संगीत

जसको पहिलो एल्बमले नै तहल्का मच्चायो

‘ऐंसेलुको पात’ भन्ने गीत नसुन्ने नेपाली कमै होलान् । मोफसलमा रहेर पनि निरन्तर रूपमा आफूलाई नेपाली संगीत बजारमा चलायमान गराइराख्ने ब्याण्ड ग्लुमी गाइजको यो गीत लोकगीतमा आधारित पप गीत हो । गीत कसको हो भनेर थाहा नपाउनेले पनि यो गीत गाइरहेका छन् । विभिन्न उतारचढावका वावजूद करीब २० वर्षसम्म चलिरहेको ग्लुमी गाइजलाई स्थापना कालदेखि आजसम्म घिसारिरहने गायक हरि कर्माचार्य आफूलाई भन्दा बढी आफ्नो ब्याण्डलाई माया गर्नुहुन्छ । एक्लैले ब्याण्ड चलाउनु आफ्नो रहर नभई बाध्यता भएको उहाँको अनुभव छ । युनिभर्सल पिस फेडेरेसनको एम्बेसेडरको भूमिकामा समेत रहनुभएका हरि कर्माचार्यसँग ग्लुमी गाइजको उदय र विकासक्रममा बारेमा लोकान्तरले गरेका कुराकानीको सम्पादित अंश :

ग्लुमी गाइजको नाम झण्डै गोब्रे किरो भएको थियो

हामीले २०५२ सालमा ब्याण्ड स्थापना गरेका हौँ । त्यसबेला नेपालमा ब्याण्डहरूको स्थापना गर्ने लहर नै चलेको थियो । सजन स्मृति ब्याण्ड प्रतियोगिताका लागि हामीले ग्लुमी गाइज नामको ब्याण्ड खोलेका थियौँ । हुन त हाम्रो ब्याण्ड पहिला पनि थियो । तर त्यसले राम्रोसँग काम गर्न सकेको थिएन । म, सागर बादे, सुमन कायस्थ, महेश कर्माचार्य लगायत साथीहरू मिलेर ब्याण्ड खोल्यौँ ।


त्यतिखेर ग्लुमी सन्डेको खुब चर्चा हुन्थ्यो । हामी पनि त्यसबाट प्रेरित थियौं ।

प्रतियोगितामा भाग लिनैको लागि यो ब्याण्डको नामाकरण भयो ‘ग्लुमी गाइज’ । बिटल्सको नेपाली नाम गोब्रे किरो नाम राख्ने कुरा पनि भएको थियो तर अहिलेको नाम नै सबैबाट स्वीकृत भयो । नाम जुराउन हतार पनि थियो । अहिले पछुतो लाग्छ, नेपाली नाम राख्न पाएको भए हुन्थ्यो जस्तो लाग्छ ।

ब्याण्डको स्थापनासँगै केही सुखद घटना भए हाम्रा लागि । प्रतियोगितामा दुईवटा शीर्षकमा हाम्रो ब्याण्डले पुरस्कार जित्यो । उत्कृष्ट गीतको अवार्ड र सान्त्वना पुरस्कार हामीले जित्यौँ । हामीले त्यतिखेर गाएको गीत मानवअधिकार सम्बन्धी थियो । भूषण श्रेष्ठले लेख्नु भएको ‘हामी उड्ने पंछी, नबाँध हामीलाई’ भन्ने गीत हो त्यो । म अहिले हाम्रो ब्याण्डको स्वर दिने मान्छेको रूपमा सक्रिय छु तर त्यतिखेर म लिड गितार बजाउथेँ । म आफूलाई मुख्य गायकको रूपमा लिँदैनथेँ ।

