कोरोनाले निम्त्याएको सकस : आर्थिक संकटको संघारमा विश्व अर्थतन्त्र !

गोपीनाथ मैनाली
गोपीनाथ मैनाली

मैनाली नेपाल सरकारका सचिव हुन् । 

विश्व अर्थव्यवस्थाले बेलाबेलामा आर्थिक उतारचढावको सामना गर्दै आएको छ । अर्थतन्त्रका क्रियाकलापहरू स्वतन्त्र नभै अन्तरसम्बन्धित, संवेदनशील, एकअर्काप्रति प्रतिक्रिया जनाउने खालका पनि हुन्छन् । आर्थिक संकट आउँदा आर्थिक क्रियाकलापहरू लगानी, उत्पादन, आपूर्ति श्रृंखला र मूल्य संरचनालाई उथलपुथल पार्दछ । वित्तीय संस्थाहरूमा तरलता अभाव, लगानीकर्ता र व्यवसायीमा ऋण क्षमताको अभाव, उपभोक्तामा क्रयशक्तिको अभाव र यी क्रियाकलापहरूबीचको गुणक प्रभावले अर्थतन्त्रमा मन्दी आउन पुग्छ । यस अवस्थामा उच्च बेरोजगारी, गिर्दो जीवनस्तर, सार्वजनिक वित्तको कमजोर अवस्था, बढ्दो ऋण र सम्पत्तिको मूल्यमा तीव्र गिरावटका लक्षणहरू देखिन सक्छन् । विश्व अर्थतन्त्रमा यस्ता संकटहरू निश्चित दशकका अन्तरालमा देखिँदै आएका हुन् । केही ठूला आर्थिक संकट भने लामो अवधिपछि देखिँदै आएका छन् । 

प्रश्न उठ्न सक्छ, के कारणले आर्थिक संकट निम्तिन्छ ? यसका कारण यी वा यतिमात्र हुन् भन्न सकिँदैन । इतिहासका कालखण्डमा कमजोर शासकीय क्षमता, बजार असफलता र यसका विकृति, रोजगरीमा आउने अस्वाभाविक परिवर्तन, जनस्वास्थ्य महामारी, सामाजिक बिग्रह र द्वन्द्व, युद्ध, क्षेत्रीय तनाव, पूँजी बजारको अतिसक्रियताजस्ता कारणले विश्वअर्थतन्त्रले आर्थिक संकट व्यहोर्दै आएको छ । अर्थतन्त्रहरूबीच अन्तरआबद्धता बढी राष्ट्रिय अर्थतन्त्र विश्व अर्थतन्त्रको अभिन्न भाग बनेकाले आर्थिक संकटको प्रभाव र फैलावट पछिल्ला घटनामा बढी हुँदै गएको छ । 


Advertisement

इतिहासमा व्योहोरोरिएका केही आर्थिक संकटलाई उल्लेख गर्दा सन् १९३० को महान मन्दी अग्रभागमा आउँछ । स्टक बजारमा आएको उच्च गिरावट (जसलाई ‘ब्ल्याक ट्युज्डे’ भनिन्छ) को विस्तारकारी प्रभाव पर्न गै रोजगारीमा पच्चिस प्रतिशत, वैदेशिक व्यापारमा पचास प्रतिशत र आर्थिक उत्पादन पन्ध्र प्रतिशत झर्न गयो । अर्थतन्त्रहरू यसरी थाङ्थिलो भयो की कतिपय अर्थतन्त्र तङ्ग्रिन दोस्रो विश्वयुद्धसम्म संघर्ष गर्दै थिए, तर अर्को महासंकट दोस्रो विश्व युद्धमा विश्व नै होमियो । ठूलो धनजनको क्षति भयो, पूर्वाधार र आर्थिक संरचनाहरू ध्वस्त भए, उत्पादन एवं आपूर्ति प्रणाली छिन्नभिन्न भयो, बेरोजगारी ह्वात्त बढ्न गयो र समाजमा आर्थिक असुरक्षाको भावना फैलियो । युद्धको मानवीय लागत पनि निकै धेरै देखियो । युद्धबाट क्षतविक्षत अर्थतन्त्रको पुननिर्माणका लागि मार्शल प्लानमार्फत संयुक्तराज्य अमेरिकाले कार्ययोजना ल्यायो, संयुक्त राष्ट्रसंघले ‘डेभलपमेन्ट विन्ड्यो’ खोल्यो, पुननिर्माणका लागि अन्तराष्ट्रिय वैंक (आइवीआरडी)/विश्व वैंक, मुद्रा कोष लगायतका विश्व संस्थाहरू सक्रिय भए । यसपछि विकासमा विश्व साझेदारीका मुद्दाले अन्तर्राष्ट्रिय कार्यसूची पाउँदै गए । अमेरिकाजस्तै शोभियत संघ पनि विश्व आर्थिक शक्तिका रूपमा उदाउन पुग्यो । तर बढ्दो शीतयुद्धका कारण दुई ध्रुवमा विभाजित विश्व व्यवस्थामा बेलावखत आर्थिक धक्का लागि नै रह्यो । यो क्रम नब्बेको दशकमा शोभियत संघको विघटन र बर्लिनको पर्खाल नढलेसम्म जारी रह्यो । 

सत्तरीको दशकको तेल संकटले अर्को आर्थिक संकटको सामना विश्व समुदायले गर्नुुपर्‍यो । १९७३ मा तेल निर्यातक देशहरूको संगठन ओपेकले इजिप्ट र सिरियाको दबाबमा क्यानाडा, अमेरिका लगायतका पश्चिमी शक्ति (जसले इजरायललाई समर्थन गर्दथे) लाई तेल प्रतिबन्ध लगायो । यसले एकातर्फ तेल उत्पादनमा नै कमी भै तेलमा आधारित अर्थतन्त्रका मुलुकहरू आर्थिक सङ्कुचनमा परे, अर्कोतर्फ अमेरिका लगायत प्रमुख औद्योगिक अर्थतन्त्रले तेलको अभावमा आर्थिक गतिविधि कटौती गर्न बाध्य भए । परिणाम विश्वमन्दीको स्थितिमा पुग्यो । उच्च बेरोजगारी, न्यून उत्पादन र उच्च मूल्यको मार विश्वभरि पर्न गयो । 


Advertisement

सन् २००८–०९ मा विश्वले अर्को आर्थिक संकट सामना गर्नुपर्‍यो, जुन वित्तीय संस्थाको कमजोर सुशासनको कारण थियो । कमजोर धितोका कारण जोखिममा परेका अमेरिकी बैंक तथा वित्तीय संस्थाहरू धरासायी भै त्यसको असर विश्वका प्रमुख पूँजी बजारहरू (जापान, चीन, हङकङ् आदि) हँुदै युरोपमा समेत पर्न गयो । यसबाट बेरोजगारी व्यापक बढ्न गयो, उत्पादन स्वात्तै घट्न गयो र पूँजी प्रवाह प्रतिकूल भयो । २०१० मा डड फ्र्याङ्क वालस्ट्रिट सुधार योजना र उपभोक्ता संरक्षण कानूनमार्फत अमेरिकाले वित्तीय संकट समाधान गर्ने रणनीति ल्यायो, जसलाई विश्वव्यापी तरलता संयन्त्र ‘वासेल–३ स्टाण्र्डड’ ले सघाउन पुग्यो । एसियाका साना अर्थतन्त्रहरू स्थानीय आर्थिक संरचना निर्माणमार्फत बाह्य वित्तीय झट्का सहन गर्ने क्षमता ‘सक एब्जर्विङ् क्यापासिटी’ निर्माणमा लागे । 

संक्रमणलाई परास्त गरेपछि पनि आर्थिक–सामाजिक पुनःनिर्माणको साझा दायित्व सहकार्यबाट नै सम्भव गरिनु पर्दछ । त्यसपछि पनि यस शताब्दीका अरू साझा दायित्वहरू छन्, जस्तो ‘डिजिटल डिक्टेटरसीप’ ले विश्व अर्थतन्त्रलाई क्याप्चर गर्दैछ । कृत्रिम बौद्धिकताले विवेक र बौद्धिकतामाथि धावा बोल्दैछ । जलवायु परिवर्तन आममानव जातिमात्र होइन, अन्य प्रजातिका लागि मौन संकटका रूपमा भित्रिँदैछ ।

भरखरै बिदा भएको २०१९ को आर्थिक परिसूचक हेर्दा विश्व आर्थिक संकटतर्फ कत्ति पनि अभिमुख थिएन । बेरोजगारीका दर घट्दै थिए, अन्तर्राष्ट्रिय मूल्य स्थिति पनि सुध्रिँदै थियो । तेलको मूल्य घट्दै थियो । संसारकै ठूलो अमेरिकी अर्थतन्त्रमा साम सूचक ‘०’ मा थियो । चीन, भारतजस्ता उदीयमान अर्थतन्त्रहरू विश्व अर्थमानचित्रमा आफ्नो दह्रिलो उपस्थितिका लागि आपसी सहकार्य सहितको प्रतिस्पर्धा रणनीतिमार्फत एक्काइसौं शताब्दीलाई एसियाको शताब्दी बनाउन तल्लीन थिए । चीन विश्वको पहिलो र भारत तेस्रो अर्थतन्त्र बन्ने अभियानमा सफलताका नजिकै पुगिसकेका थिए । उत्पादन, बजार विस्तार, प्रविधि ग्रहण, रोजगारी र अरू अर्थतन्त्रसँगको आबद्धता एवं सहकार्यको स्तरले एसियाली शताब्दी र उदीयमान दुवै अर्थतन्त्रको अपेक्षा करीब पूरा हुँदै थिए । विश्व वैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष, एसियाली विकास बैंक लगायत अन्य क्षेत्रीय आर्थिक संगठन र अनुसन्धाताहरू आर्थिक वृद्धि र विकास प्रवृत्तिलाई सहज अनुमान गरिरहेका थिए । केबल एकै चिन्ता थियो– विश्वव्यापी मौन संकटका रूपमा देखिएको साझा चुनौती जलवायु परिवर्तनलाई थेग्ने र अनुकूलित हुने (क्लाइमेट रिजिलिएन्ट) अर्थतन्त्रको निर्माण कसरी गर्ने ?

तर २०१९ को पछिल्ला दिन शुभ रहेनन् । चीनको औद्योगिक शहर वुहानमा देखिएको कोभिड–१९ को संक्रमण एसिया, युरोप र अमेरिका हुँदै विश्वका सबै मुलुकहरूलाई भयभित बनाइसकेको छ । ठूलो जनआवादी भएका मुलुकहरू, जसको विश्व अर्थतन्त्रमा पनि उल्लेख्य हिस्सा छ, लकडाउनको स्थितिमा छन् । शहर, बजार, उत्पादन केन्द्र निःशब्द हुन थालेका छन् । मानवीय सुरक्षा र दैनिकी निकै अकल्पनीय रूपमा दयनीय बनेको छ । समृद्धि र नवसिर्जनामा प्रतिस्पर्धा गर्नुपर्ने समाज कसरी मानव जीवनको सुरक्षा गर्ने भन्ने साहराको खोजीमा टुहुरो बनेको छ । चाहेर पनि महासंकटमा आफन्तलाई सहयोग गर्न सकिएको छैन । मानवीय संवेदनामा आँसु समेत झार्न नसक्नेगरी मानवतामाथि एकसाथ अदृश्य आक्रमण भएको छ । विज्ञान, प्रगति र आविस्कार एकसाथ अपर्याप्त भएको छ । 

कोभिड–१९ को पहिलो असर जनस्वाथ्यमा देखिए पनि यसले आर्थिक, सामाजिक सबै आयामलाई एकसाथ प्रभाव पार्ने निश्चित छ । मुलुकहरू अहिले संक्रमणविरुद्ध साझा रूपमा लडिरहेका छन्, यसको आर्थिक प्रभावको अनुमान गर्न सकिने अवस्था पनि छैन । प्रभावहरू देख्य र अदेख्य हुन्छन्, प्रत्यक्ष र अप्रत्यक्ष पनि हुन्छन् । ब्रिज वाटरको अनुमानमा अमेरिकी आम्दानीमा ४ खर्ब डलरले र अन्तर्राष्ट्रिय व्यापारमा १२ अर्ब डलरले कमी आउने छ । युरोप, एसिया, अष्ट्रेलिया र अफ्रिकन मुलुहरूको यस्तो अध्ययन नभएपनि स्वाभाविक अनुमान गर्नसकिन्छ । यस महामारीको संक्रमणले आर्थिक संरचना, उत्पादन सम्बन्ध, आपूर्ति श्रृंखला र पूँजी गतिशीलतालाई क्षतविक्षत् गर्ने सम्भावना छ । यसको प्रभाव उत्पादन, बेरोजगारी र मूल्यवृद्धिमा देखिने छ । सबैभन्दा ठूलो प्रभाव मानव पूँजी, सामाजिक सम्बन्ध र मनोविज्ञानमा देखिँदै छ । त्यसैले कोभिड–१९ आर्थिक संकट मात्र रहेन, यो सम्पूर्ण मानव सभ्यतामाथिको संकट बन्ने सम्भावना छ । यति विस्तृत आयाममा प्रभाव पर्ने संकट मानव समुदायले यसअघि कहिल्यै सामना गर्न परेको थिएन । यसका आप्mटरसक असरहरू केही वर्षसम्म रहने छन् । 

विश्व इतिहासमा अर्थव्यवस्थामा मात्र होइन, मानव सभ्यतालाई नै चुनौती दिने थुप्रै संकट आइपरेका छन् । तर बढ्दो जनआवादी, मानव गतिशीलता र विश्वव्यापीकरणका कारण पछिल्ला चुनौती ओजनदार अनि चुनौतीप्रद देखिन थालेका छन् । यस्ता संकटको समाधानमा पनि बहुसंयन्त्र र सामूहिक प्रयत्नको खाँचो पर्ने देखिएको छ । एक्काइसौं शताब्दीमा विज्ञान र प्रविधिले गरेको विकासले पनि समाधान विधिलाई सरल बनाएको छ । यस अवस्थामा अन्यत्र लाञ्छाना लगाउने वा प्रायश्चित गर्ने होइन, साझा संकल्प, सचेतना र सक्रियता चाहिन्छ । चीनले आफू समस्याबाट माथि उठेको सन्देश दिइसक्यो, र त्यहाँको दैनिकी सामान्य बन्दैछ । कलकारखाना र व्यवसाय सञ्चालनमा आउन थालेका छन् । यसले अब छिट्टै ऊ आप्mनो समृद्धिको अभियानलाई निरन्तरता दिन सफल रहने अनुमान गर्न सकिन्छ । दक्षिण कोरिया र जापानका पनि सफलताका सिकाइहरू छन् ।

अन्य मुलुकलाई उनीहरूको अनुभव र प्रविधिको सहयोग आवश्यक छ । यो अवस्था हतास लिने होइन, संवेदनशील सक्रियता देखाउनुपर्ने समय हो । युवा दार्शनिक युभल नोह हरारीले ठीकै भने, ‘भाइरस विरुद्धको लडाईंमा मानिसले आफ्ना सीमानालाई सजग भएर नियन्त्रण गर्न आवश्यक छ तर राष्ट्र–राष्ट्रबीचको नभई भाइरस र मानवताबीचका लागि हुनुपर्छ ।’ संक्रमणलाई परास्त गरेपछि पनि आर्थिक–सामाजिक पुनःनिर्माणको साझा दायित्व सहकार्यबाट नै सम्भव गरिनु पर्दछ । त्यसपछि पनि यस शताब्दीका अरू साझा दायित्वहरू छन्, जस्तो ‘डिजिटल डिक्टेटरसीप’ ले विश्व अर्थतन्त्रलाई क्याप्चर गर्दैछ । कृत्रिम बौद्धिकताले विवेक र बौद्धिकतामाथि धावा बोल्दैछ । जलवायु परिवर्तन आममानव जातिमात्र होइन, अन्य प्रजातिका लागि मौन संकटका रूपमा भित्रिँदैछ । विकास निमानवीकृत बनेकाले मानव आकृति र समन्याय सहितको समृद्धिका लागि साझा अभियान लड्नु नै छ । यी सबै साझा संकट समाधान गर्ने विधि र संयन्त्रका लागि सहकार्य र साझा संयन्त्रको आवश्यकता छ । (mainaligopi@gmail.com)

गोपीनाथ मैनाली
गोपीनाथ मैनाली

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्