उपभाेक्ता

साइकल चोरी भएर हैरान हुनुहुन्छ ? आयो स्मार्ट लक प्रविधि (भिडियो सहित)

काठमाडौं, २६ असोज — वातावरणप्रति सचेत मानिसहरू साइकल चलाउन मन पराउँछन् । तर साइकल सजिलै चोरी पनि हुन्छ ।


यसैलाई विचार गरेर संसारको पहिलो पूर्ण स्वचालित स्मार्ट बाइक लक बनेको छ । यसले साइकललाई स्वचालित रूपमा ताला लगाउने र बन्द गर्ने गरिदिन्छ ।

यो स्मार्ट लक (ताल्चा) ब्लुटूथको माध्यमले स्मार्टफोनका साथ सम्पर्कमा रहन्छ । साइकल चलाउने व्यक्ति साइकलबाट अलिकति पर जानेबित्तिकै यसलाई लक गरिदिन्छ । अनि साइकलवाला नजिक आउँदा ताला आफैं खुल्छ ।

अमेरिकाको क्लालिफोर्नियामा स्टार्टअप कम्पनीले बनाएको बिसीकू नामक स्मार्ट लकलाई एयरोस्पेस ग्रेड एल्युमिनियम अलोए मेटल डिजाइनबाट बनाइएको हो । यो हलुका हुनुका साथसाथै बलियो पनि हुन्छ र यसलाई काट्न लगभग असम्भव हुन्छ ।

यो ताल्चा वाटरप्रूफ छ । त्यसैले बर्खामा पनि यसको उपयोग गर्न सकिन्छ । यसमा एलईडी लाइट लगाइएको छ जसलाई साइकलको पार्क गरेपछि पार्किङमा ट्य्राक गर्न मद्दत पुग्छ । त्यसबाहेक साइकल चलाउँदा एलईडी बल्छ जसकारण अन्य वाहनचालकहरूले राति सडकमा साइकल गुडिरहेको थाहा पाउँछन् ।

साइकलमा कसैले हात लगायो भने अलार्म बज्छ अनि स्मार्टफोनमा आएको पुश नोटिफिकेसनले साइकल चोरी हुन लागेको थाहा दिइहाल्छ ।

स्मार्ट लकको लिथियम आयन ब्याट्रीलाई माइक्रो युएसबी केबलले एकचोटिमा दुई घन्टासम्म चार्ज गर्दा ६ महिनासम्म उपयोग गर्न सकिन्छ ।

यसको मूल्यका बारेमा निर्माताहरूले केही बताएका छैनन् ।

एजेन्सी

असोज २६, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस