फिलिपिन्सकी चेली, थारुकी बुहारी

लखन चाैधरी
लखन चाैधरी

लखन चौधरी लोकान्तरका लागि सुदूरपश्चिम प्रदेश प्रतिनिधि हुन् । 

बढ्दो आधुनिकीकरण र सूचना प्रविधिले विश्व मानचित्रलाई एउटा गाउँजस्तो बनाइदिएको छ । अहिले कानूनी प्रक्रिया पुर्‍याएर मानिसहरू एउटा महादेशबाट अर्को महादेशमा जान सक्छ । फरक-फरक देशका नागरिकहरूबीच सम्बन्ध विस्तार हुन्छ । बिहेवारी गर्न सक्छन् ।

एक उदाहरण हुन् कैलालीको धनगढी उपमहानगरपालिकाका–७ देवहरियाका शेरबहादुर चौधरी (३०) । जसले हालै फिलिपिन्सकी युवतीसँग थारु परम्परागत विवाह संस्कारअनुसार लगनगाँठो कसेका छन् । उनले फिलिपिन्सकी ईलुईलु शहरकी ह्यानी गोहुम अर्तुज (३०) को सिउँदो सजाएका हुन् ।


Advertisement

धनगढी देवहरियाका शेरबहादुर ९ वर्ष पहिले वैदेशिक रोजगारीको क्रममा दुबई हानिए । सुरुवाती चरणमा उनी दुबईको क्यारीफोर कम्पनीमा ट्रली ब्वाईको रूपमा कार्यरत थिए ।

फिलिपिन्सकी ईलुईलु शहरकी ह्यानी पनि वैदेशिक रोजगारीको क्रममा ५ वर्ष पहिले सोही कम्पनीको क्यासियर पदमा कार्यरत भइन् । कम्पनीको पदीय क्रमअनुसार शेरबहादुर ह्यानीभन्दा तल्लो ओहोदामा कार्यरत थिए ।


Advertisement

एउटै कम्पनीमा कार्यरत हुँदा उनीहरूबीच चिनजान भयो । त्यसपछि बिस्तारै उनीहरूबीच प्रेमको अंकुरण हुन थाल्यो । सायद त्यसैले भनिन्छ होला- प्रेम अन्धो हुन्छ ।

उनीहरूको प्रेमले देशको सीमाना देखेन । भौगोलिक दुरी मानेन । धर्म, समाज, संस्कार र पारिवारिक अनेकन बन्धनहरू पनि देखेन । सबै बन्धनबाट उन्मुक्त थियो । निकै निश्चल थियो, उनीहरूको प्रेम । ५ वर्षको अवधिमा कहिल्यै नछुट्टिने गरी नै झांगियो ।

‘मलाई लाग्छ, प्रेम सम्बन्धको कुनै बन्धन हुँदैन । त्यो हामीमा पनि लागू हुन्छ,’ शेरबहादुरले ह्यानीसँगको सम्बन्ध खुलाउँछन्, 'फरक देश, फरक समाज, फरक संस्कृतिबाट आउन सक्ने सम्भावित चुनौतीहरू सामना गर्न हामी तयार भयौं । फलतः संगै बाँच्ने, मर्ने बाचाका साथ विवाहको कदम रोज्न राजी भयौं ।’

विवाहअघि नै ससुराली पुगेँ

प्रेम सम्बन्धपछि विवाह गर्न राजी भएका शेरबहादुर ससुराली देश फिलिपिन्सको ईलुईलु पुगे । ससुरा विलियम अर्तुज र सासु मारगोरिता अर्तुजसँग भेटघाट गरे, सम्बन्ध बढाए । प्रेम सम्बन्धपछि ह्यानी र आफू  सँगै बस्ने निर्णय सुनाए ।

‘ससुराली पुगेँ, स्वागत सत्कार गरे । स्नेह, माया दिए मलाई । हामीले हाम्रो निर्णय सुनाएपछि सुसुराली तर्फबाट राम्रो प्रतिक्रिया पायौं । उहाँहरूको सकारात्मक प्रतिक्रियाले हाम्रो प्रेमले निस्फिक्री फक्रिने वातावरण पायो,' शेरबहादुर अगाडि थप्छन् । 

उनको सुसुराली परिवारमा (≈यानीको माइती) सासु, ससुरा, २ जना जेठान, २ जना साला, १ दिदी रहेका छन् । समान्य कृषि पेशामा ससुरानी परिवार आवद्ध रहेको शेरबहादुर सुनाउँछन् ।

उता शेरबहादुर पुगेपछि, १ वर्ष पहिले ह्यानी पनि नेपालको सुदूरपश्चिम प्रदेशको राजधानी कैलालीको धनगढी आइन् । धनगढीभित्रको थारु वस्तीमा १५ दिन बिताइन् ।

फलतः भौगोलिक, सामाजिक, सांस्कृतिक, भाषिकलगायत कठिनाईलाई तिलाञ्जली दिएकी ह्यानी अब थारु परिवारको बुहारी बनेर भित्रिएकी छन् । हाल उनको माध्यम भाषा अंग्रेजी हो । तथापि उनी नेपाली भाषा पनि सिक्ने प्रयासमा छिन् । शेरबहादुरको परिवारमा उनको बुवा, आमा, दाई भाउजु, दिदी र भतिजो छन् ।

थारु परम्पराअनुसार विवाह

एकै कम्पनीमा कार्यरत उनीहरू फागुन १९ गते धनगढीको थारु वस्तीमा थारु परम्परा अनुसार विवाह बन्धनमा बाँधिए । बेहुलीको पक्षबाट कोही उपस्थित नभए पनि थारु वस्तीका भलमन्सालगायत भद्रभलादमीको रोहबरमा समाजको रीतिअनुसार विवाह सम्पन्न भयो । थारु समुदायमा यसरी गरिने विवाहलाई पर्छौटी भनिन्छ । विवाहको क्रममा बेहुलीलाई सजाइएपछि छिमेकीको घरमा लगिएको थियो ।

त्यसपछि बेहुलाले बेहुलीलाई लिन गए छिमेकीको घरमा । बेहुलाका भिनाजु गन्जुवा (साथी) बनेर बर्झी (सगुन टाँगिएको फलामे रड) बोकेर अघिअघि हिँडे । भित्र्याइसकेपछि बेहुलाकी भाउजु नविना चौधरीले बेहुला र बेहुलीलाई ‘संगै रहनु, खुशी रहनु, झगडा लडाईं नगर्नु, प्रगति गर्नु’ भन्दै एक अर्काको टाउको एक आपसमा ३ पटक लडाएर पर्छिन् । विवाह भएको पक्का गरिन् । कुल देवताहरूको पूजा गराइयो । कुल देवतालाई छाँकी (रक्सी) चढाइयो । बंगुर, खसीलगायत ढालेर विवाहमा सहभागी इष्टमित्र, छिमेकीलगायतलाई धुमधामले खुवाइयो ।

शेरबहादुर विवाहवारे भन्छन्–‘थोरै अपसोच त्यति मात्रै भयो कि, सुसुराली पक्षको विवाहमा सहभागी हुने धोको हुँदाहुँदै पनि भौगोलिक कठिनाईले गर्दा उपस्थित गराउन सकेनौं ।’

छोराको विवाहप्रति शेरबहादुरको परिवार निकै प्रफुल्लित छन् । शेरबहादुरकी आमा फुलपति चौधरीले खुशी साटिन्, ‘हम्रे सक्कु जे बहुट खुशी बाटी । छावाक् कदममे हम्रे साथ डेले बाटी 'हामी सबै खुशी छौं । छोराको कदमलाई स्वीकार गर्दै हामीले साथ दिएका छौं ’ ।

ह्यानी पनि निकै खुशी छिन् । तपाईंलाई फरक देश, फरक समाज, फरक संस्कारमा सम्बन्ध बढाउँदा कस्तो महसूस हुँदैछ ? भन्ने लोकान्तरको जिज्ञासामा ह्यानी ले पनि खुशी पोख्छिन्, ‘म निकै खुशी छु । भाग्यमानी अनुभूति गरेकी छु । जिन्दगी जिउन जान्नुपर्छ, निकै खुशी मिल्छ । जन्मेपछि संघर्ष त जसले पनि गर्नैपर्छ ।’

विवाहपछि कानूनी प्रक्रिया पूरा गरेर शेरबहादुर र ह्यानी पुनः दुबई फर्किने बताएका छन् । हाल सो कम्पनीको जनसम्पर्क अधिकृत (पीआरओ) मा बढुवा भएका शेरबहादुर रोजगारीको क्रममा अझै केही वर्ष दुबई बस्ने र पछि नेपालमै फर्किने योजना सुनाएका छन् ।

लखन चाैधरी
लखन चाैधरी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्