ब्याण्ड स्थापना भएपछि हामीले बनेपा, पनौती, धुलिखेल, बाह्रबिसे लगायत ठाउँमा आफ्ना प्रस्तुति दियौँ । आफ्नो सहभागिता जनाइरह्यौँ । हामी भर्खरका केटा भएपनि हामीलाई श्रोताहरूले माया गर्न लागिसक्नुभएको थियो । धुलिखेलमा साथीहरूको आग्रहमा संगीत सिकाउन जान थालेँ । त्यहाँ रामेश्वर श्रेष्ठ भन्ने एकजना हुनुहुन्थ्यो ।

उहाँको स्वर धेरै राम्रो थियो । मैले उहाँलाई हाम्रै समूहमा आएर गाउन आग्रह गरेँ । उहाँले सहर्ष स्विकार्नुभयो । यसैक्रममा सागर र सुमनले ब्याण्ड छोडे । यसरी नयाँ साथीहरू आउने पुरानाहरू जाने क्रम चलिनैरह्यो ।

सुनिल उप्रेती र सोभितमान श्रेष्ठ पनि थपिनुभयो । एल्बम निकाल्ने बेलासम्म सुनिल भाइ पनि निक्लिसकेको थियो । महेश दाइले पनि हामीलाई छोड्नुभयो ।

आफ्नो ठाउँलाई चिनाउने गीत गाउनुपर्छ

२०५४ सालसम्म आइपुग्दा हामीले संगीतमा आफूलाई चिनाइसकेका थियौँ । अब एल्बम पनि निकाल्न पर्छ भन्ने लाग्यो । तर हामीसँग गीतहरू थिएनन् । सुरेश अधिकारी र शोभित श्रेष्ठले संगीत भर्नुभएको एउटा गीत मलाई असाध्यै मन पथ्र्यो, त्यो गीत पनि राख्ने निर्णय भयो । अनि हामीसँग अर्को एउटा टुक्रे गीत थियो ।


त्यो गीत कसले लेखेको हो भन्ने पनि हामीलाई थाहा थिएन । यो टुक्रे गीत मेरो एकजना विद्यार्थीको लागि भनेर मैले संगीत भरिदिएको हो । उहाँले गाउनुभयो कि भएन मलाई थाह भएन तर हामीले चाहिँ स्टेजमा गाउन थाल्यौँ । त्यही गीत थियो ‘ऐंसेलुको पात’ । एल्बममा यो गीत पनि राखौँ न त भन्ने कुरा आयो । गीतलाई पूरा गरेर गाउने भइयो ।

‘ऐंसेलुको पात’लाई पूर्ण बनाउने बेलामा हामीले आफ्नो गाउँठाउँलाई चिनाउनुपर्छ भनेर काभ्रेका ठाउँहरुको नाम राखेर बनायौं । त्यतिबेला पोखरा, धरानका ब्याण्डहरूले स्थानीय नाम राखेर गीत गाउँथे । हामीलाई पनि त्यसले प्रभाव पारेको थियो । काभ्रेको सुगन्ध दिनलाई संगीतमा पनि काँठ क्षेत्रको स्वाद दिने कोशिश गरियो ।

त्यसबेला यो गीत हाम्रो समूहका सदस्य निर्मल फैंजुले गाउने कुरा थियो तर स्टुडियोमा पुगेपछि उनी हिच्किचाए । त्यसोभए सबै जना मिलेर गाऊँ भनेर सबैले स्वर हाल्यौँ ।

एल्बममा नौवटा गीत थिए । हामीले हाम्रा अग्रजहरूलाई हाम्रा गीत सुनायौँ तर सबैले ‘ऐंसेलुको पात’लाई रुचाउनुभएन । अरू ठीक छ, यो गीत नराख एल्बममा भन्ने सुझाव दिनुहुन्थ्यो ।

यो कुन खालको गीत हो, देउसी जस्तो पो छ भन्नुहुन्थ्यो । न लोकगीत, न पप गीत — संगीत क्षेत्रलाई नै बिगार्ने खालको गीत भनेर आरोप लगाउनुहुन्थ्यो अग्रजहरू ।

एल्बम तयार गरेर संगीत कम्पनीहरूमा सुनाउन जाँदा सबै ठाउँबाट उस्तै प्रतिक्रिया आउँथ्यो । यो गीत राख्न कोही नमान्ने तर हामीलाई किन हो यो हटाउन मन लाग्दैनथ्यो । यो गीत म्युजिक नेपालमा रेकर्ड गरिएको थियो ।

त्यहाँकै अग्रज दाइ मदन दीपविमले हामीलाई नियालिरहनु भएको रहेछ । कम्पनी पाएनौ कि के हो भनेर उहाँले म्युजिक नेपालले नै उक्त एल्बम निकालिदिने प्रस्ताव राख्नुभयो । हाम्रो खुशीको सीमा रहेन ।

पहिलो एल्बमले नै तहल्का मच्चायो

नसोचेको सफलता प्राप्त भयो यो एल्बमबाट । एल्बम निस्कने दिनसम्म हामीलाई धेरै दुःख भयो । चाँडै चर्चित हुने रहर पनि थियो । आफैँ क्यासेट बेचेर भएपनि आफ्नो ठाउँमा हिट हुनुपर्छ भनेर एकजना दाइसँग पैसा सापटी मागेर एक हजार चक्का किनेर ल्यायौँ ।

बजारमा बिक्री गर्न भनेर जाँदा कसैले वास्ता नै गर्नुभएन । हामीले नै गाएको गीत भन्दा कसैले पत्याउनुभएन । त्यो दिन ती बजेसम्म ३—४ वटा भन्दा चक्का बिकेन ।

तीन बजे म्युजिक नेपालको कार्यक्रम आउँथ्यो एफएममा । त्यसमा हाम्रो गीत बजेछ । बनेपामा स्थापना भएको नयाँ ब्याण्डको नयाँ गीत आज पहिलोपल्ट भनेर रेडियोमा बजेपछि हामी जुन जुन घरमा गयौँ त्यहाँबाट राम्रो प्रतिक्रिया आयो । बोलाई बोलाई किन्न थाले मान्छेले । त्यतिबेला एफएम सुन्ने परम्परा नै थियो । त्यसपछि त हामीले एक हजार चक्का तीन दिनमा सक्यौँ । सापटी लिएको पैसा पनि फिर्ता दियौँ । नाफा पनि भयो राम्रै ।

अघिल्लो एल्बमको अपार सफलताले गर्दा दोस्रो एल्बमको लागि हामीलाई कुनै दुःख भएन । हामीले रेकर्डिङ शुरु गरेको थाह पाएर वितरकहरू हामीलाई आकर्षक ‘अफर’ लिएर आउनुभयो । मिडियाले पनि हामीलाई राम्रो साथ दिएको थियो ।

रञ्जना क्यासेट सेन्टरबाट दोस्रो एल्बम निस्कियो । पहिलो एल्बम निकाल्न नचाहने कम्पनीमध्येको रञ्जना पनि एउटा थियो । पछि हामीसँग रञ्जनाले माफी पनि माग्यो । हामीले त्यतिखेर ‘टाटा गाडीमा’ भन्ने एल्बम २ लाख ५० हजारमा बेचेका थियौं ।

राम्रा चलेका एल्बम पनि त्यतिखेर ४० हजारमा बिक्री हुन्थ्यो भने हामीले पाएको पैसा धेरै ठूलो हो । यो एल्बम ३ लाख प्रति बिकेको थियो ।


४ लाख ५० हजारमा एउटा एल्बम

२०५८ सालमा हामीले अर्को एल्बम ‘दार्जिलिङको रेल’ निकाल्यौँ । यसले पनि राम्रो व्यापार गरेको थियो । अब हामीले केही समयमा विश्राम गर्ने सोच बनायौँ । ब्याण्डभित्र पनि अलिअलि खटपट शुरु भएको थियो । धुलिखेलका साथीहरू समूहबाट बिदा भइसक्नुभएको थियो । त्यपछि हामी चारजना मात्र बाँकी थियौँ । चौथो एल्बमको तयारी गरियो ।

