Ruslan
Tata /sipradi
Nic Asia

सम–सामयिक

कठै सांसद ! सुन तस्करी हुँदा मुलुकलाई के घाटा हुन्छ ?

लोकान्तर संवाददाता
काठमाडौं, २६ पुस – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलवाट ३३ किलो सुन तस्करी भएको घटनाले सरकारी संयन्त्रमा तरंग ल्याएको छ । तस्करीको सिधा असर राजश्वमा पर्छ । यो सर्वसाधारणलाइ समेत जानकारी भएको बिषय हो । तर यति सामान्य कुरा नेपालका सांसदलाई भने जानकारी छैन ।
कांग्रेसका एक सांसदले संसदीय समितिमै प्रश्न गरे –सभापतिज्यू सुन तस्करी हुँदा मुलुकलाई के घाटा हुन्छ ?
व्यवस्थापिका संसदको अर्थ समितिले मंगलवार सुन तस्करीकै विषयमा गृह मन्त्रालय, अर्थ मन्त्रालय, भन्सार विभाग, राजश्व अनुसन्धान विभाग, प्रहरी महानिरिक्षक लगायतका सरोकारवाला निकायसहित सांसदबीच छलफल गर्न बैठक आयोजना गरेको थियो ।

बैठकमा अर्थ मन्त्री कृष्ण बहादुर महरा, अर्थ मन्त्रालयका राजश्व सचिव राजन खनाल, प्रहरी महानिरिक्षक उपेन्द्रकान्त अर्याल, भन्सार विभागका महानिर्देशक शिशिरकुमार ढुंगाना लगायतले सुन तस्करीका विषयमा आ –आफ्ना धारणा राखेका थिए । उनिहरूले सुन सम्भावित कारण, यसका असर लगायतका विषयमा आ –आफ्ना धारणा राखेका थिए । यसरी सुन तस्करी हुँदा करबापत उठ्ने राजश्व गुमेको र मुलुककै सुरक्षा संवेदनशिलतामाथि प्रश्नचिह्न उठेको बैठकको ठहर थियो ।

अर्थमन्त्री महराले सुन तस्करीका विषयमा गहन अध्ययन भइरहेको र अपराधीलाई कानूनी कठघरामा ल्याएरै छाड्ने प्रतिवद्वता जाहेर गरेका थिए । उनले बिहीवार ठूलो परिमाणमा भएको सुन तस्करीको घटना मुलुकका लागि लज्जाको विषय भएको बताएका थिए ।

बैठकमा सरोकारवाला सबै निकायले आ –आफ्ना धारणा राखेका थिए । मंगलवारै दिउँसो १ बजे व्यवस्थापिका संसद बस्ने कार्यक्रम भएको र सांसद त्यतातिर जानुपर्ने भएपछि बाँकी छलफलका लागि बुधवार अर्को छलफल गर्ने घोषणा गरिएको थियो ।

सभापतिले बैठक विसर्जन गर्नै लागेका थिए । नेपाली कांग्रेसका एक सांसद हडबडाउँदै प्रश्न गरे –सभापतिज्यू सुन तस्करी हुँदा मुलुकलाई के घाटा हुन्छ ? रुपन्देही –१ बाट प्रतिनिधित्व गर्ने नेपाली कांग्रेसका अब्दुल रज्जाक गद्दि उक्त जिज्ञासा राखेपछि बैठकमा सांसद र उपस्थिति सहभागीबीच हाँसोको फोहोरा छुट्यो । केही सांसद रज्जामको उक्त पश्न लाजमर्दो भएको भन्दै मुसुमुसु हाँस्दै बाहिर निस्केका थिए ।

‘माननीयले कुन आशयले उक्त प्रश्न गर्नुभयो त्यो बुधवारको बैठकमा थाहा होला,’ समितिका सभापति प्रकाश ज्वालाले लोकान्तरसँग भने ।

भन्सार विभागका अनुसार प्रति १० ग्राम सुनको आयातमा ४ हजार २ सय रुपैयाँ राजश्व सरकारलाई तिर्नुपर्छ । यही हिसावमा १ किलो सुन आयात गर्दा सरकारलाई ४ लाख २० हजार रुपैयाँ राजश्व जान्छ । यही दरमा हिसाव गर्दा ३३ किलो सुन अवैध आयात गर्दा सरकारलाई १ करोड ३८ लाख ६० हजार घाटा हुन्छ ।
मंगलवार, पौष २६, २०७३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ncell
Shivam
Sagoon