Nerolac and Nepal life

संगीत

पढाइ इन्जिनियरिङ, पेशा गायन ‘लोक–पपका पायोनियर’ तिलकबम

२०५५ सालमा ‘मुटु छुने लुम्लेको हावा’ले भन्ने गीतबाट उनको सांगीतिक यात्राको व्यवसायिकता शुरु भएको थियो । परिवेश भाग दुई एल्बममा संलग्न उक्त गीतको कारणले आफ्नो एल्बम त्यतिखेर २ लाख ६५ हजार क्यासेट बिक्रीबापत उनले १८ लाख रुपैयाँ आम्दानी गरेको बताए । त्यसपछिका उनका हरेक एल्बमले राम्रो व्यापार गरिरहेका छन् ।

पछिल्लो समयमा उनले परिवेश भाग ८ बजारमा ल्याउने तयारी गरिरहेका छन् । बाग्लुङ गल्कोटमा जन्मेका ठकुरी परिवारका सदस्य उनै ‘लोकपपका पायोनियर’ तिलकबम मल्लसँग गरिएको कुराकानीको सारः

मुटु छुने लुम्लेको हावाले…….tilak 3

 

सांगीतिक क्षेत्रमा मेरो व्यवसायिक यात्रा २०५४ सालबाट शुरु भएको हो । मुमाले दिएको ७० हजार रुपैयाँ लगानी गरेर मैले पहिलो एल्बम निकालेको हुँ । छोराको इच्छालाई नकार्न नसकेर उहाँले मलाई त्यत्रो रकम दिनुभएको हो । परिवेश भाग १ बाट मैले चर्चा कमाउन सकिनँ । यो एल्बम ‘सुपर फ्लप’ भयो । तर मैले हिम्मत हारिनँ ।

निरन्तर यात्रामा लागिरहें । मलाई बुवाले एउटा कथा सुनाउनुभएको थियो । माकुराले १७ पटकसम्म माथि जान चाहन्थ्यो तर झथ्र्यो । अन्तिममा त्यो माकुरा माथि चढेरै छोड्थ्यो । मैले यही कथालाई आफ्नो आदर्श मानें ।
मैले हिम्मत हारेको भए आज तपाईं मलाई खोज्दै आउनुहुन्नथियो होला । मैले २०५५ सालमा ‘परिवेश भाग २ पहाडी ठिटो’ निकालें । यसमा समावेश गरिएको ‘मुटु छुने लुम्लेको हावाले’ भन्ने गीतले तहल्का मच्चायो ।

रञ्जना क्यासेट सेन्टरले वितरण गरेको यो एल्बममा सबै गीतहरू लोकपप थिए । पहिलो एल्बममा रहेका गीतहरू रक पाराका थिए । त्यसमा रहेको एउटा गीत लोकपप थियो । त्यो गीत सबैले मन पराए । दोस्रो एल्बममा लोकपप राख्नुपर्छ भनेर मलाई चेतना आयो ।

गीत एकाएक हिट भयो । आधुनिक पपगीतको इतिहासमा सर्वाधिक बिक्री हुने एल्बमको रूपमा स्थापित भयो । म त आत्तिएँ । जता जाउँ आफ्नै गीत बजिरहेको हुन्थ्यो ।

म रातारात सामान्य तिलकबमबाट चर्चित तिलकबम भएँ । होटलमा चिया खान जाँदा मेरै गीत गुन्गुनाउँदै मान्छेले भाँडा माझिरहेको देख्थें । गाडीमा, पिकनिकमा मेरै गीत बजेको हुन्थ्यो । अवार्ड चाहिँ जितिनँ तर हिट्स एफएम अवार्डमा नोमिनेसन भएको थियो । एक्कासी मेरो स्टार्डम बढ्यो । देश विदेशबाट निम्तो आउन थाल्यो । यसले मेरो काँधमा जिम्मेवारी बढ्दै गयो ।

