Nic Asia
cocacola

सम–सामयिक

कहाँ हराए पुराना सांगीतिक समूह ?


प्रविधिको विकासले मान्छेको जीवनस्तर परिवर्तन गरिदिएको छ । गीत संगीतमा एकताकाको अडियो क्यासेटको समयलाई पनि पूर्ण रूपमा हटाइसकेको छ । रेकर्डिङ स्टुडियोमा गाइएका गीतलाई अडियो क्यासेटको माध्यमबाट बजारमा बेचेर नाम र दाम दुवै कमाउने समयलाई अहिलेको डिजिटल समयले एकादेशको कथा बनाइदिएको छ ।

केही दशकअघिका चर्चित गायकहरू आजभोलि भने लगभग गुपचुपजस्तै छन् । प्राविधिक परिवर्तनलाई कलाकारले सदुपयोग गर्न सकेका छैनन् । त्यसो त कलाकारलाई दर्शकको पहुँचसम्म पुग्नका लागि इन्टरनेटले धेरै सहज बनाइदिएको छ । यसको लाभ दर्शक र सर्जक दुवैले लिएका छन् ।1974

तर कुनै जमानाका ‘हिट’ कलाकार आजभोलि भने बेपत्ताजस्तै छन् । समयले एकातिर गीतमा पनि परिवर्तन खोजेको छ भने अर्काथरी दर्शकले पुराना गीत पनि रुचाइरहेका छन् ।

आफ्नो जमानामा क्यासेट बेचेरै लाखौं कमाउने कलाकार आजभोलि भने गीतको माध्यमबाट पैसा कमाउन नसकेको बताउँछन् । दर्शकको चाहनाअनुरूपका गीत सृजना नगर्नु एउटा पक्ष रह्यो भने नयाँ प्रविधिसँग समायोजित हुन नसक्नु अर्को कारण भएको कतिपय संगीतकर्मीको भनाइ छ ।

चर्चित ब्यान्ड ‘१९७४ एडी’ का गितारिस्ट मनोज केसीले अहिले कलाकारले कन्सर्टको माध्यमबाट आफ्नो दैनिकी धानेको बताउँछन् । ‘अहिले संगीतको बजारभन्दा कलाकार धेरै भइसकेका छन्, लगभग दिनदिनै नयाँ गीत सार्वजनिक हुँदा गीतको आयु छोटो भएको छ,’ मनोज भन्छन्, ‘कुनै समय ‘रेडियो पुस्ता’ थियो, कम गीत धेरै समयसम्म बज्थे, अहिले समय उल्टो भएको छ ।’

रेडियो पुस्ता अर्थात रेडियोमा गीत सुनेर श्रोताले गीतका क्यासेट किन्ने गर्थे ।

कलाकार ओझेलमा पर्नुको कारण त्यति मात्र होइन । अहिलेको बजार हल्लाको भरमा चल्न थालेको छ । आफूलाई गीतको माध्यमबाट चिनाउने खोज्ने कतिपय कलाकार मिडियाबाजी गर्न नसक्दा पनि ओझेलमा पर्ने गरेको केसी बताउँछन् ।


‘पर्खाइमा’, ‘बादलपारिको देशबाट’, ‘शायद तिम्रो बाटोमा’ लगायतका चर्चित गीत गाएका राजु लामा (मंगोलियन हार्ट) ले आफ्नो नयाँ गीत गीत दर्शक तथा श्रोतामाझ ल्याएका छैनन् । पुराना गीत गाउँदै उनी बेलाबेलामा कन्सर्ट भने गरिरहेका हुन्छन् । हाल अमेरिकामा बसोवास गर्दै आएका लामा बरू ‘राजु लामा फाउन्डेसन’ मार्फत सामाजिक कार्यमा जुटेका छन् ।

