नेपालका ज्यानमारा सडक : कसरी घटाउने दुर्घटना ?

कमल बहादुर महत
कमल बहादुर महत

महत समसामयिक विषयमा कलम चलाउँछन्।

गत मंसिर २२ गते बाँके जिल्लाको कोहलपुरमा १ जना स्कूले बालिकालाई विद्यालय गइरहेको बेलामा ट्रकले ठक्कर दिएपछि कोहलपुर तनावग्रस्त भयो ।

त्यसको ४ दिनअघि मात्र ट्रकले नै  ठक्कर दिएर बाँके जिल्लाकै नेपालगञ्ज पुष्पलाल चोक नजिक २ जना साइकलमा सवार व्यक्तिलाई ट्रकले ठक्कर दिएर मृत्युवरण गर्न बाध्य पारियो ।


Advertisement

मोफसलको के कुरा भयो र ! मानिसहरू संघीय राजधानी काठमाडौंमा जेब्राक्रसमा मृत्यु व्यहोर्न बाध्य भइरहेका छन् ।

आखिर किन नेपालमा सडक सुरक्षामा अनियन्त्रित लापरबाही भइरहेको छ ? सडक दुर्घटनाले संघीय राजधानी लगायत देशका विभिन्न ठाउँमा दिनदिनै किन ज्यान लिइरहेको छ भन्ने यक्ष प्रश्न खडा भएको छ । 


Advertisement

यस्ता दुर्घटनाहरू दोहोरिरहनुमा नेपालका यातायात व्यवसायीबाट ‘दबाब’ र ‘प्रभाव’मा बनाइएको कानूनले घाइते अवस्थामा घाइतेको सम्पूर्ण उपचार खर्च सम्बन्धित चालक, यातायात व्यवसायीले व्यहोर्नुपर्ने र मृत्यु भएको हकमा यातायात व्यवसायीको सम्बन्धित संघले सानो रकम दिएमा उन्मुक्ति पाइने प्रावधान धेरै हदसम्म जिम्मेवार छ । यस्तो चलनले लापरवाह चालकको मनोबल बढाएको पाइन्छ । त्यसैले त चालकले जथाभावी सवारीसाधन चलाउने अनि घिसारेर, ब्याक गरेर वा अन्य निर्दयी तवरले पीडितको ज्यान लिएको पाइन्छ । 

नेपाली सडकहरू विश्वमै सबैभन्दा खतरनाक सडकका रुपमा चित्रित गरिएको पाइन्छ । गुरुप्रसाद अधिकारी (२०१६) का अनुसार जापानभन्दा १०० गुना र भारतभन्दा १० गुना ज्यादा सवारी ठोक्किने सम्भावना नेपाली सडकमा रहेको छ । उनको अध्ययनले पर्याप्त सुरक्षा व्यवस्थाको अभावमा काठमाडौं–भक्तपुर सडकमा जुन २००९ देखि जुन २०१२ को अवधिमा सडक दुर्घटना बढेको देखिन्छ । तसर्थ सडकको परिमाण बढाउनुका साथै गुणस्तरमा पनि पर्याप्त ध्यान दिएमा सडक दुर्घटना न्यूनीकरण हुने देखिन्छ ।

सडकमा पर्याप्त सुरक्षा प्रबन्धहरू खासगरी सडक पेटी, सडकबत्ती, मेडियन नहुनुले पनि सडकयात्रा असुरक्षित बनाएको देखिन्छ ।

सुरक्षित गति सीमा नाघी अत्याधिक गतिमा सवारीसाधन हाँक्नुले पनि  सडक दुर्घटना बढाएको देखिन्छ । खासगरी मोटरसाइकल चालकले तीव्रगतिमा मोटरसाइकल हुइँक्याउने गरेको, माइक्रो बस, हायसहरू तीव्र गतिमा हाँक्नाले दुर्घटना हुने सम्भावना बढाएको पाइन्छ । 

विश्वमा आधाभन्दा ज्यादा सडक दुर्घटनाबाट मृत्यु हुनेहरूमा पैदलयात्री, साइकलयात्री, मोटरसाइकल यात्रीहरू रहेका छन्, जसलाई धेरै देशमा सडक ट्राफिक प्रणालीभित्र समेट्न हेलचक्र्याइँ गरिएको पाइएको छ । 

पर्याप्त मात्रामा सडक पेटी नै नहुनु, सडक पेटी, सडक व्यापारी, निर्माण सामग्री, विभिन्न आन्दोलनकारी लगायतले सडक कब्जा लिनुले पनि सडक दुर्घटना बढाउन सघाएको पाइन्छ ।

नेपाल जहाँ यातायात व्यवसायीसँग सरकार घुँडा टेक्छ, नेता, प्रशासक आफ्नै कुर्सी, स्वार्थको लागि हरेक पल दत्तचित्त रहन्छन्, लाइसेन्स वितरण, सडक सुरक्षामा व्यापक लापरवाही छ, त्यहाँ सडक दुर्घटना नियमित जस्तो भइरहनु के अनौठो भयो र ?

मादकपदार्थ सेवन गरी सवारी चलाउनु, लामो दूरीको सवारी साधनमा एउटै चालकले विना आराम लामो समयसम्म सवारी चलाउनु पनि सडक दुर्घटनाको कारक तत्व देखिन्छ ।

नेपालमा माओवादी सशस्त्र संघर्षभन्दा बढी मानिसहरू सडक दुर्घटनाबाट मृत्यु भएको अत्यासलाग्दो तथ्याकं छ तर सडक दुर्घटना पूर्ण रुपमा निरोध गर्न सकिने विश्व स्वास्थ्य संगठनद्वारा प्रकाशित ग्लोबल स्टाटस रिपोर्ट अन रोड सेफ्टी २०१८ मा उल्लेख गरिएको छ । प्रतिवेदनले विश्वमा प्र्रतिदिन ३ हजार ७०० र वार्षिक १३ लाख ५० हजार व्यक्तिहरू सडक दुर्घटनाका कारण मृत्युको मुखमा पुग्न बाध्य भएको औंल्याएको छ ।

प्रतिवेदनले नै २०१८ मा सडक दुर्घटनाबाट खासगरी ५–२९ वर्ष उमेर समूहका बालक र युवाहरू मृत्युवरण गर्न बाध्य भइरहेको देखिन्छ । सडक दुर्घटनाका कारण हुने मृत्यु एचआईभी/एड्स, क्षयरोग र झाडापखाला सम्बन्धी रोगभन्दा बढी भएतापनि सुरक्षित सडकको लागि राज्यहरू गम्भीर भएको पाइँदैन ।

विश्व स्वास्थ्य संगठनको पछिल्लो २०१७ को तथ्यांक अनुसार सो वर्ष नेपालमा ४ हजार ९२१ जना व्यक्तिहरू सडक दुर्घटनाका कारण मृत्युको मुखमा पुग्न बाध्य भए ।

नेपाल प्रहरीको तथ्यांक अनुसार सडक दुर्घटनाका कारण गत ५ वर्षमा नेपालमा ११ हजार ५ व्यक्तिहरू मृत्युको मुखमा पुग्न बाध्य भए भने १९ हजार ८७७ व्यक्तिहरू गम्भीर रुपमा घाइते भएका छन् । ४८ हजार ९८१ दुर्घटनाहरू नेपालभर भएको अभिलेख छ, जुन प्रत्येक वर्ष बढिरहेको पाइन्छ ।

सडक डिजाइनमा भएको कमजोरी र नियमित मर्मत नभएका कारण सडक दुर्घटना बढिरहेको प्रहरी अधिकारीको भनाइ छ । आधुनिक प्रविधिको अभावमा पनि सडक दुर्घटना बढिरहेको अधिकारीको भनाइ रहेको छ । 

प्रहरी तथ्यांकका अनुसार ९५ प्रतिशत सडक दुर्घटना चालकको लापरवाहीका कारण भएको पाइन्छ । छिमेकी भारतमा पनि २०१३ को तथ्यांक अनुसार चालकको लापरवाहीले नै ७८ प्रतिशत सडक दुर्घटना निम्तिएको पाइन्छ ।

ओभरलोड, तीव्रगति, सडकमा छाडा पशु छाड्ने चलन, लापरवाह पैदलयात्री, यान्त्रिक गडबडीले सडक दुर्घटना गराउन सहायता गरेको पाइन्छ ।

असुरक्षित सडक भएमा मानिसहरूको सक्रियता पर्याप्त नहुँदा मुटुरोग, मधुमेह जस्ता रोगहरूले मानिसलाई सताउने अनुसन्धानले देखाएका छन्, किनकि मानिसहरू असुरक्षित सडक भएमा सार्वजनिक यातायातका साधनमा यात्रा नगर्ने, नहिँड्ने, साइकल नचलाउने गर्नाले हामीले धेरै रोगहरूलाई व्यहोर्नुपर्ने अवस्था आउँछ । मानिस मर्निङ वाक गएको अवस्थामा सवारी साधनको मुनि आउने अवस्थाले त्रास त सिर्जना गर्छ नै ।

कर्णाली राजमार्ग जस्ता क्षेत्रमा नजिकै ट्रमा सेन्टर नहुनु साथै एम्बुलेन्सको सहज उपलब्धता नहुनु, गतिलो स्वास्थ्य सुविधा नहुनु अनि गुणस्तरहीन सडकका कारणले सडक दुर्घटना पश्चात्को जटिलता बढाउनुको साथै मृत्युको संख्या बढेको पाइन्छ । शहरमा ट्राफिक जामले घाइते व्यक्तिलाई स्वास्थ्य संस्था नपुर्‍याउँदै मृत्यु हुने गरेको पाइन्छ ।

अन्य लाखौं मानिस सडक दुर्घटनाका कारण अपाङ्ग हुने गरेका छन्, जसको कारण परिवार, समुदाय, स्वास्थ्य सेवामा अत्यधिक पीडा र क्षति व्यहोर्नु परिरहेको छ । 

सडक सुरक्षाको पक्ष प्रत्यक्ष/अप्रत्यक्ष भ्रष्टाचारसँग पनि जोडिएको पाइन्छ । केही समयअघि जारी भ्रष्टाचार अनुभूति सूचकांक २०१९ मा नेपाल विश्वका १८० देशमा ३४ अंकका साथ ११३ औं स्थानमा सूचीकृत हुन पुगेको छ । नेपाल भ्रष्टाचारमा धेरै अगाडि छ, जसले सडक दुर्घटनालाई प्रत्यक्षपरोक्ष रुपमा बढाउन सघाउ पुर्‍याएको पाइन्छ ।

छिमेकी भारतमै चर्चित टेलिभिजन कार्यक्रम ‘सत्यमेव जयते’मा सडक दुर्घटना कि हत्या भन्ने कार्यक्रमबाट अभिनेता आमिर खानले सडक दुर्घटनाका विभिन्न पाटालाई उजागर गर्न कोसिस गरेका थिए, जुन नेपालमा पनि सान्दर्भिक हुन सक्ने देखिन्छ । 

दीगो विकास लक्ष्यको उद्देश्य ३.६ मा उल्लिखित सन् २०२० सम्म विश्वमा हुने सडक दुर्घटनालाई आधा संख्यामा झार्ने उद्देश्य प्राप्त भएको देखिँदैन ।  विश्वका नेताले प्रतिबद्धता जाहेर गरेका भएतापनि । 

न्यून आय भएको नेपाल जस्तो मुलुकमा सन् २०१३ देखि नै सडक दुर्घटनामा कमी भएको देखिँदैन । जबकि मध्यम र उच्च आय भएको मुलुकमा यो संख्या उल्लेख्य रुपमा घटेको देखिन्छ । 

सुरक्षित सडक, बलियो नीति तथा त्यसको अक्षरशः कार्यान्वयन, व्यापक जनचेतना अभियानले सडक दुर्घटना रोक्न सकिने अनुसन्धान र अन्य बलिया राज्यको उदाहरणले देखाएको छ । सडक सुरक्षाबारे विद्यालय तहको पाठ्यक्रमदेखि समुदाय, सञ्चारमाध्यमले पनि सन्देश प्रवाह गर्ने गरेमा सडक दुर्घटना न्यूनीकरण गर्न सघाउ पुग्ने देखिन्छ ।

हाल हुम्ला जिल्ला बाहेक सबै जिल्ला सदरमुकाममा सडक सञ्जालसँग जोडिएको अवस्था छ । तथापि गुणस्तरीय सडक सबैको पहुँचमा पुर्‍याउनु नितान्त जरुरी देखिन्छ ।

सडक दुर्घटना न्यून गराउन थुप्रै सिक्न सकिने कदम विश्वभर भएका छन् । ती कदमबाट प्रेरणा लिई स्पष्ट र कार्यान्वयन योग्य रणनीति, एकीकृत प्रक्रिया र सरोकारवालामा दृढ इच्छाशक्ति भएमा नेपालमा पनि सडक दुर्घटनामा ठूलो मात्रामा कमी ल्याउन सकिन्छ । त्यसको लागि पर्याप्त सडकपेटी, साइकल लेन, जिम्मेवार सडक प्रयोगकर्ताको जरुरी देखिन्छ ।

हवाइजहाज अझ जेट विमान दुर्घटना हुँदा ठूलै प्रतिक्रिया जनाउने सरकार, सञ्चारमाध्यम, नागरिक समाज, नागरिक लगायत सरोकारवालाले सडक दुर्घटनाको क्षति पनि क्षति हो भन्ने सोची पर्याप्त सडक सुरक्षाका कदमहरु चाल्न जरुरी देखिन्छ ।

वास्तविक अर्थमा संघीयता कार्यान्वयन गरी काठमाडौं लगायत शहरको थेग्ने क्षमताभन्दा ज्यादा पूर्वाधार, सुविधा केन्द्रित नगरी गाउँगाउँसम्म आधारभूत सुविधा पुर्‍याएमा पनि सडक दुर्घटना न्यूनीकरणमा ठूलो योगदान पुग्ने देखिन्छ ।

कमल बहादुर महत
कमल बहादुर महत

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्