सधैँ लोकपप मात्र गरेर हुँदैन, अब फरक धार समात्नुपर्छ भन्ने साथीहरूको दबाब आउन थालेको थियो । चौथो एल्बम धौलागिरी क्यासेट सेन्टरले ४ लाख ५० हजारमा किन्यो तर हाम्रो फरक धारलाई श्रोताले रुचाउनुभएन । कम्पनी घाटामा गयो होला शायद । २ लाख ५० हजार लगानीमा एउटा म्युजिक भिडियो नै बनाउनुभएको थियो उहाँहरूले ।

यो बेलासम्ममा नेपालका सबै शहरमा हामीले प्रस्तुति दिइसकेका थियौँ । देश बाहिर पनि सिक्किम, कतार, हंगकंगमा हामीले ब्याण्डको प्रस्तुति दिएका थियौँ । हाम्रो ब्याण्ड त्यतिखेर उत्कृष्ट दशमा पथ्र्यो । लोकगीतहरूको बजार राम्रो थियो त्यतिबेला । मैले पनि काँठ क्षेत्रको लोकगीत गाउने निधो गरेर ‘टाटा बाइबाइ’ नामक एल्बम निकालेँ ।

त्यो गीतको राम्रो चर्चा भएको थियो । ब्याण्ड बाहेक मैले अरू एल्बम पनि गरिरहेको थिएँ । २०६० सालबाट हाम्रो चौथो एल्बम किन चलेन भनेर चिन्तनमा लाग्यौँ । हामीले आफ्नो पहिचानलाई छोडेका थियौँ ।

हामीलाई सबैले चिन्ने भनेको लोकपप गाउने भनेर थियो तर हामीले आफ्नो माटोलाई बिर्सेर काम गरेकाले हामी ‘फ्लप’ भयौँ भनेर निष्कर्ष निकाल्यौँ ।

पाँचौं एल्बमका लागि सबै साथीले मेरो काँधमा जिम्मेवारी दिनुभयो । अनि मैले पुरानै शैलीका गीत तयार गर्न लागेँ । ‘पिरतीको तालमा,’ ‘मायाको डोरी’ले जस्ता गीतमा मैले काँठ क्षेत्र र सेलो क्षेत्रलाई समेटेर गीत तयार गरेँ । यो एल्बमलाई म्युजिक डट कमले वितरण गरेको थियो । त्यतिखेर गीतमा पाइरेसी भित्रिसकेको थियो तर पनि हाम्रो यो एल्बम २५ हजार सिडी बिकेको थियो ।

लोकतान्त्रिक आन्दोलन र ग्लुमी गाइज

यसैबेला नेपालमा लोकतान्त्रिक आन्दोलन शुरु भएको थियो । त्यसमा होमिन हामी बाध्य भयौँ । शुरुमा त किन आन्दोलन गरेको होला भनेर लाग्थ्यो तर मान्छे मर्न थालेपछि हामी पनि चुप लागेर बस्नुहुँदैन भनेर हामी पनि सक्रिय भयौँ । जनतालाई हामीले पनि बाटो देखाउनुपर्छ भनेर शान्तिपूर्ण जुलुसको अगुवाइ गरेका थियौँ ।

यो आन्दोलनलाई ब्याण्डले गरेको पहिलो आन्दोलन भनेर चर्चा पनि चलेको थियो । आन्दोलन पनि सफल भयो र हाम्रो एल्बम पनि सफल भयो । यतिखेरसम्म हाम्रा अग्रज ब्याण्डहरूको अस्तित्व लगभग समाप्त भइसकेको थियो तर हामी भने बिस्तारै अगाडि बढिरहेका थियौँ । यसपछि हामीले आर्थिक उपार्जनका लागि र अध्ययनका लागि भनेर चुप लागेर बस्यौँ ।

यो बेला हामी एउटा मञ्चमा पनि चढेनौँ, अन्तर्वार्ता पनि दिएनौँ । छुट्टिनेबेलामा मैले साथीहरूलाई कुनै दिन हामी संगीतमा फेरि फर्कनुपर्छ भनेको थिएँ । मैले शक्ति सञ्चयका लागि भनेर साथीहरूलाई यसो भनेको थिएँ तर साथीहरू त सुत्नुभएछ त्यसपछि ।

हाम्रो मौनतालाई श्रोताहरूले भने रुचाउनुभएन । विभिन्न संघसंस्थाले हामीलाई फेरि गायनमा फर्कनुपर्छ भनेर दबाब दिन थाल्नुभयो । यो क्षेत्रका प्रतिनिधित्व गर्ने ब्याण्ड यसरी सेलाउनुहुँदैन भनेर सुझाव दिन थाल्नुभयो ।

मैले साथीहरूलाई अब फर्कनुपर्छ भनेर सम्झाउन थालेँ तर उहाँहरू संगीतबाट पूरै पलायन भएर आआफ्नो पेशामा लागिसक्नुभएको रहेछ । अब म एक्लैले ब्याण्डको प्रतिनिधित्व गरेर गाउन शुरु गरेँ । साथीहरू भन्दा ब्याण्ड ठूलो हो भन्ने लागेर मैले २०७० सालमा ‘ग्लुमी गाइज ब्याक अगेन’ नामक एल्बम एक्लै निकालेँ ।

यो वर्ष पनि अर्को एल्बम बजारमा आउँदैछ । नयाँ एल्बमले पनि काँठ क्षेत्रलाई नै प्रतिनिधित्व गर्नेछ । संयोग नै मान्नुपर्छ, अब फेरि पुराना ब्याण्ड सक्रिय हुँदैछन् । कन्दरा, मध्याह्न, मंगोलियन हार्ट जस्ता ब्याण्ड पनि चलमलाउन लागेका छन् । ग्लुमी गाइज त सधैं ताजै छँदैछ ।

वान म्यान ब्याण्ड

ग्लुमी गाइजमा स्थापनाकालको व्यक्ति म मात्रै बाँकी छु । अहिले नयाँ अनुहारहरूको मिश्रणबाट यो ब्याण्ड बनेको छ । पुराना साथीहरू फेरि अहिलेको गुणस्तर कायम राखेर फर्कन चाहनुहुन्छ भने मैले ढोका बन्द गरेको छैन ।

ब्याण्ड रहिरहन्छ, मान्छे त जो पनि आउन सक्छ ।


मोफसलमा बसेर यति लामो समयसम्म एउटा समूहलाई जिउँदो राख्ने कुरा ज्यादै चुनौतीको काम हो । काठमाडौंमा हरेक कामका लागि सजिलो हुन्छ । रेकर्ड गर्नकै लागि पनि बनेपाबाट काठमाडौं पुग्नु सजिलो छैन ।

मिडियाले पनि बनेपा खोजेर आउँदैन त्यसैले प्रचारको लागि पनि समस्या नै छ । मोफसलका कलाकारलाई दोस्रो दर्जाको कलाकारको रूपमा पनि हेरिन्थ्यो एकताका । हामीलाई गाउँबाट आएका कलाकार हुन् भन्ने सोचाइ राखिन्थ्यो ।

हामीलाई गाउन दिने कुरामा पनि प्राथमिकता दिँइदैनथियो । तर हाम्रो प्रस्तुतिलाई दर्शकले जहिले पनि पहिलो प्राथमिकतामा राख्नुहुन्थ्यो । अग्रजहरूले पनि हामीप्रति हेपाहा प्रवृत्ति देखाउनुहुन्थ्यो । हामीले त गीतबाटै हाम्रो हैसियत कायम राखेका हौँ ।  पुस १२, २०७३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस