Nerolac and Nepal life

संगीत

सबिन राई भन्छन्, यस्तोसम्म भयो : दर्शकमाझ गाउँदा गाउँदै अस्पताल दौडनुपर्‍यो

लोकान्तर संवाददाता

गुराँसको फेदमुनि सम्झनाको छायाँ
जहाँ गए नि किन लाग्छ मलाई तिम्रै माया

नेपाली पपगीत श्रोताले यो गीत एकचोटि मात्र भएपनि गुनगुनाएको हुनसक्छन् । नेपाली पप आकाशमा फरक धार र आवाजले लाखौं श्रोतालाई मोहित पार्ने गायकका रूपमा चिनिन्छन् सबिन ।

आफ्नो कथा, गुराँसको फेदमुनि, माया, म संसार जित्ने आँट गर्दैछु जस्ता लोकप्रिय गीतबाट आफूलाई स्थापित गराएका पपगायक सबिन राईले देश तथा विदेशमा गरी हजारौं लाइभ कन्सर्ट पनि गरिसकेका छन् ।
प्रशंसकले उनलाई क्यानाडाका चर्चित गायक तथा फोटोग्राफर ब्रायन एडम्ससँग तुलना गर्छन् । लाखौं प्रशंसक कमाएका राईको सांगीतिक यात्रामा खासगरी प्रेम र वियोगका गीतहरू श्रोताले रुचाएका छन् ।

सानोमा देउसी—भैलो गाउँदै गर्दा संगीतको नशामा तानिइसकेका थिए उनी । अग्रजहरूसँग भैलो खेल्दा उनी दाइहरूका लागि गीत लेख्ने र गाउने गर्थे । उनी पप शैलीका गीतहरू गाउन रुचाउँथे । उनको शैली त्यतैतिर ढल्किसकेको थियो । राई सम्झन्छन्, ‘हामी मादल र गितार बोक्थ्यौं । देउसी खेल्थ्यौं । त्यसबेला नै मलाई संगीतको नशा चढिसकेको थियो ।’

उनी सानैदेखि गीत भनेपछि हुरुक्क हुन्थे । आमाले घरमै गीत गुनगुनाएर हिँड्ने, मामा पनि गीत गाउनमा रुचि राख्ने भएकाले सानैबाट उनमा संगीतको छाप प—यो । उनी भन्छन्, ‘हाम्रो घरमा एकजना दाइ भाडामा बस्नुहुन्थ्यो । उहाँले पनि खुुब गीत सुन्नुहुन्थ्यो । त्यसबेला किशोर कुमारका गीतहरू खुब सुनिन्थ्यो ।’

रहरको गायन
उनको गायनयात्रा रहरबाट शुरू भएको हो । युवावस्थामा गीत गाउने साथी समूह नभएपनि उनी भने गीत लेख्ने र गाउने कर्ममा निरन्तर लागि नै रहे । त्यस समयमा साथीहरू विदेश जाने लहर चलेको थियो । उनलाई पनि विदेश जाने रहर लाग्यो । ब्रिटिश आर्मीमा भएका बुवाको जागिरको सिलसिलामा केही देश पुगिसकेका थिए उनी । पैसा कमाउने उद्देश्यले उनले आफू दुबई जाने योजना बनाए ।

उनी संगीतमा परिचित हुनुभन्दा पहिले उनी विदेश पनि गए । ‘लाहुरेको दुःख देखिसकेको हुनाले पनि मैले आर्मी हुने चाहना राखेको थिइनँ । अरू साथी गएको देखर आफू विदेश जान खोजेको,’ उनी सम्झन्छन् ।
खासमा सबिन त्यसबेला प्रेममा परेका थिए ।

पहिलो प्रेममा असफल
राई आफ्नो पहिलो प्रेम किन असफल भयो भन्ने खुलाउन चाहन्नन् तर उनी विदेश गएको बेला प्रेमिकाले अर्कैसँग बिहे गरेको उनी हाँस्दै सुनाउँछन् । ‘त्यसबेला म भावविह्वल भएको थिएँ । त्यो घटनाले मलाई कवि नै बनायो । कति गीत लेखें भन्ने आफैलाई थाहा छैन,’ उनी भन्छन् ।

लगभग चार वर्षको अन्तरालपछि उनी फेरि प्रेममा परे । उनलाई नै बिहे गरे । व्यावहारिक बनेपछि भने उनलाई पैसा कमाउनुपर्छ भन्ने लाग्यो ।

त्यसपछि उनी फेरि कोरिया गए । त्यतिबेला कोरिया जान सहज भएको उनी बताउँछन् । लगभग दुई वर्षपछि नेपाल आएर संगीतका क्षेत्रमा निरन्तर रूपमा लागे ।

उनको पहिलोपटक रेकर्ड भएको गीत ‘मेरो यो माया’ हो । उनले यो गीत २०५१ सालतिर रेकर्ड गराएको स्मरण गर्छन् । उनी भन्छन्, ‘आफ्नो स्वर कस्तो सुनिने रहेछ भनेर धरानबाट एक्लै आएर यो गीत रेकर्ड गराएको थिएँ ।’

बजार व्यवस्थापनमा समस्या
शुरूमा संगीत क्षेत्रमा आउँदा भने उनलाई केही गाह्रो भएको थियो । आफूले गाउनसक्ने खुबी भएको पहिचान गरेपनि म्युजिक कम्पनीले उनलाई पत्याएका थिएनन् । ‘काठमाडौं आएर आफैंले गीत रेकर्ड गराएर ताल म्युजिक गएँ । त्यतिबेला सुगम पोखरेल, दिपेश किशोर, अनिल सिंह लगायत चर्चामा थिए ।’

उनी भन्छन्, ‘म रेकर्ड गरिएको सीडी बोकेर ताल म्युजिकमा आएँ । सञ्चालक असलम खानले के काम थियो भनी सोधे । मैले आफूले गीत रेकर्ड गराएको र सुनेर राम्रो लागे बजार व्यवस्थापन गरिदिन आग्रह गरे तर उनले गीत नै नसुनी व्यस्त भएको बताउँदै मलाई फिर्ता पठाए ।’

त्यसपछि उनी म्युजिक डट कममा जाँदा पनि गीत नै नसुनी अस्वीकार गरेको उनी सम्झन्छन् ।
त्यतिखेर आफूलाई केही गाह्रो महसूस भएको उनी बताउँछन् । ‘मलाई मेरो काममा विश्वास थियो । हरेस खाइसकेको थिइनँ । उनी थप्छन्, ‘त्यसबेला मैले साथी सुरज श्रेष्ठसँग सहयोग मागें, उसले मलाई म्युजिक कम्पनी चिनाइदियो ।’

त्यसपछि भने उनलाई एकाएक सबै कम्पनीबाट फोन आउन थाल्यो । उनका साथी सुरजले गीत मन परेर सबै कम्पनीमा सिडी पठाइदिएछन् । त्यसपछि उनलाई कहिल्यै पछाडि फर्केर हेर्नुपरेन । उनका गीत चर्चित हुन थाले ।

शुरूवात कसरी गरूँ म आफ्नो कथा
जहाँको त्यही छ मेरो त्यही पुरानो व्यथा

उनकी आमाको सबैभन्दा मन पर्ने गीत हो यो । उनका धेरै चर्चित गीतहरूमा पनि आमाले मलाई धेरै मन पर्छ भनेर कैयौंपटक सुनाएको उनी सम्झन्छन् ।
उनका लाखौं फ्यानमध्ये केही फ्यानले आफूलाई भएभरका सबै फोटोको क्यालेन्डर बनाएर पठाइदिएको उनी सम्झन्छन् ।

‘केही फ्यानहरूले त मलाई बिहेको प्रस्ताव राख्थे । कोही साथै कन्सर्टमा जान चाहन्थे । अचम्म पो गर्छन् त फ्यानले,’ लामो हाँसो हाँस्दै उनी आफ्ना कुरा सुनाउँछन् ।

कन्सर्टमा दर्शक घाइते
एकपटक कालिम्पोङमा एउटा घटना भएको उनी सम्झन्छन् । कन्सर्ट भव्य चलिरहेको थियो । उनले गीत गाइरहेकै बेलामा प्याराफिटका मान्छेहरू बिस्तारै तल झर्न थाले ।

