आधुनिक समाजमा साहित्य आन्दोलन !

गोपीनाथ मैनाली
गोपीनाथ मैनाली

मैनाली नेपाल सरकारका सचिव हुन् । 

भारतीय उपराष्ट्रपति एम भेनकाह नायडुले भनेका थिए, ‘कवितामा मानिसको माइण्डसेट, व्यवहार र सामाजिक मान्यता परिवर्तन गर्नसक्ने अदम्य शक्ति हुन्छ ।’ कविता मानव संवेग र मानवीय अन्तस्करमा रहेका उहापोहलाई उच्चतम अभिव्यक्ति दिन्छ । त्यस कारण समाज निर्माण–विनिर्माण चिकित्सक, अभियान्ता, प्राविधिकले मात्र गर्न सक्दैनन् ।

कविताश्लोकहरू मानवभाषा र सभ्यता जत्तिकै आदिम छन् र मानव सभ्यता विकास र परिस्करणमा श्रुति, वाच्य, वाक्य, श्लोक हुँदै डिजिटल अर्काइभमा आइपुगेका छन् । चाणक्य सूत्र नारद–मनुस्मृति–रामायण–महाभारत हुँदै मुनामदन, चिसो चुह्लोमा प्रतिवर्त भएका छन् । समयको चापमा हतारिएको र व्यक्तिवादी बन्दै गएको समकालीन समाजमा अभिव्यक्ति संरचना र स्वरुप बदलिँदै गएका छन् । 


Advertisement

कवितामा मात्र होइन, साहित्य कलाका सबै विधामा नजानिँदो रुपमा पोखिएका मानव उद्वेग–आवेगले समाज र त्यतिखेरको जीवनको बिम्ब उतार्छ । उसका कल्पना–उच्छवास, स्वेरकल्पना भाक्ष्यमात्र होइन, भविष्यका दृश्य (भिजन फर दी प्mयूचर) पनि बन्ने गर्दछन् । साहित्य सिर्जना योजना, कार्यक्रम जस्तो मूर्त र मेटेरियालिस्टिक हुँदैन पनि । तर योजना, कार्यक्रम, व्यवस्थापन जस्ता विषयलाई आधार दिने पृष्ठशक्ति तिनमा छिपेर रहेको हुन्छ । कल्पनाको विम्वलाई योजनाका शिल्पीहरुहरु भविष्यको गन्तव्य बनाउछन् । त्यसैले साहित्यशिल्पी र नीतिशिल्पीबीच परोक्ष सम्बन्ध गाँसिएको हुन्छ । आविस्कार, सामाजिक होस वा बैज्ञानिक, यसको प्रथम दृश्य साहित्य सिर्जनामा देखिएको हुन्छ । जसरी रविन्द्रनाथ टैगोर र अल्वर्ट आइन्स्टाइनबीच यो सापेक्ष्यता देखिएको थियो ।  

समाज विकासलाई साहित्य र कलाको आन्दोलनले यसरी डोर्‍याएको हुन्छ कि साहित्य कला नै जीवन जगतको वास्तविक मार्गदर्शन भन्दा फरक पर्दैन । समाजले के माग्छ वा के चाहि अभाव छ, त्यसको वास्तविक अनुभूति साहित्यमा अभिव्यक्त हुन्छ । उन्नाइसौ सताव्दी युरोपको लागि मानव ‘स्व’ को उदात्तीकरणको युग थियो । स्वतन्त्रता र पुनर्जारणको युग थियो । त्यतिखेर रोमान्टिसिज्म वा स्वच्छन्दतावादले युरोप थर्काएथ्यो । उन्नाइसौ सदीको पहिलो छ दशकमा युरोपको कला साहित्यले तर्क र विज्ञानभन्दा इमोशन र इमाजिनेशनमा जागरण नै ल्यायो । मेरी शेली, भिक्टर ह्युगो र वाइरनका साहित्य सिर्जनाले मानवसत्ताको उदात्तीकरणमा थुप्रै सिर्जिए । मानिस किन बसन्तवयेलीमा पुग्छ, उसको अन्तस्करका चाहना के हुन्छ, त्यसैको सापेक्षमा साहित्य कलामा आन्दोलनमात्र भएन, स्वतन्त्रता र उदारवादको पृष्ठभूमि पनि यसले तयार पार्‍यो । राज्य प्रणाली पुननिर्माणमा साहित्यका स्वच्छन्द अभिव्यक्ति यति बलिया भए कि यसलाई ढाल्न तोप र वारुदले पनि सकेन । भनिरहन परोइन, मानव अधिकार र स्वतन्त्रताको पृष्ठाधार रोमान्टिसिज्म थियो । 


Advertisement

युरोपमा स्वच्छन्दवादले उत्कर्ष पाएपछि स्वच्छन्दतावादको प्रतिक्रियास्वरुप उन्नाइसौं शताब्दीको उत्तराद्र्धमा अँध्यारो स्वच्छन्दतावाद (डार्क रोमान्टिसिज्म) को प्रतिआन्दोलन चल्यो । एड्गार एलान पो, हर्मान मेल मिले जस्ता आन्दोलकबाट चलाइएको अभियानले जीवन स्वच्छन्दतावादीले सोचेजस्तो सफा छैन, स्वच्छन्द र उन्मुक्त पनि छैन । सोचेजसरी मानिस आभ्यान्तरिक रुपमा सिर्जनशील छैन, मनौवैज्ञानिक रुपमा पापी र स्वयम्विध्वंसशील पनि छ भन्ने निस्कर्ष एड्गार एलान पोहरुको थियो । साहित्यले चाहना वा उद्वेग वोक्ने होइन, आप्mनै अन्तरकथाको यथार्थ निष्पादन गर्नसक्नुपर्छ । जीवन सोचेजस्तो न सरल छ, न हुनसक्छ । उसका आभ्यान्तरिक अपसोचहरू नै उसलाई अँध्यारोतर्फ डोर्‍याउने कारक हुन् । अभियानकर्ताहरुको खवरदारी जीवनलाई सरल सहज बनाउन नै भएको हो । भलै कि यो स्वच्छन्दतावादको प्रतिक्रियाका रुपमा देखियो ।

उन्नाइसौं शताब्दीमै अर्को आन्दोलन इमाइल जोला, स्टेफेन क्रेनले बंश, वातावरण र समाजको वकालत गरी प्रकृतिवादी आन्दोलनलाई उत्कर्षमा पुर्‍याए । जीवन प्रकृतिसंगत रहनु पर्दछ । प्रकृति समस्त जीव चराचरको साझा वक्षस्थल हो । प्रकृति र मानव सम्बन्ध सहज नहुदा मानवसत्ताले पाउने दुख र वंश व्यवस्थामा यसले पुर्‍याउने हानीका विरुद्ध लक्षित यस आन्दोलनले विकास व्यवस्थापनलाई सन्देश दिएको छ । अहिले भए जातिप्रजाति र वंश अनुवंश संरक्षणका साथै जलवायु परिवर्तन व्यवस्थापनमा यसले थुप्रै योगादन गथ्र्यो । अझ भनौ ‘रियो–२१ एजेण्डा’ र ‘हामीले चाहेजस्तो विश्व’ को पृष्ठभूमिमा इमाइलजोलाहरु रहेका छन् । प्रकृतिसम्मत विकास यसको निष्कर्ष थियो । 

वोल्सेभिक क्रान्तिको सेरोफेरोमा म्याक्सिम गोर्की, मिखाइल शोलोखोभ, लु सून, ताक्जी कोवायासीले समाजवादी यथार्थवादको धारा चलाए । यस धाराले साहित्यलाई जीवनजगतको उत्पादन, वितरण र आर्थिक न्यायसापेक्ष रहेर थप व्याख्या गर्न पुग्यो । उत्पादन संगठन र जीवनको समाधान खोज्न सक्ने साहित्यले मात्र वास्तविक साहित्य हुन्छ भन्ने आग्रह यस धाराको थियो । साहित्यलाई उत्पादन प्रणाली सापेक्षको आग्रहमा हेर्न मिल्छ र ? भन्ने प्रश्न यस वैचारिक आन्दोलनमाथि रह्यो । पछि यही धारा प्रगतिवाद, क्रान्तिवाद र राल्फवादका व्याख्या पुनव्र्याख्यामा समेत देखिनपुग्यो । अन्यायी समाजव्यवस्थाको विनिर्माणमा यस समाजवादी धारले थुप्रै देशमा थुप्रै आग्रह विग्रह गर्दै आएको छ । 

सन् १९५० को दशकमा नै समाज न सोचेजस्तो छ, न सोचेर नै केही गर्न सकिन्छ वा गरेर नै केही हुन्छ भन्ने विचारको जन्म भयो । पछि निरिस्वरवादका रुपमा विकास भएको यस आन्दोलनले तत्परिवेशमा भने ‘मनमौजी मस्ताराम’ को वेवादलाई उकेरा दिएको थियो । प्रारम्भमा एलेन ग्रीन्सवर्ग र स्याल्डिङ ग्रे समूहको धड्कनवादका रुपमा ख्याती कमाएको यस धाराले सांस्कृतिक विचलनमा धावा वोल्न पुग्यो । अर्को दशकमा यसले विटल्सलाई समेत उकेरा दिएको थियो । यसले विट पुस्ता (टि जनेरेशसन) नै जन्मायो । यो मूलत परम्परागत विश्वमाथिको नया प्रश्न उठाउने आन्दोलन थियो । युवा जमात यस आन्दोलनका औधी पारखी भए । देश–देशावर यसको तरङ्ग फैलिएको थियो । जीवन जगतप्रतिको आग्रहमा कुनै न कुनै रुपमा पोखिएको भावना थियो यो । जसलाई सांस्कृतिक विचलनको आरोप लगाए पनि जीवनप्रतिको उदात्त अनुभूति नै त्यहा पोखिएका थिए र समाज सुधारलाई यसले कुनै न कुनै सन्देश दिएकै थियो । युरोपबाट एशिया र अरु महादेशमा पनि गीत–संगीत र हिप्पी संस्कृतिका रुपमा यसले आसन जमाइरह्यो । 

कतिपय समाज व्यवस्थामा राज्य व्यवस्थामा परिवर्तनको संस्थानीकरणका लागि साहित्य सिर्जनालाई नरम माध्यम बनाउने अभियान पनि चालिएको देखिन्छ । समकालीन चीनमा माओ जे डोङ यान्स विचार मञ्च अन्तर्गत राजनैतिक सामाजिक शिक्षाका अभियानका रुपमा साहित्य कलाका कार्यक्रमहरु सञ्चालित छन् तर यस अभियानसँग असहमतहरू साहित्यलाई यसरी आग्रही बनाउनु नै गैरसाहित्य हो, जसले विचार र राजनीतिमात्र दिन्छ भन्ने तिखो आलोचना गर्दछन् । साहित्यलाई राजनीतिको भरिया बनाइनु हुँदैन, राजनीति र समग्र समाजव्यवस्थाको मार्गदर्शक चाहिँ साहित्य कला बन्नुपर्दछ भन्ने निष्कर्ष कलावदीको छ । साहित्य राजनीति र विचार आग्रही बनाउदै लगिएमा भाट संस्कृति विकास हुने भय रहन्छ, जुन राणा–शाह शासनमा नेपालमा पनि देखिएको थियो । 

अमेरिकाको एरिजोना वासिन्दा मेसाका किशोर युवाहरूमा सक्रियता, मानवीय संवेदना र सकारात्मकतातर्फको अभिमुखीकरणका लागि साहित्यले योगदान गरेको बताउछन् । एलिस हेका अनुसार ‘फिक्सन टु एक्सन’ अभियानबाट किशोर–युवाहरूको मस्तिष्क हुँदै व्यवहार परिवर्तन गर्न सकिन्छ । जापानको कार्टून साहित्य बालमनोविज्ञान विकासका लागि सहायसिद्ध छ । अफ्रिका तथा ल्याटिन अमेरिकाका कतिपय मुलुकमा सदाचार संस्कृति निर्माणको माध्यम साहित्यलाई बनाइएको छ । यसरी कतिपय व्यवहारवादीहरु कार्यात्मक साहित्यको नजानिदो व्याख्या गरी साहित्य आन्दोलनलाई सामाजिक रुपान्तरणको अचूक अस्त्रका रुपमा लिने रुचाउछन् । यसले साहित्य कलाको अभिव्यक्ति मात्र हो वा जीवनजगतको समग्र उदात्तीकरण भन्ने द्वन्द्वमा विचारहरु देखिएका छन् । 

