अपाङ्गताको अधिकारका लागि हिँडेका निलकण्ठ

प्रकाश आचार्य
प्रकाश आचार्य

प्रकाश आचार्य लोकान्तरका लागि ५ नम्बर प्रदेशका प्रतिनिधि हुन् ।

कुराकानी सकिँदा कुर्चीबाट उठेर हिँड्न खोज्दा उनी लडे । सहयोगीले उनलाई उठाउँदै गर्दा भने – लडेर उठ्दा झनै साहस आउँछ ।

उनी जन्मिँदा स्वस्थ नै थिए । २ वर्ष पार गर्दैगर्दा उनको कम्मरमुनिको भागले राम्रोसँग काम गर्न छाड्यो । सरकारले पोलियो र अन्य भ्याक्सिनहरू गाउँमा पुर्‍याएको थिएन । उनका आमा सुत्केरी हुँदा पोषण र खोपहरू पनि गाउँमा थिएनन् ।


Advertisement

सामान्य कमजोरीको कारण उनी अपाङ्ग बन्न पुगे । उनी जसोतसो हुर्किए । शारीरिक अवस्था कमजोर हुँदै गएका कारण उनले साथीहरूसँग हिँडडुल गर्ने र खेल्ने मौका पाएनन् ।

स्वास्थ्य चेकजाँच गर्दा पोलियो रोगका कारण उनमा अपाङ्गता भएको पुष्टि भयो । जब उनी बुझ्ने भए, उनलाई बैशाखीको साहारा आवश्यक भयो ।


Advertisement

रुपन्देहीको सैनामैना नगरपालिका–१० सालझण्डीमा जन्मिएका निलकण्ठ पौडेल हाल काठमाडौंमा बस्दै आएका छन् । पौडेल अपाङ्गतालाई शक्तिमा बदलेर सफलता र सम्भावनाको खोजीमा छन् । पूरा शरीरले काम नगरेपनि उनले आत्मविश्वास गल्न दिएनन् ।

‘कसैले टारेर टार्न नसकिने रहेछ अपाङ्गता, त्यसलाई सहज रुपमा स्वीकार गरेर जीवनलाई सहज रुपमा अगाडि बढाउन सकिन्छ,’ उनी भन्छन् । 

उनी राष्ट्रिय अपाङ्ग अनुसन्धान तथा विकास केन्द्रको अध्यक्ष हुन् । संस्थालाई अगाडि बढाएर आफूजस्तै फरक क्षमता भएका सबै नेपालीलाई समाजमा स्थापित गर्न जुटेका छन् उनी । ‘मैले अप्ठ्यारो परिस्थितिमा परिवार आफन्तको पूर्ण साथ पाएँ,’ उनले भने । समाजमा असम्भव भन्ने कुरा केही नहुने उनको ३० वर्षे भोगाइको अनुभव छ ।

‘नेपालमा अपाङ्गता भएका व्यक्तिहरू घरबाट बाहिर निस्कन सकेका छैनन् । उनीलाई परिवारले प्रोत्साहन गरी बाहिर ल्याउनुपर्छ,’ उनी भन्छन्, ‘परिवारले साथ नदिएको भए सायद म आज राष्ट्रिय स्तरसम्म चिनिने थिएनन् होला । शक्ति होइन सोचले अगाडि बढेर यहाँसम्म आएँ ।’

उनले प्राथमिक तहको शिक्षा रुपन्देहीको सालझण्डी प्रावि फच्कापुरमा पढे । कक्षा ६ देखि ८ सम्म पशुपति माविमा अध्ययन गरे । तत्कालीन एसएलसी कान्ति मावि बुटवलबाट गरे । व्यवस्थापन विषय लिएर उनी कक्षा ११ मा बुटवलकै सिद्धार्थ गौतमबुद्ध क्याम्पसमा भर्ना भएर प्रविणता प्रमाणपत्र तह उत्तीर्ण गरे ।

रुपन्देहीकै न्यू होराइजनबाट उनले बीबीएस उत्तीर्ण गरे । त्यसपछि उनको परिवार बसाइसराई गरी काठमाडौंमै गयो । अहिले चन्द्रागिरी नगरपालिका–१० सतुङ्गल बस्दै आएका पौडेलले अहिले सामाजिक क्षेत्रमा काम गर्दै आएका छन् ।

उनी भन्छन्, ‘अनुसन्धान केन्द्रमार्फत उनले अहिले अपाङ्गता भएका व्यक्तिहरूको लागि शिक्षा स्वास्थ्य, रोजगार र समाजमा स्थापित बनाउन काम गर्दैछु ।’ उनकै पहलमा अहिले देशमा विभिन्न ६ ठाउँमा अपाङ्गता भएका व्यक्तिको लागि पढ्ने विद्यालय स्थापना भएका छन् । 

