Ruslan
Tata /sipradi
Nic Asia

सम–सामयिक

भूकम्पले ढलेका विद्यालय बनाउन हेल्प नेपालको ८० लाख सहयोग


काठमाडौं, २७ पुस — डेढ वर्ष अघिको भूकम्पले ढलेका विद्यालय बनाउन हेल्प नेपाल नेटवर्कले ८० लाख रुपैयाँ सहयोग गरेको छ । सिन्धुपाल्चोक र दोलखाका दुई विद्यालय बनाउन हेल्प नेपालले जनही ४०/४० लाख रूपैयाँ प्रदान गरेको हो ।

हेल्प नेपालले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रमका बीच हास्यकलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले सो रकम प्रदान गरेका हुन् । सिन्धुपाल्चोकको ठोकर्पा उच्च मावि र दोलखाको राजकुलेश्वर आधारभूत विद्यालय बनाउनका लागि सो रकम प्रदान गरिएको हो ।

यी विद्यालयहरू गत वर्षको भूकम्पमा परी पूर्ण रूपमा क्षतिग्रस्त भएका थिए । हेल्प नेपालका अध्यक्ष अरुणसिंह बस्नेतले भूकम्पकै प्रतीकको रूपमा यी विद्यालयहरू निर्माण गर्न लागिएको बताए । उनले नेपाली वास्तुकला प्रयोग गरेर नमुना विद्यालयका रूपमा बनाउन खोजिएको समेत जानकारी दिए ।

‘दोस्रो, तेस्रो चरणमा पनि हामीले विद्यालय निर्माणको लागि सहयोग गर्नेछौं,’ उनले भने । यी विद्यालय बनाउनको लागि अभियान सञ्चालन गरिरहेका संस्थालाई हेल्प नेपालले रकम हस्तान्तरण गरेको हो ।
ठोकर्पा उच्च मावि निर्माणका लागि काम गरिरहेको सर्भाइभर्स नेपालका उत्तम पुडासैनीलाई हेल्प नेपालले ४० लाख हस्तान्त्रण ग–यो भने राजकुलेश्वर निर्माणका लागि राजहिटी समाज दोलखाका विक्रम मल्ललाई ४० लाख प्रदान ग–यो ।

विद्यालय निर्माणमा काम गरिरहेका पुडासैनी र मल्लले हेल्प नेपालले दिएको सहयोगलाई अधिकतम प्रयोग गरेर विद्यालय बनाउने बताए । उनीहरूले आफूहरूको तर्फबाट पनि रकम संकलन गरेर विद्यालय निर्माणको काम अघि बढ्ने बताएका छन् ।

हेल्प नेपलका अध्यक्ष बस्नेतले ठोकर्पा उच्च माविको कुल लागत आठ करोड ९५ लाख अनुमान गरिएको बताए । त्यस्तै राजकुलेश्वरको लागि चाहिँ ४ करोड ९० लाख अनुमान गरिएको छ ।

पहिलो चरणको केही काम गरेपछि दोस्रो चरणको काम चाहिँ बिस्तारै गरिने उनले बताए । उनका अनुसार अहिलेका विद्यार्थीलाई बसेर पढ्न मिल्नेगरी पहिलो चरणमा काम गरिनेछ भने बाँकी काम बिस्तारै गरिनेछ ।
हेल्प नेपालले लामो समयसम्म पनि स्मरण गर्ने गरी यी विद्यालयहरू निर्माण गर्न लागिएको जनाएको छ । हेल्प नेपालका संस्थापक अध्यक्ष रवीन्द्र मिश्रले कामचलाउ भन्दा पनि स्मरण गर्न योग्न हुने तरिकाले यी विद्यालय निर्माणको लागि काम गर्न लागिएको बताए ।

‘नेपालमा कामचलाउ हुने गरी धेरै कामहरू हुन्छन्, तर पछिसम्मको लागि सोचिँदैन,’ उनले भने, ‘हामीले पछिसम्मको लागि सोचेर विद्यालयहरू निर्माणको काम गर्न खोजेका हौं ।’ मिश्रका अनुसार भूकम्पकै बेलामा उठेर खर्च हुन बाँकी रकमलाई विद्यालय पुनर्निर्माणमा सदुपयोग गर्न खोजिएको हो ।

मिश्रले विद्यालय निर्माणमा बढी नै रकम लाग्ने भएपनि आफूहरू काम शुरु भएसँगै सहयोगका लागि अपील गर्ने बताए ।

इन्जिनियर भाष्कर श्रेष्ठले यी दुई विद्यालय निर्माणका लागि अत्यन्तै कलात्मक डिजाइन गरेका छन् । कक्षाकोठामा एकजना विद्यार्थीलाई एक वर्ग मिटर क्षेत्रफल आवश्यक पर्ने भएकोले सोही अनुसारका कक्षाकोठाहरू डिजाइन गरिएको बताए ।

साथै विद्यालयमा आवश्यक अरू पूर्वाधारहरूलाई समेत डिजाइनमा समेटिएको छ । विद्यालय निर्माणको लागि जिम्मा लिएका संस्था र हेल्प नेपालले संयुक्त रूपमा बजेटको जाहो गर्ने गरी सहकार्य गरेका छन् । बुधवार, पौष २७, २०७३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ncell
Shivam