मंसिर १९, २०८०
कुनै राजनीतिक संक्रमण वा अवरोध नभएको समयमा मन्त्रीहरूबीच कसले राम्रो काम गर्ने भनेर प्रतिस्पर्धा हुनुपर्ने हो । तर, विडम्बना ! सहज राजनीतिक अवस्थामा पनि झन्डै एक वर्षसम्म सरकारमा रहेका अधिकांश मन्त्रीको कार्यप्रगति ...
सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली मिर्गौला पुनः प्रत्यारोपणका लागि सोमवार अस्पताल भर्ना हुँदैछन् ।
केही दिनअघि ६९औं जन्मदिन मनाएका ओलीसँग भएको आत्मविश्वासले अहिलेसम्म उनलाई रोगहरूको निरन्तरको आक्रमणका बीच पनि स्वस्थ राखेको छ ।
प्रधानमन्त्री ओलीको स्वास्थ्यका बारेमा टिप्पणी गर्ने अधिकांश डाक्टरहरूले उनमा निहित आत्मविश्वासको प्रसंग छुटाउँदैनन् ।
भारतको एपोलो अस्पतालमा गरिएको पहिलोपटकको मिर्गौला प्रत्यारोपणले प्रधानमन्त्री ओलीलाई १३ वर्षसम्म स्वस्थ राख्यो । यो १३ वर्षको बीचमा ठूला–ठूला राजनीतिक उतारचढावहरू देखिए । पछिल्लो समय विभिन्न रोगहरूको आक्रमणका बीच पनि प्रधानमन्त्री ओली राजनीतिको केन्द्रमा रहे ।
मेडिकल साइन्सको दुर्भाग्य भनौं या नियति, एकपटक गरेको प्रत्यारोपणले कसैलाई पनि सधैंभर स्वस्थ राख्दैन । गत साउनदेखि प्रधानमन्त्रीको स्वास्थ्यमा मिर्गौलाकै समस्या देखिन शुरू गर्यो । कतिपय डाक्टरहरू एउटा प्रत्यारोपणको आयु सामान्यतया: १० देखि १२ वर्षको हुने बताउँछन् । त्यो पनि निश्चित सीमामा ।
ओलीको सीमा निश्चित थिएन । स्वास्थ्यलाई चुनौती दिन बढ्दो उमेर एउटा कारक बनिरहेको थियो भने राजनीतिक धपेडी अर्को । उनले स्वास्थ्यकै कारण कहिल्यै विश्राम लिएनन् । आराम गर्नुपर्ने भन्दै उनको मेडिकल टीमले गरेको निरन्तरको खबरदारीको बेवास्ता गरिरहे ।
देश र जनताका लागि उनले आफ्नो स्वास्थ्यलाई 'बन्धक' बनाएका छन् । यसैका लागि हुनसक्छ, उनकै नेतृत्वमा चुनावमा होमिएको नेकपा गठबन्धनले ५ वर्ष नै सरकार चलाउने गरी सुविधाजनक बहुमत पाएको हो ।
पछिल्लो समय आफ्नै पार्टीभित्र देखिएको विवादले प्रधानमन्त्री ओलीमाथि तनाव सिर्जना गरेको थियो । पार्टीले उनको चाहनाविपरीत उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यमा सिफारिश गर्ने निर्णय गरिरहँदा उनले प्रतिवाद गर्न जरुरी ठानेनन् । यसलाई 'मौन सम्मति लक्षणम्'का रूपमा लिइयो ।
तर प्रधानमन्त्री ओलीले आफ्नो राजनीतिक चाहना केही घण्टामै प्रदर्शित गरे । उनीनिकट एक नेता भन्छन्, 'सरकारले गर्ने काममाथि पार्टीले हस्तक्षेप गर्दा संसारमा जहाँ पनि ठूला विवादहरू सिर्जना भएका छन् । नीतिगत हस्तक्षेप एउटा कुरा हो, व्यावहारिक हस्तक्षेप अर्को कुरा हो । यसलाई ३ जना पूर्व प्रधानमन्त्रीहरू रहेको सचिवालयले राम्रोसँग बुझ्नुपर्थ्यो ।'
आइतवार मध्याह्नका लागि तय गरिएको सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठकमा गत बुधवार बसेको बैठकको निर्णय कार्यान्वयनका लागि दबाब दिने सदस्यहरूको तयारी थियो, अर्थात् राष्ट्रपतिबाट मनोनित हुने राष्ट्रिय सभाको रिक्त एक सिटमा उपाध्यक्ष वामदेव गौतमलाई पठाउने निर्णय कार्यान्वयको सुनिश्चितताका लागि दबाब सिर्जना गर्ने ।
प्रधानमन्त्री निवास बालुवाटारमा झण्डै साढे १२ बजे सचिवालय बैठक शुरू भयो ।
प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले के भन्लान् भन्नेबारे सबै सदस्यलाई कौतुहलता थियो । शुरूमै उनले बुधवार मिर्गौला प्रत्यारोपण गर्ने तयारी गरेको भन्दै स्वास्थ्य लाभको शुभकामना दिन आग्रह गरे । बुधवारको प्रत्यारोपणका लागि सोमवार नै अस्पताल भर्ना हुन लागेको उनले बैठकलाई जानकारी गराए ।
नेकपाभित्र चर्को विवादको विषय बनेको राष्ट्रिय सभा सदस्यको सिफारिशबारे कुनै निर्णयमा पुग्ने विश्वासका साथ प्रधानमन्त्री निवास बालुवाटार बाहिर पत्रकारहरू प्रतिक्षामा थिए ।
बैठकका निर्णयबारे जानकारी गराउँदै नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले सञ्चारकर्मीहरूसँग भने– ‘सचिवालयको आजको बैठकमा सम्माननीय प्रधानमन्त्री एवं अध्यक्ष कमरेड केपी ओलीले आफ्नो स्वास्थ्य उपचारको योजना बारेमा सचिवालयलाई जानकारी गराउनुभयो । त्यसअन्तर्गत यही बुधवार मिर्गौला प्रत्यारोपणका लागि शल्यचिकित्सा योजना बनाइएको छ । त्यसका लागि भोलि अस्पतालमा भर्ना हुनुहुनेछ ।’
बुधवारको सचिवालय बैठकले गरेका निर्णय कार्यान्वयनबारे के भयो भनेर पत्रकारहरूले सोध्दै गर्दा प्रवक्ता श्रेष्ठले अगाडि थपे, ‘पार्टी सचिवालय बैठकले उहाँको सफल प्रत्यारोपण र स्वास्थ्यलाभका लागि कामना गरेको छ । आज सचिवालय बैठकको यत्ति हो, अन्य विषयमा छलफल नै भएन ।’
बुधवार बसेको सचिवालय बैठकले गरेको निर्णयअनुसार राष्ट्रिय सभाको रिक्त सिटमा उपाध्यक्ष गौतमलाई पठाउने निर्णय कार्यान्वयन गर्न दबाब दिने रणनीति अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायतका नेताहरूको थियो ।
बुधवारको बैठकले गौतमलाई राष्ट्रिय सभामा लैजाने निर्णय गरेपनि प्रधानमन्त्री ओलीले बैठक सकिएको केहीबेरमा उक्त निर्णयलाई नमान्ने बताएका थिए । तर आइतवारको बैठकमा यसबारे नेताहरूले केही बोलेनन् ।
बुधवारको संयोग !
गौतमको सट्टा अर्थमन्त्री डा. युवराज खतिवडालाई नै राष्ट्रिय सभामा लैजाने ओलीको जिद्दीका कारण नेकपाभित्र विवाद बल्झिएको थियो । राष्ट्रिय सभामा २० गते रिक्त हुने १९ जना सदस्यको पद तथा गोपनियताको शपथ फागुन २१ गते हुँदैछ ।
नेकपा सचिवालयले गौतमलाई सिफारिश गरेकै दिन ओलीले माधवकुमार नेपालसँगको कुराकानीमा खतिवडाको नाम राष्ट्रपतिसमक्ष पठाइसकेको बताएका थिए । बिहीवार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ताको समेत जिम्मेवारी पाएका खतिवडाले बुधवार शपथमा भेटौंला भनेर पत्रकारहरूसँग ठट्टा गरे ।
बुधवारको सचिवालय बैठकको निर्णय कार्यान्वयन गर्न नेकपाका बहुमत सदस्यहरू एक ठाउँमै छन् । वरिष्ठ नेता झलनाथ खनाल लगायतका कतिपय नेताहरूले पार्टीको निर्णय कार्यान्वयन नगरे ओलीले अप्ठ्यारो परिस्थितिको सामना गर्नुपर्ने संकेत गरेका थिए ।
बिहीवार पनि सचिवालयका बहुमत सदस्यबीच पार्टी निर्णय कार्यान्वयन गर्न ओलीलाई बाध्य पार्ने रणनीति बनाउनेबारे छलफल भएको थियो ।
यसअघि शुक्रवार चितवनमा आयोजित एक कार्यक्रममा अध्यक्ष प्रचण्डले गौतमलाई सिफारिश गर्ने निर्णय कार्यान्वयन हुने विश्वास व्यक्त गरेका थिए ।
शनिवार पोखरामा पुगेर रामबहादुर थापाले समेत गौतमलाई राष्ट्रिय सभामा लैजाने निर्णय कार्यान्वयन गर्नुपर्ने बताएका थिए ।
प्रधानमन्त्री ओलीले बुधवार मिगैलाको प्रत्यारोपण गर्ने तयारीबारे जानकारी गराएपछि आइतवारको बैठकमा गत बुधवारको बैठकको निर्णय कार्यान्वयनको प्रसंग नउठेको दाबी एक सचिवालय सदस्यले गरे ।
संयोग पनि कस्तो भने जुन दिन प्रधानमन्त्रीले मिगौलाको प्रत्यारोपण गर्दैछन् त्यही दिन राष्ट्रिय सभाका नवनिर्वाचित सदस्यहरूले शपथ ग्रहण गर्नेछन् । ओली अस्पतालबाट फर्केर नियमित काम शुरू नगर्दासम्म उनीमाथि दबाब सिर्जना गर्न सचिवालय सदस्यहरूलाई नैतिक संकट परेको छ ।
राष्ट्रिय सभामा सदस्यको शपथकै दिन मिर्गौला प्रत्यारोपणको साइत जुराएर प्रधामनन्त्री ओलीले पार्टीभित्र चर्किएको विवादलाई केही दिनका लागि पर धकेलेका छन् ।
प्रधानमन्त्री ओलीले गत माघको तेस्रो साता मूलधारका अनलाइन तथा छापा सञ्चारमाध्यमका सम्पादकहरूलाई बोलाएर आफू मिर्गौला प्रत्यारोपण गर्न जान लागेको बताएका थिए । गत बिहीवार बाग्मती प्रदेशस्तरीय कार्यकर्ता प्रशिक्षणका क्रममा ओलीले ५ दिन अस्पतालमा बसेर छैठौं दिनदेखि काम शुरू गर्ने बताएका थिए । पार्टीमा एक्लिदै गएको जस्तो देखिएपनि ओलीमा अभूतपूर्व आत्मविश्वास देखिएको छ ।
आइतवार साँझ बसेको मन्त्रिपरिषद बैठकमा पनि प्रधानमन्त्रीले सबै मन्त्रीहरूलाई आफू मिर्गौला प्रत्यारोपणमा जान लागेको बताए । आइतवार दिनभर बालुवाटारमा भएका औपचारिक र अनौपचारिक भेटहरूमा सक्रिय बनेका थिए ।
'उहाँ आफ्नो स्वास्थ्यलाई लिएर बिल्कुलै तनावमा हुनुहुन्न,' उनको सचिवालय टीमका एक सदस्यले लोकान्तरसँग भने, 'हामीसँग पनि कतिपय बेलामा आफ्नो यो जिन्दगी नाफाको जिन्दगी रहेको बताउनुहुन्छ । रोगलाई हेप्ने प्रवृत्ति छ, उहाँमा । मेजर अपरेसन गर्नुपर्ने बिरामी सामान्यतया आफ्नो स्वास्थ्यका लागि चिन्तित देखिने गर्छन्, तर उहाँको अनुहार र हाउभाउमा चिन्ताको कुनै गुन्जायस छैन ।'
प्रधानमन्त्रीको शल्यक्रिया र त्यसपछिको स्वास्थ्य अवस्थाका बारेमा सञ्चारकर्मीहरूले निरन्तर फलोअप गर्ने नै छन् ।
सचिवालय र उपचारमा खटिने डाक्टरको टीमले प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाका बारेमा जनताले सहीरूपमा सुसूचित हुने अधिकारको सम्मान गर्ने अपेक्षा गरौं ।
प्रधानमन्त्री ओलीलाई शीघ्र स्वास्थ्यलाभको कामना !
कुनै राजनीतिक संक्रमण वा अवरोध नभएको समयमा मन्त्रीहरूबीच कसले राम्रो काम गर्ने भनेर प्रतिस्पर्धा हुनुपर्ने हो । तर, विडम्बना ! सहज राजनीतिक अवस्थामा पनि झन्डै एक वर्षसम्म सरकारमा रहेका अधिकांश मन्त्रीको कार्यप्रगति ...
सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...
आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...
सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...
चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...
अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...
आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...
दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो । यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...