बैतडीमा एसपीएल क्रिकेट : आयोजक नै च्याम्पियन

कात्तिक १२, २०७६

बैतडी – जिल्लाको शिवनाथ गाउँपालिकामा सम्पन्न शिवनाथ प्रिमियर (एसपीएल) क्रिकेटमा आयोजक उदयदेव साहारा क्लब ‘बी’ च्याम्पियन भएको छ ।

सोमवार भएको खेलमा ब्राइट युथ स्पोट्स क्लब शर्मालीलाई २ विकेटले हराउँदै आयोजकले उपाधि हात पारेको हो ।


ADVERTISEMENT

विजेता क्लबले ४४ हजार ४४४ रुपैयाँ पुरस्कार पाएको छ भने उपविजेता शर्मालीले २२ हजार २२२ रुपैयाँ पाएको छ ।

सुल्लेखान खेलमैदानमा टस हारेर ब्याटिङको निम्ता पाएको शर्मालीले निर्धारित १५ ओभरमा छ विकेटको क्षतिमा १२७ रन बनाएकामा कृषन चन्दले सर्वाधिक ४१ रनको योगदान गरेका थिए ।  आयोजकका तर्फबाट मीनबहादुर चन्दले चार विकेट हात पारे ।

१ सय २८ रनको विजय लक्ष्यका साथ मैदान उत्रेको आयोजकले १४ ओभर २ बलमा मनोज चन्दको २८ रनको मद्दतमा ८ विकेटको क्षतिमा लक्ष्य पूरा गर्‍यो । शर्मालीका तर्फबाट कृषन चन्दले २ विकेट हात पारे । उनी म्यान अफ द फाइनल पनि चुनिए । प्रतियोगितामा २ अर्धशतकसहित १७९ रन र ६ विकेट हात पारेका आयोजकका वीरेन्द्र चन्द प्रतियोगिताका उत्कृष्ट खेलाडी घोषित भए । उनले लिगको एउटा खेलमा ६ बलमा ६ छक्कासमेत हिर्काएका थिए । वीरेन्द्र म्यान अफ द म्याच हँुदै २ हजार २२२ रुपैयाँ पुरस्कार हात पारे । 

आयोजककै मीनबहादुर चन्द प्रतियोगिताभर ११ विकेट हात पार्दै उत्कृष्ट बलर चुनिए भने शर्मालीका विनोद चन्द प्रतियोगितामा १२८ रन हिर्काउँदै उत्कृष्ट ब्याट्सम्यान भए । दुवैले समान १ हजार १११ रुपैयाँ पुरस्कार पाएका छन् ।

विजेता तथा उपविजेता खेलाडीलाई शिवनाथ गाउँपालिकाका अध्यक्ष किर्णसिंह साउद र उपाध्यक्ष कुुश्मा चन्दले पुरस्कार प्रदान गरेका आयोजक क्लबका अध्यक्ष मनोजसिंह ठकुराठीले जानकारी दिए । प्रतियोगितामा ९ टोली सहभागी थिए ।

कात्तिक १२, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार