो । त्यति पैसा कहाँ छ सरकारसँग ? यदि सरकारले जमिन किन्यो भने त्यो २ सय ६० खर्ब रुपैयाँ सरकारकै त भयो नि ! सरकारले किनेर आफ्नो बनाएको छ भने त्यो सुन सरह त भयो नि ! सरकारसँग भएको बैंक ग्यारेन्टी दिन्छ, त्यो नोट बराबर हुन्छ । अहिले पनि हाम्रो देशमा जम्मा ५ खर्बका नोट छन् । वर्षमा अहिले झण्डै ७० खर्ब नेपाली रुपैयाँको कारोबार हुन्छ । पैसा यताउति घुमेको छ । 

सरकारले २ सय ६० खर्ब नेपालबाटै उठाउन सक्छ

५ खर्बले ६६ खर्बको काम गर्न सक्छ भने ५ खर्बको ठाउँमा ३० खर्ब पैसा जारी गरिदिनुभयो भने तपाईंको २ सय ६० खर्बलाई परिचालन गर्न सक्छ । अब सबै क्षेत्रमा धेरै काम गर्नुपर्छ । किनकि सरकारसँग २ सय ६० खर्ब हुन्छ । हाम्रो देशभित्र गरिने कारोबारका लागि हामी त्यति गर्न सक्छौं । यति काम गर्दैछौं भने हामीले केही डलर ऋण लिन्छौं । हामीले १ हजार ठाउँमा काम शुरू गर्‍यौं भने यो किसानको पैसा हो नोक्सान हुँदैन भन्ने जब त्यो स्थापित हुन्छ, सामूहिक या व्यक्तिगत रुपमा चलाउने त्यो उनीहरूलाई छाडदिने । व्यक्तिलाई नदिने, सामूहिक रुपमा दिने । कोही नेपालीले ५० हजार हेक्टरका काम गरेर रोजगारी सिर्जना गर्छ भने उसलाई केही वर्षसम्म सरकारी जमिन लिजमा दिन सकिन्छ । धेरै आम्दानी हुन्छ भने ५० वर्षलाई दिन सकिन्छ । राज्यले नै नमूना कृषि फर्म शुरू गर्छ । नेपालका कृषि फार्म पर्यटन क्षेत्र बन्छन् । 

मल कारखाना आफैं बनाउँछौं, माटोको शुद्धीकरण हामी आफैं गर्छौं र हामीले उत्पादकत्व वृद्धिका लागि मशिन प्रयोग गर्छौं । अमेरिका चीनभन्दा ठूलो छ । भूभागका हिसाबले रुस ठूलो छ । त्यसपछि क्यानडा, त्यसपछि अमेरिका, चीन, ब्राजिल, अस्ट्रेलिया र भारत पर्छ । अमेरिकामा अहिले ३६–३७ करोड जनसंख्या बसोबास गर्छन् र त्यहाँ कृषि उत्पादन कति हुन्छ भने अमेरिकी जनतालाई खान पुगेर त्यसको १० गुणा बढी उत्पादन हुन्छ । जनसंख्या २ प्रतिशत मात्र लागेको छ । उत्पादन भनेको झण्डै १ अर्ब मानिसलाई पुग्ने उत्पादन गरेको छ ।

देशको कायाकल्प गर्ने कुरा दिमागमा कति छन् कति !

त्यति थोरै मानिसको संलग्नतामा उत्पादन गर्न सकियो भने हाम्रो देशको ६५ प्रतिशत कृषिको संख्या १० प्रतिशतमा झर्छ । हाम्रो देशको २६ लाख हेक्टर जमिनको उत्पादन शुरू हुनेछ । झन् विकसित हुँदै गएमा २–३ प्रतिशतले उत्पादन गरेपनि हुन्छ र एउटा ठूलो क्षेत्र २ सय ६० खर्ब रुपैयाँ निजी क्षेत्रको लगानी हुन्छ । उत्पादक सामूहिक रुपमा हुन्छ ।

बेरोजगार कोही बस्नु परेन, एकातिर उद्योगमा लगानी भएको छ, अर्कोतर्फ वैज्ञानिक खेती शुरू गरेका हुन्छन् । यतिले मात्र पनि देशको कायाकल्प गर्न सक्छ, यस्ता कुरा दिमागमा कति छन् कति ! लागू गर्न पाए पो ! गर्नेले गर्दैन, नगर्नेले कुरा गरेर के गर्नु ? तर कुरा त सिक्नुपर्‍यो, भन्नुपर्‍यो, आवाज उठाउनुपर्‍यो नि !

