Ruslan
Tata /sipradi
Sarbottam Cement

संगीत

'कालीपारे दाइ' अर्थात लोकगीतका हस्ती इन्द्र जिसी

कालीपारे दाई
मेरो मायालाई नबिर्सनू है !

नेपाली लोकदोहोरी गीत सुन्नेहरूले सायदै यो गीत र यसको भाका भुलेका होलान् । पाल्पा, स्याङ्जा, गुल्मी, पर्वत र बाग्लुङ जिल्लाको बीच भएर कालीगण्डकी नदी बग्छ । त्यस आसपासका क्षेत्रमा कालीगण्डकी नदी पारिकोलाई कालीपारे भन्ने चलन छ । पाल्पाकाले स्याङ्जालाई कालीपार तथा स्याङ्जाकाले पाल्पाकालाई कालीपार भनेर भन्ने प्रचलन छ । त्यही जनजिब्रोको बोलीलाई जिसीले गीतको भाका बनाए, ‘कालीपारे दाइ’को नाममा । जुन भाका उनले अपेक्षा गरेभन्दा बढी चल्यो ।

‘कालीपारे दाइ’ इन्द्र जिसीलाई चिनाउने र स्थापित गराउने गीतहरूमध्येको एउटा चर्चित गीत बन्यो । त्यतिबेला लोकगीतको बजार अहिलेको जस्तो फराकिलो र सञ्चार माध्यम नभए पनि गाउँगाउँमा लोकगीतहरू घन्किन्थे । लोकगीत गाएर पनि कलाकार बाँच्न सक्ने स्थिति थियो त्यतिबेला ।gc

पाल्पाको फोक्सिङकोटमा जन्मिएका गायक इन्द्र जिसी सानैदेखि लोकगीतप्रति रुचि राख्थे । गाउँमा हुने विभिन्न कार्यक्रम तथा स्कुलमा सानैदेखि गीत गाए पनि आफूलाई गायक बन्छु भन्ने भने लागेको थिएन उनलाई । ०४६ सालतिर पढाइ पूरा गर्न उनी काठमाडौं आएपछि भने उनलाई आफूले पनि लोक क्षेत्रमा म केही गर्न सक्छु भन्ने लाग्यो । रेडियो नेपालको स्वर परीक्षामा उतिर्ण भएपछि भने लोक संगीतको क्षेत्रमा उनको सक्रियता अहिलेसम्म अटुट छ ।

अहिलेजस्तो प्रविधिको विकास र रेर्कडिङ स्टुडियो नभएकाले त्यतिबेला धेरै गायकले गीत रेकर्ड गर्न सकेनन् । ‘त्यो बेलामा रेडियो नेपालबाट स्वर परीक्षण गर्नुपथ्र्यो, पास भइयो भने गाउन पाइन्थ्यो, नत्र पाइदैनथ्यो,’ जिसी भन्छन्, ‘तर अहिले त्यस्तो छैन, गीत गाएर सामाजिक सञ्जालमा पोष्ट गरेर पनि कलाकारिता गर्न सकिन्छ ।’ प्रविधिको विकास भएपनि लोकगीतको स्तर खस्किँदै गएकोमा उनको चिन्ता छ ।

‘रम्बादेवी थान, यस्तै हो संसार, बुझाऊ तिम्रो मन’ गीतबाट आफ्नो गीतीयात्रा सुरु गरेका जिसी आफूलाई भाग्यमानी कलाकार ठान्छन् । आफूले स्वर दिएका प्राय सबै गीतहरू दर्शक तथा श्रोताले मन पराएको पनि उनी बताउँछन् । उनका अनुसार उनले गीत गाउँदाताका बजार व्यापक थिएन तर एल्बम् भने विक्री हुन्थे तर अहिले बजार त विस्तार भएको छ, एल्बम विक्री हुँदैनन् ।

आँखैको नानीले
बालबच्चाको विचल्ली पार्दियौ छोडेर जानीले...

यो गीत पनि जिसीको चर्चित गीतमध्येको एक हो । आखिर किन उनका गीत श्रोताको जनजिब्रोमा झुण्डिएका छन् त ? उनी भन्छन्, ‘म आम मानिसको वेदनालाई गीत बनाउँछु, उहाँहरूका कथालाई गीतमा मिश्रण गर्न खोज्छु, सायद त्यही कारणले श्रोताले मेरा गीत मन पराउँछन् ।’

संगीतको पछिल्लो अवस्था कस्तो छ ? उनको भनाइ छ, ‘पहिलेको तुलनामा बजार व्यापक बनेको छ, भविष्य सुनिश्चित नभए पनि यो क्षेत्रमा आउनेको लहर उस्तै छ ।’ तर यदि कोही संगीत क्षेत्रमा उदाउन चाहन्छन् भने पूर्वतयारी गरेर आउनुपर्ने धारणा राख्छन् उनी ।

उनका विचारमा अहिलको संगीत बजार सस्तो प्रतिस्पर्धामा चलेको छ । उनको बुझाइमा पहिलेको तुलनामा लोक संगीतमा आउनेहरू धेरै भएतापनि केही कलाकारले लोक संगीतको बदनाम गरेका छन् । राज्यमा गतिलो कानुनी नीति तथा व्यवस्थापन नभएसम्म कुनै पनि क्षेत्र माथि उठ्न नसक्ने जिसीको बुझाइ छ ।

४० को दशकमा पाल्पाबाट काठमाडौं आएर पढाइका साथसाथै लोकसंगीतमा लागेका जिसी नेपाली सेनामा जागिरे खाँदाका दिन आफू धेरै व्यस्त हुँदाहुँदै पनि जीवनबाट समय छुट्याएर संगीत क्षेत्रलाई आफूले समयको दिएको बताउँछन् जिसी । उनी भन्छन्, ‘मलाई जागिरले थोरै व्यस्त बनायो तर मैले समय मिलाएर उब्रेको समयलाई संगीतमा लगानी गरें ।’

४७ सालमा नेपाली सेनामा छिरेका उनी ६७ सालमा जागिरबाट निवृत्त भए । निवृत्त भएपनि पारिवारिक जीवनबाट सहजै फुर्सद कहाँ पाउँछन् र उनी ? तैपनि संगीत संयोजन, लय तथा स्वरका लागि समय मिलाएकै छन् । ‘नेपाली लोकगीतका क्षेत्रमा आफ्नो भविष्यको सुनिश्चित नभएपनि आफूमा खुबी हुने कलाकार इज्जतसँग बाँच्न सक्छन्,’ नयाँ पिँढीलाई उनको सुझाव छ, ‘तर यो क्षेत्रलाई पूर्णकालीन पेशाका रूपमा नअपनाउनुस् ।’

पछिल्लो समय आफ्नै स्टुडियो ‘टी टाइम म्यूजिक’ मा व्यस्त रहेका जिसीले पछिल्लो पटक निशा केसीको एल्बम् ‘जे भनेनी सहने बानी प¥या छ...’ बोलको गीतमा लय तथा शब्द संकलन गरेका छन् । अहिले यो गीत युट्युबमा उत्तिकै रुचाइएको पनि छ । पछिल्ला दिनमा आएका नवकलाकारहरूले लोकगीतमा सस्ता र उच्छृङ्खल शब्द हालेर लोकगीतलाई अश्लील बनाउँदै गएकोमा उनको चिन्ता छ ।

शुक्रवार, मंसिर १७, २०७३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

Shivam
Nepal Life insurence
ncell
Sarbottam Cement