सुनौलो अपाङ्गता विशेष शिक्षा काठमाडौं, फेवा अपाङ्गता विशेष शिक्षा पोखरा, विराटनगरमा अपाङ्गता पुनःस्थापना केन्द्र, रुपन्देहीको छपियामा छपिया अपाङ्ग उत्थान समाजमा अहिले अपाङ्गता भएका बालबालिका अध्ययन गर्दै आएका छन् ।

‘नेपालमा अपाङ्गता भएका व्यक्तिहरूलाई क्षमता नभएको दृष्टिले हेरिन्छ । उनीहरू कुनै पनि कुरामा अब्बल हुन सक्छन् भन्ने कुरालाई विश्वास गरिँदैन । परिवार र समाजले अगाडि बढाए समाजमा साङ्गभन्दा कम छैनन्,’ उनले भने ।

अपाङ्गता भएका व्यक्तिको लागि भन्दै उनले आमनेपाली पार्टी गठन गरी २०७४ सालको निर्वाचनमा पनि होमिए । स्थानीय तहको निर्वाचनमा चन्द्रागिरी नगरपालिकाको मेयरमा पनि उम्मेदवारी दिए । ‘राज्यलाई झक्झक्याएर अपाङ्गता भएको व्यक्तिहरूलाई पनि साथमा लिएर अगाडि बढ्नुपर्ने भन्ने सचेतना, खबरदारी र यो वर्गलाई पनि राज्यको मूल प्रवाहमा ल्याउनुपर्छ भन्नका लागि लागि उम्मेदवारी दिएको हुँ । मत पनि सन्तोषजनक आयो,’ उनी भन्छन्, ‘विश्वका धेरै राष्ट्रमा अपाङ्गता भएका नागरिकलाई राज्यले हेर्ने गरेपनि नेपालमा त्यो गरेको छैन । हामी राज्यको सन्तति हो ।’

सरकारले अपाङ्गता भएका व्यक्तिलाई पूर्णरुपमा संरक्षण गर्नुपर्ने पौडेलको माग छ । उनको माग छ – अपाङ्ग आयोग गठन गरेर सम्पूर्ण अपाङ्ग भएको नागरिकको माग सम्बोधन गर्छ । माग सम्बोधन गराउने अभियानमा उनी लागेको छन् । 

त्यसका लागि प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतका सबै नेतासँग उनले छलफल पनि गरे तर आश्वासन पाएपनि अझै आयोग गठन हुन सकेको छैन ।  

ग्लोबल पिस आर्ट एण्ड कल्चर जर्मनले पौडेललाई भिजिट नेपाल २०२० को शान्ति दूत बनाएको छ । उनीले अहिले भिजिट नेपालको प्रचार गरिरहेका छन् । उनी चीन, थाइल्याण्ड, जापान, सिंगापुर, जर्मन लगायत २४ देश घुमिसकेका छन् । केही दिनपछि उनी चीन, सिंगापुर जाने योजनामा छन् ।

नेपालमा कूल जनसंख्याको १० प्रतिशत कुनै न कुनै प्रकारको अपाङ्गता भएका व्यक्ति रहेका बताइन्छ । उनले अहिले रुपन्देहीका सांस्कृतिक कार्यक्रम गरी १ करोड रुपैयाँको अक्षयकोष बनाएर अपाङ्गता भएका व्यक्तिको क्षेत्रमा काम गर्न भन्दै अभियानमा पनि लागेका छन् ।

उनी २०६० सालमा गोरखाकी पवित्रा काप्रीसँग विवाह बन्धनमा बाधिए । उनका १ छोरा र १ छोरी छन् । ‘साङ्गसँग मैले विवाह गरे, मलाई उनको पूर्ण सहयोग र साथ छ,’ उनले भने, ‘मेरो सबै सुसार श्रीमतीले नै गर्छिन् । यसप्रति म कृतज्ञ छु ।’

अपाङ्ग परिचयपत्र वितरण गर्दा पनि विभिन्न कमजोरी रहेको भन्दै उनले त्यसलाई सच्चाउन माग गर्दै आएका छन् । ४ प्रकारका परिचयपत्र वितरण गरिँदै आएपनि त्यसको पनि दुरुपयोग भएको भेटिएको उनी बताउँछन् । राज्यले अपाङ्गमैत्री बजेट ल्याउन नसक्दा त्यसको प्रभावकारी कार्यान्वयन अपाङ्गता भएका नागरिकले महसूस गर्न नपाएको उनको गुनासो पनि छ ।

उनी घरबाटै अनलाइन बिजनेश पनि गर्छन्, विद्यार्थीलाई घरमै ट्यूसन पनि पढाउँछन् । ‘अपाङ्गता भएका साथीहरू घरबाट निस्कनुपर्छ,’ उनी भन्छन्, ‘उहाँहरूलाई साथ र हात दिन म जस्ता सबै साथीहरू यहीँ क्षेत्रमा काम गर्ने गरी अगाडि बढेका छौं ।’

प्रकाश आचार्य
प्रकाश आचार्य

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्