तपाईं बीबीसी नेपाली सेवाको नियमित श्रोता हो भने एकमहिना यता पत्रकार रवीन्द्र मिश्रलाई ‘मिस’ गरिरहनुभएको होला । बीबीसीको विश्व र नेपाली सेवामा २२ वर्ष बिताएका मिश्र श्रोताहरूमाझ लोकप्रिय थिए । उनले सोध्ने प्रश्न र अन्तर्वार्ता शैलीको विशेष चर्चा हुन्थ्यो ।
त्रिभुवन विश्वविद्यालयबाट अंग्रेजीमा स्नातकोत्तर, पाकिस्तानको पञ्जाब विश्वविद्यालयबाट पत्रकारितामा स्नातकोत्तर र बेलायतको लण्डन विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय राजनीति र कूटनीतिमा स्नातकोत्तर उनै चर्चित पूर्व रेडियो पत्रकार (हाल साझा पार्टीका संयोजक) मिश्र आजकल के गर्दैछन् ? बीबीसी छोडेपछिको एक महिना कसरी बिताए ? उनले घोषणा गरेको पार्टि निर्माणको गति कहाँ पुग्यो ? यिनै विषयमा केन्द्रित रहेर लोकान्तरकाविमल गौतम र सुशील पन्तले मिश्रसँग आइतवार एकघण्टा कुरा गरेका थिए । प्रस्तुत छ, मिश्रसँगको अन्तर्वार्ताको सम्पादित अंश :
तपाईंले पार्टी खोल्ने भनेको एक महिना बितिसक्यो तर औपचारिक घोषणा हुन सकेन । के प्रगति भइरहेको छ ?
पार्टी खोल्ने विषय सार्वजनिक भएपछि सोचेको भन्दा ज्यादै नै सकारात्मक प्रतिक्रिया प्राप्त भए । ठीकैको प्रतिक्रियाको लागि पनि तयारीमा थियौं । नराम्रो भएपनि सामना गर्न तयारै थियौं । तर यति व्यापक प्रतिक्रिया आए के गर्ने भनेर हामीले तयारी गरेका रहेनछौं । अहिले त साझा पार्टी बनाउने भनेर मैले राजिनामा मात्रै दिएको हुँ । तर हामीलाई पार्टी घोषणा भइसकेकै रूपमा व्यवहार गरिएको छ, जुन सकारात्मक हो । त्यो हाम्रो लागि राम्रो भयो । जाजरकोट, जुम्ला, खोटाङ, सर्लाहीसम्म गाउँ तहमा युवाहरू उद्वेलित भएर इकाइहरू निर्माण गर्दैछन् । विदेशमा पनि दर्जनौं इकाइहरू निर्माण भइरहेका छन् ।
यसबीचमा जग हाल्नुपर्ने काम प्रशस्त थियो । बाहिर मान्छे भेट्ने भन्दा पनि आन्तरिक तयारीमा जुट्यौं । शायद अबको तीन हप्ता जतिमा धेरै कुरा बाहिर आउँछ । कार्यालय तयार हुन्छ । पार्टीको वेबसाइट बन्छ । समूह त तयार नै छ । दस्तावेजहरू बाहिर आउँछन् । हामी जोडतोडका साथ काम गरिरहेका छौं । बाहिर चर्चै छैन भन्लान् तर हामीले राम्रोसँग काम गरिरहेका छौं ।
तपाईंले बीबीसीबाट राजिनामा दिएर पार्टी खोल्छु भन्दा जुन तरंग आएको थियो, त्यसले निरन्तरता पाउन सकेन नि ? अपेक्षित चर्चा कम हुँदै जानुको कारण ?
हामीले गर्नुपर्ने काममा जोड दिएकै छौं । अहिले जग बनाउँदैछौं । त्यसपछि हामी सर्वसाधारणकोमा जाने नै हो । यत्तिकै तरंग सिर्जना गरेर पनि भएन । जग कमजोर बनाउनु हुँदैन । बलियो जग निर्माणका लागि आन्तरिक तयारी भइरहेकै छ । साझा पार्टीमा आबद्ध हुन गाउँहरूमा जुन युवाहरूले इकाइ गठन गरिरहेका छन्, उनीहरू तपाईंको पार्टीप्रति साँच्चिकै प्रतिबद्ध हुन् वा क्षणिक हल्लाखल्ला गर्नका लागि साझा पार्टीमा आएका हुन् ?
हामीले तलबाट माथि (बटम अप) ढाँचामा संगठन निर्माण गर्न लागेका छौं । स्थानीयहरू जागरुक, उद्वेलित नभइकन संगठन बन्दैन भन्ने हामीले ठानेका छौं । केही हदसम्म मान्छेहरू जागरुक भइसकेका छन् । तर त्यही समयमा हामीले माथिबाट तल जाने संगठन निर्माणलाई पनि उत्तिकै ध्यान दिइरहेका छौं । केन्द्रमा एकदमै विचार पु–याएर समूह निर्माण गर्दैछौं । प्रादेशिक तह र जिल्ला तहसम्म विचार पु–याएरै हामीले गठन निर्माण गर्दैछौं । माथिबाट निर्माण गरिने संगठन र तलबाट आफैं स्वतःस्फूर्त रूपमा निर्माण भइरहेका संगठनहरूलाई हामीले महाधिवेशनबाट पार्टीको खास ढाँचामा ल्याउँछौं । यसरी दुवै तहमा काम भइरहेको छ । परम्परागत रूपमा नेपालमा जसरी पार्टी निर्माण भए त्यही रूपमा पार्टी निर्माण गर्छु भन्ने हो भने नेपालमा १० वर्ष त पार्टी निर्माण गर्न मात्रै लाग्छ । त्यसैले अलि फरक र सिर्जनात्मक ढंगले संगठन निर्माण गर्न खोजिरहेका छौं ।
आम नेपालीको नसा–नसामा कुनै न कुनै पार्टीको रगत बगेको छ भनिन्छ र उनीहरू पद, पैसा अनि प्रतिष्ठाका लागि पार्टीमा आबद्ध भएको विश्वास गरिन्छ । तर साझा पार्टीले अहिले पद पनि दिन सक्दैन अनि पैसा पनि बाँड्दैन होला । अनि किन मानिसहरू तपाईंको पार्टीमा लाग्ने ?