३१ लाख हेक्टर जमिन निजी क्षेत्रमा छ । त्यो बाहेकको सबै जमिन सरकारी हो । ३१ लाख जमिन निजी सम्पत्ति अचल छ, चल बनाउनुपर्‍यो, निष्क्रियलाई सक्रिय बनाउँदा राज्यसँग २ सय ६० खर्ब हुन्छ । त्यसपछि राज्यले कहाँ–कहाँ लगानी गर्ने ? यो सबै कसले गर्न सक्छ भन्ने कुरा भयो एकदिन । मैले भने – टेन्डर हाल्नुपर्‍यो भने ? हाल्ने हो भने सबभन्दा पहिले मैले हाल्छु भने । सबैले निर्णय गरेर मलाई जिम्मा दिने हो भने मैले ५ वर्षमा जे भनेको छु सबै लागू गरेर देखाउँछु । यो जनतालाई बुझायौं भने जनता तयार हुन्छन् र उनीहरूले दोहोरो फाइदा पाउँछन् । उनीहरूले रोजगारी पाउँछन् र कृषि गर्नेले लगानी पाउँछन् । कृषिको उत्पादन सबै औद्योगिकीकरण हुन्छ । आजको किसान आन्दोलनको माग यो हुनुपर्छ । कृषि क्रान्तिको बाटो सबै किसानलाई मालिक बनाउने हो, यो समाजवादको बाटो पनि हो ।

मैले समाजवाद तुरुन्तै लागू गर्न सकिन्छ भनें । हाम्रा नेताहरूले आधारसम्म भनौं न भन्नुभयो । मैले मानिनँ । पार्टी एकता गर्ने बेला उहाँहरूले अहिले जनताको जनवाद भनौं न भन्नुभयो । जनताको जनवाद भनेको पूँजीवाद न हो, त्यो समाजवाद त हुन सक्दैन । पछि गएर कुरा उठ्यो, नेपालको संविधानले समेत भनेको छ, समाजवाद उन्मुख सामाजिक आर्थिक रुपान्तरण । जे जति आर्थिक रुपान्तरण गर्ने हो त्यो समाजवाद उन्मुख हुनुपर्छ भनेर संविधानले भनेको छ । संविधानमा समाजवाद भनेर लेख्ने तर आज यत्रो शक्ति प्राप्त गरेर कार्यक्रम बनाउने बेलामा फेरि पनि उहीँ पूँजीवाद भनेर भन्न हुन्छ भनेर भनेपछि नेपालको जनवाद, जो समाजवाद उन्मुख छ भनेर लेखौं भनेपछि म खुशी भएँ । पूरा खुशी भएको छैन । आधा मात्र भएको छु । समाजवाद मात्र भन्नुपर्छ हामीले । किनकि समाजवादमा मात्र अन्याय र अत्याचारको अन्त्य हुन्छ, पूँजीवादमा त्यो अन्याय र अत्याचार भोग्नुपर्छ हामीले । 

२ वटा कम्युनिस्ट पार्टीलाई एक ठाउँमा ल्याएका छौं, अहिलेसम्मको अवस्थामा एकीकरण भइसकेको छैन । जबसम्म हामी पूर्व एमाले र पूर्व माओवादी भनेर बस्छौं, त्यतिन्जेलसम्म एकीकरण हुन्न, २ वटा मिलेको हुन्छ । २ वटा मिलेको मोर्चा जस्तै छ । यसो नगरी एकीकरण पनि गर्न सकिँदैन ।

अबका सम्पूर्ण क्रियाकलाप समाजवाद उन्मुख हुनुपर्छ भनेर हाम्रो विधानले पनि भन्यो । हाम्रो संविधानले पनि भन्यो । जे जति पूँजीवादी उत्पादन गर्छौं, त्यो पनि समाजवादतर्फ लैजानुपर्छ । भनेको ठीकै छ भनियो । कि समाजवाद बनाउनुपर्‍यो कि पूँजीवाद बनाउने हो । पूँजीवाद बनाउने हो भने त्यो बढ्दै–बढ्दै जाँदा साम्राज्यवादतर्फ जान्छ । हाम्रो देश साम्राज्यवादी हुने होइन, साम्राज्यवादको पिछलग्गु हुनुपर्‍यो । आँपको बिरुवा लगाउने अनि कागती फलाउने भनेर हुन्छ र ? समाजवादको विरुवा रोपे समाजवाद फल्छ, पूँजीवादको बिरुवा लगाए पूँजीवाद नै फल्छ ।

हामीले पूँजीवाद कुन–कुन क्षेत्रमा लागू गर्ने, आजको विश्वमा सबै समाजवाद पनि हुन सक्दैन । जहाँ–जहाँ पूँजीवाद हुन सक्छ, त्यसले हामीलाई नोक्सानी गर्दैन भने त्यसलाई छुट्याउनुपर्‍यो यो यो क्षेत्र पूँजीवाद भनेर । जस्तो जमिनको सवालमा समाजवाद, ऊर्जा उत्पादनमा समाजवाद । त्यो निजी क्षेत्रलाई दिएर हुन्न, जुन दिन रिस उठ्छ, त्यो दिन उत्पादन गर्न छाड्यो भने लोडसेडिङ हुन्छ । त्यसो भएर उनीहरूले हाम्रो देशलाई कब्जा गर्ने किसिमले पूँजीवादलाई छाड्न हुन्न, उनीहरूले छाडे भनेपनि राज्यले आफ्नो हातमा लिएर चलाउन सक्ने, त्यस्तो किसिमको क्षेत्रमा समाजवाद स्थापना गर्ने । 

सामूहिक उत्पादन भयो भने समाजवाद हुन्छ, सरकार संलग्न भयो भने स्वायत्त संस्थाहरू, शतप्रतिशत राज्यको लगानी भयो अरुले चलाएको छ भने पनि त्यो पनि समाजवाद । कम्युनिस्ट पार्टीको नेतृत्व भएको बेला सहकारी पनि समाजवाद, कम्युनिस्ट पार्टीको नेतृत्व नभएको बेला सहकारी पनि पूँजीवाद । यसरी हामीले सहकारीको सम्बन्धमा त्यो कहिले समाजवाद कहिले पूँजीवाद । हामीले समाजवाद निर्माण गर्‍यौं, यसको रक्षा नयाँ पुस्ताले गर्छ । 

सम्भव छ १० वर्षमा प्रतिव्यक्ति आम्दानी ५० हजार डलर 

प्रतिव्यक्ति आम्दानी हामीले धेरै कन्जुस्याइँ गरेर लेख्यौं, १० वर्षमा ५ हजार डलर । १० वर्षमा मेरो कुरा त प्रतिव्यक्ति आम्दानी ५० हजार डलर पुर्‍याउनुपर्छ भन्ने हो । मैले मौका पाउनासाथ ५० हजार डलर पाउने ढंगले काम गर्छु । हामी १० वर्षमा त्यो ठाउँमा पुग्नुपर्छ । १० वर्षमा भारतलाई, १५ वर्षमा चीनलाई र २५ वर्षमा संसारलाई उछिन्न पर्छ । २५ वर्षमा धनी मुलुक हुनुपर्छ । धनी मुलुक भनेको मुठ्ठी भरका व्यक्ति धनी हुने होइन । सबै जनता धनी हुने मुलुक हो । त्यस्तो ठाउँमा हामीले पुर्‍याउनुपर्छ । 

समाजवादी मुलुक भएर पूँजीवाद अवलम्बन गर्नुपर्छ, पूँजीवाद बढीमा १० प्रतिशत कायम गरेर ९० प्रतिशत आर्थिक क्षेत्र समाजवादी बनाउनुपर्छ । पूँजीवादलाई देखाउँदै हाम्रा वस्तु संसारमा पठाउनुपर्ने हुन्छ, १० प्रतिशत पूँजीवादलाई देखाउँदै हाम्रा वस्तु संसारमा पठाउने हो । त्यो पूँजीवाद पनि समाजवाद हुन्छ भन्यो भने त्यसलाई नमस्कार तपाईंहरू पूजीवाद नै भइराख्नुस भनेर भन्नुपर्छ । किनभने त्यसो नभनीकन पूँजीवादी देशसँग सम्बन्ध राख्नको लागि नभए उनीहरूले क्युवालाई जस्तो दुःख दिन्छन् । ज्यादै थोरै ठाउँमा मात्र पूँजीवाद राख्ने तर हामीले यसरी आर्थिक विकास गर्ने कि म पूँजीवादतर्फ जान्छु भन्नै नपर्ने गरी आर्थिक विकास गर्ने । 

सय वर्षलाई पुग्ने संरचना १० वर्षमै

कसरी नेपाल निर्माण गर्ने भनेर मैले किताब नै लेखेको छु । आगामी १०० वर्षलाई पुग्ने गरी पूर्वाधार संरचना १० वर्षमै सम्पन्न गर्ने कुरा गरेको छु । किसान आन्दोलनको सम्बन्धमा मैले यो भने – अबको किसान आन्दोलन कृषि क्षेत्रमा व्यक्तिको स्वामित्व अन्त्य गर्ने र राज्यकै स्वामित्व कायम गरेपछि हामी किसान मालिक हुन पाउँछौं, धनी हुन पाउँछौं भनेर किसानलाई बुझाउन सक्नुपर्छ । अर्कोतिर सरकारलाई भरपुर भन्नुपर्‍यो यो बाटोमा जाउ भनेर । 

पैसा कहाँ छ भनेर सोध्ने अर्थशास्त्रीलाई हामीले उधारो पाउँछौं, आधा पैसा तिरेर लिन सकिन्छ । हामीसँग आधा पैसा तिर्न सक्ने क्षमता सुनले दिन्छ । आधा पैसा तिर्‍यो, त्यसै हाम्रो भइसक्यो । आधा उत्पादन गरेर तिर्छौं । सुनभन्दा त्यस्तो महत्त्वपूर्ण कुरा हामी हातहातमा उत्पादन गरेर संसारभरि पठाउन सक्ने कृृषि क्षेत्र हाम्रो हातमा हुन्छ, हामी डराउन पर्दैन । २ सय ६० खर्ब रुपैयाँमा देशको सम्पूर्ण कृषि भूमिलाई निष्क्रिय पूँजीलाई सक्रिय बनाउनको लागि लागौं । 

अब म भाषण गर्दै हिँड्छु, अब हामीले जमिन राष्ट्रियकरण गर्नुपर्छ, किसानलाई यसरी उठाउनुपर्छ । प्रत्येक व्यक्तिलाई धनी बनाउने काम यहीँ कृषि क्षेत्रबाट हुन्छ भनेर भन्छु ।

भ्रष्टाचारीलाई जेल हाल्ने, जेलमा ८ घण्टा काम लगाउने 

हामी एकै पटक १ हजार वटा विकासको काम शुरू गर्न सक्छौं । भ्रष्टाचारमा केही–केही जाला, भ्रष्टाचार पनि कति गर्न सक्छन् र ? २–४ करोड, १ अर्ब खाला । पछि जम्मै पत्ता लगाएर पछि असूल गर्न सक्छौं । त्यस्ता भ्रष्टाचारीलाई ८–१० वर्ष जेलमा हाल्दिनी । जेलमा पनि बसेर खान नपाउने काम गर्नुपर्ने बनाइदिएपछि ८ घण्टा काम गरेर बस्ने बनाउने । आजको किसान आन्दोलन यसरी चलाऔं । एउटा ऐतिहासिक महान् घटना भएको छ, त्यो हामीले गर्न सक्यौं । २ वटा कम्युनिस्ट पार्टीलाई एक ठाउँमा ल्याएका छौं, अहिलेसम्मको अवस्थामा एकीकरण भइसकेको छैन । जबसम्म हामी पूर्व एमाले र पूर्व माओवादी भनेर बस्छौं, त्यतिन्जेलसम्म एकीकरण हुन्न, २ वटा मिलेको हुन्छ । २ वटा मिलेको मोर्चा जस्तै छ । यसो नगरी एकीकरण पनि गर्न सकिँदैन ।

२–३ वटा महाधिवेशन गरिसकेपछि हामी एकीकरण हुन्छौं, ५–१० वर्षको समय राखौं । त्यति समयमा हामीले हाम्रो देशको सम्पूर्ण कम्युनिस्ट आन्दोलनलाई एकजुट गर्छौं । अहिले पनि हाम्रो देशको कम्युनिस्ट आन्दोलन एकजुट भयो । नेपालका २ वटा कम्युनिस्ट पार्टी एकीकृत बनेको छ, नेपाली इतिहासको अत्यन्त ठूलो घटना हो । मलाई यो भन्ने ऊर्जा कम्युनिस्ट पार्टीको एकीकरणबाट आएको छ ।

अब म भाषण गर्दै हिँड्छु, अब हामीले जमिन राष्ट्रियकरण गर्नुपर्छ, किसानलाई यसरी उठाउनुपर्छ । प्रत्येक व्यक्तिलाई धनी बनाउने काम यहीँ कृषि क्षेत्रबाट हुन्छ भनेर भन्छु । 

हाम्रो विचारधारा चीनको शी चिनफिङ विचारधाराभन्दा ठूलो

पार्टी एकीकरणले २ वटा स्कूल र २ वटा सम्भावनालाई एक ठाउँमा ल्याएको छ । हामीले २ वटाको बीचमा रहेका भिन्नतालाई कसरी एकीकृत गर्ने भन्ने विषयमा छलफल गर्नुपर्छ । हामीले पार्टी एकीकरण गर्दा नै केही कुरालाई निलम्बन गर्‍यौं । जनताको बहुदलीय जनवाद, २१ औं शताब्दीको जनताको जनवाद, माओवाद भन्नेलाई त्यसबेलासम्म निलम्बन गर्ने भनेका छौं तर काम त चुनाव लड्ने, प्रतिस्पर्धा गर्ने, समाजवाद र साम्यवादमा जाने भनेपछि जनताको जनवाद भनेका छौं अहिले । नमिल्ने कुरालाई मिल्ने कुरामा जान्छौं ।

तर पनि हाम्रो देशमा शक्ति प्राप्त गरौं – हाम्रो विचारधारा चीनको शी चिनफिङ विचारधाराभन्दा ठूलो छ । त्यो हामीले जोगाउनुपर्‍यो । यसले यत्रो कम्युनिस्ट आन्दोलनाई एकीकृत गर्छ, नयाँ किसिमले समाजवादमा लैजाने भन्छ । लाखौं किसानलाई चित्त बुझाउन सक्छ । ३ करोड जनसंख्या भएको देशमा ५० लाखभन्दा बढी मतदातालाई आकर्षित गर्ने हाम्रो विचारधारा कमजोर छ ? त्यो शक्ति हामीले यो पार्टी एकीकरणबाट प्राप्त गरेका छौं । यसलाई हामीले जोगाउनुपर्छ । जोगाउने भनेको कार्यान्वयन गरेर हो । नीति कार्यक्रम कार्यान्वयन गर्ने हो । 

... त्यो काममा भुल्नु नपरेको भए मैले चुनाव हार्ने थिइनँ

सरकारको बारेमा अघि नै प्रधानमन्त्रीले भन्नुभयो । धेरै गर्‍यो भनेर मैले भन्दिनँ, मलाई चित्त बुझेको छैन । किन चित्त बुझेको छैन भने कम्युनिस्ट पार्टीको चुनावी घोषणापत्र बनाउन २ वटै पार्टीले मलाई जिम्मा दिनुभयो । मेरो संयोजकत्वमा बन्यो घोषणापत्र समिति । त्यो घोषणापत्र बनाउँदा मैले लगातार २ महिना बसेर राति दिउँसो लगातार खटेर त्यो घोषणापत्र अनेकपटक बनाइयो, काटे । त्यो चुनावी घोषणा पत्र बनाउन २ महिनाको समय खर्चिनु नपरेको भए मैले चुनाव हार्ने थिइनँ । कुनै पनि हालतमा हार्ने थिइनँ । 

घोषणापत्र तयार गरेर छापेर भोलि ‘नोमिनेसन’ गर्ने हो भन्दा आज घोषणापत्र बोकेर बास बस्न गएको हो म मेरो आफ्नो निर्वाचन क्षेत्रमा । मैले आफ्नो निर्वाचन क्षेत्रको वस्तुस्थितिबारे थाहा पाइनँ । १ महिना पहिला मात्र गएको भए मैले थाहा पाउने थिएँ । त्यहाँको स्थिति कस्तो छ ? त्यसपछि मैले जित्न सक्थे होला । बर्दिया छाडेर जुन कुनै जिल्ला हिमाली क्षेत्रमा गएको भएपनि मैले चुनाव जित्ने थिएँ । म कमजोर व्यक्ति होइन, हार्ने व्यक्ति होइन, कहिलेकाहीँ यस्तो हुँदो रहेछ । त्योभन्दा पहिला पनि हारेको थिएँ चुनावमा । चुनावमा हार्ने जित्ने हुँदो रहेछ । 

पहिलो पटक नीति कार्यक्रम र बजेट आउँदा त्यो घोषणा पत्रलाई टिप्न सकेन, छुन सकेन । मेरो चित्त धेरै दुख्यो । ल बर्बाद हुने भयो भन्ने भयो । बर्बाद हुने भयो भनेको सरकारले जनताबाट समर्थन पाउँदैन भनेको हो । तपाईंले भन्नुभएको छ, हामीले चुनाव जितेपछि यसो गर्छौं । 

३ तहको सरकार बनाउने भनेको कर्मचारी खटनपटन गर्नुपर्‍यो, त्यो त गर्नैपर्‍यो । यो गरेबापत जनताले सरकारले राम्रो गर्‍यो भन्दैन । जसले काम पाएको छैन, उसले काम पायो भने सरकारले राम्रो गर्‍यो भन्छ । उपचार नपाएकाले उपचार पायो भने जनता खुशी हुन्छन् । त्यस्तो क्षेत्रको कामलाई पनि महत्त्वपूर्ण ढंगले अगाडि बढाउनुपर्छ । यस्तो कहाँबाट भयो भन्ने सम्बन्धमा कसलाई दोष दिनु ? अहिलेको अर्थमन्त्री पनि त्यो घोषणापत्र बनाउने समयमा बेला–बेला सामेल हुनु भएको हो । पछि मलाई अर्को जिम्मेवारी दिनुभयो चुनाव हारेर आइसकेपछि । हरुवालाई त सरकारको नीति बनाउने काम नदिनुपर्ने नि, फेरि दिनुभयो । फेरि १ महिना लगाएर थुप्रै अर्थशास्त्रीलाई लगाएर छलफल भयो । सरकारले सुशासन र विकासको प्राथमिकतामा के काम गर्ने भनेर १५ दिनमा रिपोर्ट दिनुस् भनेर कामको जिम्मा लगाउने काम भयो । सरकारले बजेट अगाडि सार्दा बित्तिकै यो काम गर्ने भनेर । सुशासन भनेको भ्रष्टाचार अन्त्य गर्ने, विकास गर्ने भनेको पूर्वाधार र सामाजिक क्षेत्रमा पनि महत्त्वपूर्ण काम छन् । 

योगदानको आधारमा सामाजिक सुरक्षा आयोजना अगाडि बढाउने काम हामीले अगाडि सार्‍यौं । यो धेरै राम्रो छ । २–२ वटा अन्तर्राष्ट्रिय सम्मेलन भएका छन् । तर जनतालाई खुशी बनाउने कामको लागि ध्यान केन्द्रीत हुन सकेन । कृषि क्षेत्रमा समाजवाद लागू गर भनेपछि कुन सरकार आउँदैन भन्नुस् त ? जसको नेतृत्वमा सरकार बनेपनि यो गर भनेर घेराबन्दी गरेपछि यो लागू भइहाल्छ नि ! तर हामीले गर्छौं कि गर्दैनौं ? 

हामीले कृषि क्षेत्रबाट घेराबन्दी गरेर सरकारले नगरेपनि गराउँछौं । जहाबाट समृद्ध समाजवाद शुरू हुन्छ । अबको नेपाल सबै जनताको खुशी आउने दिनको नेपाल आउँछ । पार्टी एकीकरण त्यसै भएको छैन, हाम्रो जिम्मेवारीबाट समाजवाद ल्याउने कामको शुरू गर्नुपर्छ । निर्माण समद्धिको बाटोमा सुखी बन्ने बाटोमा लाग्नुपर्छ । 

(असोज ८ गते अखिल नेपाल किसान महासंघको प्रथम केन्द्रीय कमिटीको बैठक तथा शपथ ग्रहण समारोहमा नेकपा उपाध्यक्ष एवं किसान महासंघका इन्चार्ज गौतमले व्यक्त गरेको विचारको सम्पादित अंश ।)

असोज १३, २०७६ मा प्रकाशित

वामदेव गौतम

गौतम नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सचिवालय सदस्य एवं पूर्व उपप्रधानमन्त्री हुन् ।

लेखकबाट थप...

प्रतिक्रिया दिनुहोस