Ruslan
Tata /sipradi
Nic Asia

संगीत

एउटीसँग प्रेम बस्ला जस्तो भएको थियो, झ्याप्पै अर्कीसँग बिहेः मिलन लामा

माझीदाइ पोखरा फेवातालको
लाम् माया साँच्चैको नलाम् भो ख्याल ख्यालको

खाइलाग्दो ज्यान । हँसिलो मुहार । झट्ट हेर्दा सेनाको जस्तो हट्टा कट्टा देखिन्छन् मिलन लामा । तर उनको परिचय गायक हो । र, उनी गायक मात्र होइनन् । प्राय आफ्ना सबै गीतमा लय, शब्द, संगीत भर्ने काम पनि आफै गर्छन् । आफ्ना गीतको भिडियोमा आफैले नै अभिनय समेत गर्न भ्याउँछन् मिलन ।milan-lama-final-123

उनलाई लोक गायकको परिचय बनाउन भने त्यति सजिलो थिएन । गीतमार्फत समाजका कथालाई प्रस्तुत गर्न रुचाउने लामाको परिवारको चाहना भने मिलन लाउरे भइदियोस् भन्ने थियो ।
लामा सानो हुँदा नै उनका बुवाआमाको मृत्यु भयो । तीन दाजुभाइ र चार दिदी बहिनीमध्ये सबैभन्दा कान्छा मिलनलाई परिवारले सधैभरी ‘मिलन’को आभाष दिलायो ।

बाल्यकालमै उनले निर्णायक सपना देखेका थिए । उनको सपना थियो, भविष्यमा ठूलो कलाकार बन्ने । विद्यालय तथा गाउँमा हुने हरेक कार्यक्रममा उनले गीत गाउँथे । आफैले शब्द सृजना गर्थे । स्थानीय स्तरमा आफूलाई सृजनशील बनाइसकेका थिए ।
उनी आफूलाई गीत गाएर नै केही गर्न सक्छु भन्ने लागेको थियो ।

कक्षा नौमा पढ्ने स्कुले समयमै बिहे भएले उनले मायाँ पिरती गास्न भने भ्याएनन् । ‘मेरो जिन्दगीमा प्रेम भन्ने नै भएन, सिधै बिहे भयो ।’ उनी त्यो बेला स्मरण गरेर लामो हाँसो हाँस्दै लोकान्तरलाई आफ्नो अनुभव सुनाए, ‘एउटीसँग भर्खर भर्खर प्रेम बस्ला जस्तो भएको थियो । दाइहरुले झ्याप्पै अर्कीसँग बिहे गरिदिए ।’

बिहेपछि केही समय घरपरिवारका लागि मात्र समय दिन थाले । अब केही न केही गर्नुपर्छ भन्ने जिम्मा पनि परेको थियो उनलाई । त्यसैले उनले चितवनको पर्यटकीय क्षेत्र सौराहामा एउटा सांस्कृतिक घर खोले । जहाँ धेरै मात्रामा थारु समुदायको प्रस्तुति रहन्थ्यो । पर्यटकलाई लक्षित गरी गरिएको कार्यक्रममा उनले पनि नेपालका विभिन्न समुदायका गीत प्रस्तुत गर्थे । यो व्यवसाय औसत रुपमा राम्रै चलेको थियो ।
त्यति बेला देशको राजनीतिक स्थिति राम्रो थिएन । अस्थिर राजनीतिले सबैको जीवनमा प्रभावित पारेको थियो । त्यो प्रभाव एक सामान्य नागरिकलाई पनि प¥यो, जसले गीत संगीतकै क्षेत्रमा आफ्नो भविष्य खोजिरहेको थियो ।

‘मैले एउटा हलको व्यवस्था गरेर हरेक दिन कार्यक्रम चलाउँथें । देशको राजनैतिक अस्थिरताले नेपालमा पर्यटक आउन छोडे ।’ पुराना दिन सम्झदै मिलनले भने ‘पर्यटकलाई केन्द्रित गरी थालिएको त्यो व्यवसाय घाटामा गयो । पछि मैले कर्मचारी तथा कलाकारलाई तलब दिन पनि नसक्ने स्थिति आयो ।’

व्यवसायमा घाटा व्यहोरेपछि उनी २०५८ मा काठमाडौं आए । उनलाई लोकगीतमा केही गर्नु छ भन्ने लागिरहेको थियो । त्यसैले उनले आएर ‘कृष्णभीरमा जाम्...’ नामको गीत रेकर्ड गराए । धादिङको कृष्णभीरमा गएको पहिरोले गर्दा राजधार्गमा सर्बसाधारण जनतालाई पुराएको सास्तीलाई गीत मार्फत व्यक्त गरिएको थियो । उनको यो गीत धेरैले रुचाए । रोयल्टीबाट तीन लाखभन्दा धेरै पाए । अर्को गीत ‘हङङ आइडील’े पनि त्यो बेलामा नौ लाखको दिलायो । उनी सम्झन्छन्, ‘मैले सौराहामा कल्चरल कार्यक्रम गरेर चार करोड घाटा खाएको थिएँ । पहिलो गीतले केही राहत दिलायो ।’ उनी कुराकानीलाई जोड्दै भन्छन्, ‘एक अर्थले त म चार करोड खर्च गरेर यो क्षेत्रमा आएको रहेछु ।’

‘माझीदाइ पोखरा फेवातालको...’ गीतले उनलाई आर्थिक रुपमा बलियो मात्र बनाएर देश विदेश कार्यक्रम गर्न पाउने गरी सबै श्रोतामाझ चिनायो । एकदिन पोखरामा घुम्न जाँदा यो गीत रचना भएको उनी बताउँछन् । त्यही गीन मिलन लामालाई चिनाउने ‘ब्राण्ड’ जस्तै बन्यो ।

सानो देशमा धेरै कलाकार भएको महसुस हुन्छ लामालाई । यो क्षेत्रमा आउने कलाकार धेरै भएपनि गुुणस्तर ल्याउन सक्ने कलाकार कोही नभएको उनको गुनासो छ । अहिलेका लागि विदेशमा हुने कार्यक्रम नै कलाकारको बाँच्ने आधार बनेको छ ।

अमेरिकामा मात्र चार पटक सांगीतिक कार्यक्रमका लागि गएका लामा अहिलेसम्म ३४ देश घुमिसकेको बताउँछन् । अहिले कलाकारले कमाउने बाटो भनेकै युट्युब या कार्यक्रमबाट हो भन्ने उनलाई लाग्छ । भन्छन्, – लोक संगीतका लागि राज्यले केही गर्नुपर्ने हो तर राज्यले आफ्नै बेहाल छ । कलाकारितालाई व्यवस्थित कसरी गरोस !

लामा आगामी फागुनसम्ममा जातीय सद्भाव झल्किने गीत ल्याएर बजारमा आउन लागेको बताउँछन् ।

बाहुन क्षेत्री आदिवासी दलित जनजाती
जो मरे नि धुलो भुइँमा धुवाँ आकाशमाथि
बाँचुन्जेल मिलेर बसम् न कान्छा
मरेपछि काँ जान्छ जान्छ

यो उनको अब आउन लागेको गीतको अंश हो । बजारमा आउन लागेको गीतको शब्द सुनाउँदै उनी भन्छन्, ‘अधिकार त सबैले पाउनुप¥यो तर सद्भाव बिगार्न भएन । मैले गीतमार्फत यही सन्देश दिन खोजेको छु ।’ शनिवार, पौष २३, २०७३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ncell
Shivam