साहित्य र साहित्यिक आन्दोलनप्रति जेजस्तो भनिए पनि के चाहि सत्य हो भने साहित्यले जीवन उठाउने हो, जीवनका भोगाईको अभिव्यक्ति दिने हो । किताव, औपचारिकता र सीमाहरू पर साहित्य–कला–संगीत जीवनशैली परिवर्तनको अदम्य शक्ति हो । सशक्त उर्जा हो । सामाजिक सांस्कृतिक रुपान्तरणको उभार हो । इतिहासका कालखण्डले यसैको पुष्टि गरेको छ । आउने दिनपनि यसबाट विषयान्तर रहन सक्नेछैन । 

नेपाली समाज पनि विश्व साहित्य आन्दोलनको प्रवृत्तिबाट अछुतो छैन । शासन व्यवस्थालाई उदार बनाउन होस् वा निमानवीकृत समाज व्यवस्थालाई मानवीय बनाउन होस्, साहित्य आन्दोलनले निर्देशक मगजको भूमिका खेल्दै आएको छ । राणा शासनको अध्यारो युगमा बनारसबाट युगवाणी साहित्यिक पत्रिका र अन्य साहित्यिक गतिविविधिमार्फत महाकवि लक्ष्मीप्रसाद देवकोटा लगायतका जुझारु सर्जकहरु नेपाली समाज व्यवस्थालाई परिवर्तनका लागि विगुल फुक्दै रहे । निरंकुश व्यवस्थाविरुद्ध साहित्य नै यस्तो कलात्मक हतियार बन्यो, जसले नेपाली मनमस्तिष्कलाई तरंगित बनायो ।

निर्देशित पञ्चयती व्यवस्थामा प्रतीकात्मक रुपमा धेरै साहित्यिक आन्दोलन छेडिए । ती आन्दोलन समूहगत वा वैयक्तिक सिर्जनाका रुपमा थिए । लक्ष्मीप्रसाद देवकोटा वैयक्तिक र संगठित दुवै कित्तामा आन्दोलित थिए । उनका स्वच्छन्दतावादी कविता, निवन्ध र महाकाव्य मानव ‘स्व’ को उन्मुक्ततातर्फको खोजी थिए । मुनामदन जस्ता खण्डकाव्य तत्कालीन समाजको पीडा अभिव्यक्ति थियो । युगकवि सिद्धिचरण श्रेष्ठ, भूपि शेरचन, गोपालप्रसाद रिमालले युग बोकेका थिए, आगो ओकलेका थिए । तर ती विम्वमा थिए । विश्वेश्वर कोइराला, पारिजात, केदारमान व्यथित, गोविन्द बहादुर मल्ल ‘गोठाले’ र यदाकदा भवानी भिक्षु विम्व योजनमा आन्दोलित थिए । 

कवि वैरागी काइला ‘मातेको मान्छेको भाषण मध्यरातको सडकसित’ युगान्तकारी शंखघोष थियो जसरी ‘घुम्ने मेचमाथिको अन्धो मान्छे’ । काइला इन्द्रवबादुर राई र ईश्वर बल्लभसंग संगठित भएर आयामेली आन्दोलनमा पनि संलग्न भए । समूहगत रुपमा आन्दोलनमा रहेको सवैभन्दा सशक्त आन्दोलन थियो ‘आयामेली आन्दोलन’ । जीवनलाई २ आयामबाट मात्र होइन, तेस्रो आयाम जुन अभिव्यक्त हुँदैन, त्यसको उजागर नहुँदा लेखिएको साहित्य नै अपूर्ण आंशिक हुन्छ भन्ने आग्रह आयामेलीहरुको थियो । तेस्रो आयामलाई संवोधन नगरेको जीवन चिनी हालेको दुध भातलाई खीर भनेजस्तै हो । त्यसो त आयामेली प्रतिष्ठाताहरुले आख्यान र कवितामार्फत जीवनका आयामहरुलाई प्रयोग गरेर नै देखाए ‘मातेको मान्छेको भाषण ...’, आगोका फूलहरू हुन् .. र ‘आशामाया आफू मात्र लिखा पानी आइपुगी’ आदि सिर्जनाहरूमा । यी प्रयोगहरु जीवनका सम्पूर्णता खोजीका आन्दोलन थिए, न कि अक्षरका अभिव्यक्ति । यस आन्दोलनले समकालीन साहित्यलाई जीवनको सम्पूर्णता वोक्न, अनुभूतिको सम्पूर्णता ओकल्न घच्घच्याएको थियो । 