मैले अर्को भाग पनि एल्बम गर्नुपर्ने भयो । यसै सिलसिलामा परिवेश भाग ३ भोटे ताल्चा निकालें । मेरो चर्चालाई देखेर रञ्जना क्यासेट सेन्टरले ५ लाखमा मेरो एल्बम किन्यो । रोयल्टी लिने चलन हरायो त्यसपछि । परिवेश भाग ४ र ५ लाई मुनलाइट भन्ने कम्पनीले एकमुष्ट १२ लाखमा किन्यो तर यो कम्पनी त्यसै हराएर गयो ।

मेरो गीत त्यति प्रचार भएन । भाग ६ लाई देउराली क्यासेट सेन्टरले ६ लाख रुपैयाँमा किन्यो । यसले गीतको प्रचार ग¥यो तर भिडियो बनाएन । यसरी मैले भाग ७ दुर्गा भवानी क्यासेट सेन्टरबाट निकालें । हरेक एल्बमहरू मैले एकमुष्ट पैसा लिएर बेचें । सबै एल्बममा मैले लोकपप नै गीत गाएँ । बजारमा रामै्र चर्चा पनि पाए हरेक एल्बमले ।

संघर्षका कुरा…….tilak
गायनमा म सबैभन्दा भाग्यमानी कलाकार हुँ । मैले कुनै संघर्ष गर्नुपरेन यो क्षेत्रमा आउन । दुःख पाएको छु भनेपछि श्रोताले मन पराउँछन् भन्ने पनि लाग्ला कसैलाई ।

वास्तविक रूपमै दुःख पाएको भए त भन्नु पनि पर्छ तर मेरो सन्दर्भमा यो कुरा लागू भएन । म पुल्चोकमा इन्जिनियरिङ पढ्थें । होस्टेलमा गितार, किबोर्ड बजाएर गाइन्थ्यो । कलेजका कार्यक्रमहरूमा गाइन्थ्यो । साथीहरूले तेरो स्वर राम्रो छ, यार भनेर उकास्थे । त्यतिबेलासम्म म गायक बन्छु भनेर कहिले पनि सोचेको थिइन । मभित्र गाउनसक्ने खुबी छ भनेर मलाई साथीहरूले नै चिनाइदिएका हुन् ।

घरमा ग्रामोफोन थियो । त्यहाँ हिन्दी गीतहरू सुनिन्थ्यो । धर्मराज थापाका र बच्चु कैलाशका गीत पनि सुनिन्थ्यो । गीत सुन्दा पनि लुकेर डराई डराई सुन्नु पथ्र्यो । गीत सुने छोरो बिग्रिन्छ भन्ने थियो बुवामुमामा । म पढाइमा पनि अब्बल थिएँ । कक्षाको प्रथम विद्यार्थी हुँ म । कक्षामा मनिटर बनाइन्थ्यो मलाई । जिम्मेवारी धेरै थियो विद्यार्थीकालमा नै । त्यसैले मैले बिग्रने मौका नै पाइनँ । सधैं जेहेन्दार हुनुपर्ने, कक्षामा पहिलो हुनुपर्ने दबाब थियो ममा । पढाइलाई मात्र ध्यान दिनुपर्ने थियो ।

माध्यमिक तहको पढाइ सकेपछि मात्र म आजाद भएँ । क्याम्पसमा गाउन थालेपछि साथीहरूको आग्रहमा मैले २०५३मा रेडियो नेपालमा आधुनिक गीततर्फ स्वर परीक्षा दिएँ र पहिलोपल्ट नै सफल पनि भएँ । २२ सय जनाले स्वर परीक्षा दिएकोमा जम्मा ८ जना पासमध्ये म पनि परेको थिएँ । मलाई पनि डिभी परेजस्तै भएको थियो । त्यतिबेला मैले यो बादल यो वर्षा भन्ने गीत गाएको थिएँ ।

इन्जिनियरिङको स्नातक तहसम्मको पढाइ पूरा गरें तर जागिर खाइनँ । अहिलेसम्म मैले २९ वटा देश घुमिसकें । पछिल्लो वर्षमात्र म नौवटा राष्ट्रमा गएँ । मलाई केही कुराले पनि छोएन । न मलाई पढाइले छोयो, न शहीद परिवारले छोयो । मलाई संगीतले मात्र छोयो । मेरो गुरु पनि छैनन् । रियाज पनि गर्दिनँ ।

गालामा रगत छउन्जेल मात्र दर्शकले हेर्ने हो …tilak 2

अडियो खुब चल्यो मेरो । मेरो स्वर र नामलाई सबै नेपालीले चिन्नुभयो तर मेरो अनुहारलाई कसैले पनि चिन्नुभएन । प्रायः गीतको भिडियो बनेनन् मेरा । बनेका केही भिडियो चल्दै चलेनन् ।

यस हिसाबले म भिडियोमा अभागी साबित भएँ । म अहिले पनि देखिने गायक हुन सकिनँ । अहिले त सुनिने गायक भन्दा पनि देखिने गायक बढी छन् नि । यसो हुँदा मलाई फाइदा पनि छ । मेरो व्यक्तिगत स्वतन्त्रता कसैले छिन्न सक्दैन । म आफ्नो ढंगले हिँड्न सक्छु । कसैले अवरोध गर्दैन । मेरो गीत गाउँदै हिँडेको मान्छे मसँग ठोकिँदा पनि मलाई चिन्दैन । भृकुटीमण्डपमा बसेर बदाम खान मलाई कुनै गाह्रो छैन अहिले ।

मलाई यो खुशी लाग्छ कि तिलकबम मल्ललाई चिन्दैनन् तर मेरो गीतलाई मन पराउँछन् । तपाईं हो तिलकबम मल्ल भनेर मानिसले आश्चर्य पोख्दा रमाइलो लाग्छ ।

भिडियोमा देखिएको मान्छेलाई भेट्दा भन्दा नदेखिएको मान्छेलाई भेट्दा श्रोताहरु बढी रमाउनुहुँदो रहेछ । मेरो अनुभव हो यो । त्यही भएर पनि मलाई गीतको भिडियो बनाउन त्यति मन लाग्दैन । साथीहरूले दम हाल्नुहुन्छ तैंले भिडियो गर्नुप¥यो भनेर तर मलाई यस्तैमा रमाइलो छ । उहाँहरूले भने पनि मलाई दृश्यमा आउन मन लाग्दैन ।

कहिले आफ्नै रहरले त कहिले क्यासेट कम्पनीको लापरवाहीले मैले भिडियो गरिनँ । दर्शकले मेरो ‘थोपडा’लाई हेर्न पाउनुभएन । यतिसम्म कि एउटा गीतको भिडियो बनाउन नगरकोटमा गएर सुटिङ गरियो तर आधी भएपछि के के भयो त्यो पूरा हुन सकेन । शायद मलाई भिजुअल गर्न लेखेको रहेनछ । मेरा दर्शक भएनन्, श्रोता मात्र भए । यसको पनि फाइदा छ ।

दर्शकले एउटा उमेर काटेपछि हेर्न छोड्छन् तर श्रोताहरूले म बुढो होउन्जेल पनि सुनिरहन्छन् । दर्शक स्वार्थी हुन्छन्, श्रोता सदाबहार हुन्छन् । गालामा रगत छउन्जेल मात्र दर्शकले हेर्ने हो । यो मेरो व्यक्तिगत कुरा हो है ।

परिवेश ब्याण्ड र परिवेश स्टुडियो………

रेडियो नेपालमा स्वर परीक्षा दिँदा गाएको गीत यो बादल यो वर्षा अनि भेलमा, पर्खिबसें हर परिवेशमाबाट मलाई परिवेश भन्ने शब्दले छोयो । यसैलाई हामीले आफ्नो ब्याण्डको नाम जुराउने सहमति ग¥यौ । त्यतिखेर यो मेरो यो गीत, रामकृष्ण ढकालको ओराली लागेको हरिणको चाल भो, सुरेश अधिकारीको म मरेको पल, देविका प्रधानको यस्तै रहेछ यहाँको चलन, यम बरालको बादलुको घुम्टोले इलाम बजार छोपिँदा धेरै फर्माइस आउने गीतहरू थिए । यो गीत मैले आफैं संगीत गरेको थिएँ । परिवेश शब्दले मलाई क्लिक ग¥यो ।

