निजगढ विमानस्थलको अपरिहार्यता : देशलाई समृद्ध बनाउने कि अन्धकारमा धकेल्ने ?

डा. अतीन्द्र दाहाल
डा. अतीन्द्र दाहाल

लेखकले 'राष्ट्रनिर्माणका आयामहरू' शीर्षकमा विद्यावारिधि गरेका छन् र अहिले उनी प्राध्यापन क्षेत्रमा संलग्न छन् ।

केही वर्षयता प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण पटक–पटक राष्ट्रव्यापी बहसको विषय बन्दैछ । हालसालै पनि माननीय पर्यटन मन्त्रीबाट जसरी पनि आयोजनालाई सम्पन्न गर्ने प्रतिवद्घता समेत व्यक्त भइरहेका छन् ।

यस विषयले तर्क/विर्तकका आधारमा नागरिकबीच पनि विभाजन र मतविविधता व्याप्त छ । विना शर्त र व्यवधान विकासलाई प्राथमिकता दिनुपर्छ अथवा सम्भावित वातावरण विनाश अनि पर्यावरणीय असन्तुलनताको कारण निर्माण रोक्नुपर्छ भन्ने बहस पैरवीले समाजको ध्यान निरन्तर तानेको छ ।


Advertisement

सबैका दलिलका भिन्न–भिन्न दरार र दायरा होलान् । यद्यपि विकासभन्दा दीगो विकासलाई ध्यान दिने आवरणमा समाज र देशलाई झन् अन्धकारमा धकेल्नु किञ्चित हुँदैन । 

प्रस्तावित विमानस्थलको जमिन सतहबाट कम गहिराइमा नै सशक्त चट्टान भएकाले त्यसले अति शक्तिशाली विमानहरू जस्तै एयरबस ३०० सम्मको उडान र अवतरणलाई धान्न सक्छ । विमानस्थल बनाउन अर्को ठाउँ खोज्दा पहाड र हिमालको भुबनोटले त्यसलाई समर्थन गर्दैन ।

Advertisement

अतिरञ्जित छलफलमा अल्झिने बहानामा राष्ट्रिय गौरवको आयोजनालाई शूली चढाउनुु अत्यन्तै आत्मघाती छल हुनसक्छ । सतही बहसको आत्मरतीमा बेरिएर अति आदर्शवादी रामराज्यरुपी असम्भव सहजताको खोजी कसैले गर्नु हुँदैन । आम नागरिक र देशको आर्थिक तथा सामाजिक समृिद्घलाई मध्यनजर गर्दा वातावरणमा कम क्षति हुने गरी अनि सम्भावित नोक्सानीको पूर्तिको उपाय समेत खोज्दै तत्काल विमानस्थल निर्माणसम्पन्न गर्नु नै सर्वथा बुद्धिमतापूर्ण कदम हुनेछ । किनकि यो अहिलेको एक प्रधान आवश्यकता समेत हो ।

विमानस्थलको आवश्यकता 

सन् १९९२ मा पाकिस्तान अनि थाई एयरलाइन्सका २ ठूला एयरबसहरू दुर्घटनाका कारण नेपालको हवाइ सेवामा वैकल्पिक अन्तर्राष्ट्रिय विमानस्थलको आवश्यकता खड्कियो । एउटा मात्र धावनमार्ग रहेको अहिलेको विमानस्थल सानो भएकाले विमान अवतरणमा औसत १५ मिनेटसम्म हवाइ जाम हुन्छ ।

धावन मार्गबाट चिप्लिएर यदाकदा साना/ठूला दर्घटना समेत हुन्छन् । भिजिविलिटी पनि औसत मात्र छ । तसर्थ सन् १९९५ मा गरिएको सर्वेक्षणले विभिन्न ७ ठाउँमध्ये निजगढलाई सबैभन्दा उपयुक्त स्थान मान्यो  । 

