ललितपुरका ‘म्यादी प्रहरी बा’ पाँचौं चुनाव गराउँदै !

ललितपुर चापागाउँ– ५ मा बस्ने मित्रराज तिमलसिना स्थानीयमाझ ‘म्यादी प्रहरी बा’का रुपमा चिनिन्छन् । उनी ०४८ सालदेखि लगातार म्यादी प्रहरीमा सहभागी हुँदै आएका छन् ।

गाउँमा निष्पक्ष चुनाव गराउन आफूले केही योगदान गर्न सकिन्छ कि भन्ने उदेश्यका साथ म्यादी प्रहरीमा भर्ना हुने गरेको उनी बताउँछन् । ४३ बर्षीय मित्रराज बुधवार ललितपुरको जावलाखेलस्थित फुटबल मैदानमा म्यादी प्रहरीलाई लिइने मौखिक परीक्षाको लागि लाइनमा बसिरहेका थिए ।

सरहका गाउँका युवाहरुसँग चैत्रको मध्यान्हमा टन्टलापुर घाममा उनी आफ्नो जीवनको पाँचौ पटक म्याद प्रहरी बन्ने सपना पूरा गर्न मौखिक परीक्षामा सहभागी हुन आएका थिए ।

जिल्ला प्रहरी कार्यालय ललितपुरले वैशाख ३१ गते हुने स्थानीय चुनावको लागी एक हजार ३८ जना म्यादी प्रहरीलाई भर्ना लिँदैछ । प्रत्येक चुनावमा म्यादी प्रहरी बनेर सेवा गर्दै आएका मित्रराज यसपाली पनि म्यादी प्रहरीको लाइनमा बस्दा दंग थिए ।
पहिलोपटक म्यादी प्रहरीको लागि मौखिक परीक्षामा सहभागी हुन आएकाहरुलाई मित्रराज हौस्याउँदै म्यादी प्रहरी बन्न डर नमान्न र इमान्दारीताका साथ काम गर्नुपर्ने पाठ पढाउँदै थिए । आफू पहिलो पटक म्यादी प्रहरी बन्दाताकाको अनुभवहरु सुनाउँदै थिए मित्रराज ।

आफ्नो परिवारमा कोही प्रहरी सेवामा नलागेपनि नजिकको ठूलाबुबा र परिवारका सदस्यहरु नेपाली सेनामा भर्ना भएको देखेर सुरक्षा सेवाप्रति मोह बढेको उनी बताउँछन् ।

उनले २०४७ सालमा नेपाली सेनामा भर्ना हुन नखोजेका पनि होइनन् । ‘त्यतिबेला निकै दुब्लो, पातलो थिए । त्यसै कारणले आर्मीमा भर्ना भएर राष्ट्रको सेवा गर्ने अवसर पाइन’ उनले लोकान्तरलाइ सुनाए ।

नेपाली सेनामा भर्ति हुन नपाएपनि उनले पहिलोपटक २०४८ सालको चुनावमा म्यादी प्रहरीको रुपमा सहभागीता जनाएका थिए । पुराना दिनको स्मरणगर्दै मित्रराज भन्छन् ‘त्यतिबेला यसरी म्यादी प्रहरीमा जाने निकै थोरै हुन्थे ।’ त्यतिबेला ललितपुरको तिखिदेवलस्थित उमामहेश्वरीको चुनावी बुथमा सहभागी भएको उनले सुनाए । पहिलो पटक म्यादी प्रहरी भएबापत ३ हजार रुपैयाँ थापेका थिए ।

२०५१ सालको चुनावमा उनी म्यादी प्रहरी बनेरै ललितपुरको पुल्चोकमा खटिएका थिए । र, त्यतिबेला उनको हातमा प–यो ५ हजार रुपैया ।

मित्रराज २०६४ सालको चुनावमा बुखेलमा खटिएका थिए भने उनले त्यतिबेला १५ हजार रुपैयाँ पाएको सुनाउँछन् । २०७० सालको संविधान सभाको चुनावमा पनि म्यादी प्रहरी बनेरै उनी काठमाडौंको एयरपोर्ट साइडतिर खटिएका थिए ।

२०७० सालको चुनावमा उनले २६ हजार २ सय रुपैयाँ पाएको बताए । अहिले उनी आफ्नो जीवनको पाँचौपटक म्यादी प्रहरी बन्ने सपना पुरा गर्न लाग्दैछन् । ‘पाँचौ पटक चुनावको सुरक्षा गरेर राष्ट्रको सेवागर्ने मौका कुरेर बसेको छुँ’ यसमा उनी आफूलाई निकै भाग्यमानी ठान्छन् ।

यसपाली पनि उतिकै उत्साहका साथ म्यादी प्रहरीमा सहभागी हुन लागेका छन् । कुनै एक पार्टीमा आफ्नो आस्था भएपनि चुनावको बेला म्यादी प्रहरीमा बस्नुपरेका कारण प्रत्यक्ष भोट हाल्न नपाएकोप्रति उनको दुखेसो छ ।

संविधानसभाका दुइवटै निर्वाचनमा उनले समानुपातिकतर्फ भोट हाल्न पाए । ‘प्रहरीमा लागेपछि अघिपछि जस्तो राजनैतिक गफ र पार्टी भनेर लाग्न पाइँदैन’ मित्रराजले म्यादी प्रहरीमा भर्ना हुन आएका युवालाई आफ्नो अनुभव सुनाउदै थिए ।
प्रहरी भएपछि राजनैतिक कुराप्रति चासोभन्दा बढी आफ्नो ड्युटी र चुनावको सुरक्षामै बढी सतर्क हुनुपर्छ उनले भने । म्यादी प्रहरी बन्ने उनको चाहनालाई परिवारले पनि साथ दिएको छ । र, स्वास्थ्यले पनि । ‘उमेरले भ्याएसम्म अब आउने चुनावमा पनि भाग लिँदै जानेछु’ उनले भने । पाँचौं पटक म्यादी प्रहरी बन्न लागेका मित्रराजलाई अर्को बर्ष हुने संसदीय निर्वाचनमा पनि सभागि हुने इच्छा छ । चैत २३, २०७३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस