खास के कारण रिहा भए महरा ? अदालतले खुलायो कारण

पूर्व सभामुख कृष्णबहादुर महरा निर्दोष ठहर भएका छन् ।

अभियोग दाबीबमोजिम कसूर गरेको स्थापित हुन नसकेकाले महरालाई सफाइ दिइएको काठमाडौं जिल्ला अदालतका श्रेष्तेदार आनन्दप्रसाद श्रेष्ठले जानकारी दिए ।


Advertisement

अनुसन्धानका क्रममा लिइएका वादी/प्रतिवादी दुवैको बयानसँग अदालतमा लिइएको बयान मिलेको र परीक्षणका लागि पठाइएका गिलास, चश्मा लगायतमा औंठाको छाप प्रतिवादीको औंठाको छापसँग तुलनात्मकरूपमा विश्लेषण गर्न नपाइएको पनि उनले बताए ।

जबरजस्तीकरणी उद्योगको मुद्दामा काठमाडौं जिल्ला अदालतका न्यायाधीश अम्बरराज पौडेलको इजलासले महरालाई सोमवार सफाइ दिएको हो ।


Advertisement

महरालाई अदालतले सफाइ दिएपछि सञ्चारकर्मीसँग छोटो कुरा गर्दै श्रेष्ठले भने, 'प्रतिवादी आफ्नो डेरामा आउँदै नआएको र कुटपिट नगरेको भन्दै स्पष्ट शब्दमा जाहेरीवालाले खुलाएको, परीक्षणका लागि पठाइएको गिलास, चश्मा लगायतमा औंठाको छापप्रतिवादीको औंठाको छापसँग तुलनात्मकरूपमा विश्लेषण गर्न नपाइएको भन्ने आधारमा अभियोग दाबीबमोजिम कसूर गरेको स्थापित हुन नआएकोबाट प्रतिवादीले सफाई पाउने फैसला भएको हो ।'

श्रेष्ठले यो पूर्ण सफाइ भएको बताए । 'अभियोग दाबी पुग्न सक्दैन त्यसैले प्रतिवादीले पूर्णरूपमा सफाइ पाएको अवस्था हो,' उनले भने ।

अदालतबाट सफाइ पाएलगत्तै महरा जेलमुक्त भएका छन् ।

संघीय संसद् सचिवालयमा कार्यरत महिला कर्मचारीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा उनी गत असोज १९ गते बालुवाटारस्थित सभामुखको सरकारी निवासबाट पक्राउ परेका थिए ।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्