अयोध्या राम मन्दिरसम्बन्धी फैसला आउन लाग्दा सुरक्षा व्यवस्था कडा

कात्तिक २२, २०७६

काठमाडौं – अयोध्याको राम मन्दिर बाबरी मस्जिद विवादमा अब कुनै पनि बेलामा फैसला आउन लागेको छ ।

उत्तर प्रदेश, विशेषगरी अयोध्या, मा विशेष सतर्कता अपनाइएको छ । प्रहरीले लगभग १६ सय ५९ मानिसहरूको सामाजिक सञ्जाल अकाउन्टमा निगरानी गरिरहेको छ । इन्टरनेट सेवा निलम्बन पनि गर्न सकिन्छ ।


ADVERTISEMENT

डीजीपीले प्रहरी बललाई प्रस्ट सन्देश दिएर जुन हालतमा पनि शान्ति कायम राख्न भनेका छन् । अधिकारीहरूले धर्मगुरुहरूसँग बैठक गरिरहेका छन् । सेना र वायुसेनासँग पनि प्रहरीको सम्पर्क छ । 

डीजीपी ओपी सिंहले प्रहरीको रेडारमा लगभग १० हजार मानिस रहेको र उनीहरूलाई नजरबन्दमा राखिएको बताए । तीमध्ये ४५० जनालाई कारागारमा राखिएको छ । 

अयोध्या समेत संवेदनशील स्थानको पहिचान गरेर ब्यारिकेडमा आवतजावत गर्ने मानिसहरूको तलाशी लिइँदैछ । 

भीड नियन्त्रण र हल्लालाई रोक्नु आफूहरूको प्राथमिकता रहेको डीजीपी सिंहले बताए । केन्द्र सरकारसँग अर्धसैनिक बलको माग गरिएको र ४० कम्पनी अर्धसैनिक बल आफूहरूले पाइसकेको उनले जानकारी दिए । तर थप ७० कम्पनी आवश्यक रहेको उनको भनाइ छ । 

अयोध्यामा पञ्चकोसी परिक्रमा, कार्तिक पूर्णिमा मेला र आइतवार ईद–ए–मिलाद छ । पर्वका बेलामा सुरक्षा चुनौतीको विषय हो ।

एजेन्सी
 

कात्तिक २२, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस