Nerolac and Nepal life

संगीत

‘चुरोट, रक्सी र गुलियो नखाएको भए नारायणगोपालको स्वर कस्तो हुँदो हो ?’

अर्घेलो थापा

 
आज स्वरस्रमाट नारायण गोपालको २६ औं जन्मजयन्ती । नेपाली सांगीतिक क्षेत्रका एक अमर तारा । उनै स्वरसम्राट् जसका गीत आम मानिसका मनमा सजिलै वास बसेका छन् ।

narayan-gopal

वि.सं. १९९६ असोज १८ गते आशागोपाल गुरुवाचार्य र रामदेवी गुरुवाचार्यको सन्तानका रूपमा जन्मिएका नारायणगोपाल (गुरुवाचार्य) २०१७ सालमा रेडियो नेपालमा स्वर परीक्षण गराएर नेपालीसंगीत क्षेत्रमा प्रवेश गरेका थिए ।

शुरूशुरूमा अगाडि आएर गीत गाउन समेत लजाउने नारायणगोपाल पछि भने आधुनिक गायनको क्षेत्रमा पर्यायका रूपमा स्वरसम्राट् भएर उदाए । नेपाली संगीतको क्षेत्रमा ५ सयभन्दा बढी गीतमा आफ्नो स्वर र ३ सयभन्दा बढी गीतमा संगीत भरेका उनले वि.सं. २०२३ मा संगीत विधाका लागि सर्वोत्तम संगीतकारको पुरस्कार पाएका थिए । त्यो उनको पहिलो पुरस्कार थियो ।

नारायणगोपालले औपचारिक रूपमा संगीतको शिक्षा नलिएको पाइन्छ । उनी संगीत सिक्न भारतको बडोदा गए तर पढाई पूरा नगरी फर्के । यसर्थ उनले संगीतमा कुनै पनि औपचारिक शिक्षा नलिएको बुझ्न सकिन्छ ।

उनले गाएका धेरै गीतहरूमा पीडा, विरह र वियोग मिसिएको पाइन्छ । के उनी प्रेममा विरक्तिएका थिए ? कलाकार नीर शाह भन्छन्, ‘उहाँले धेरै खालका गीत गाउनुभएको छ । विछोडका गीत श्रोताले बढी मन पराएका मात्र हुन् ।’

गीतकार नगेन्द्र थापाको धारणा भने फरक छ । उनी भन्छन्, ‘उसले (नारायण गोपालले) आफ्ना गीत कहिल्यै गाएन । अरूले लेखेका गीत गायो । विछोडका गीत मात्र गायो भन्ने हुँदै होइन ।’

गल्ती हजार हुन्छन् यहाँ होश हराएको बेला…
गोपाल योञ्जनले रचना गरेको यो गीत उनको चर्चित गीतमध्येको एक हो । नारायणगोपाल सानैदेखि रक्सी पिउँथे । साथीभाइसँग मिलेर गाँजा र चुरोट समेत तान्थे । उनको यही कारणले गर्दा पहिलो प्रेम सफल नभएको पनि बताइन्छ । तर यो कुरा मान्न तयार छैनन् कलाकार शाह ।

उनी भन्छन्, ‘उहाँले जिन्दगीमा एकपटक मात्र प्रेम गर्नुभयो र उहाँसँगै बिहे गर्नुभयो ।’
नारायणगोपालको इतिहास केही कष्टकर थियो भने केही रमाइलो । अनि केही प्रेरणादायी पनि । बुवालाई प्रेरणाको स्रोत मान्थे नारायणगोपाल । उनका बुवाले नारायणगोपाललाई धार्मिक गीत नगाएर पप शैलीका गीत गाउन लाग्यो भनेर गाली पनि गर्नुभएको थियो । पेमला लामासँगको बिहेपछि उनको घरपरिवारसँग केही समय खटपट प-यो । कारण थियो – जात नमिलेकी केटीसँग बिहे गर्नु ।

निरन्तर संगीत साधनामा लागिपरेका नारायणगोपाललाई भूपि शेरचनले पहिलोपटक स्वरसम्राट् भनेर सम्बोधन गरेका थिए । पछि उनलाई राजपरिवारले समेत स्वरसम्राट् भनेपछि उनी स्वरसम्राट्कै रूपमा परिचित बने ।

मलाई छोडी मेरो माया कतै झरेछ, एउटा मान्छेको मायाले कति फरक पार्दछ जिन्दगीमा, यति चोखो यति मीठो दिउँला तिम्लाई माया, केही मीठो बात गर रात त्यसै ढल्किनेछ, यो सम्झने मन छ म बिर्सुं कसोरी, झरेको पात झैं भयो उजाड मेरो जिन्दगी, जुन फूल मैले चाहेको थिएँ कसैले चुँडेछ, आँखा छोपी नरोऊ भनी भन्नु प—याछ, पर्खी बसें आउला भनी मेरो उठ्ने पालो, मन्दिरमा छ कि, मूर्तिमा माया, चम्क चम्क नौजवान हो लगायतका सयौं गीत गाउनुभएका स्वरसम्राट् नारायणगोपाल धेरै लामो समय भने हामीसँग रहनुभएन ।

विभिन्न रोगले च्यापेपछि काठमाडौंको वीर अस्पताल भर्ना भएका नारायणगोपालको वि.सं. २०४७ साल मंसिर १९ निधन भएको थियो । मादक पदार्थको अत्यधिक सेवन र गुलियो बढी प्रयोगले उनको स्वास्थ्य बिग्रेको उनलाई नजिकबाट चिन्नेहरूको भनाई छ ।

नीर शाहले बुझेका नारायणगोपाल
उहाँ प्रखर ‘सेन्स अफ ह्युमर’ भएको मान्छे हुनुहुन्थ्यो । उहाँ घमण्डी हुनुहुन्थ्यो भन्ने गरेको पाइन्छ तर त्यो गलत हो । उहाँ खानाको शौखिन हुनुहुन्थ्यो । सबैसँग मिल्ने स्वभाव उहाँको थिएन । हामीसँग भने अत्यन्तै मिल्नुहुन्थ्यो । आफूलाई मन परेन भने अरूको मतलब गर्नुहुन्थेन । उहाँ स्वाभिमानी हुनुहुन्थ्यो ।

उहाँ मेरो साथी होइन । मभन्दा सिनियर भएकोले उहाँले मलाई भाइको व्यवहार गर्नुहुन्थ्यो । उहाँ स–साना कुरामा पनि रमाइलो गर्नुहुन्थ्यो । मलाई लाग्छ, उहाँले जिन्दगीमा एकपटक मात्र प्रेम गर्नुभयो र उहाँसँग नै विवाह गर्नुभयो । उहाँ विछोडमा विरक्तिनुभएको भन्ने गलत हो ।

बरू उहाँलाई आफ्नो बच्चा नहुनुको पीडा थियो होला । उहाँले साना बच्चाहरूलाई अत्यन्तै माया गर्नुहुन्थ्यो । विडम्बना उहाँका बच्चा भएनन् । रक्सी भने पिउनुहुन्थ्यो । त्यसको कुनै समय हुँदैनथ्यो । मन लागेको बेलामा जतिखेर पनि पिउनुहुन्थ्यो ।

उहाँ गुलियोको अत्यन्तै शौखिन हुनुहुन्थ्यो । उहाँलाई मधुमेह र मृगौलामा समस्या देखिएको थियो । उहाँ अब बाँच्नुहुन्न भन्ने भएपछि मैले उहाँलाई सोधेको थिएँ – दाइ, अन्तिम इच्छा के छ ?
उहाँले हाँस्न खोज्दै गुँदपाक ल्याइदिन आग्रह गर्नुभयो तर हामीले उहाँलाई गुलियो खुवाउन हुँदैनथ्यो ।

यादव खरेलले बुझेका नारायणगोपाल
उनी यति धेरै सर्वाधिक रुचाइनुमा ईश्वरको देन छ जस्तो लाग्छ । उनीसँग जुन खुबी थियो, त्यो खुबी पछिल्ला पुस्तामा हामीले भेटाउन सकेका छैनौं । पहिलेको तुलनामा अहिले सांगीतिक बजार व्यापक भएको छ । अहिलेका गायकले सयौं गीत गाउँदा ५ वटा चल्छ तर नारायणगोपालले गाएका प्रायः गीत धेरैले रुचाउँथे । उनले जुन गीत गाए, त्यही हिट हुन्थ्यो । उनी आफैंले गीत लेख्दैनथे । उनले सबै खालका गीतहरू गाए । विरह र वेदनाका गीत पनि गाए । राष्ट्रिय गीत पनि गाए ।

उनले वास्तविकतामा डुबेर गीत गाउँथे । गीतमा डुब्नसक्ने उनको खुबी थियो । उनी सम्पादक भएर पनि काम गरेका थिए । उनले बागीना (बाजा, गीत र नाचसम्बन्धी) पत्रिकाको सम्पादन गरेका थिए । उनले आफ्नो पूरै जीवन संगीतका लागि दिए ।

नगेन्द्र थापाले बुझेका नारायणगोपाल
पेमला लामासँग भेट गराइदिने हामी (नगेन्द्र र गोपाल योञ्जन) नै हौं । उनीहरूबीच पहिल्यै प्रेम भइसकेको रहेछ । यो दार्जिलिङ हुँदाको समय हो । नारायणगोपालसँग मेरो चिनजान गायकका रूपमा भएको हो । यदि ऊ गायक नभएको भए पनि मेरो ऊ उस्तै प्रिय बन्थ्यो ।

मैले उसमा कुनै दोष भेटिन । उसको ठट्टा गर्ने बानी थियो । रमाइलो व्यवहारको थियो । पेमलालाई बिहे गर्नुभन्दा पहिले पनि उसको प्रेम थियो । दुईतर्फी प्रेम भएर पनि विविध कारणले त्यो प्रेम सफल हुन सकेन । पछि उसको पेमलासँग प्रेम भयो । उनीसँग बिहे भयो ।

उसले मेरा पनि संगाल घुम्टोहरू सजाऊ केशहरु, बिर्सेर फेरि मलाई नहेर यहाँ एक जीवन आँसुमा डुब्छ, चिनारी हाम्रो धेरै पुरानो भए झैं लाग्दछ लगायतका गीतहरू गाएको छ । ऊसँग जस्तो स्वर अहिलेका पुस्तामा मैले पाउन सकेको छैन । अझ रक्सी, गाँजा, भाङ, चुरोट नखाने भए उसको स्वर कस्तो हुँदो हो ? उसलाई यो ईश्वरले दिएर पठाएको आकर्षक खुबी हो ।

औपचारिक शिक्षा नलिए पनि उसले संगीतको गहन अध्ययन गर्थ्यो । उसलाई नेपालको इतिहास कण्ठ थियो । संगीतमा पनि गहन अध्ययन गर्न रुचाउँथ्यो । उसको यो अध्ययनले पनि उसलाई स्वरसम्राट् बनायो ।

अन्तिम समयमा बिमारले च्यापेपछि उसको वास वीर अस्पतालमा भयो । त्यो बेला म चौबीसै घण्टा अस्पतालमा हुन्थें । म र मेरो श्रीमती आलोपालो गरेर अस्पताल जान्थ्यौं । ऊ अन्तिम समयसम्म पनि संगीतलाई उस्तै माया गर्थ्यो । उसले भनेको थियो, ‘नगेन्द्र, मलाई एउटा वकिल बोलाएर ल्याइदेऊ । म मेरो सबै सम्पत्तिलाई कोष बनाउन चाहन्छु । र त्यो कोष संगीतमा समर्पित होस् ।’ पछि उसले यही आग्रह अरू साथीलाई पनि गरेको थियो झैं लाग्छ ।

नारायणगोपालका छोरा समान थिए काशिराम भलजु
भलजु भन्छन्: उहाँको हामीलाई सधैं सम्झना आइरहन्छ । उहाँका गीतहरू सुन्दा हामी अझै धेरै भावुक हुन्छौं । हामीले नारायणगोपाल संगीत कोष पनि स्थापना गरेका छौं । वर्षको एक दिन (मंसिर १९ अर्थात आजैका दिन) हामीले उहाँको सम्झनामा कार्यक्रम गर्छौं ।

उहाँ फुटबलमा एकदमै चासो राख्नुहुन्थ्यो । यतिसम्म कि, उहाँ बिरामी भएर वीर अस्पतालमा भर्ना हुनुभएको थियो तर फुटबल हेर्न घर आउनुहुन्थ्यो । वीर अस्पतालको आइसियुमा हुँदा पनि ‘स्वर्णिम सन्ध्या’ जस्तै अरू कार्यक्रम गर्न पाए हुन्थ्यो भन्नुहुन्थ्यो । काम बिगारें भने मलाई कहिलेकाहीँ गाली गर्नुहुन्थ्यो तर असाध्यै माया गर्नुहुन्थ्यो । त्यो त एउटै परिवारमा भएपछि हुनु स्वाभाविक नै हो । उहाँले कहिलेकाहीँ रक्सी खानुहुन्थ्यो तर रक्सी खाएर हल्ला गर्दै हिँड्ने उहाँको आदत थिएन ।

आइतवार, मंसिर १९, २०७३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

toyota
ncell