हेर्नुहोस्, अहिले तपाईंले मसँग अन्तर्वार्ता गर्दै हुनुहुन्छ । प्रश्न के हो भने तपाईंले आफ्नो छोराछोरीलाई विदेशमा अध्ययन गर्न पठाएर, रोजगारीका लागि विदेशै पठाएर, मेरा छोराछोरी फलानो देशमा छ भनेर गर्व गरेर बस्ने ?
तपाईं अहिलेकै परिस्थितिमा रमाउने कि यसलाई परिवर्तन गर्ने भन्ने कुरा मात्रै हो । आज ५०–६० वर्षको इतिहासमा प्रतिव्यक्ति आय कतिमा पुग्यो ? तीन सयबाट ७ सय मा पुग्नको लागि ५० वर्ष लाग्यो । बुढेसकालमा तपाईंको ओछ्यानमा तपार्इं र तपाईंकी श्रीमती मात्रै हुने किन तपाईंका छोरा, बुहारी र छोरीहरू पनि तपाईंसँगै हुने ? तपाईंका छोराछोरी विदेश हुनुमा तपाईंले गर्व महसूस गरेर बस्ने कि नेपालमै सभ्य जीवन जिउने ? मेरा छोराछोरी विदेशमा छन् भनेर अहिले गर्व गरेर बस्ने अनि बुढेसकालमा तपाईं बिरामी पर्दा औषधि खान दिने मानिस पनि घरमा नहुने पीडाबाट मुक्त हुने हो भने राजनीति परिवर्तन गर्नु नै पर्छ । हो, पहिले विकल्पहरू थिएनन् । अब हामी नेपाली नागरिकलाई अनुरोध गर्दछौं कि त हामीलाई पनि खराब राजनीति गर्न आएका हौं भन्नुहोस् । होइन भने हामीलाई एकचोटि विश्वास गरेर हेर्नुहोस् । हामी फोहोरी राजनीति गर्न होइन, देशको मुहार फेर्न आएका हौं । हामी आएका छौं, कृपया हामीलाई विश्वास गरिदिनुहोस् । हाम्रो विश्वास छ, देश बनाउन आएकालाई जनताले निर्वाचित गर्नैपर्छ ।
देशमा विभिन्न पार्टीका र तीसम्बद्ध नेताहरूको सिन्डिकेट छ, भ्रष्ट, बिचौलिया र दलालहरूको बिगबिगी छ । त्यसलार्इं तपाईंहरू कसरी चिर्नुहुन्छ ?
हामीले बुझ्नुपर्ने कुरा के छ भने नि, कुनै पनि समाजमा चलायमान मतदाता (स्विङ भोटर्स) को संख्या बढी हुन्छ । यसअघिको चुनावमा नेपालमा एक करोड २८ लाख मतदाता थिए । ती मतदाताहरूमा राजनीतिक दलको वरिपरि रहेर सिन्डिकेटमा बस्नेहरूको संख्या कति थियो ? नेपालमा सबै राजनीतिक दलको सदस्य संख्या २० लाख भन्दा बढी छैन । त्यसमा सिन्डिकेट गर्नेहरूलाई जोड्नुहोस्, राजनीतिकर्मीहरूको पछिपछि लागेर फाइदा लिनेहरूलाई जोड्नुस्, अर्को १० लाख वा १५ लाख जोडिएला । बाँकी जनता के ? बाँकी चाहिँ उनीहरूबाट प्रभावित छैनन्, स्वतन्त्र छन् । उनीहरूले निर्वाचनमा निर्णायक भूमिका खेल्न सक्छन् । निर्वाचनलाई व्यापक प्रभावित गर्न सक्छन् । नेपालमा मात्रै होइन, संसारभर यस्ता मतदाताहरू हुन्छन् । अब पुराना पार्टीबाट भएन, देश बनेन भनेर अर्को पार्टीलाई भोट दिन्छन् । ती जनताले हामीजस्तो केही गर्छौं भन्नेहरूलाई साथ दिन्छन् भन्ने हाम्रो विश्वास हो ।
तपाईंहरू पारदर्शिताका कुरा गर्नुहुन्छ । नेपालमा चुनावको बेलामा तराईमा के बाँडिन्छ, पहाडमा के बाँडिन्छ र हिमालमा के बाँडिन्छ भनेर तपाईंहरूलाई थाहा नै छ । तपाईंहरू त केही बाँड्नेवाला पनि हुनुहुन्न । अनि कसरी पत्याउँछन् मतदातले तपाईंहरूलाई ?
एकदम सही प्रश्न हो यो । यी प्रश्नहरू बनाउँदा र जवाफ दिँदा आजसम्म नेपालमा भएको र दक्षिण एसियामा भएको राजनीतिक चरित्रलाई हेर्ने हो । तर यही देश हो जहाँ रूपचन्द्र विष्टले आफ्नो पर्चा बेचेर चुनाव जितेका थिए । यही देश हो जहाँ द्वन्द्व गरेर आएकाहरूलाई डरले मात्रै होइन, केही गर्छन् कि भनेर जनताले भोट दिएका हुन् र पहिलो पार्टी बनाएका हुन् । आम जनतामा निराशा छ । उनीहरू प्रभावित नभइकन भोट दिन पनि सक्छन् । तर साथ–साथमा खसी, राँगा काटेर खुवाउनेले, पैसा र कपडा बाँड्नेले चुनाव जितेको देश पनि हो यो । तर मुख्य चरित्र यो होइन । त्यसैले आत्तिहाल्नुपर्ने स्थिति छैन । नेपालीहरू धेरै सचेत छन् । हाम्रो अनुरोध मात्रै सुनेर, हामीले गर्न लागेको काम र हाम्रो उद्देश्य देखेर पनि हामीलाई भोट दिनुहुन्छ भन्ने हाम्रो विश्वास हो ।
हाम्रो देशको कानून यति फितलो छ कि एउटा उम्मेदवारले निर्वाचनमा कति खर्च गर्छ, त्यसको कुनै हिसाबकिताब हुँदैन । उसले कालो धन ल्याएर चुनावलाई प्रभावित गर्छ तर उसमाथि छानबिन हुँदैन । साझा पार्टीले कालो धन खर्चेर मतदाता त पक्कै किन्ने छैन । र तपाईंहरू कुनै काम गरेर, लोकप्रिय भएर अनि समाजमा पहिले नै स्थापित भएर जनतामा जान लाग्नुभएको पनि होइन । तपाईंहरूसँग नारा छन् तर काम हेर्न त बाँकी नै छ । यस्तो स्थितिमा चुनाव जित्ने आधार के ?
यसमा दुईववटा मात्रै विकल्प छन् । तपाईंले भनेको परिस्थितिकै कारणले मुलुक यस्तो भएको होइन ? इमान, धर्म, पारदर्शिता, विधि केही पनि छैन यहाँ । उत्तर चाहिँ के हो भने खसी र राँगा नढाली भोट आउँदैन, पैसा नबाँडी मत आउँदैन भनेर बस्यो भने देश कहिल्यै उँभो लाग्ने छैन । विद्यमान विकृति हट्ने छैन । कसैले त आँट गर्नुप–यो नि । हाम्रो देशको प्रतिकूलता त के प्रतिकूलता हो र ? इथियोपिया सबैभन्दा गरीब र भ्रष्ट देश हो । भोकमरीले १० लाख मान्छे मरेको देशको हो त्यो । आज २० वर्षको अवधिमा इथियोपियाको सरकारी एयरलाइन्ससँग ८० वटा बोइङ छन् । इथियोपियामा तीव्र गतिको रेल चल्छ । त्यहाँको अर्थतन्त्र १० देखि १५ प्रतिशतको बीचमा निरन्तर वृद्धि हुन्छ । के त्यो मंगलग्रहबाट आएर गरिएको प्रयास र त्यसको प्रतिफल हो ? होइन नि । मान्छेले नै गरेको हो नि त । रुवान्डा, युगान्डा, दक्षिण कोरिया, चीन हेर्नुहुन्छ कि ? त्यसैले हाम्रो आत्मविश्वास के हो भने प्रतिकूलता हुँदा हुँदैपनि ती प्रतिकूलता चिरेको मान्छेले नै हो । हामीले पनि त्यो चिर्छौं भन्ने हाम्रो विश्वास हो । भारतमा केजरीवालको जसरी उदय भयो, मान्छेहरू के भन्छन् भने भारतका मान्छेहरू नेपालीभन्दा धेरै शिक्षित, स्वतन्त्र र चेतनशील छन्, त्यसैले त्यो सम्भव भयो । नेपालमा चेतनाको तह बढेको होला तर भारतीयहरूमा जस्तो छैन भनेर पनि टिप्पणी गर्नेहरू पनि छन् । यस्तो अवस्थामा भारतमा केजरीवालको उदय भएजस्तै नेपालमा तपाईंहरूको उदय सम्भव छ ?
हेर्नुहोस्, नेपालमा सुसंस्कृत राजनीतिको लागि वैकल्पिक राजनीतिक मञ्च अगाडि आउनैपर्छ । नेपालको राजनीतिक सुधार्न वैकल्पिक धार आउनुपर्छ भनेर हामीले बहस गर्न थालेको भारतमा आम आदमी आउनुभन्दा अघिदेखि हो । हामी त्यो हेरेर उत्साहित भएका होइनौं । हामीले त्यहाँबाट पनि सिक्न सक्छौं । स्पेनमा पनि पुराना दक्षिणपन्थी र वामपन्थीहरूको बलियो पकड थियो तर त्यहाँ स्थापना भएको पोडेमस पार्टी दुई वर्षमा स्थापित भयो । संसदमा २० प्रतिशत सिट ल्याउन सफल भयो । त्यसैले पृष्ठभूमिहरू फरक–फरक हुनसक्छन् । अन्तबाट पनि राम्रो कुरा सिक्न सकिन्छ तर हाम्रो पृष्ठभूमि अलि फरक छ । पृष्ठभूमि अनुसारकै काम गर्ने हो । नेपालमा हामीजस्तो नयाँ राजनीतिक पार्टीको पर्याप्त सम्भावना छ । हामी स्थापीत हुन्छौं । नेपाल बन्छ ।
व्यावहारिक पाटो हेर्ने हो भने भारतमा अन्ना हजारेले लोकपाल विधेयक पास गराउन दबाब दिए अनि आम आदमी पार्टीको उदय सम्भव भयो । गुजरातको मुहार फेरेकै कारणले गर्दा नरेन्द्र मोदीको उदय भएको विश्वास गरिन्छ । सिंगापुर लगायतका उदाहरण पनि त्यस्तै छन् । अर्थात् केही राम्रो काम गरेपछि उनीहरू स्थापित भएका हुन् । तर तपार्इंको हकमा चाहिँ व्यक्तिगत रूपमा तपाईंले केही परोपकारी काम गर्नु त भएको छ तर त्यो व्यापक छैन । तपाईंहरूको विगत गाउँगाउँमा काम गरेर जन–जनमा भिजेको, स्थापित पनि होइन । पत्रकारको रूपमा तपाईं लोकप्रिय हुनुहुन्थ्यो, इमानदार हुनुहुन्थ्यो । पढ्नुभएको छ, समाज पनि बुझ्नुभएको होला । तर चुनावै जित्नका लागि, पार्टी नै बनाएर अघि बढ्नका लागि यही पृष्ठभूमि पर्याप्त हो र ?
आधार त हामीले तयार पार्ने हो । सम्पूर्ण रूपमा तयार भइसकेको हैन । सन्दर्भहरू फरक हुन्छन् । स्पेन, भारत, सिंगापुरको सन्दर्भ फरक हो । एउटाको उदाहरण अर्कोमा नमिल्न सक्छ । जस्तो नेपालमा जसरी द्वन्द्वको सफल रूपान्तरण सफल भयो, त्यसले आफ्नो एउटा छुट्टै मानक बनायो । त्यसमा विमति राख्नेहरू पनि होलान् । संसारमा विफल भएका आन्दोलनलाई मात्रै हेरेको भए त द्वन्द्वै सफल हुँदैनथ्यो होला । त्यसकारणले गर्दा आधारहरू निर्माण गर्ने हामीले नै हो । हामी जसरी आएका छौं, जुन काम गरेका छौं, ती कामलाई सहजै अस्वीकार गर्न मिल्दैन । नेपालमा १९९० पछि वैकल्पिक सुसंस्कृत राजनीतिका लागि धेरै पहल भए । त्यसबेला देवेन्द्रराज पाण्डेहरू लगायतका साथीहरूले कोशिश गर्नुभएको हो । तर त्यो सफल भएन । हामीले सबै इतिहास हेरेका छौं । यी सबै पक्ष हेरेर, सोचविचार गरेर हामीले धरातल निर्माण गर्ने हो ।
वैकल्पिक शक्तिको रूपमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले पनि कुरा उठाउनुभएको छ । वैकल्पिक रूपमा बाबुराम भट्टराई र तपाईंहरूमा के फरक छ ?
म एउटा कुनै पार्टीको आलोचना गर्न चाहन्नँ । प्रवृत्तिको कुरा गर्न चाहन्छु । उहाँहरूको नाम मात्रै नयाँ हो । प्रवृत्ति पुरानै हो । हामी उहाँहरूभन्दा फरक छौं । उहाँको पार्टीमा केही मान्छेहरू अटाउन नसकेर बाहिर आइसक्नुभयो । त्यसले पनि देखाउँछ प्रवृत्ति नै फरक छ । नेपालका पार्टीहरूको विचार नराम्रो भएको कोही छैन । देश विचारले बिग्रिएको पनि होइन । तर यहाँ शब्द र कार्यहरू बीच तादात्म्य नभएर मुलुक बन्न नसकेको हो । हामी वैचारिक रूपमा प्रस्ट छौं । पद्धति, पारदर्शिता, इमान्दारी र उत्कृष्टता हाम्रा चार खम्बा हुन्, मूल्यमान्यता हुन् । हामी विचारको हकमा सहभागितामूलक लोकतन्त्रलाई अवलम्बन गर्छौं भनेका छौं । कल्याणकारी उदारवादी अर्थतन्त्र हाम्रो आर्थिक विचार हो । विचार र कर्मलाई तादात्म्य राख्न सक्छौं कि सक्दैनौं भन्ने कुरा मात्रै हो । हामी त्यो कोशिश अवश्य गर्छौं ।
नेपालमा सबै पार्टीले एउटा सिद्धान्त समातेका छन्, तपाईंहरूको खास सिद्धान्त के हो ?
मैले भनिहालें नि, सहभागितामूलक लोकतन्त्र र कल्याणकारी उदारवादी अर्थतन्त्र हाम्रो मान्यता हो । सहभागितामूलक लोकतन्त्र चर्चाकै विषय हो । उदारवादी अर्थतन्त्र चाहिँ हामीले हाम्रो आवश्यकता अनुसार नर्वे, फिनल्यान्ड जस्ता देशहरूको शैलीमा निर्माण गर्न खोजेका हौं ।
त्यो गर्ने भनेको के हो ?
नेपाल जस्तो देशमा बजारलाई खुल्ला रूपमा प्रवर्द्धन गर्नुपर्छ । बजारलाई प्रवर्द्धन नगरी पूँजी बन्दैन । पूँजी नबनी देशले प्रगति गर्न सक्दैन । पूँजीपतिहरू सबै सामन्ती हुन् भन्ने विचार घातक हो । पूँजी निर्माण गर्नुपर्छ तर पूँजीपतिहरूलाई नियमले बाँध्नुपर्छ । उनीहरूले आर्जन गरेको पूँजीको स्पर्श कर्णालीले पनि अनुभूत गर्न सक्नुपर्छ । त्यसैले उदारवादी अर्थतन्त्रमा कल्याणको लेप लगाउन खोजेका छौं । कल्याणकारी राज्यको परिकल्पना नगर्ने हो भने यो देशमा धनी र गरीबबीचको खाडल रहिरहन्छ । तपार्ईंहरूले सोचेअनुसार भयो, निर्वाचनमार्फत पार्टी स्थापित भयो भने मुलुकको मुहार फेर्ने काम कहिलेसम्ममा सम्पन्न हुन्छ ?
राजनीतिलाई ट्र्याकमा ल्याउन सकियो भने ज्यादै प्रतिकूल अवस्थामा भएको देशलाई पनि विकासको बाटोमा उन्मुख गर्न १० वर्ष लाग्दो रहेछ । हामी नेपाललाई १०– १५ वर्षमै सिंगापुर बनाउँछौं भनेर ठोकुवाका साथ वा दाबीका साथ, भन्नका लागि भनेजस्तो, सस्तो प्रचारका लागि प्रचार गरेजस्तो गरी बोल्दैनौं । तर २० वर्षको अवधिमा समृृद्धिको दिशामा देशलाई अघि लैजान सकिन्छ । अर्थतन्त्रलाई दोहोरो अंकको वृद्धिमा लैजान सकिन्छ । पर्यटनको प्रचूर सम्भावना लगायतका कुरा हेर्दा १० प्रतिशतभन्दा माथिको आर्थिक वृद्धिदरमा नेपाललाई लैजानको लागि सम्भव छ । १० देखि २० वर्ष लाग्ला ।
त्यसोभए दुई दशकमा विदेश गएका नेपालीलाई नेपालमै फर्काउने अवस्था होला ?
त्यो त चाँडो पनि हुन सक्छ । हामीले यो देशलाई नेतृत्व गर्न सक्यौं भने चाँडो पनि हुन सक्छ । न्यूनतम आय वृद्धि भएमा युवाहरू ५० डिग्रीको तातोमा उँट चराउन जाँदैनन् । यहाँ परिवारलाई छोडेर हरेक दिन मालिकबाट पीडित भएर विदेशमा बस्ने रहर कसैलाई हुन्छ र ? आयको स्केल र रोजगारीलाई बढायौं भने युवाहरू विदेश जाँदैनन् । त्यो सम्भावना अझै चाँडै हुन्छ ।
स्थानीय तहको निर्वाचनमा भाग लिनुहुन्छ कि नार्इं ?
हामीले स्थानीय तहको चुनावको विषयमा स्पष्ट विज्ञप्ति जारी गरिसकेका छौं । स्थानीय चुनावकै बीचतिर सार्वजनिक भयौं । यसका लागि केही कार्यक्रम बनाउनुपर्छ, पर्चाहरू छाप्नुपर्छ, उम्मेदवारको लागि खर्च गर्नुपर्छ, स्वयंसेवकको लागि केही खर्च गर्नुपर्छ । हामीले पार्टी दर्ता नभएकोले पार्टीको नाममा चन्दा उठाउन मिल्दैन । रसिद काट्न मिल्दैन । गर्नेहरूले गरेकै छन्, त्यो भिन्नै कुरा हो । त्यो नमिल्ने बित्तिकै उम्मेदवार मात्रै उठाएर भएन । हाम्रो मूल लक्ष्य चाहिँ राष्ट्रिय निर्वाचन हो । हामी स्थानीय निर्वाचनमा अहिले केन्द्रित भएका छैनौं । त्यसैले हामीसँग समभाव राख्ने, आदर्शप्रति आस्था भएका नेपालीहरू स्वतन्त्र रूपमा उठेमा हामीले समर्थन गर्ने बताएका छौं ।
राष्ट्रिय निर्वाचन पनि आउँदैछ, तपाईंहरू कति सिट जित्नहुन्छ ?
तपाईंलाई सुन्दा ज्यादै महत्त्वाकांक्षी लाग्न सक्छ । हाम्रो अहिले सोच भनेको अबको राष्ट्रिय निर्वाचनमा न्यूनतम बहुमत ल्याउनुपर्छ भन्ने नै हो । आशावादी पनि छौं । आशावादी भएरै काम गर्ने हो । हामी तीव्र गतिमा संगठन निर्माण गर्न लागिरहेका छौं । प्रत्यक्ष र समानुपातिक दुवैतर्फ न्यूनतम बहुमत ल्याउने हाम्रो चाहना छ । अबको राष्ट्रिय निर्वाचनमा हामी न्यूनतम बहुमत ल्याउँछौं । यो हाम्रो विश्वास हो ।
तपाईंहरूको महत्त्वाकांक्षा बढी नै भएन र ? कि अरू पार्टीबाट पनि मान्छे आउँदैछन् ?
अरू पार्टीबाट झ्याप्पै मान्छे आउने सम्भावना हुँदैन । आइहाल्नुभयो भने त पुरानै प्रवृत्ति भइहाल्यो नि । सम्भवतः उहाँहरू आउँदै आउनुहुन्न । महत्त्वाकांक्षा राख्नुपर्छ । देश बिग्रिएको सानो सोचाइले हो । बाटो बनायो १२ फिटको । अफिस बनायो दुई कोठाको । हाइवे बनायो एक लेनको । ढल बनायो साँघुरो । त्यसैले महत्त्वाकांक्षा राख्नुप–यो तर हावा महत्त्वाकांक्षा राख्नु भएन । खुट्किलाहरू बलियो बनाउनुप–यो । बहुमत ल्याउने आधार के त ?