प्रस्तावित योजना अनुसार त्यहाँ झण्डै २ हजार ५५६ हेक्टरमा विमानस्थल बन्नेछ । अरु ६ हजार १११ हेक्टर जमिन विमानस्थलले लिनेछ । करीब १ हजार ४६ अर्ब ५१ करोड लागत अनुमान गरिएको विमानस्थलमा ४ धावनमार्ग, ६ बोर्डिङ गेट, ३४ चेकइन पोस्ट, ६ सुरक्षाजाँच केन्द्र, ३५ अध्यागमन शाखा, ८ भन्सार विभागसहित ६ करोड यात्रीलाई सेवा दिने क्षमता हुनेछ । साउदी अरेबियामा अवस्थित विश्वकै सबैभन्दा ठूलोे किङ फिद विमानस्थलको क्षेत्रफल लगभग ७८ हजार हेक्टर छ  । डेन्भर अनि डलास अन्तर्राष्ट्रिय विमानस्थल क्रमशः १३ हजार ७२६ र ७ हजार ८०० हेक्टर क्षेत्रफलमा छन् । हालसालै टर्कीले ७ हजार ६५० हेक्टरमा नयाँ विमानस्थल निर्माण सम्पन्न गरी सञ्चालनमा समेत ल्याएको छ, जसका लागि ६ लाख ५८ हजार रुखहरू काटिएका थिए । 

काम यसरी गरौं कि ५ वर्षमा विमानस्थल पनि बनोस् अनि त्यो समयमा पर्यावरणीय क्षतिसमेत परिपूर्ति भइसकोस् तर विनाश हुन्छ भन्ने मात्र तर्कमा विकास रोक्ने हठ आफैंमा अधिक ठूलो विनाश हुनेछ ।

तर हामी निजगढमा झण्डै २ लाख रुख काट्नुपर्ने विषयलाई लिएर चर्काचर्की आरोप/प्रत्यारोपमा जाँदैछौं । रुख काटेर विमानस्थल बनाउनु हुँदैन भन्ने तर्कमा वैज्ञानिकता कम र आग्रह बढी देखिन्छ । आफैंलाई पछि पार्ने र समृद्घिलाई रोक्ने बहसमा कोही पनि रमाउनु हुँदैन । तसर्थ विमानस्थल निर्माणलाई प्राथमिकता दिनुपर्छ । 

किन निजगढ नै उपयुक्त ?

कुनै पनि विकास कार्यक्रमले वातावरणको केही विनाश अवश्य गर्छ । शून्य विनाशमा विकास केवल कोरा कल्पना हो । अर्को उपयुक्त ठाउँ खोजेर समय बर्बाद गर्नुभन्दा निर्माणलाई छिटो सम्पन्न गर्नु सही र वैज्ञानिक हुनेछ । यहाँ काटिएका रुखलाई अन्त रोप्न सकिन्छ, रोप्नुपर्छ । सरकारले पनि प्रतिवद्घता जनाएको छ, सबैले पहलकदमी र अग्रसरता लिनुपर्छ । विमानस्थल निर्माण रोक्दैमा त्यहाँको वातावरण र पर्यावरणीय स्थिति सदैव उस्तै रहन्छ भन्न सकिँदैन । 

वातावरण विनाश र पर्यावरणीय असन्तुलनताको जोखिम अन्य कुनै कारणले अनि अन्य देशको अभ्यासले पनि हुन्छ, भइरहेको छ तर विमानस्थल निर्माणले दिने फाइदा केवल हामो मात्र हुन्छ । रुखहरू त अहिले पनि अन्य कारणले समेत कटान भइरहेका छन्, प्रदूषण अरु देशका कार्बन उत्पादनले पनि गर्दैछ । लेखकद्वय रोवर्ट लेबेलिन र जोन म्यालोफकृत पुस्तक ‘द लिभिङ फोरेस्ट’का अनुसार विश्वमा प्रतिवर्ष क्रिसमस ट्री बनाउनका लागि ४ करोड अनि पेन्सिल बनाउन ८० लाख रुखहरू काटिने तथ्यांक देखिन्छ । त्यसमध्ये ४ लाख त भारतमा मात्र काटिन्छन् ।

प्रस्तावित विमानस्थलको जमिन सतहबाट कम गहिराइमा नै सशक्त चट्टान भएकाले त्यसले अति शक्तिशाली विमानहरू जस्तै एयरबस ३०० सम्मको उडान र अवतरणलाई धान्न सक्छ । विमानस्थल बनाउन अर्को ठाउँ खोज्दा पहाड र हिमालको भुबनोटले त्यसलाई समर्थन गर्दैन । तराईका अन्य बस्तीले भरिएका ठाउँहरू लिँदा त्यसको मुआब्जा दिनसक्ने सामर्थ्य रहँदैन । प्रस्तावित ठाउँ सरकारी स्वामित्वमा रहेकाले मुआब्जा समेत सहज र सरल हुन्छ । यो विमानस्थल घना जंगलबीचमा बन्ने हुँदा विश्वकै पहिले ग्रिनरी विमानस्थल हुनेछ, संसारको ध्यानाकृष्ट गर्ने सक्षमता राख्छ । 

काटिएका रुखबाट निस्कने लगभग १ लाख ९८ हजार घनमिटर काठको आम्दानी झण्डै ५९६ अरबले विमानस्थल निर्माणको झण्डै आधा लागत बोक्ने देखिन्छ । ५ हजार बढी मानिसले प्रत्यक्ष र झण्डै २ लाखले अप्रत्यक्ष रोजगारी पाउने अनि पूर्वाधारको द्रूततर विकास हुने सम्भावना छ । 

विमानस्थलमा शून्य भिजिविलिटीमा समेत सहजै उडान र अवतरण गर्नसक्ने जनाइएको छ । काठमाडौंबाट निजगढसम्म दूतमार्ग बनिरहेको कारण विमानस्थलबाट यात्रुलाई काठमाडौं यात्रा सहज हुन्छ । पूर्वपश्चिम राजमार्गबाट नजिकको दूरीमा रहनुका साथै सुरक्षाको दृष्टिकोणबाट समेत उपयुक्त ठाउँ मानिएको छ । 

अहिले संसारभर हवाई यात्रुको संख्यामा उल्लेख्य बृद्घि हुँदैछ । बेलायती प्रसिद्ध पत्रिका ‘द टेलेग्राफ’का पछिल्ला  विभिन्न शोधले  सन् २०३५ सम्ममा झण्डै ७ अरब ५० करोड मानिसले हवाई यात्रा गर्ने देखाउँछ । तीमध्ये ४ अरब ५० करोड एसिया महादेशका हुनेछन् । अघिल्लो वर्षको पछिल्लो ९ महिनामा नेपाल आउने पर्यटकको संख्या ८ लाख थियो । चालू भ्रमण वर्ष २०२० मा २० लाख पर्यटक ल्याउने  योजना छ ।

पढ्नुहोस् यो पनि - 

खुट्टा नकमाउनुस् पर्यटनमन्त्रीज्यू, निजगढ एयरपोर्टको सवालमा दह्रो साथ दिनेछौं

नेपाल उड्ययन प्राधिकरणका अनुसार सन् २००८ मा १९ लाख यात्रुहरूलाई सेवा दिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई २०१६ मा ५३ लाख यात्रुहरूले प्रयोग गरेको देखिन्छ । हाम्रा दुवै छिमेकी भारत र चीनले समेत उल्लेखनीय संख्यामा नयाँ र सुविधासम्पन्न विमानस्थल बनाउँदैछन् । हाल २३० विमानस्थल रहेको चीन यसैवर्ष ३० र भारत आगामी २० वर्षमा थप १०० विमानस्थल बनाउने लक्ष्यमा छन् ।

यदि हामीले पनि निजगढ विमानस्थल छिट्टै सम्पन्न गरे अहिले भारतलाई तिर्ने गरेको उच्च पार्किङ शुल्क जोगिने छ । विश्वका विभिन्न देशमा जाने विमानलाई अहिले विशेष गरेर सिंगापुर, दुबई, थाईल्याण्ड अनि हङकङले उपलब्ध गराए जस्तो ट्रान्जिट सेवा दिएर अथाह आर्थिक उपलब्धि लिन सकिन्छ । अरु देशका विमान कम्पनीलाई पार्किङ उपलब्ध गराएर समेत आर्थिक लाभ हुनेछ । हवाई हब बन्न सक्ने अथवा अरु देशबाट साना तथा मझौला विमानमा यात्रु ल्याएर सबैलाई निजगढमा भेला पारी एकै पटकमा ठूलो संख्यामा निश्चित गन्तव्यमा पुर्‍याउने अभ्यासले अधिक लाभ दिनेछ । कनेक्टिभिटीलाई पनि सहयोग गर्नेछ । 

अहिले उच्च आर्थिक प्रगति गरेका टाइगर इकोनोमी भनेर चिनिने देशहरू अधिकांश बौद्घ धर्मालम्बी छन् । जे ओ कर्नस्को पुस्तक ‘द फिस्कल क्राइसिस् अफ द स्टेट’ले भन्छ, त्यहाँ बस्ने झण्डै ५०० मिलियन मानिसहरू भगवान् बुद्घको जन्मस्थान हेर्न चाहन्छन् । संसारभर बुद्घिस्ट पर्यटकको भ्रमण बढ्दैछ । ‘इन्भेस्टिङ अन बुद्घिस्ट सर्किट’ नामक प्रतिवेदनको ताजा तथ्यांक अनुसार अहिले संसारभर प्रतिवर्ष लगभग ३० करोड पर्यटकमध्ये २५ प्रतिशत बौद्घ धर्मालम्बी छन् । उनीहरूलाई नेपाल आउन आकर्षित गर्न पनि यो विमानस्थल बन्नु आवश्यक छ । त्यसैले निजगढ विमानस्थलमाथि बहसको धार र आधार बदलिनुपर्छ  । 

अब त  देशमा राजनीतिक क्रान्तिका चरणहरू सकिएर समृद्घिको यात्रा शुरू हुनुपर्छ । मेलम्ची खानेपानी, तराई दूतमार्ग, माथिल्लो तामाकोशी, निजगढ विमानस्थल जस्ता केही योजनाले उल्लेखनीय संकेत दिन सक्छन् । समृद्घिले संरक्षणलाई पनि जोगाउने सोच र क्षमता दिन्छ तर संरक्षण मात्रले समृद्घि आउँदैन । तसर्थ वातावरणको आवरणमा विकासलाई अवरुद्ध गर्ने काम गर्नु हुँदैन । ८० वर्षको सालको रुख जति नै बलियो र प्रशस्त काठ १० वर्षमा नै दिनसक्ने रुखहरू विज्ञानले खोजी र प्रमाणित गरिसकेको छ । यस्ता रुखहरू रोप्नेतिर लाग्नुपर्छ ।

विमानस्थल बन्न कम्तिमा ५ वर्ष लाग्छ, अहिलेदेखि नै रुख रोप्ने, वन्यजन्तु व्यवस्थापन गर्नेतिर केन्द्रित हुनुपर्छ । काम यसरी गरौं कि ५ वर्षमा विमानस्थल पनि बनोस् अनि त्यो समयमा पर्यावरणीय क्षतिसमेत परिपूर्ति भइसकोस् तर विनाश हुन्छ भन्ने मात्र तर्कमा विकास रोक्ने हठ आफैंमा अधिक ठूलो विनाश हुनेछ । त्यसैले कम क्षति र छिटो त्यसको परिपूर्ति हुने उपाय खोज्दै सबै सरोकारवालाले विमानस्थल बनाउने पक्षमा सरकार र देशलाई सहयोग गर्नुपर्छ । आधारहीन पूर्वाग्रही विरोध केवल वौद्धिकताको दुर्घटना मात्र हुनेछ ।

 

डा. अतीन्द्र दाहाल
डा. अतीन्द्र दाहाल

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्