ambe

संगीत

भैरव अर्यालसँग प्रतिस्पर्धा गर्न सक्दिनँ भन्ने लागेर हास्यव्यङ्ग्य लेख्न छोडेंः कृष्णहरि बराल

काठमाडौं, २३ पुस – तालुको केश झरिसकेको छ, बुढेसकालले छोइसकेको छ । सरल स्वभाव ।  यस्सो हेर्दा उनी एकदमै सामान्य लाग्छन् । तीस वर्ष लामो अध्यापनपछि त्रिभुवन विश्वविद्यालयबाट यही हप्ता निवृत्त भएका डा. कृष्णहरि बराल साहित्य लेखनबाट भने तत्कालै अवकाश लिने छैनन् ।
बिहीवार दिउँसो बल्खु कुमारी क्लबनजिकको घरमा बाक्लो तथा रातो ज्याकेटमा न्यानो भएर बसेका थिए । उनको कोठाका भित्ताभरि सम्मान, अवार्ड तथा प्रमाणपत्र राखिएको थियो । लामो समय प्राध्यापनमा बिताएका बरालको नेपाली साहित्य, समालोचना तथा गीती लेखनको क्षेत्रमा लामो अनुभव छ ।

सानोमा उनी संस्कृतका सिलोक पढेर हुर्किए । साथै हिन्दीको प्रभाव पनि प-यो उनमा।

गाउँमा दुई कोठाको विद्यालय थियो । एउटै कक्षामा एकदेखि कक्षा सातसम्म एउटै शिक्षकले सबै बिषय पढाउनु हुन्थ्यो । कक्षाका विद्यार्थीलाई बेन्चका आधारमा छुट्याइन्थ्यो । त्यसबेला नेपाली भाषाभन्दा हिन्दी भाषाका किताब बढी पढाइ हुन्थे । सरकारी शिक्षाको पहुँच पुगिसकेको थिएन । भारतबाट आउनुभएका सरले उतैबाट ल्याएका किताबहरू पढाउनुहुन्थ्यो ।

उनी आफूले कक्षा तीनमा पढेको कविताको हरफ स्मरण गर्दैै सुनाउँछन्ः
चिटी रानी चिटी रानी
कित्ने तुम पीते हो पानी

कक्षा सातसमम्म एउटै कोठामा अध्ययन गरेर आफ्नो पढाइ पूरा गरिसकेपछि उनी पढ्नका लागि जनकपुर गए । दूरीका हिसाबले सिन्धुलीमाढी र जनकपुर लगभग उस्तै थियो । हजुरबुवाले उनलाई जनकपुर पढ्न पठाउनुभयो ।
आफ्नै गाउँको पाँच कक्षामा पढ्दा कविता गीत गाएर उपहारस्वरूप कापी जितेका थिए । अहिले भने उनका घरका भित्ता मेडल तथा पुरस्कारले भरिएका छन् ।

जनकपुरमा कक्षा ८ मा भर्ना हुन उनले प्रवेश परीक्षा पास गर्नुपर्ने थियो । एउटै कक्षामा सबै तहका विद्यार्थी राखेर दिइएको शिक्षाले आफू पास हुने होइन कि भन्ने डर थियो बरालमा । तर उनी प्रवेश परीक्षामा पास भए । त्यसपछि भने उनका अझ दु:खका दिन शुरु भए । उनी त्यो बाल्यकाल सम्झँदै भन्छन्, ‘त्यतिखेर म घर छोड्नुपरेको पीरले दिनदिनै रुन्थें ।’ अहिले भने सम्झँदा पनि हाँसो लाग्ने गरेको उनी बताउँछन् ।
krishna-baral

जनकपुरले उनलाई एक्लो बनाएको थियो । सानैमा आमाको असामयिक मृत्युको कारण हजुरबुवाको साथ रहेर हुर्केका बराल परिवारकाे मायाबाट टाढा हुनुपरे पनि उनले आफ्नो ध्यान पढाइमा मात्र खर्च गरे । जनकपुरमा बिएसम्म पढ्दा उनको ध्यान न कुनै स्त्रीमा गयो, न कुनै गलत कार्यमा । बरू आफू एक्लो महसूस गर्दै गरेको त्यो समयलाई स्मरण गर्दै हाँस्दै सुनाउँछन्, ‘कहिलेकाहीँ हामी पूरा नभएका सपना कुनै न कुनै माध्यमले पोख्न चाहन्छौं रे ! शायद मैले आफ्ना सपनालाई गीत बनाएर लेखेको रहेछु ।’

उनले एसएलसीमा कृषि विषय लिएर अध्ययन गरेका थिए । त्यसपछि पाकिस्तानमा प्लानमा पढ्न जान उनले एउटा कोटा पाएका थिए । तर समयमा नागरिकता बनाउन नसक्दा उनी पाकिस्तान जान पाएनन् । त्यतिखेर शाखा अधिकृत चिन्नु भनेको राजा चिन्नु बराबर थियो ।

बराल सम्झन्छन्, ‘त्यतिबेला नागरिकता बनेको भए म कहाँ हुन्थें होला भन्ने लाग्छ कहिलेकाहीँ ।’

