बिदेसिएको पतिको कमाइ कुम्ल्याउँदै अर्कैसँग रासलीला, कर्तुत खुलेपछि धुरुधुरु रोए दोस्रा पति

गगन अर्याल
गगन अर्याल

लोकान्तर संवाददाता अर्याल सुरक्षा/अपराध तथा समसामयिक विषयमा समेत कलम चलाउँछन् ।

धनकुटाको महालक्ष्मी नगरपालिकाका रोजिन (नाम परिर्वतन) र शहीदभूमि गाउँपालिकाकी सुजाता (नाम परिवर्तन) बीच ४ वर्षअघि घरपरिवारकै सल्लाहमा मागी विवाह भयो ।

दुवैले १२ कक्षासम्मको अध्ययन गरेका थिए । गाउँमै बसेर खेतीकिसानी गर्नुभन्दा शहर पसेर पैसा कमाउने सल्लाह भयो । निष्कर्ष निस्कियो– सुजाताका लागि काठमाडौंमा केही काम खोज्ने अनि रोजिन विदेश जाने ।


Advertisement

यही योजनासहित दुवै जना काठमाडौं हानिए । 

पैसा कमाउने र सपनाको सानो घर बनाउने वाचा गरेका थिए, उनीहरूले ।


Advertisement

काठमाडौं आएको ६ महिनापछि दुबईका लागि रोजिनको भिसा लाग्यो, तर सुजाताका लागि जागिर मिलेको थिएन । 

तैपनि श्रीमतीलाई काठमाडौंमा एक्लै छाडेर रोजिन वैदेशिक रोजगारीमा गए ।

दुबईमा दुःख गरेर कमाएको पैसा रोजिनले श्रीमतीका नाममा महिनैपिच्छे पठाउन थाले । 

काठमाडौंमा एक्लै भएकी सुजाता के गरौं, कसो गरौं भएकी थिइन् । श्रीमान विदेश गएको ७/८ महिना बित्यो, बल्ल उनले न्यूरोडको एक कपडा पसलमा जागिर पाइन् । 

सामाखुसीबाट न्यूरोड दैनिक आउजाउ गर्ने क्रममा सुजाताको चिनजान सोही रूट (सामाखुसी–रत्नपार्क)मा माइक्रोबस चलाउने संयोग (नाम परिवर्तन)सँग भयो । 

सुजाता अफिस आउनका लागि संयोगकै माइक्रो कुर्न थालिन् । सामान्य चिनजान प्रेम सम्बन्धमा बदलिन १०/१५ दिन पनि लागेन ।

सुजाता–संयोग प्रेम सम्बन्ध झाँगिदै थियो, उता रोजिनले पैसा पठाइरहेकै थिए ।

केही समयको अफेयरपछि संयोगले प्रस्ताव राख्छन्, ‘अब हामी बिहे गरौं ।’ सहमतिमै उनीहरूबीच विवाह हुन्छ । सामाखुसीको डेरा छाडेर सुजाता संयोगको डेरामा भित्रिन्छिन् ।

रोजिनलाई यसबारे केही पनि बताएकी थिइनन् उनले न त संयोगलाई नै । दुवैलाई गुमराहमा राखेकी थिइन् ।

सुजाता र रोजिनबीच नियमित कुराकानी हुन्थ्यो, न संयोगबारे रोजिनलाई थाहा थियो, न त रोजिनबारे संयोगलाई नै ।

दुवैसँगको सम्बन्धलाई सुजाताले चलाखीपूर्ण ढंगले व्यवस्थापन गरिरहेकी थिइन् ।

एकदिन रोजिनले सुजाता आफूले राखेर छाडेको सामाखुसीको डेरामा नभएको कुरा आफन्तमार्फत थाहा पाउँछन् । त्यतिबेला संयोग र सुजाताको बिहे भएको झण्डै ९/१० महिना बितिसकेको हुन्छ ।

रोजिनले जे सुने त्यो उनले सुन्नै नसक्ने विषय थियो । छटपटी भयो । के गर्ने, कसो गर्ने सोच्न पनि सकेनन् ।

आफैंले काठमाडौं ल्याएर राखेकी श्रीमतीले धोका दिई भनेर परिवार र आफन्तलाई भन्ने हिम्मत आएन ।

उनले दुबईमा सँगै बस्दै आएका साथीलाई सबै कुरा सुनाए ।

ती साथीले सल्लाह दिए– ‘अहिले थाहा नपाएजस्तो गर्ने, गाली पनि नगर्ने सम्झाउने मात्र ।’

नेपाल गएर पैसा लिइसकेपछि मात्र थप कमद चाल्दा वर्षौंसम्म विदेशमा बगाएको पसिनाको कमाइ बच्न सक्ने उनको सुझाव थियो ।

रोजिनलाई पनि यो कुरा ठीक लाग्यो, संयमित भएर त्यसैअनुसार अघि बढे । 

सुजातासँग अझै नजिक भएर कुरा गर्न थाले ।

फकाउने, अझै धेरै माया देखाउने गर्दै उनले एकदिन सुजाताको मुखबाटै बिहे भएको कुरा फुत्काउन सफल भए ।

त्यसपछि पनि उनले केही नराम्रो भनेनन् । बरू उल्टै सुजाता बच्ने उपाय सिकाउँदै भने– ‘ल ठीकै छ, तिम्रो खुशीमा मेरो पनि खुशी छ । हामी दाजुबहिनीको सम्बन्धमा बस्न सक्छौं । अरू कसैलाई नभन्नू । तिम्रो दोस्रो श्रीमानलाई पनि दाजु भनेर चिनाउनू ।’ 

सुजाताले त्यसै गरिन् । रोजिन आफ्नो दाजु भएको भन्दै संयोगसँग चिनजान पनि गराइन् ।

आफूले धोका पाएको थाहा पाउनुअघि रोजिनले सुजातालाई ९ लाख रूपैयाँ पठाइसकेका थिए । रोजिनले पैसा पठाउने गरेको कुरा संयोगलाई थाहा थिएन, विदेशबाट आएको पैसा देखेका पनि थिएनन् ।

रोजिनको ध्यान भने एउटै कुरामा थियो– ‘फसेको पैसा कसरी उठाउने ?’

