सेनाको स्वास्थ्य शिविरबाट १५ सय लाभान्वित

भूपू सैनिक सम्मेलनको अवसर पारेर नेपाली सेनाले कैलालीको अत्तरियास्थित तेघरी ब्यारेकमा सञ्चालन गरेको ३ दिने निःशुल्क स्वास्थ्य शिविरमा १ हजार ५०० भन्दा बढीले स्वास्थ्य सेवा पाएका छन् ।

गत शुक्रवारदेखि शुरू भएको सो शिविरमा भूपू सैनिकका परिवारका सदस्यले स्वास्थ्य सेवा लिएको नेपाली सेनाले जनाएको छ ।


Advertisement

श्री नम्बर २५ फिएका गुल्मपति उपसेनानी डा. बबिता सिलवालले स्वास्थ्य शिविरमा ८१५ पुरुष र ७०८ महिला गरी १ हजार ५२१ जनाले स्वास्थ्य सेवा लिएको जानकारी दिइन् ।

सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्लाका भूपू सैनिक र तिनका परिवारका लागि मध्यनजर गर्दै आयोजना गरिएको शिविरमा वीरेन्द्र सैनिक अस्पताल, श्री नम्बर २५ फिए र श्री नम्बर ५ फिएका विशेषज्ञ चिकित्सकसहित स्वास्थ्यकर्मीको टोली खटिएको थियो ।


Advertisement

शिविरमा सामान्य शल्यक्रिया, फिजियोथेरापी सेवा, हाडजोर्नी, र आँखा तथा दन्त सेवा उपलब्ध गराइएको थियो । शिविरमा पाठेघरको समस्या, मधुमेह, आँखा र कानका बिरामीको संख्या अधिक रहेको डा. सिलवालले जानकारी दिइन् ।
‘आँखाका बिरामीका लागि चस्मासमेत उपलब्ध गराइएको छ,’ उनले भनिन्, ‘अरु बिरामीका लागि औषधिसमेत निःशुल्क उपलब्ध गराइयो ।’

भूपू सैनिकलाई लक्षित गरी स्वास्थ्य उपचार सेवाका साथै लघुवित्त कार्यक्रममा समेत सेनाको कल्याणकारी कोषमार्फत सुदूरपश्चिमका भूपू सैनिकलाई विभिन्न किसिमको ऋण लगानी समेत गरिएको छ । अवकाशपछि नागरिक जीवनमा आउने भूपूलाई आयमूलक व्यवसायमा अग्रसर गराउन समेत सेना अग्रसर रहँदै आएको छ ।

कमेन्ट गर्नुहोस्