पाकिस्तान जान नपाएपछि उनी जनकपुरको क्याम्पसमा आइएमा भर्ना भए । त्यहाँ कार्यक्रमहरु भइरहे पनि कमै मात्र पत्रिका प्रकाशन हुन्थे । गीत, कविता, हास्यव्यङ्ग्य लेखेपनि काठमाडौंबाट प्रकाशन हुने पत्रिका ‘उषा’मा दुई र जनकपुरबाट प्रकाशन हुने ‘कर्मयुग’ पत्रिकामा एउटा कविता मात्र प्रकाशन भएको उनलाई सम्झना छ ।

उनको समयमा काठमाडौं धेरै टाढाको सपना थियो । घरतिर काठमाडौंलाई नेपाल भनेर चिनिन्थ्यो । जनकपुरमा हिन्दी र अङग्रेजी भाषाको बढी प्रयोग गरेपनि उनले भने नेपाली भाषा साहित्यमा झुकाव राख्ने गर्थे ।

रेडियो नेपालमा प्रश्नोत्तर कार्यक्रम आउँथ्यो । प्रमाणपत्र तह पढ्दासम्म उनी निरन्तर रुपमा कार्यक्रममा सहभागी हुन्थे । पछि त्यही नाताले मलाई काठमाडौं आउँदा रेडियो नेपाल जान सजिलो भयो ।

काठमाडौं आउने उनको सपना पनि थिएन । कृषि विकास बैंकमा अधिकृतको जागिर खुलेपछि त्यही परीक्षा दिनका लागि उनी काठमाडौं प्रवेश गरेका थिए ।krishna-baral_1
उनले कार्यक्रम प्रश्नोत्तरको माध्यमबाट प्रश्न पठाउने अर्का साथी मदन ढकाललाई चिनेका थिए । उनलाई भेटे ।

रेडियाे नेपालमा प्रश्नाेत्तर कार्यक्रम चलाउने सञ्चालकलाई भेटेपछि उनलाई सञ्चालक पाण्डव सुनुवारले पूरै रेडियाे नेपाल घूमाइदिए । उनीसँग पत्र पठाउँदा नै सम्बन्ध बनिसकेकाे थियाे । रेडियाे नेपाल घुमाउने सिलसिलामा सुनुवारले साेधे – ‘तपाई त आजभोलि लेख्नै छोड्नुभयो नि ।’

‘आजभोलि म गीत लेख्छु ,’  उनले नरमताका साथ भने ।

सुनुवारले बराललाई पत्र मञ्जूषा देखाउँदै गीत लेखेको भए त्यहाँ खसाल्न भनेका थिए । उनले आफूले लेखेका कयैन गीतबाट छानेर जम्मा दश वटा गीत मञ्जूषामा खसाले ।

‘दश मध्येका ६ गीत पास भएछन्,’ उनले सुनाए । छानिएका सबै गीत रुचाइए ।

म भक्त हुँ यो देशको... बोलको गीतलाई उनले जनकपुरमा प्रकाशन गर्छु यो गीत रेकर्ड होला भन्ने पनि थिएन । त्यसपछि भने उनका थुप्रै गीत रेकर्ड भए ।

काठमाडौं आएको एक महिनाभित्र उनको गीत रेकर्ड भइसकेको थियो । उनले हास्यव्यङ्ग लेख पनि लेख्थे । तर आफूले भैरव अर्यालसँग प्रतिष्पर्धा गर्न सक्दिन भन्ने लागेर उनले यो विधामा कलम चलाउन छोडे । उनको कलम गीत तथा गजलमा जुट्यो ।

उनी भन्छन्, ‘म गीत लेख्दिन । मलाई गीतले लेखाउँछ ।’

जुनसुकै गीतहरु लेख्दा पनि म ती गीतहरुको गहिराइमा पुग्छु । कहिलेकाहीं आएका भावनालाई टिपेर गीत बनाउँछु भन्छन् बराल । उनले गीत कसरी लेख्ने पुस्तक पनि लेखेका छन् ।

करिब ६ सय गीत लेखेका बरालका थुप्रै गीत रुचाइएका छन् । रेडियो नेपालमा म भक्त हुँ यो देशको... गीतबापत उनले २० रुपैयाँ पारिश्रमिक पाएको बताउँछन् । पहिलेको तुलनामा अहिलेको गीती बजार व्यापक छ भन्ने उनलाई लाग्छ । देश प्रेम र माया प्रेमका गीतलाई प्राथमिकता दिएका बरालका धेरै गीत श्रोता तथा दर्शकले रुचाएका छन् ।

पारिश्रमिकको हिसाबले अहिले उनी एउटा गीतको १२ देखि १५ हजारसम्म कमाउँछन् । चलचित्रका गीत तथा आधुनिक गीत लेखेका बरालका गजल पनि गीत तथा पुस्तकमा माध्यमबाट श्रोतामाझ आएका छन् ।

‘साहित्य लेख्नुस् । मोतिराम भट्टले तीस वर्षकै उमेरमा साहित्य लेखे । धेरै विधा सुरुवात गरे । तपाईसँग पनि खुबी छ । आजै लेख्नुस् । – उनले विद्यार्थीलाई सधै यही भन्थे । प्राध्यापन पेशाबाट अवकाश पाएपनि साहित्य सृजनामा आफुले अवकाश नलिने उनले बताए । शनिवार, पौष २३, २०७३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

Shivam