राजनीति

चुनावको मिति नसार्न प्रधानमन्त्रीलाई ओली-प्रचण्डको चेतावनी, चुनाव नसार्ने देउवाको स्पष्टोक्ति

काठमाडौं २६ असोज– प्रधानमन्त्री शेरबहादुर देउवाले मंसिर १० र २१ गतेका लागि निर्धारित प्रदेश र प्रतिनिधि सभाको चुनाव तलमाथि नहुने स्पष्ट गरेका छन् ।

सरकार तोकिएको मितिमै चुनाव गर्ने तयारीमा रहेको भन्दै उनले आशंका नगर्न नेकपा एमाले र माओवादी केन्द्रसंग आग्रह गरेका छन् ।

प्रधानमन्त्री कार्यालय सिंहदवारमा बिहीवार बसेको तीन दलका शीर्ष नेताहरुको बैठकमा प्रधानमन्त्री देउवाले सरकार तोकिएको मितिमै चुनाव गर्न प्रतिबद्ध रहेको बताएका हुन् । प्रधानमन्त्री देउवाले तोकिएको मितिमै चुनाव गर्ने प्रतिबद्धता जनाएका एमाले बरिष्ठ नेता माधवकुमार नेपालले जानकारी दिए ।

बैठकमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले चुनावको मितिमा हेरफेर गर्ने निर्णय नलिन देउवालाई चेतावनी दिएका थिए ।

यसअघि सरकारले मंसिर १० का लागि प्रस्तावित निर्वाचन मंसिर २१ गते सार्न प्रस्ताव गरेको समाचार प्रकाशमा आएका थिए ।

माओवादी र एमालेबीच चुनावमा वामपन्थी तालमेलको घोषणा भएपछि तीन दलका नेताहरुबीच संवाद भएको थिएन । प्रचण्ड र ओलीले चुनावको मुखमा मन्त्रिपरिषद हेरफेर नगर्न समेत चेतावनी दिएका थिए ।

तीन दलको बैठकमा राष्ट्रिय सभा निर्वाचन सम्बन्धी विधेयकलाई अन्तिम रुप दिने बिषयमा समेत छलफल भएको थियो । असोज २६, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस