मानवअधिकार उल्लङ्घनमा वृद्धि, बागमतीमा एक वर्षमा ४ सय बलात्कारका घटना

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको शान्ति सुरक्षामा उल्लेख्य सुधार आएको बताएपनि बागमती प्रदेशमा विगतको तुलनामा मानवअधिकार उल्लङ्घनको घटनामा वृद्धि भएको छ ।

अनौपचारीक सेवा केन्द्र वाग्मती प्रदेशद्वारा (इन्सेक) जारी विवरण अनुसार सन् २०१९ मा वाग्मती प्रदेशमा एक हजार ४९४ मानवअधिकार उल्लङ्घनको घटना भएको छ ।


Advertisement

सन् २०१८ मा सो प्रदेशमा ८१९ मानवअधिकारको उल्लङ्घनको घटना भएको थियो । तुलनात्मक रुपमा २०१९ मा मानवअधिकार उल्लङ्घनका घटना अत्यधिक भएको देखिन्छ ।

सो अवधिमा राज्यपक्षबाट २१७ जना पीडित भए भने अन्य पक्षबाट एक हजार २७७ जना पीडित भए । त्यस्तै २५३ बलात्कारका घटना भएको छ ।


Advertisement

प्रदेशमा महिला तथा बालबालिकामा बलात्कारका घटना ३८६ वटा भएकामध्ये बालबालिकाको सङ्ख्या ६५ प्रतिशत छ । इन्सेकको जारी तथ्याङ्कमा प्रदेशका १३ मध्ये काठमाडौँ र चितवनमा सबैभन्दा बढी बलात्कारको घटना भएका छन् ।

काठमाडौँमा गत आर्थिक वर्षमा ९७ जना बालिका र ६४ जना महिला बलात्कार भएको जनाइएको छ ।

चितवनमा २९ बालिका र १६ महिला, ललितपुरमा ३१ बालिका र १४ महिला, भक्तपुरमा २१ बालिका र ११ महिला बलात्कार भएको उल्लेख छ ।

मकवानपुरमा एक वर्षमा १८ बालिका र नौ महिला, सिन्धुपाल्चोकमा १७ बालिका र ६ महिला बलात्कार भएको वाग्मती प्रदेश इन्सेक संयोजक कृष्ण गौतमले भने ।

त्यस्तै दोलखामा नौ बालिका र तीन महिला, काभ्रेमा नौ बालिका र तीन महिला, नुवाकोटमा १० बालिका र पाँच महिला, सिन्धुलीमा नौ बालिका र पाँच महिला, धादिङमा आठ बालिका र एकजना महिला बलात्कारको शिकार भएको इन्सेकले जनाएको छ ।

रामेछापमा दुई बालिका र एक महिला, रसुवामा दुई बालिका एक वर्षको अवधिमा बलात्कार भएको हो । संयोजक गौतमका अनुसार चेतना जागृत भएका कारण घटना सार्वजनिक हुँंदै आएको हो ।

 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्