करीब २० महिना विदेश बसेर फर्किए, रोजिन । रोजिनलाई लिन सुजाता संयोगलाई समेत लिएर विमानस्थल पुगिन् ।

संयोगले पनि दाजु भनेर सम्बोधन गर्छन् । त्यतिबेला संयोग र सुजाताको ४ महिनाको बच्चा समेत थियो ।

त्यसपछि रोजिन सुजातासँगै संयोगकै डेरामा पुग्छन् । 

तीनैजना संगै खाना खान्छन्, अनि संयोग र सुजाता एकातिर, रोजिन अर्कातिर सुत्छन् ।

भोलिपल्ट बिहान हुन्छ । संयोग गाडी चलाउने आफ्नो नियमित कामका लागि डेराबाट निस्किन्छन् ।

दाजुबहिनी सोचेर संयोग रोजिनलाई डेरामै छाडेर निस्किन अलिकति पनि हिच्किचाएका हुँदैनन् ।

संयोग निस्किएपछि रोजिनले बल्ल आफ्नो मनसाय प्रकट गर्छन्– ‘अरू जे भयो–भयो, मेरो पैसाचाहिँ फिर्ता देऊ ।’

सुजाताले सबै पैसा खर्च भइसकेको बताउँछिन् ।

त्यसपछि रोजिनले धम्की दिन्छन्, ‘मेरो पैसा फिर्ता पाइनँ भने संयोगलाई हाम्रोबारे सबै कुरा भनिदिन्छु ।’

सोच्दै नसोचेको अप्ठ्यारो आइलागेपछि सुजाताले पैसा माइती गाउँमा ब्याजमा लगाएको कुरा बताउँछिन् ।

त्यसपछि इटहरी पुगेर उनले आफ्नो पैसा फिर्ता ल्याउँछन् ।

पैसा फिर्ता पाइसकेपछि मात्र रोजिन कानूनी उपचारको खोजीमा लाग्छन् ।

काठमाडौं फर्किएर रोजिनले महिला तथा बालबालिका सेल टेकुमा उजुरी दिए ।

रोजिनको उजुरीपछि प्रहरीले सुजाता र संयोगलाई पक्राउ गर्‍यो ।

पक्राउ परिसकेपछि प्रहरीबाट यी सारा कहानी थाहा पाउँदा संयोगको होशहवास उड्छ । 

संयोगले सुजातालाई रितिरिवाज अनुसार नै विवाह गरेर घरमा भित्र्याएका थिए । आफन्तहरूसँग चिनजान गराएका थिए । सन्तान समेत जन्मिसकेको थियो ।

यो सारा कहानी सुनेपछि संयोग प्रहरी हिरासतमै थचक्क बसे, अनि टाउको समातेर रुन थाले ।

‘सबै कुरा सुनेपछि उनी टाउको समातेर रोए,’ महिला सेलकी प्रहरी नायब निरीक्षक (सई) गीता थापाले लोकान्तरसँग भनिन् ।

त्यसपछि प्रहरीले रोजिन र सुजाताबीच सम्बन्धविच्छेद गराइदियो । संयोग र सुजाता मिलापत्र गरेर हिरासतमुक्त भए ।

‘त्यस्तो अवस्थामा हामीले पहिलो श्रीमानसँग सम्बन्धविच्छेद बनाइदियौं, र कान्छो श्रीमानसँग मिलापत्र गरेर पठाएका हौं,’ थापाले थपिन् ।

आफूहरूकोमा दैनिक २० वटासम्म यस किसिमका उजुरी आउने गरेको महिला सेलकी प्रमुख प्रहरी निरीक्षक (इन्स्पेक्टर) ज्ञानमञ्जरी शर्माले बताइन् ।

‘काठमाडौंमा मात्र अहिले लगभग दैनिक २० वटासम्म यस किसिमका उजुरी आउने गरेका छन्, कतिपय मिलापत्र गरेर पठाउँछौं भने कतिपय अदालतमा मुद्दा चलाउनेसम्मका केसहरू आउँछन्,’ इन्स्पेक्टर शर्माले लोकान्तरसँग भनिन् ।

महिलाले पुरुषलाई पीडित बनाएका घटनाहरू पनि निकै कारुणिक हुने गरेको सई गीता थापाको अनुभव छ ।

उनका अनुसार धेरैजसो केश पहिला लिभिङ टुगेदरमा बस्ने र पछि बलात्कारको उजुरी लिएर आउनेहरूको छ ।

विदेशमा गएका श्रीमानको पैसा खाएर श्रीमती अर्कैसँग भागेको भन्दै आउने उजुरीको संख्या पनि उत्तिकै रहेको उनको भनाइ छ ।

गगन अर्याल
गगन अर्याल

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्