भाषिक आन्दोलनका ताना शर्मा र बालकृष्ण पोखरेलले झर्रोवादी प्रयोग गरे । यसले नेपाली भाषिक मौलिकता सम्वद्र्धनमा उथलपुथलनै ल्याएको थियो । सामाजिक विकृतिका विरुद्धमा जुत्ता पालिस अभियान पनि चालिएको थियो । उता मञ्जुल, रामेश, रायन, परिजातहरुको राल्फावादी आन्दोलनले एकातर्फ प्रायोगिक साहित्य संगीत र अर्कोतर्फ साहित्यमा प्रगतिवादको प्रयोग गरेका थिए । यस समूहले नेपाली समाजलाई व्यूझाउन निकै ठूलो योगदान गरेको थियो । रायन, रामेश, टुहुरे, जीवन शर्माहरु संगीतको धुनमार्फत धेरै नेपालीको हदय हुदै मस्तिष्कमा पुगेका थिए । 

२०३६ सालतिर सडक कविता क्रान्तिका नाममा कवि हरिभक्त कटुवाल, अशेष मल्ल लगायत युवा कविहरु आन्दोलित भए । जसरी रामेश, रायन, जीवन शर्माहरु सारंङ्गी र संगीतमार्फत जनतासम्म पुगेका थिए, त्यत्तिकै सशक्त रुपमा सडक कविता क्रान्तेलीहरु कविता मार्फत क्रान्तिको बिगुल फुक्न सफल भए । काठमाडौं र मोफसलका प्रमुख शहरहरुमा कविता क्रान्ति भयो । सडकले कविता सुन्यो, डवली र चोक अनि चौतरीले कविता सुन्यो,  सर्वसाधारणले जागरणका कविताहरु सुने । गोपाल रिमालको आमाको सपनाको त्यो दिन ल्याउनका लागि कविता सुनाइएको थियो । सर्जकहरुसंग विचार र अभिव्यक्तिबाहेक अरु हतियार हुदैन । कविहरु निशव्द रहदैनन्, निशव्द रहन परे पनि विद्रोहको भाव दिन्छन् । निर्देशित पञ्चायत व्यवस्थालाई निकै व्यंग्य गर्‍यो, सडक ततायो तर व्यवस्था भने परिवर्तन गर्न सकेन । 

पञ्चायती शासन समयमा अभिव्यक्तिका धेरै माध्यमहरु बन्द थिए । अहिलेको जस्तो सामाजिक सञ्जालको आविस्कार भैसकेको थिएन । मनोरञ्जनमार्फत व्यङ्ग्यवाण गर्ने अभिायानले भने निकै सफलता प्राप्त गर्नपुग्यो । सांस्कृतिक पर्वका रुपमा रहेको गाइजात्रा महोत्सवले केही दिन विम्वमात्र होइन, व्यङ्ग्य र प्रहसन पनि  गरिन्थ्यो । कार्यक्रमहरु मूलतः सामाजिक विकृतिका विरुद्धमा लक्ष्यित हुन्थे । राज परिवार बाहेक अन्यका क्रियाकलापमा व्यङ्ग्यात्मक आलोचना गर्न पाइन्थ्यो, तर अभिव्यक्तिलाई शिल्पले छोप्नु कलाको धर्म थियो । कलाकारहरु सन्तेष पन्त, गोपालराज मैनाली, हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, शैलेन्द्र सिंखडा व्यंग्य प्रहशनले सामाजिक आन्दोलनको रुप नै धारण गरेको थियो । 

त्यस्तै निश्चित अवधिको अन्तरालमा रेडियो नेपालले शुक्रवार आयोजना गर्ने गरेको रसरङ्ग प्रहसनमा पनि गोपालराज मैनाली, बसुन्धारा भुषाल, हरिवंश मदनकृष्ण लगायतका कलाकारले समाज आन्दोलित बनाएका थिए । खुला समाजमा अवतरणपछि त्यही रुपमा यो आन्दोलन रहेको छैन, तर समाज व्यवस्थाका अन्य पक्षमा नागरिक शिक्षा र सन्देश प्रवाहको आन्दोलन अझ बढी अपेक्षित नभएको भने होइन । 

समकालीन समाज पनि साहित्यिक आन्दोलनबाट पृथक छैन । यसको स्वरुप र सरोकार क्षेत्र भने वदलिदै गएको छ । २०५५ सालतिर सरुभक्तको अगुवाइमा संरक्षण कविता आन्दोलन शुरू भयो । १९६२ सालमा पोखराकै लेखनाथबाट जीवन र जगतको यथार्थ बोधकालागि अक्षर यात्रा शुरू भएको छ । अक्षर यात्राले पोखराको पर्यटन, पर्यावरण, पहिचान र संरक्षणका लागि अभियान चलाइ रहेको छ । बर्दियामा खगेन्द्र नेपालले मञ्चन विधाकामार्फत सामाजिक जागरणको अकण्टक यात्रा गरिरहेका छन् । मैथिली साहित्य कला र व्यंग्यमार्फत जागरुण दिन माहिर छ । काठमाडौंको किताब जात्रा र अक्षर यात्रा अनि पोखरामा आयोजन गर्न थालिएकोे लिटरेचर फेस्टिभलले समाजमा सिर्जना र सकारात्मकताको बहस भइरहेको छ । मोफलसलमा अरु थुप्रै साना–ठूला आयतनका अभियान क्रियाशील छन् । यस्ता आन्दोलनले एकातर्फ आफ्नो उद्देश्यमा सामाजिक जागरण दिइरहेका छन् भने अर्कोतर्फ नवप्रतिभाको पनि जन्म गराउदै गएको छ । यसले समाजको सिर्जनशील पुनर्निर्माणमा सघाउने छ । 

साहित्यको अबको आन्दोलन विगतका समयमा जस्तो सडक, पत्रिका, छापाखाना र प्रकाशन गृह, प्रशोधनशाला, मञ्चनस्थल र यस्तै औपचारिक मञ्च चाहिने अवस्थामा छैन । अहिलेको डिजिटल युगमा साहित्य व्यक्ति हुँदै साथी, संस्था, नेटवर्क, इकोसिस्टम हुँदै सामाजिक आर्थिक–प्रणालीमा जग बसाउन सफल हुने सामथ्र्यमा छ, जसलाई उपयोग गरेर सामाजिक रुपान्तरण सम्भव हुन्छ । डिजिटल माध्यम, डिजिटल अन्तर्क्रिया र डिजिटल अर्काइभका माध्यमबाट साहित्य आन्दोलन गर्न सकिने अवसर छ । समाजका अनुभूति पस्किन र सामाजिक संकेत तत्काल टिप्न धेरै माध्यमहरू साहित्यलाई बोक्न सक्छन् । नजाने महाकवि देवकोटा, भूपि, रिमाल, विश्वेवर र पारिजातहरुले यो अवसर पाएका हुन् त साहित्य आन्दोलन कति सक्रिय हुने थियो । सडक कविता क्रान्ति अब आवश्यक नहुन सक्छ, सामाजिक सञ्जालका भित्ताहरू नै अब कविता क्रान्तिका सडक बन्न सक्छन् । शासक र प्रणाली परिवर्तनका लागि धेरै ठूलो आन्दोलन पनि चाहिने अवस्था छैन तर जीवनलाई स्वाभाविक बनाउन सकारात्मकता, आशा र मानवीकरणका लागि आन्दोलनका ढोकाहरू उघ्रिरहेका छन् ।

(mainaligopi@gmail.com)

गोपीनाथ मैनाली
गोपीनाथ मैनाली

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्