निकुञ्जमा चैत १ देखि गैँडा गणना, एक करोड बजेट

File Photo

दुर्लभ एक सिङ्गे गैँडाको गणना यही चैत १ गतेदेखि शुरु गरिने भएको छ। चितवन राष्ट्रिय निकुञ्जबाट गणना शुरु गरिने भएको हो। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका सूचना अधिकारी विष्णुप्रसाद श्रेष्ठका अनुसार गणनाको सम्पूर्ण तयारी अघि बढाइएको छ। 

फागुनको अन्तिम साता प्राविधिक कर्मचारीलाई तालीम दिएर गणना गर्न लागिएको हो। चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा पहिलो चरणमा गैँडा गणना गरिने छ भने दोस्रो चरणमा बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा गणना गरिने श्रेष्ठले जानकारी दिए। नेपालका चारवटा निकुञ्जमा गैँडा रहेका छन्। 


Advertisement

चितवन राष्ट्रिय निकुञ्जमा गैँडा गणनाका लागि ३५ वटा हात्ती र ६० प्राविधिक जनशक्ति परिचालन गरिँदै छ। प्रत्यक्ष रुपमा गणना गरिँदै छ। बीस दिनमा गणना गरिसक्ने योजना छ। गणनाको शुभारम्भ चितवनबाट गर्न लागिएको हो। श्रेष्ठका अनुसार निकुञ्जलाई विभिन्न भागमा छुट्याएर गणना गरिँदै छ। शुभारम्भ कहाँबाट गर्ने भन्ने टुङ्गो लाग्न बाँकी छ। वनमन्त्री, सचिवलगायतका उच्च अधिकारीको उपस्थितिमा गणना शुभारम्भ गर्ने विभागको तयारी रहेको छ। 

विगतका वर्षमा दाताको भरमा गणना गरिने गरेको भए पनि यसपटक सरकारको आफ्नै खर्चमा गणना गर्दैछ। उनका अनुसार गैँडा गणनाका लागि विभागले  एक करोड १० लाख ३५ हजार रकम बिनियोजन गरेको छ। बाढीले गैँडा बगाएपछि गत वर्षनै गैँडाको सङ्ख्या पत्ता लगाउन गणना गर्ने तयारी गरिएको भए पनि बजेट अभावमा गणना हुन सकेको थिएन। दाताको भर पर्दा समस्या हुनसक्ने भन्दै यस वर्ष सरकारलेनै बजेट विनियोजन गरेको थियो। 


Advertisement

हरेक पाँच÷पाँच वर्षमा गैँडा गणना गरिँदै आएको छ। यस अघि सन् २०१५ मा गैंडा गणना गरिएको थियो। त्यतिबेला ६४५ गैँडा रहेको तथ्याङ्क सार्वजनिक भएको थियो। जसमध्ये ६०५ चितवन राष्ट्रिय निकुञ्जमा रहेका थिए। 

कमेन्ट गर्नुहोस्