गायक भीम तुलाधरले नयाँ गीत बजारमा नल्याएको पनि लामै समय भयो । कुनै समय एकपछि अर्को गर्दै नयाँ गीत बजारमा ल्याएका भीम तुलाधरका नयाँ गीत आएका छैनन् । पछिल्लो पुस्ताका दर्शकमध्ये उनलाई कमैले चिन्छन् । उनी आफ्ना केही गीतलाई रिमिक्स गरेर बजारमा ल्याउने योजनामा छन् ।

पुरानो समयदेखि सक्रिय कुटुम्ब ब्यान्ड भने चर्चामै छ । संगीतको तालमा दर्शक झुमाउने कुटुम्बका सदस्यले ब्यान्डलाई समयअनुसार अगाडि लैजान खोजेको बताउँछन् ।

‘संगीतलाई निरन्तरता दिइरह्यो भने सफल भइन्छ तर दर्शकको रुचिअनुसारको संगीत भने दिन सक्नुपर्छ ।’ कुटुम्बका ब्यान्ड सदस्य अरुण गुरुङ भन्छन्, ‘हामीले दर्शकको चाहनाअनुसारको संगीत दिन खोजेका हुन्छौं । पहिलेका दर्शक पनि माया गर्नुुहुन्छ, नयाँ दर्शकको साथ पनि पाएका छौं ।’1974 a

संगीतलाई नै निरन्तरता दिन सकियो र समूहकार्य (टीम वर्क) राम्रो भयो भने बजारमा जम्न खासै गाह्रो नहुने गुरुङ सुनाउँछन् ।

‘द अग्लिज’ ब्यान्डका ‘माया’, ‘तिम्रो न्यानो अंगालोको माया’ लगायतका गीत दर्शकको मथिंगलमा अझै पनि ताजा छन् । तर यो ब्यान्डले पनि बजारमा नयाँ गीत भने ल्याएको छैन । ब्यान्डका भोकलिस्ट सरुन ताम्रकार लामो समयदेखि अस्ट्रेलियामा बस्दै आएका छन् ।

धेरै कलाकार विदेशमा छन् । नेपालमा भएका धेरै कलाकारले वैकल्पिक काम गरिरहेका छन् । चलचित्र ‘देश खोज्दै जाँदा’ को प्रचारमा व्यस्त गायक तथा अभिनेता बाबु बोगटी भने अभिनयलाई विकल्पका रूपमा लिएको बताउँछन् ।
‘अहिले पनि गीतलाई नै महत्त्व दिएको हुन्छु तर चलचित्र प्रदर्शनमा आउन लागेकाले फिल्ममा सक्रिय भएजस्तो देखिएको हो,’ बोगटी भन्छन् ।

आफ्ना केही साथी विदेश पलायन भएपनि आफू अझै नेपालमै रमाएको उनी बताउँछन् । थप्छन्, ‘म नाटक गरेरै हुर्केको मान्छे हुँ, जे काम अगाडि आउँछ, त्यही काम गर्ने हो, मुख्य रुचि संगीत नै हो ।’

अहिले भने धेरै कलाकारको आम्दानीको बाटो स्टेज कार्यक्रममा सीमित भएको छ । नयाँ कलाकारले युट्युबबाट राम्रै आम्दानी गरेपनि अडियो क्यासेटमा गाएका धेरै गायकले भने युट्युबबाट कसरी पैसा कमाउने भन्नेमा पनि अलमल छन् ।

पुराना ब्यान्डको तुलनामा नयाँको वर्चस्व भने कायम छ । ‘अहिलेका गीत एक महिनामै पुराना भइसक्छन्, पुराना गीतहरू अझै पनि सुनिन्छन् ।’

‘१९७४ एडी’ का मनोज केसी भन्छन्, ‘हामी हराएका होइनौं, मिडियामा नछाएका मात्र हौं ।’ शनिवार, श्रावण २८, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

toyota
Nepatop and Maruti
Maruti

ताजा समाचार