यो देशमा चलायमान भोटरको संख्या बढी छ । उनीहरूले कुनै राजनीतिक दलमा आस्था राखेका हुन सक्छन् तर भोट नै दिन्छन् भन्ने छैन । प्रतिबद्ध कार्यकर्तालाई मात्रै अरूलाई भोट दिन गाह्रो हुने हो । आस्थाको भोट दिनेहरूले त जसलाई पनि दिन सक्ने भए नि । तपाईंलाई मेरो छोराछोरी राम्रो स्कूलमा जाऊन्, एसईई दिने ७० प्रतिशत विद्यार्थी फेल नहून्, जागिर खानेबित्तिकै एकलाख तलब होस्, घरनजिकै अस्पताल होस्, पार्क होस्, बुढेसकालमा घुम्न जान पाऊँ, डुल्न जान पाऊँ भन्ने रहर छैन ? छ भने हामीलाई मतदान गर्नुहोस्, पत्याउनुहोस् ।
धेरै मान्छेहरू के भन्छन् भने सामाजिक सञ्जालमा आएका प्रतिक्रिया हेरेर तपाईंहरू हौसिनुभएको छ । उनीहरू सामाजिक सञ्जाललाई हेरेर मात्रै पार्टी बनाउनु खोज्नुभयो भन्ने आरोप पनि लगाउँछन् नि ?
त्यति मात्र कहाँ हो र ? कतिपयले त हामीलाई फेसबूके पार्टी पनि भन्न भ्याइसके नि ! तर सामाजिक सञ्जालको शक्तिलाई कसैले पनि अवमूल्यन नगरौं । हामीलाई भेट्न कैलालीको गाउँका युवाहरू आउनुभएको थियो । उहाँहरू फेसबूक हेरेर, हामीलाई थाहा पाएर भेट्न आउनुभएको रहेछ । जाजरकोट, जुम्ला र खोटाङमा हाम्रो बारेमा फेसबूकबाटै थाहा पाउनुभएको रहेछ । तर तथ्य के हो भने यो देशमा फेसबूक चलाउनेहरूको संख्या ८० लाख मात्रै हो । ती ८० लाख मानिस केही न केही पढेका हुन् । उनीहरूले गाउँठाउँमा प्रभाव पार्दछन् । हामीले अरू रणनीति पनि अख्तियार गर्दैछौं । तर सामािजक सञ्जालका व्यक्तिहरूलाई पनि हामीले नकार्दैनौं ।
यो उत्तर दिइरहँदा, अमेरिकामा राष्ट्रपतिको चुनाव भयो । त्यहाँ ९० प्रतिशत सामाजिक सञ्जाल प्रयोगकर्ता र ९० प्रतिशत मिडिया हिलारीको पक्षमा थिए । ट्रम्पको खोइरो खनिरहेका थिए । तर परिणाम त ठीक उल्टो आयो नि । जीत त ट्रम्पकै भयो नि । यसलाई कसरी बुझ्ने ? साझा पार्टीको हकमा पनि यस्तै अवस्था लागू हुने खतरा त छैन ?
परम्परागत सन्दर्भलाई मनमा राखेर र त्यही उदाहरणको आधारमा मात्र मूल्यांकन गर्न खोजेमा गलत हुन्छ । सामाजिक सञ्जाललाई मात्रै हेरेर हामीले देश परिवर्तन गर्छौं भनेर आएका होइनौं नि । सामाजिक सञ्जाल एउटा मात्रै पक्ष हो ।
धेरै मान्छेले तपाईंहरूलाई चनाखो तरिकाले हेरेका छन्, तपाईंहरूको पार्टी सञ्चालनको आर्थिक स्रोत के हो ? कसरी चलाउनुहुन्छ ?
थोरै थोरै रकम धेरै नेपालीबाट प्राप्त गर्ने अपेक्षा गरेका छौं । सदस्यता शुल्क र चन्दाबाट नै हामी चल्ने विचार गरेका छौं । नेपालमा पार्टी राजनीति अहिलेसम्म अपारदर्शी थियो । तर हामी आय र व्ययको विवरण बकाइदा वेबसाइटमा राख्छौं ।
राष्ट्रिय चुनाव अत्यन्तै नजिक आइरहेको छ । आठ महिनामा तपाईंहरूका सदस्य कति होलान् र चन्दा कति उठ्ला ? तपाईं कसरी गाउँ गाउँमा भिज्नुहुन्छ अनि चुनाव जित्नुहुन्छ ?
सदस्यता शुल्क एउटा पक्ष भयो । स्वैच्छिक रूपमा सहयोग गर्नेहरू धेरै आउनुहन्छ भन्ने हामीले ठानेका छौं । विदेशमा भएका ४० लाख नेपालीको मनमा पीडा छ । उनीहरूले हामीलाई सहयोग गर्छन् ।
एउटा चुनावमा बहुमत आएन भने अर्को निर्वाचनको लागि माहोल बनाउन वा थप प्रयास गर्नतर्फ लाग्नुहुन्छ कि निराश भएर मैदान छोड्नुहुन्छ ?
होइन, हामी धेरै ठूलो प्रतिबद्धताको साथमा आएका छौं । निर्वाचन जित्नु हाम्रो लक्ष्य हो । सुसंस्कृत राजनीतिको मञ्च पनि हामीले बनाउन खोजेका छौं । भोलिको नेपालको नेतृत्व गर्ने मान्छेहरू समेत हामीले उत्पादन गर्ने सोच राखेका छौं । सुसंस्कृत राजनीति नभई देश बन्दै बन्दैन । शब्द र कर्मको बीचमा तादात्म्य नभएमा देश बन्दैन ।
तपाईंहरूको संगठनात्मक ढाँँचा कस्तो हुन्छ ?
महाधिवेशन नहुँदासम्म संयोजक र संयोजन समितिका सदस्यहरू मात्रै भनेका छौं । महाधिवेशन गरेपछि अध्यक्ष, उपाध्यक्ष, महासचिव लगायतका पदहरू हुनेछन् । सामान्य संरचना नै हुन्छ ।
माओवादीले गणतन्त्र, राप्रपाले राजतन्त्र, जनमोर्चाले संघीयताको विरोध लगायतका मुद्दामा भोट ल्याए । यसमा चाहिँ तपाईंहरूको सिद्धान्त के हो ?
फेरि हामी कसरी प्रश्न गरिरहेका छौं भने संघीयता, गणतन्त्र, राजतन्त्रलाई मात्रै हामीले सिद्धान्त भनेका छौं । यो मात्रै सिद्धान्त होइन । संविधानवाद पार्टीको सिद्धान्त हुन सक्छ कि सक्दैन ? विधिको शासन सिद्धान्त हुन सक्छ कि सक्दैन ? यो देश धर्मसापेक्ष भएर, गणतन्त्र भएर वा नभएर बिग्रिएको होइन । विधिको शासन नभएर बिग्रिएको हो । लोकतन्त्र भएर पनि विधिको शासन नभएर बिग्रिएको हो । विधिको शासनमा चित्त नबुझ्नेबित्तिकै संसद् घेर्ने, विधेयक नै पेश गर्न नदिने, लाठी बोकेर बजार बन्द गर्ने ? मुढेबलका भरमा कहीँ देशमा लोकतन्त्र संस्थागत हुन्छ ? हाम्रो आदर्श भनेकै संविधानवाद हो, विधिको शासन हो । प्र्रक्रियागत ढंगबाट गरौं भन्ने हाम्रो कुरा हो । स्कटल्यान्ड बेलायतबाट छुट्टिने भन्दा त्यहाँ लामै माथापच्ची भयो । जनमतसंग्रह भएपछि थोरै मतले स्कटल्यान्ड नछुट्टिने निर्णय भयो । भोलिपल्टबाट जनजीवन सामान्य भयो । त्यहाँको आवेश बलियो थियो । तर लाठी उठेन त्यहाँ । आगो चाहिँ बलेन । त्यो वास्तविक लोकतन्त्र हो ।
भनेपछि हामीकहाँ हालैका वर्षहरूमा भएका परिवर्तन र निर्णय प्रक्रिया सही छैनन् ?
धेरै निर्णयहरू प्रक्रियागत रूपमा उचित छैनन् । देखाउनको लागि देखाइएका मात्रै छन् । कोठामा बसेर निर्णय गरियो, त्यसपछि चाहिँ लाहा छाप मात्रै लगाइयो ।
भनेपछि राजतन्त्र फाल्ने निर्णय पनि विधिसम्मत थिएन भन्न खोज्नुभएको ?
कहिलेकाहीँ निश्चित क्रान्तिको अवधिमा नियम र संविधानको उल्लंघन हुन्छ । तर जहिलेपनि विशिष्ट संक्रमणमा छौं भन्दै जे पायो त्यही गर्ने छुट हुँदैन । राष्ट्रघाती विधेयकलाई संसदमा पेश गर्न नै दिँदैनौ भनेर एकजना नेताले भन्नुभयो । तर राष्ट्रघाती भनेर छिनोफानो गर्ने तपाईं कि संसद् भनेर मैले प्रश्न सोधेका थिएँ । हो, निश्चित आन्दोलनको ठूलो घडीमा विधिको शासनमा विषयहरू बाँध्न सकिँदैन । माओवादी आन्दोलनलाई पनि सकेनौं । विधिमा बाँधिसकेपछि फेरि पनि विधेयक नै पेश गर्न नदिने ? सरकारमा पुगेर जहिले पनि बाटोमा बसेर लाठी उठाउने ? अनि लोकतन्त्रको चित्र जनतालाई देखाइदिने ?
जसरी राजसंस्था नेपालबाट अन्त्य गरियो, त्यो विधिसम्मत थियो कि थिएन ? यसमा तपाईं र तपाईंको पार्टीको धारणा के छ ?
त्यसलाई तपाईंले हेर्दा बहुत वस्तुपरक तरिकाले हेर्नुपर्छ । त्यो वस्तुपरक थियो कि थिएन भन्ने दुवैको संख्या धेरै छ । हामीले इतिहासका घटना के–के छन् भनेर कोट्याएका छैनौं । हाम्रो धारणा भनेको अहिले हामी संविधानका परिपालक हौं । संविधानभित्रैबाट देशलाई परिवर्तन गर्न सकिन्छ भन्ने हाम्रो विश्वास छ । राजतन्त्रको अन्त्य सही थियो वा थिएन भन्नेबारेमा हामीले कुनै धारणा बनाइसकेका छैनौं ।
अहिले गाउँमा कांग्रेस, एमाले, माओवादी र राप्रपाको निकै ठूलो सिन्डिकेट छ भनिन्छ । अर्को शक्तिलाई निषेध गर्न कोशिश गर्छन् भनिन्छ । उनीहरूले तपाईंहरूका नयाँ कार्यकर्तालाई गाउँमा राजनीति गर्न देलान् ? वातावरण सहज देख्नुहुन्छ ?