एकछिन त उनलाई यो दर्शकको तरिका होला भन्ने लागेको थियो तर दर्शकको चाप बढी भएर दुर्घटना भएको उनले अर्को दिन मात्र थाहा पाए । कन्सर्टमा मान्छे धेरै भएपछि प्याराफिटभन्दा बाहिरका दर्शकले दबाब दिएर प्याराफिटका मान्छे झरेका थिए ।

कन्सर्टमा घाइते भएका बिरामीलाई भेट्न उनी अस्पताल पनि पुगे । त्यतिबेलाको घटना सम्झँदै उनी भन्छन्, ‘अगाडि प्रहरीको गाडी, त्यसपछि हाम्रो गाडी र आयोजकहरू । त्यसबेला मलाई आफू नेता भएको महसूस भएको थियो ।
आयोजकले कन्सर्टमा भीड बढी भएर दुर्घटना भएकाले फ्यानलाई भेटिदिन आग्रह गरेपछि उनी हस्पिटल पुगे । राई भन्छन् ‘आयोजकले त १७ जना घाइते छन् भन्थे । मलाई धेरै लागेको थियो ।’

गलामा ईश्वरको वरदान
उनलाई आफ्नो आवाज ‘गड गिफ्टेड’ लाग्छ । उनले संगीतको कुनै तालिम पनि लिएका छैनन् । स्वर सबैको राम्रो हुने तर त्यसलाई कसरी प्रयोग गरिन्छ भन्नेमा भर पर्ने उनको बुझाइ छ ।

‘लता मंगेशकरको स्वर तिखो छ, उनले स्वरलाई प्रयोग गर्न नजानेको भए अरूले कति नमीठो स्वर छ भन्थे ।’ उनी थप्छन्, ‘संगीतमा सफल हुन प्रतिभा, भाग्य र मेहेनत चाहिन्छ । स्वर सबथोक होइन ।’

उनलाई अभया र सिने गुरुङसँग संयुक्त गीत गाउन मन छ । खासगरी ठमेलमा गीत गाउने महिला गायिकाबाट उनी प्रभावित छन् ।

आफ्ना शुरूवाती गीतमा राई आफैंले मोडलिङ गरेका थिए । मोडलिङ गर्नु आफ्नो रुचि नभएपनि म्युजिक कम्पनीको आग्रहका कारण आफूले अभिनय गरेको उनी बताउँछन् ।

अहिले ललितपुरको झम्सिखेलमा उनको क्याफे छ । गाएर मात्र बाँच्न नसक्ने स्थिति आएर नभई सानैदेखि क्याफे बार खोल्ने इच्छा पूरा गरेको राईले बताए ।

उनको भविष्यको योजना भने संगीत नै हो । भन्छन्, ‘अहिले पनि प्रेम र वियोगकै गीत लेखिरहेको हुन्छु । म प्रेम वियोगबाहेक अरू गीत लेख्न सक्दिनँ ।’

लगभग आठ वर्षसम्म एकल गायनमा जमेका राई अहिले भने ब्यान्डसँग देखापर्छन् । एक्लै गाउँदा त्यति मजा नहुने भएकोले आफूले ब्यान्ड बनाएको बताउँछन् । कार्यक्रमका दौरानमा उनी विश्वका धेरै ठाउँमा पुगेका छन् । नेपालका पनि धेरै स्थानमा उनले आफ्नो गायन प्रस्तुत गरेका छन् ।

विनोद लामा, जोन श्रेष्ठ, जीवन लामा, निकेश केसीको समूह बनाएर ‘सबिन राई एन्ड दि फ्यारो’ सञ्चालन गरेका सबिन राई पछिल्लो समय कन्सर्टमा व्यस्त छन् । कक्षा १२ र कक्षा आठमा पढ्ने दुई छोरीसहितको परिवार धरानमा भएपनि व्यस्तताले कन्सर्ट हुँदा या वर्षको एकपटक मात्र घर जान पाउने बताउँछन् ।

नेपाली संगीतको भविष्य उज्ज्वल बन्दै गएको राईलाई लाग्छ । उनको धारणामा नयाँ कलाकारले नयाँ जोश ल्याएका छन् । उनी भन्छन्, ‘यो क्षेत्रमा हामी उत्कृष्ट १० मा पर्न सक्नुपर्छ । त्यसो हो भने संगीतको माध्यमबाट पैसा कमाउन गाह्रो छैन ।’ शनिवार, पौष २, २०७३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

toyota
ncell