ambe

संगीत

नेपाली गायनकी ‘साकिरा’ भन्छिन्ः नक्कल गर्न छोडें

नेपाली गीतलाई माया गर्ने जो कोहीको मुखमा पनि झुण्डिने नाम हो इन्दिरा जोशी । रातो घाँघर, जाउँ कि नजाउँ, उध्रेको चोली जस्ता चर्चामा रहेका गीत उहाँको स्वरमा सजिएका गीत हुन् । इन्दिरा नवलपरासी, बन्जरीया गाउँकी जमिन्दारकी छोरी भैकन पनि व्यवहारमा सरल स्वभावकी हुनुहुन्छ ।

बुबा आमाकी पाँचौँ छोरी इन्दिरा हाल काठमाडौँको धापासीमा बस्नुहुन्छ । नेपाल टेलिभिजनको कार्यक्रम ‘नेपाली तारा’मा गायिकातर्फ प्रथम हुनुभएकी इन्दिरा जोशी ‘स्टेज शो’को लागि आजका दिनमा सर्वाधिक रुचाइएकी गायिकामा हुनुहुन्छ ।

अरुको तुलनामा कम गीत गाएकी जोशी संख्याभन्दा गुणात्मकतामा ध्यान दिनुहुन्छ । गुरुदेव कामत, भानुभक्त ढकाल र इश्वर अमात्य इन्दिराका सांगीतिक गुरु हुन् ।

गायिका इन्दिरा जोशीसँग लोकान्तरका लागि निरञ्जन सापकोटाले गरेको कुराकानी:

गायन यात्राको शुरुवातदेखि अहिलेसम्मको मुख्य–मुख्य घटनाक्रम भन्दिनुस् न ?

सानोमा नेपाल टेलिभिजनको ‘को भन्दा को कम’ भन्ने कार्यक्रममा पहिलो भएको थिएँ । एकपटक लोकगीत प्रतियोगीतामा पनि भाग लिएँ, त्यसमा द्वितीय भएँ । त्यसपछि एकै पटक नेपाली तारामा भाग लिएँ र गायिकातर्फ प्रथम भएँ । ‘नेपाली तारा’ त दीपक लिम्बु भइहाल्नुभयो । पहिलो एल्वमको रुपमा ‘डान्स विथ मि’ निकालेँ । यसको गीत रातो घाँघरले राम्रै चर्चा पायो । नेपालको प्रतिनिधित्व गरेर विदेशमा पनि गाउन थालेँ । मेरो पहिलो विदेश यात्रा युरोपमा भएको हो । मेरो गायनयात्राको अर्को उल्लेख्य घटना भनेको हलिउड गायकसँग गाएर आफैँले माडेलिङ गर्न पाउनु पनि हो ।

सेलिब्रिटीको जीवनमा कठिन कुरो के हुन्छ ?

पहिलो त समयको व्यवस्थापन नै हो । रुटिनमा जीवन चल्दैन । खाना खाने कुरामा समय मिलिरहेको छैन खासमा । स्वास्थ्यको चिन्ता लाग्छ । दिनभरिको रुटिन नै गडबड हुन्छ ।

छोरी मान्छेले गाउने–नाच्ने कुरा परिवारले रुचाउँदैन भनिन्छ । तपाईँको सन्दर्भमा यो लागू भयो कि भएन रु
म जवान हुँदै गर्दा आमाले अलि नियन्त्रण गर्नुहुन्थ्यो । मैले त्यो समय पनि आफूलाई नराम्रो बाटोमा हिँडाइन । त्यसैले अहिलेसम्म परिवारको सहयोग र सल्लाह पाइरहेको छु ।

जीवनप्रतिको दृष्टिकोण ?

जीवनप्रति मलाई गर्व लाग्छ । म आफूलाई अत्यन्तै भाग्यमानी ठान्छु किनकि मेरो रुचीको काम गर्न पाएको छु । जीवन रमाइलो वा दिक्क बनाउने आफैँले हो । मेरो हिसाबमा त जीवन एउटा आश्चर्य लाग्दो उपहार हो ।

भगवानप्रति विश्वास लाग्छ ?

म आध्यात्मिक चाहिँ होइन तर धर्म र दर्शनमा विश्वास लाग्छ । म सरस्वतीको पूजारी हँु । सबै देवी–देउताप्रति मेरो सम्मान छ ।

स्वर तिखार्न कत्तिको समय दिनुहुन्छ ?

शुरुमा त खुव दिइन्थ्यो । अहिले समय नै पाउँदिन । बरु विदेशतिर हुँदा रियाज गर्ने समय हुन्छ । नेपालमा त भ्याउँदिन ।

रक्सी-चुरोट कत्तिको खानुहुन्छ नि ?

रक्सी नखाएको चारवर्ष भयो । चुरोट त मनै पर्दैन । टाढैबाट थाह पाउँछु चुरोटको गन्ध त ।

नेपाली साकिरा भनेर पुकार्दा कस्तो महसुश हुन्छ ?

यस्तो कुरा मलाई ठीक लाग्दैन । म इन्दिरा जोशी हुँ र त्यसैमा मेरो परिचय फैलिएको मन पर्छ । साकिरा भनेर मलाई अरुले नै नाम राख्दिएको हो । मलाई अभ्यासको हिसावले उनको स्टेपहरु मन पर्छ । शुरुमा उनको केही स्टेपहरुको नक्कल पनि गरें । स्टेजमा खुव जम्यो । ओहो १ गजव भयो जस्तो लाग्थ्यो तर अहिले कम गरिसकेँ ।

आफूले गाएर समाजलाई कत्तिको योगदान दिएँ जस्तो लाग्छ ?

मैले खासै केही पनि योगदान दिन सकेको छैन । भर्खर त शुरुवात भयो मेरो यात्रा । मैले केही गीत चाहिँ गाएको छु जसले सकारात्मक सन्देश दिन सक्छन् । दाइजोको विरुद्धमा एउटा गीत गाएको छु । विदेश जानेको कथामा आधारित गीत पनि गाएको छु । सामाजिक मुद्धामा केही गर्न मन चाहिँ छ । भविष्यमा समाजको लागि केही गर्छु । योगदान गरेँ भनेर भन्ने कुरा पनि त होइन नि आफैँले । अरुले भन्नेगरि गरेको छैन जस्तो छ ।

तपाईँको जस्तो स्वरलाई कस्तो प्रकारको भन्छन् ?

मलाई सुट हुने भनेको मध्यखालको गीत हो । न धेरै माथि न धेरै तल । पश्चिमी शैलीको स्वर भन्दा पनि हुन्छ । तर मैले अहिलेसम्म आफ्नो स्वर अनुसारको गीत गाएको छैन ।

रेकर्डिङको बेलामा रियाज गर्नुहुन्छ ?
रेकर्डिङको बेलामा रियाज गर्दा झन् गलालाई प्रेसर पर्छ त्यसैले गर्दिन ।

संघर्षका बेलाका केही घटनाहरु सम्झनुहुन्छ ?

अरुको गीतमा कोरस गाएर, विज्ञापनमा गाएर कमाएको पैसाले गीत निकाल्छु भनेर लाग्दा मलाई काम लगाउनेहरु नै भाग्थे अनि दुःख लाग्थ्यो ।

अहिले कस्तो छ तपाईँको अवस्था ?

अहिले त ‘स्मुद’ छ नि । तर मिहिनेत गर्न मन पर्छ । मिहिनेत गर्ने मान्छे मन पर्छ ।

त्यस्तो मान्छे रोजियो कि छैन नि ?

छैन रोजेको ।  सोच्नै भ्याएको छैन ।

यसरी अन्धाधुन्दा हिँडेर हुन्छ त ?

बेला भएकै छैन । आफूलाई मानसिक रुपले तयार गरेकै छैन । सायद भेटिन्छ होला । मेरो घरमा आमा बुबाले हेरिरहनुभएको होला । मलाई उहाँहरुको रोजाई नै ठीक हुन्छ । खुशी हुन्छु ।

तपाईँलाई ड्रिम गर्ल सोचेर बसेकाहरु पनि त होलान् नि, उनीहरुको चित्त दुख्दैन ?

होलान् नि । मेरा पनि त छन् नि कति । मलाई पनि कोही मन पर्छ ।

को हो नि त्यो भाग्यमानी ?

लियो नार्दो दि क्याप्रीयो । मेरो ड्रिम ब्वाय हो उहाँ । उहाँले मलाई प्रस्ताव राखे हाँसेर हुन्छ भनिदिन्छु । वातावरण संरक्षणमा उहाँको काम मन पर्छ । इन्स्टाग्राममा फलो गरेको छु । नेपाल आउँदाको फोटो छ ।

हिन्दी गीत सुन्नुहुन्छ ?

सुन्छु नि । किशोर कुमार, रफी, गुलाम अलि सबैका गीत सुन्छु ।

भारत र नेपालको संगीतमा फरक के पाउनुहुन्छ ?

उनीहरु संगीतमा कुनै सम्झौता गर्दैनन् । हाम्रोमा जस्तो पनि चल्छ भन्ने चलन छ । उनीहरुको एउटा गीत रेकर्ड गर्न एक ट्रक सामान ल्याउँछन् हाम्रोमा त्यस्तो छैन । हाम्रो बजार ज्यादै सानो छ । आफ्नो पहिचान बनाउने भन्दा पनि बजारको माग अनुसारको गीत गाउने चलनले गर्दा पनि हाम्रो संगीत खस्केको हो ।

कुनै संगीतकारको गीत गाउन इच्छा छ कि ?

सुरेश अधिकारी दाइको गाउने मन छ । उहाँको गीत गाउन मेरो योग्यता पुगेको छैन तर अहिले कुरा भइरहेको छ । उहाँ रियल कम्पोजर हो । उहाँमा गजबको क्षमता छ । तीन पटक कुरा राखिसकेँ ।

पैसा कति कमाउनुभयो नि ?
मलाई पुग्ने कमाएको छु । तर एउटा कुरा, म पैसाको लागि भनेर दौडिन्न । लिनुपर्ने चाहिँ छोड्दिन ।

*अार्काइभबाट बुधवार, पौष २०, २०७३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

Shivam