यस्ता छन् राति नुहाउँदाका फाइदा

असोज १५, २०७६

काठमाडौं – अस्ट्रेलियाका चर्मविशेषज्ञहरूले बिहानभन्दा राति नुहाउँदा छालाको स्वास्थ्य राम्रो हुने र डण्डीफोर तथा छाला सुक्खा हुने रोग नलाग्ने बताएका छन् । 

केही मानिसहरू बिहान उठेर तातोपानीले नुहाउन मन पराउँछन् भने केही अन्य चाहिँ ननुहाइकन सुत्नै सक्दैनन् । अब विज्ञहरूले के गर्दा राम्रो हुन्छ भन्ने विषयमा राय दिएका छन् । 


ADVERTISEMENT

डा लीयोना यिपले राति जम्मा चार मिनेट नुहाउँदा दिनभरिको प्रदूषण हटाउन सकिने र छालालाई कुनै क्षति नपुग्ने बताएकी छन् । 

‘बिहान तपाईंको छालामा कुनै पनि फोहर लाग्न पाएको हुँदैन,’ उनले फिमेल पत्रिकालाई बताइन् । ‘गर्मी ठाउँमा दिनको एक वा दुईपटक त नुहाउनैपर्छ र राति एकपटक नुहाए पुग्छ ।’

तातो पानीले लामो समयसम्म नुहाउँदा छालाका समस्या आइलाग्छन् त्यसैले मनतातो पानी उपयुक्त हुन्छ । 

‘तपाईं दिनको दुईपटक नुहाउनुहुन्छ भने साबुनरहित स्यानिटाइजर उपयोग गर्नुस् र नुहाएपछि मोइस्चराइजर लगाउनुस्,’ उनले भनिन् । ‘पानीमा चार मिनेटभन्दा बढी बस्न मन लाग्नेहरूले जिउमा स्क्रब घोट्दा पानी बन्द गर्नुपर्छ र सफा गर्न फेरि खोल्नुपर्छ ।’

अर्की विज्ञ डा नताशा कूकले छालालाई सुरक्षा दिने अनि चाहिने भन्दा बढी सफा नगर्ने हो भने बिहान वा बेलुका एकपटक नुहाए पुग्ने बताइन् । 

एजेन्सी

असोज १५, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस