पूर्वराजा ज्ञानेन्द्रको सक्रियताको आलोकमा पूर्वपञ्चको अपर्झट एकता !

सुशील पन्त
सुशील पन्त

लोकान्तरका समाचार सम्पादक सुशील पन्त समसामयिक राजनीति र संसदीय मामिलामा कलम चलाउँछन् । 

टुटफूट र विभाजनको पर्याय बनेको पूर्वपञ्चहरूको पार्टी राप्रपाका दुईघटकबीच शनिवार राति पार्टी एकता गर्ने समझदारी पत्रमा हस्ताक्षर भयो । एकले अर्काको अस्तित्व स्वीकार नगरेका कमल थापा, पशुपति शमशेर राणा र डा. प्रकाशचन्द्र लोहनी तीनैजना अध्यक्ष रहनेगरी पार्टी एकताको समझदारी पत्रमा हस्ताक्षर भयो । 

स्थापनादेखि नै षड्यन्त्र र जालझेलमा रुमल्लिएको राप्रपामा अन्य कुरा यथावत रहेमा बुधवार पार्टी एकताको औपचारिक घोषणा हुनेछ । एकीकरण सम्झौता पत्रमा हस्ताक्षरपछि कमल थापाले प्रजातन्त्रवादीका लागि खुशीको कुरा भनेर टिप्पणी गरेका छन् । 


Advertisement

बुढ्यौलीका कारण पशुपति शमशेर राणा र लोहनीले फेरि पार्टी फुटाउने छैनन् भन्नेमा आश्वस्त कमल थापाले तीन अध्यक्ष स्वीकारेपछि पार्टी एकता सम्भव भयो ।

राणा ८१, लोहनी ७९ र थापा ६४ वर्षका छन् । टेनिस र राजनीतिका माहिर खेलाडी थापा लामो समय पूर्वपञ्चको पार्टीको नेतृत्व गर्न पाउने आंकलनसहित राणा र लोहनीलाई अध्यक्ष मान्न राजी भए । 


Advertisement

राप्रपाको एकताले राष्ट्रिय राजनीतिमा तत्कालै तात्विक असर पार्ने सम्भवना क्षीण छ । तर पूर्वपञ्चको लिगेसी र दरबारसँगको निकटताका कारण उनीहरूको एकताले नेपालमा हिन्दूराष्ट्र पुनःस्थापाना र राजतन्त्रको पुनःस्थापनाको अभियान सञ्चालन गरिरहेकाहरूको स्वर केही बलियो बनेको छ ।

के हो एकताको रसायन ?

पूर्वपञ्चबीच एकता यसअघि पनि नभएको होइन, तर जुंगाको लडार्ईंका कारण एकता धेरै टिकेन । अहिले पनि चुनाव चिह्नको विवाद कायम छ । चुनाव चिह्न हलो राख्ने कि गाई भन्ने विवादले यसअघि राप्रपा विभाजन भएको थियो ।

यसपटकको अपर्झटको एकताका पछाडि राप्रपाका घटक भन्दापनि पूर्वराजावादी शक्ति हावी भएको विश्लेषण राजनीतिक वृत्तमा भइरहेको छ ।

राप्रपा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठ निर्वाचनमा व्योहोरेको पराजय र कार्यकर्ताको दबाब नै एकताका लागि बलियो आधार भएको बताउँछन् ।

‘देशमा बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्तिको महसूस गरेर तथा राष्ट्रिय राजनीतिको शक्ति सन्तुलनमा हस्तक्षेपकारी भूमिका खेल्नका लागि यो एकता भएको हो,’ श्रेष्ठले लोकान्तरसँग भने, ‘सनातन हिन्दूराष्ट्र र परम्परागत मूल्य मान्यताको रक्षाका लागि राजा सहितको लोकतन्त्र स्थापना एकीकृत पार्टीको लक्ष्य हो ।’

राप्रपाको एकीकरणमा पूर्वराजाको सुभेक्षा हुन सक्ने श्रेष्ठ स्वीकार्छन् ।

पूर्वपञ्चको मिलन र पूर्वराजासँगको साइनो 

२०४६ सालको राजनीतिक परिवर्तनबाट पञ्चायती व्यवस्था ढलेपछि दरबारको छत्रछायाँमा रजाइँ गरिरहेका पूर्वपञ्चहरूले राप्रपा स्थापना गरे परम्परावादी शक्तिको रूपमा । गठनदेखि नै दुई धारमा विभक्त पूर्वपञ्चहरूले कांग्रेस र एमालेजस्ता ठूला दललाई भिडाएर पटक–पटक सत्ताको रसास्वादन गरे । 

२०५१ सालको मध्यावधि निर्वाचनपछि कहिले सूर्यबहादुर थापा  र कहिले लोकेन्द्रबहादुर चन्द कांग्रेस र एमालेको बुइ चढेर सत्ताको नेतृत्वमा पुगे । तोकिएको समयमा चुनाव गराउन असक्षम भएको भन्दै शेरबहादुर देउवाको विकल्पमा चन्द प्रधानमन्त्री बनाइए । चन्दपछि फेरि सूर्यबहादुर थापाको नेतृत्वमा सरकार बन्यो । राजाको प्रत्यक्ष शासनकालमा त कमलथापा गृहमन्त्री थिए । 

पूर्वपञ्चको पार्टी यति शक्तिशाली कि गणतन्त्रमा पनि सत्तामा उनीहरूको हालीमुहाली चल्यो । २०७२ सालमा गठन भएको केपी ओलीको सरकारदेखि ओलीलाई विस्थापित गरेको पुष्पकमल दाहाल प्रचण्ड र शेरबहादुर देउवा सरकारमा पनि कमल थापा निर्णायक पात्रको रूपमा उदाए । विक्रम पाण्डे, दीपक बोहोरा र सुनिल थापाहरूले गणतन्त्रमा कांग्रेस–एमाले जस्ता दललाई पराजित गरेर प्रत्यक्ष चुनाव जिते ।

२०६३ सालको जनआन्दोलनबाट बहिस्कृत र तिरस्कृत गरी मिल्काइएको राप्रपाले २०७० सालको चुनावमा धर्मको नाममा अपत्यारिलो भोट पायो । समानुपातिकबाट २५ सिट ल्याएर सत्ताको केन्द्रमै पुग्यो ।

‘०५६ सालको चुनावसम्म हामीहरू राम्रो पोजिसनमा थियौं, २०६४ को चुनावमा केही सानो साइज भएपनि २०७० सालमा हामीलाई मतदाताले पत्याए,’ राप्रपाका एक पूर्वमन्त्रीले लोकान्तरसँग भने, ‘गत आम निर्वाचनमा हामीले पराजय व्योहोरेपनि भविष्यमा फेरि निर्णायक शक्तिको रूपमा उदाउँछौं ।’

धर्मको नारा पनि परीक्षण भइसकेकाले पूर्वपञ्चहरूका लागि यतिबेला राजतन्त्रबाहेक बोक्ने कुनै नारा छैन ।

अहिलेका राजनीतिक दलसँग राज्य सञ्चालनको अनुभव नभएको उनीहरूको आरोप छ । ‘अहिले जनताले गणतन्त्रका धेरै राजाभन्दा पहिलेको एउटै राजा ठीक भन्न लागेका छन्, यो हाम्रा लागि ठूलो एसेट हो,’ एक पूर्वपञ्चले भने । 

पूर्वराजा ज्ञानेन्द्र गत साता मात्र भारत भ्रमण गरेर फर्किएका छन । सिक्किम हुँदै दिल्ली पुगेर फर्किएका पूर्वराजा ज्ञानेन्द्रले दिल्लीमा रहँदा त्यहाँ केही गोप्य भेटघाट गरेको राप्रपा स्रोत बताउँछ । ‘थाइल्याण्ड, सिंगापुर या दिल्लीको भ्रमण नितान्त बिदा मिलाउन र नातिनातिनासँग भेटघाटका लागि मात्र होइन,’ राप्रपाका एक नेता भन्छन् ।

गत महिना झापामा एक महिना बिताएका पूर्वराजाले डा. प्रकाशचन्द्र लोहनी लगायत राप्रपाका नेताहरूसँग भेटेका थिए । 

स्रोतका अनुसार पछिल्लो समय पूर्वराजा ज्ञानेन्द्रले कमल थापाभन्दा लोहनीलाई धेरै विश्वास गर्छन् । 

‘प्रचण्डले रामेछाप पुगेर राजतन्त्रको बारे कुरा गर्नु, प्रधामनन्त्री ओलीले पटक–पटक संसदमा परिवर्तनकारी शक्तिहरू मिल्नुपर्छ भन्नु, भारतीय विदेशमन्त्री नेपाल भ्रमणमा आउने बेला राजनीतिक दलहरूको सर्बदलीय बैठकलाई जोडेर हेर्नुभयो भने राजतन्त्रको भूतबाट अहिले सत्ताको नेतृत्व गरिरहेकाहरू तर्सिएको देखिन्छ,’ राप्रपाका एक नेता भन्छन्, ‘राजतन्त्र फर्काउने सामथ्र्य नराखेपनि हामीहरूको एकताको सन्देश छ ।’

यस्तो छ टुटफूटको श्रृंखला

पञ्चायत ढलेसँगै २०४७ सालमा राप्रपा थापा र राप्रपा चन्दको रूपमा एकैदिन गठन भएको थियो । २०४९ सालमा यी दुई दलबीच एकीकरण भयो ।

२०५१ सालको मध्यावधि चुनावमा राप्रपाले २० सिट जितेको थियो । २०५१ सालमा गठन भएको मनमोहन अधिकारी नेतृत्वको अल्पमतको सरकार ढलेपछि एमालेको समर्थनमा चन्दको नेतृत्वमा सरकार बन्यो । चन्द सरकारविरुद्ध कांग्रेस र सूर्यबहादुर थापाले खेल शुरू गरेपछि सूर्यबहादुर थापाको नेतृत्वमा सरकार गठन भयो । 

सत्ता खिचातानीका कारण २०५४ सालमा पहिलोपटक राप्रपा विभाजन भयो । २०६५ सालको चुनावको पूर्वसन्ध्यामा दुई राप्रपाबीच फेरि एकता भयो र प्रतिनिधि सभामा ११ सीट जित्यो । २०५९ सालमा जननिर्वाचित प्रधानमन्त्री देउवालाई अपदस्त गरेर चन्दलाई प्रधानमन्त्री बनाएपछि राप्रपाभित्र हलचल मच्चियो । 

चन्दले नारायणसिंह पुनको च्यानलमार्फत माओवादीलाई वार्तामा ल्याएपनि निष्कर्षमा पुर्‍याउन नसकेको भन्दै राजाले सूर्यबहादुरलाई प्रधानमन्त्री बनाए । सूर्यबहादुरले हापुरेमा माओवादीसँग वार्ता गरेपनि निष्कर्षमा पुर्‍याउन सकेनन् ।

प्रधानमन्त्री रहेका सूर्यबहादुर थापा वृहत् राजनीतिक अभियानका नाममा राष्ट्रिय जनशक्ति पार्टी गठन गर्नतर्फ लागे । प्रतिगमन आधा सच्चिएको भनेर देउवा फेरि प्रधानमन्त्री बने । यसबीचमा सूर्यबहादुरको पार्टीमा आफैंले बनाएको अवधारणा अनुसार सदस्यसचिवको पद नदिएको भन्दै कमल थापा फेरि राणाको पार्टीमा फर्किए । सूर्यबहादुरले बुद्धिमान तामाङलाई च्यापेपछि कमल थापा बिच्किए ।

त्यही क्रममा माघ १९ को अवस्था सिर्जना भयो, कमल थापा गृहमन्त्री बनेर राजाको सरकारमा गए । माघ १९ को कदमलाई हेर्ने विषयलाई लिएर राप्रपामा झन विवाद भयो । 

अध्यक्ष राणाले राजाको कदम असंवैधानिक भन्दै विज्ञप्ति जारी गरे । सरकारमा सामेल कमल थापालाई पार्टीले कारवाही गर्‍यो । कमल थापाले २०६१ साल पुष २७ गते काठमाडौंमा विशेष महाधिवेशन बोलाएर राप्रपा नेपाल गठन गरे । 

२०६२ सालको जनआन्दोलन सकिएपछि आन्दोलन दबाउन भूमिका खेलेको भन्दै कमल थापालाई रायमाझी आयोगले प्रहरी लगाएर नियन्त्रणमा लियो । कमल थापा ९२ दिन थुनामा बसे । यसबीचमा पार्टीको अध्यक्ष बने, रवीन्द्रनाथ शर्मा । थापा छुटेपछि फेरि थापा नै अध्यक्ष भए ।

२०६४ सालको संविधानसभा निर्वाचनमा भाग लिने/नलिने विषयमा राप्रपा नेपालमा चर्को मतभेद भयो । कमल थापा र पद्मसुन्दर लावतीले चुनावमा भाग लिने अडान राखे भने राजेश्वर देवकोटा र रवीन्द्रनाथ शर्मा भाग नलिने पक्षमा देखिए । विवादका बीच राजतन्त्रको नारा लगाउँदै चुनावमा गएको राप्रपा नेपालले ४ सीट प्राप्त गर्‍यो । 

संविधान सभाको कार्यकाल थपको विरोधमा कमल थापाले असन्तुष्ट समूहलाई एकतृत गरेर शक्ति सञ्चय गरे । २०७० सालको चुनावमा कमल थापाको पार्टीले २५ सिट प्राप्त गर्‍यो । संविधान जारी गर्ने बलासम्म धर्मको पक्षमा चर्को स्वर बनाएको राप्रपा संविधान जारी भएपछि सरकारमा जाने अस्त्र बन्यो । 

२०७३ साल मंसिरमा थापा नेतृत्वको राप्रपा नेपाल र राणा नेतृत्वको राप्रपाबीच एकीकरण भयो । सोही वर्षको फागुन ६ गते भएको महाधिवेशनबाट कमल थापा राप्रपाको अध्यक्ष भए । 

राप्रपाको पार्टी महाधिवेशन उद्घाटनमा तत्कालीन प्रधामनन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले परिपक्व दल भन्दै राप्रपाको प्रशंसा गरेका थिए ।

एकताका क्रममा भएको सहमति अनुसार महाधिवेशनले चुनाव चिह्न टुंग्याउन सकेन । महाधिवेशन लगत्तै डा. लोहनीले पार्टीबाट अलग भएर एकीकृत राप्रपा राष्ट्रवादी गठन गरे । 

सरकारमा कमल थापाको हालीमुहाली चलिरहेको समयमा चुनाव चिह्न थापा र राणाबीच पनि फूटको आधार बन्यो । 

२०७४ साउन २२ गते राणाले राप्रपा फुटाएर राप्रपा प्रजातान्त्रिक गठन गरे । 

२०७४ सालको प्रतिनिधि सभा चुनावमा कमल थापाको राप्रपाले झापाबाट १ सिट तथा प्रदेश सभामा ३ सीट जित्यो । राणा र लोहनीको पार्टी शून्यमा झर्‍यो । 

त्यसपछि गत फागुनमा राणा र लोहनीबीच एकता भएर राप्रपा संयुक्त गठन भएको थियो ।

विभाजनको झण्डै ३ वर्षपछि राप्रपाका मुख्य दुईघटक फेरि एकताका लागि सहमत भएका छन् ।

फागुन २४ गते भएको सहमतिअनुसार फागुन २८ गते एकता घोषणा हुँदैछ । घामछायाँ जस्तै लाग्ने राप्रपाको यसपटकको एकता कति टिक्छ, अहिल्यै विश्लेषण गर्न कठिन छ ।

सुशील पन्त
सुशील पन्त

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्