इटली र स्पेनमा स्वास्थ्य सेवामा चरम दबाब, स्वास्थ्यकर्मीहरू भन्छन्– थेग्न गाह्रो भयो

पेट्रिसिया नुनेजलाई खोकी लाग्न थालेपछि डर लाग्यो । मड्रिडको एक अस्पतालको आकस्मिक वार्डमा काम गर्ने नुनेजले रोगीहरूको सुक्खा खोकीको आवाज लामै समयदेखि सुन्दै आएकाले आफू खोक्दा डर लागेको हो । 

‘हामीहरू अस्पतालमा खोकीको आवाज सुन्दा सुन्दा हैरान भइसक्यौं । मलाई कुनै पनि बेलामा कोरोनाभाइरस लाग्न सक्थ्यो, अब लाग्यो,’ ३२ वर्षीया नर्स नुनेजले भनिन् । उनमा कोरोनाभाइरस देखिएको एक साता बितिसकेको छ । 


Advertisement

आफ्नो घरबाट भिडियो कलमा कुरा गर्दै नुनेजले आफू चाँडो निको हुन चाहेको बताइन् । निको भएर आफ्ना सहकर्मीहरूलाई पालो दिन इच्छुक रहेको उनको भनाइ छ । रोगीहरू बाक्लै गरी अस्पताल आइरहेका छन् अनि स्वस्थ चिकित्सक र नर्सहरूको संख्या चाहिँ घट्दो छ । 

‘घरमा बसेर आफ्ना नातेदारहरूलाई संक्रमण सारिएला अनि उता अस्पतालमा आफ्नो आवश्यकता खट्किएको छ भन्ने थाहा पाउँदा दिक्क लागेर आउँछ,’ उनले दी एसोसिएटेड प्रेससँग कुरा गर्दै भनिन् । 


Advertisement

कोरोनाभाइरसका कारण संसारभरिका स्वास्थ्यकर्मीहरूमाथि चरम दबाब परेको छ । तर अन्त भन्दा पनि इटली र स्पेनमा कोरोना तीव्र गतिमा फैलिएको छ । ती देशमा हप्तौंदेखि सुरक्षा उपकरण र स्वास्थ्य परीक्षणको कमी छ । 

स्पेनको सर्वसुलभ स्वास्थ्य सेवा प्रणाली राष्ट्रिय गर्वको विषय हो र यसैले गर्दा त्यहाँका नागरिकहरू लामो समय बाँच्छन् भनिन्छ तर कोरोना संक्रमणले उक्त स्वास्थ्य प्रणालीको कमीकमजोरी उजागर गरेको छ । वर्षौंदेखि स्वास्थ्य सेवामा गरिएका बजेट कटौती पनि यसको एक कारण हो । 

देशका अस्पतालहरू महाव्याधिको भारले थिचिएका छन् । मड्रिडका दुई अस्पतालका भिडियो र तस्वीरमा अक्सिजन ट्यांक जोडेका रोगीहरू भुइँमा पल्टिएको देखिन्छ । १२ दे ओक्टुब्रे विश्वविद्यालय अस्पतालमा रोगीहरू शय्या कुर्दै धेरै दिनदेखि भुइँमा पल्टिरहेका छन् । रोगीहरूलाई अर्कै ठाउँमा सारिएको अस्पतालले जनायो । 

बुधवारसम्म स्पेनमा ६५ सयजना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण भइसकेको स्वास्थ्य अधिकारीहरूले जनाएका छन् । त्यो भनेको देशमा भएका कुल संक्रमणको १३.६ प्रतिशत हो । कम्तीमा तीनजना स्वास्थ्यकर्मीको मृत्यु भइसकेको छ । 

‘हामीहरू कोल्याप्स हुन लागेका छौं,’ मड्रिडको हस्पिटल दे ला पाजमा कार्यरत नर्स लिडिया पेरेराले भनिन्, ‘हामीलाई थप स्वास्थ्यकर्मी चाहिएको छ ।’ उक्त अस्पतालमा एक हजार शय्या छन् । 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्