द टेस्टामेन्ट्स : पितृसत्तात्मक अधिनायकवादविरुद्ध सशक्त महिला आवाज

- क्षितिज चौरेल

ईस्वीको साठीको दशकमा पश्चिमा देशहरूमा नारीवादी आन्दोलनको आगो बलिरहेको थियो । विभिन्न सामाजिक आन्दोलनहरूको भीडमा महिलाहरू आफ्नो हक, अधिकारको लागि आवाज बुलन्द बनाइरहेका थिए । उदार भनिएका देशहरूमा पनि महिलाहरूको अवस्था निकै नै नाजुक थियो । विभिन्न महिला लेखकहरूले आफ्नो लेखनद्वारा पुरुषवादी समाजमा आफ्नो हस्तक्षेप जनाइरहेका थिए । 


Advertisement

त्यहीबेला सन् १९८५ मा एउटा उपन्यास प्रकाशित भयो जसले नारीवादी आन्दोलनमा नया ऊर्जा थप्यो भने पुरुषवादी चिन्तन प्रणालीमा हलचल मच्चायो । अर्को अर्थमा भन्दा उक्त किताबले विभिन्न बहानामा नारीमाथि पुरुषद्वारा सदियौंदेखि भइरहेको अन्यायको विरुद्धमा पारम्परिक समाजमाथि धावा बोल्यो । त्यो उपन्यास थियो क्यानडेली लेखिका मार्गरेट एटवूडको द ह्याण्डमेड्स टेल । 

आजको मितिसम्म संसारभरि लाखौं प्रति बिक्री भएको उक्त किताबले हाम्रो समाजलाई उदाङ्गो पारिदिएको छ । उपन्यासमा एटवूडले भविष्यको एक काल्पनिक राज्यको कल्पना गरेकी छिन् जसमा केही मुट्ठीभर पुरुषहरूले अधिनायकवादी शैलीमा धार्मिक राज्य खडा गर्छन् । वर्तमान अमेरिकामा कूमार्फत उक्त राज्य स्थापना हुन्छ जसलाई गिलियड नामकरण गरिन्छ । त्यहाँ महिलाहरूलाई विभिन्न आधारमा वर्गीकरण गरिनुको साथसाथै उनीहरूलाई नारकीय जीवन जिउन बाध्य पारिन्छ । महिलाहरूलाई कुनै पनि अधिकार प्रदान गरिँदैन । उनीहरूलाई समाजमा कैदीसरह व्यवहार गरिन्छ जो पुरुष कमाण्डरहरूको अधीनमा रहन्छन् । 


Advertisement

उनीहरूको भूमिका केवल सन्तान उत्पादनमा, घरेलु कामदारको रूपमा र पुरुषहरूको सहयोगीको रूपमा सीमित गरिन्छ । मुख्य कुरा, महिलाहरूलाई लेखपढ गर्न वञ्चित गरिन्छ । यही सेरेफेरोमा उपन्यासको मुख्य पात्र ओफ्रेडको वरिपरि कथा घुम्दछ । उनको आँखाबाट गिलियडको वास्तविकता साथै महिलाहरूको स्थिति देखाइन्छ । 

एटवूडको हालसालै प्रकाशित उपन्यास द टेस्टामेन्ट्सले शुरू गरेको गिलियडको कथालाई अगाडि बढाएको छ । सन् २०१९ को बूकर पुरस्कार जित्न सफल यो किताब उनको प्रसिद्ध उपन्यास द ह्यान्डमेड्स टेल को दोस्रो भाग हो । पहिलो कथा सकिएको करीब पन्ध्र वर्षपछि द टेस्टामेन्ट्सको कथा शुरू हुन्छ । यसमा तीनजना कथावाचक छन् । क्यानडा र गिलियडमा गरी दुई ठाउँमा कथाको घटनाहरू घट्छन् । 

क्यानडामा हुर्किएकी निकोल एक आधुनिक युवती हुन् । उनी स्वच्छन्द रूपमा बाँच्न चाहन्छिन् । उनको आफ्ना सपनाहरू हुन्छन् । त्यसको विपरीत अर्की मुख्य पात्र एग्नेस गिलियडमा हुर्किन्छिन् । उनका लागि गिलियड भन्दा बाहिरको संसारको बारेमा खासै महत्त्व हुँदैन । गिलियडका शासकहरूले जस्तो महिलाको कल्पना गरेका हुन्छन्, उनी ठीक त्यस्तै हुन्छिन्– सोझी, आज्ञापालक, धार्मिक र गिलियडप्रति पूर्ण रूपले समर्पित । त्यसैगरी अर्की कथावाचक हुन्– आन्ट लिडिया । पहिलो उपन्यासमा नकारात्मक भूमिकामा देखिएकी लिडिया दोस्रोमा भने तुलनात्मक रूपमा सकारात्मक भूमिकामा देखापर्छिन् । गिलियडको स्थापनादेखि अन्त्यसम्म उनको निकै महत्त्वपूर्ण भूमिका हुन्छ । 

कुनै पनि चर्चित उपन्यासको दोस्रो भाग लेख्नु भनेको आफैंमा एक चुनौतीपूर्ण काम हो । खासगरी पहिलो भाग धेरै नै सफल भएको अवस्थामा त झन् यो आफैंमा जोखिमयुक्त हुन्छ । यसको एउटा उदाहरण हेरांै – हार्पर लीको विश्वप्रसिद्ध उपन्यास टु किल अ मकिङबर्ड सन् १९६० मा प्रकाशित भएको हो । यसलाई आज पनि उतकृष्ट किताबको सूचीमा अग्रपंक्तिमा राखिन्छ । यही उपन्यासको दोस्रो भाग गो सेट अ वाचम्यान सन् २०१५ मा प्रकाशित हुँदा त्यसले सबैलाई निराश बनायो । किताब फितलो मात्र नभई विचारको हिसाबले पनि कमजोर साबित भयो । यसैले देखाउँछ, कुनै पनि चर्चित किताबको अर्को भाग लेख्न लेखकले जुवा खेले जस्तो गरी आफ्नो प्रतिष्ठालाई दाउमा राख्नपर्ने हुन्छ । 

यसो हो भने एटवूडले किन यो जोखिम मोलिन् त ? यसको उत्तर उनी आफैंले दिएकी छन् । उनी भन्छिन्–मलाई बारम्बार एउटै प्रश्न सोधियो, आखिर गिलियड जस्तो पितृसत्तात्मक, अधिनायकवादी राज्यको अन्त्य कसरी भयो ? त्यसैको जवाफस्वरूप मैले यो किताब लेखें । करीब ३५ वर्षको अन्तरालमा लेखिएको यो दोस्रो भागमा उनले वर्तमानको आँखाबाट फेरि महिलाहरूको अवस्था र व्यथा हेर्ने प्रयास गरेकी छन् ।

पहिलो भागको तुलनामा कथाको गहिराइ केही कम भएतापनि कथा मजाले बगेको छ । तीनजना कथावाचक हुँदा कुनै कुनै ठाउँमा भने पाठकलाई अप्ठ्यारो पनि पर्छ । 

यस उपन्यासको सशक्त पक्ष भनेको यसले वकालत गरेको विचार हो । यसमा लेखिकाले पितृसत्तात्मक समाज र त्यसमा महिलाहरूको भूमिका र अवस्थालाई गहिरो रूपमा प्रस्तुत गरेकी छन् । महिलाहरूलाई कसरी पीडित बनाउँछ यस समाजले भन्ने ज्वलन्त उदाहरण हामी यसमा भेट्न सक्छौं । एटवूडले पितृसत्तात्मक व्यवस्थाप्रति निकै नै कठोर भाषाको प्रयोग गरेकी छन् ।  एक हिसाबले हेर्ने हो भने वर्षौंदेखि उत्पीडनमा परिरहेका महिलाको मनभित्र दन्किरहेको आगोलाई पात्रहरूमार्फत यसमा देखाइएको छ । उपन्यास पढ्दै जाँदा कतिपय ठाउँमा यस्तो लाग्छ, ती पात्रहरूले परिस्थिति मिल्थ्यो भने सारा पुरुषहरूको अन्त्य गर्ने थिए ।

हवार्ड जिनले आफ्नो पुस्तक अ पिपल्स हिस्ट्री अफ द युनाइटेड स्टेट्समा भनेका छन्– अमेरिकी सन्दर्भमा महिलाहरूलाई बलप्रयोगद्वारा भन्दा पनि विभिन्न भाष्य निर्माण गरेर शोषण गरियो । एटवूडले पनि यस कुरालाई यस उपन्यासमा प्रस्तुत गरेकी छन् । गिलियडको प्रारम्भिक चरणमा महिलाहरूमाथि बल प्रयोग गरिएतापनि पछि उनीहरूलाई नजानिँदो गरी तालिम प्रदान गरेर उनीहरूको मनमा बिस्तारै हामी पुरुषहरूको तुलनामा धेरै नै कमजोर छौं भन्ने भावको विकास हुँदै जान्छ र उनीहरू त्यसैलाई आत्मसात गर्न पुग्छन् । 

हाम्रै समाजमा पनि महिला तथा पुरुषको हुर्काइमा रहेको भिन्नतालाई हामी देख्न सक्छौं । त्यसैगरी उनले समाजद्वारा महिलाहरूलाई विभाजित गर्न रचिएको अर्को हतियारको पनि मुद्दा उठाएकी छिन् । त्यो हो, महिलाको शत्रु महिला नै हुन्छ भन्ने समाजमा प्रचलित धारणा । उपन्यासमा महिलाहरूलाई विभिन्न तहमा विभाजित गरिएको छ र उनीहरूलाई एकआपसमै भिडाइएको छ । यसको अर्थ हो, महिलाहरू आफैंमा यति विभाजित छन् कि उनीहरू एकजुट भएर अधिनायकवादी पुरुषप्रधान समाजसँग लड्न असमर्थ हुँदै आएका छन् ।

करीब ३५ वर्षको अन्तरालमा छापिएको यस किताबमा समयसँगै लेखिकाको सोचाइमा पनि परिवर्तन आएको भान हुन्छ । यसमा उनी भविष्यप्रति सकारात्मक देखिन्छिन् । महिलाहरू मिलेर अगाडि बढ्न सकेको स्थितिमा जस्तोसुकै बन्धन पनि तोडेर मुक्ति प्राप्त गर्न सक्छन् भन्ने खालको आशावादी चेत हामी यसमा भेट्छौं । उनले एक अन्तर्वार्तामा भनेकी छन्– लेखकहरू यही समाजमा बस्ने हुन् र उनीहरू यस समाजको भविष्यप्रति आशावादी हुनु जरूरी छ ।

कमेन्ट गर्नुहोस्