काठमाडौं छोडेर म पोखरामा गएँ । त्यहाँको वातावरणले मलाई गायक बन्न अझ हौस्यायो । त्यहाँ बिबी अनुरागी, सुन्दर थापा, डिबी गुरुङ, अभिमन्यु विक्रम आदि मिलेर ब्याण्ड स्थापना ग¥यांै । भाग १ निकाल्दा म एक्लै थिएँ । दोस्रो एल्बम गर्दा हामी ब्याण्डमा आबद्ध भएका थियौं । मैले नै रोजेको नाम परिवेशलाई साथीहरूले पनि स्विकारेर यो ब्याण्डको नाम रहन गयो । साथीहरूले बजाउन मात्र मलाई सहयोग गरेका थिए । लगानी सबै मैले नै गरेको थिएँ । अहिले प्रत्यक्ष रूपमा म एक्लै छु ब्याण्डमा । तर साथीहरूले मलाई सल्लाह दिनुहुन्छ ।

मेरो स्टुडियोको नाम पनि परिवेश नै हो । स्टुडियो मेरो साइड जब हो । यसले मलाई बाँच्न सहयोग गरेको छ । परिवेश भनेको अवस्था हो । अवस्था परिवर्तन हुनसक्छ तर मेरो परिवेश कहिले पनि फेरिँदैन । मेरो ब्याण्ड पनि परिवेश, गीत पनि परिवेश, स्टुडियो पनि परिवेश । यो परिवेशले नै हो मलाई यहाँसम्म ल्याएको हो ।

गीत गाउने अवसर सधैं पाउन सकिँदैन त्यसैले स्टुडियोलाई धेरै खर्च गरेर चलाएको छु । न्यु प्लाजामा कुनै बेलामा ६ वटा स्टुडियो थिए तर परिवेश मात्र अहिलेसम्म चलिरहेको छ । परिवेश स्टुडियोमा स्वर्गीय फत्तेमानदेखि अहिलेका कमल खत्रीसम्मले गीत रेकर्ड गरेका छन् । म व्यापारी होइन, त्यसैले पैसा नभएका कलाकार आउँदा मैले पैसा लिने गरेको छैन ।

म गाउने, संगीत गर्ने, रेकर्डिङ गर्ने, मिक्सिङ गर्ने, संगीत संयोजन गर्ने आफैं गर्छु । गीत लेख्न चाहिँ साथीहरूले पनि सघाउनुहुन्छ । लोकपपलाई छोडेर अन्त जान सक्दिनँ । यस्तो भयो कि, विकिपिडियामा समेत मलाई पायोनियर अफ लोकपप भनिँदो रहेछ त्यसैले पनि म लोकपपभन्दा बाहिर जान सक्दिनँ ।

शहीद थिरबम मल्लको नाति

मेरो हजुरबुबा थिरबम मल्ल हुनुहुन्छ । उहाँलाई कांग्रेस भनेर उहाँकै मामा मोहनशम्शेरको पालामा वीरगञ्जमा मारिनुभएको हो । सत्तामा भएको बेलामा आफ्नो विरुद्धमा काम गरेको भएर उहाँलाई मारिएको हो । मामा भाञ्जा भन्ने हुँदोरहेनछ राजनीतिमा । यो राजनीतिको कुरा धेरै लामो छ । मलाई देशको लागि रगत बगाउने शहीदको नाति भएकोमा गर्व लाग्छ ।

तर मैले यही कुरालाई भजाएर व्यक्तिगत स्वार्थ लुट्न चाहिनँ । म एउटा स्वतन्त्र व्यक्ति हुँ । म राजावादी वा काँग्रेस वा अरू कुनै दलको समर्थक होइन । मलाई काँग्रेस परिवारको सदस्य भन्छन् तर म नेपाल आमाको छोरो हुँ भन्न रुचाउँछु । मेरो हजुरबुवा पनि जनताको मान्छे र म पनि जनताको मान्छे हुँ । मैले पनि साँस्कृतिक सेवा गरेको छु जनतालाई ।

शहीद परिवार भएबापत हामीले राज्यबाट केही पनि सुविधा लिएका छैनौं । राजनीति आफैंमा गुटमा विभाजित छ । उहाँको नामबाट मैले केही पनि लिएको छैन । एकपटक पूर्वराष्ट्रपति रामवरण यादवले उहाँको निवासमा बोलाउनुभएको थियो । त्यहाँ गएर दूध, मिठाइ खाएको छु ।

उहाँलाई मेरो बारेमा थाहा रहेछ नत्र अरू कसैलाई यो कुरा थाहा छैन । उहाँले मलाई तिलकजी तपाईंले संगीतबाट देशको सेवा गर्नुस् भन्नुभयो ।
हामीलाई कसैको सहयोग छैन । बरू माओवादीले मेरो माइलो बुबा माधवबम मल्ललाई सामन्त भनेर मारे । गल्कोट दरबारमा हामी बस्थ्यौं । हाम्रो बाजेहरूले राणाहरूसँग मात्र हुन्थ्यो ।

माओवादीले हेर्दा हामी शोषक सामन्त हौं तर कांग्रेसले हामीलाई कोही पनि ठान्दैन । गायकको हिसाबले माया गर्छन् पुराना नेताहरूले । अर्जुन नरसिंह केसीले फोन गर्नुहुन्छ कहिलेकाहीँ । नेपाली कांग्रेस हाम्रो परिवारको आस्था हो । थिरबम मल्लको परिवार भएकोले त्यो आस्था हुनु स्वभाविक हो । तर म आफू नितान्त गायक मात्र हुँ ।

फ्यानका कुरा……

tilak bam
म असाध्यै राम्रो मान्छे होइन । फ्यानको आँखामा गडिहाल्ने अनुहार पनि छैन । क्या राम्रो छ भन्ने हो भने फ्यानले दुःख दिन्थे होलान् । साथीहरूले तँ किन फिल्म खेल्दैनस् भनेर दम पनि हाल्छन् तर आफैंलाई म राम्रो छु जस्तो लाग्दैन । कार्यक्रमहरूमा मलाई मन पराउनेहरूले चिनोहरू दिनुहुन्छ । म एकदम सोझो सरल, कसैलाई कुदृष्टिले नहेर्ने मान्छे हुँ । म चुरोट, रक्सी खाँदिनँ ।

मसँग नबोलुन्जेल मलाई कसैले पनि पछ्याउँदैनन् । बोलेपछि छुटिन मान्दैनन् । मेरो व्यवहार देखेर मलाई श्रद्धा गर्छन् । म पनि सबै नारीलाई आमाको रूपमा हेर्छु । कसैको दिल दुखाउदिनँ । सम्मान गर्छु । केटीहरूले मलाई एकपटक कुरा गरेपछि कुरा गरिरहन चाहन्छन् । एकपटक पोखराको लेकसाइडमा एउटा कार्यक्रममा गीत गाउँदा एक हुल केटीहरू हातमा साइनपेन लिएर तिलक मेरो छातीमा साइन गर्दिनुस् भनेर आएका थिए । मैले उनीहरूको ढाडमा साइन गरिदिएको थिएँ । अगाडि चाहिँ गर्न सकिनँ । त्यतिखेर तिलकबम मल्ललाई छुन होइन हेर्न पनि मानिसलाई ठूलो रहर हुन्थ्यो ।

२०५६ सालमा एकवर्षभरिमा मलाई सात हजार दुई सय चिट्ठी आएका थिए । ती प्रायः केटीले लेखेका थिए । प्रायः सबैमा आइ लभ यु, तिलक लेखिएको थियो । कति त रगतले लेखिएका पनि थिए । कति चाहिँ रगतले जस्तो देखिने तर फूलले लेखिएका थिए । मैले ती चिट्ठीलाई अहिले पनि संग्रह गरिराखेको छु । अहिले जस्तो फोनको सुविधा थिएन । फेसबुक पनि थिएन । चिट्ठी कताबाट आउँथ्यो मलाई थाह हुँदैनथियो ।

भिडियो हेर्नुस्



(तिलकबम मल्लसँगको कुराकानीमा आधारित, अर्काइभवाट)

आइतवार, मंसिर २६, २०७३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

toyota
ncell