हेर्नुस्, कठिनाइ आउँछन् । पूर्ण रूपमा निषेध गर्लान् भनेर हामीले सोचेका छैनौं । हाम्रा तीन तहका कठिनाइ छन् । पहिलो चाहिँ, शंका उपशंका । जस्तो यिनीहरू आफ्नो आफ्नो काम गरेर बसेका थिए, सोसल मिडियामा थिए, अहिले आएर यिनीहरूलाई बडा नेता बन्नुपरेको छ भन्ने धारणा हो । सजिलो छ भन्ठानेका होलान् भनेर टिप्पणी भइरहेको पनि सुनिन्छ । त्यसबाट चाहिँ माथि उठेको ठानेका छौं । तपार्इंहरू आउनुभो । सहयोग गर्छौं भन्ने मान्छेहरू आएका छन् । अर्को चाहिँ संगठित आक्रमणको चुनौती हो । त्यहाँ हामीलाई चरित्रहत्या गर्नेसम्मका चुनौती पनि हुन सक्छन् । हामीलाई खण्डित बनाउने चुनौती पनि आउन सक्छन् । त्यसलाई पनि हामी सौम्यतापूर्वक सामना गर्नेछौं र माथि उठ्नेछौं । त्यसबाट पनि माथि उठेपछि हामी शासनसत्तामा पुग्ने अवस्था भयो भने त्यतिबेला विदेशी हस्तक्षेप हुन सक्छ । त्यो चुनौतीको लागि हामीले अहिले नै छलफल गरेका छौं । निर्देशिका बनाएका छौं । त्यसबाट हामी जोगिन्छौं । हामीले शानका साथ र इमानका साथ, स्वाभिमानका साथ यस्ता मामिलालाई ह्यान्डल गर्न सक्यौं भने अप्ठ्यारो पर्दैन भन्ने लागेको छ ।
अन्त्यमा, तपाईं पत्रकारितामा निकै लोकप्रिय मान्छे । राजनीतिमा चाहिँ कत्तिको लोकप्रिय हुन्छु जस्तो लाग्छ ? रेडियोमा बोल्दा धेरै श्रोताले मलाई मन पराए । राजनीतिक रूपमा हिँड्दा पनि पोखरामा पुगेर युवाहरूले भरिएको ठाउँमा बोलें । त्यहाँ पनि मलाई मन पराए जस्तो लाग्यो । अहिलेसम्म मन पराइदिएको अवस्था हो । भोलि के हुन्छ, कसरी थाहा हुन्छ ? पत्रकारका रूपमा तपाईंले बनाएको छविले कत्तिको भोट तान्ला र ?
त्यसले भोट तान्दैन । भोट तान्नको लागि त सशक्त राजनीतिकर्मी नै हुनुपर्छ । त्यसैले त जागिर छोडेर राजनीतिमा आएँ नि ।
राजनीतिमा थकाइ भन्ने शब्द हुँदैन भनेर चर्चा पनि गरिन्छ । तपाईं चाहिँ कति वर्ष नथाक्नुहोला ?
म पूरै होमिएँ अब । थाक्छु भनेर सोचेकै छैन । १२–१५ वर्ष त नथाकिकनै लाग्ने हो । यो सामान्य स्थितिमा हो । बीचमा अनपेक्षित केही भयो भने भिन्नै कुरा । नत्र अबको १२–१५ वर्ष त नथाकेरै राजनीतिमा लाग्ने हो ।
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल समाजवादी पार्टी (नेसपा)का एकजना अध्यक्ष महिन्द्र राय यादवलाई पार्टी एकताका लागि पत्र पठाएपछि नेसपामा खैलाबैला उत्पन्न भएको छ ।&nb...
संघीय संसद्को बजेट अधिवेशन प्रारम्भ भई संवैधानिक प्रबन्धअनुसार दुवै सदनको संयुक्त बैठकमा यही जेठ १५ गते नेपाल सरकारका अर्थमन्त्रीबाट आर्थिक वर्ष २०८०/८१ को वार्षिक आय–व्यय (बजेट) प्रस्तुत भइसकेको छ । ...
लेखक एवं निर्देशक प्रदीप भट्टराईका जति फिल्म प्रदर्शनमा आएका छन्, ती सबैले दर्शकको माया र समीक्षकबाट प्रशंसा पाएका छन् । ‘जात्रा’, ‘जात्रै जात्रा’, ‘शत्रुगते’ र ‘महापुरुष...
नेपाली कांग्रेसबाट धोका भएको र गठबन्धन सम्बन्धमा पुनर्विचार गर्नुपर्ने अवस्था आउन सक्ने प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिले राजनीति तरंगित छ । माओवादीको विधा...
प्राध्यापक डा. जयराज आचार्यले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमण फलदायी नभएको टिप्पणी गरेका छन् । देशको प्राथमिकतालाई पहिचान गर्न नसक्दा प्रधानमन्त्री चुकेको उनको टिप्पणी छ । ‘हा...
बुटवल विकासका दृष्टिले काठमाडौंपछिका प्रमुख शहरमध्ये एक मानिन्छ । बुटवल धेरै क्षेत्रमा देशलाई नेतृत्वदायी भूमिका खेल्ने शहर पनि हो । २०७९ मा भएको स्थानीय तहको निर्वाचनपछि बुटवल उपमहानगरपालिकामा दोस्रो कार्यकाल...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...