न्युयोर्कको अस्पतालमा नर्सहरूको बिजोग, सुरक्षा उपकरणको अभावमा फोहर फ्याँक्ने झोला भिरे

अमेरिकाको न्युयोर्कमा रहेको एक अस्पतालमा नर्सहरू गाउनको साटो फोहर फ्याँक्ने झोला लगाउन बाध्य छन् । तीमध्ये एक कर्मचारीको कोरोनाभाइरसका कारण मृत्यु भएको छ । 

किऊस केली नामक ती कर्मचारी माउन्ट सिनाइ वेस्ट अस्पतालमा मंगलवार राति बितेका थिए । उनलाई कोरोनाभाइरस पोजिटिभ पाइएर अस्पतालमा भर्ना गरेको एक हप्ता भएको द न्युयोर्क पोस्टले लेख्यो । 


Advertisement

केली माउन्ट सिनाइ वेस्टमा असिस्टेन्ट नर्सिङ म्यानेजर थिए । उक्त अस्पतालमा न्युयोर्कका अन्य अस्पताल जस्तै व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) को अभाव छ । 

एक तस्वीरमा माउन्ट सिनाइ वेस्टका तीन नर्सहरूले सुरक्षा उपकरणको साटो फोहर फ्याँक्ने कालो झोला लगाएको देखिन्छ । 


Advertisement

माउन्ट सिनाइ हेल्थ सिस्टमले एक बयान जारी गर्दै भन्यो, ‘हाम्रा एक कर्मचारीको मृत्युले हामीलाई मर्माहत बनाएको छ । हाम्रा कर्मचारी र बिरामीहरूको सुरक्षा हाम्रा लागि अत्यन्तै महत्त्वपूर्ण छ र हामीहरू सबैलाई सुरक्षित राख्न सबै किसिमका पूर्वतयारी गरिरहेका छौं ।’

‘तर यो बढ्दो संकट घट्ने देखिँदैन र यसले न्युयोर्कमा सयौं परिवारलाई ध्वस्त बनाइसकेको छ र अग्रपंक्तिमा रहेका हाम्रा स्वास्थ्यकर्मीलाई सच्चा अमेरिकी नायक बनाएको छ । आज हामीले अर्का एक नायकलाई गुमायौं जो सहानुभूतिशील सहकर्मी, साथी र स्वार्थरहित स्वास्थ्यकर्मी थिए ।’

केलीसँग काम गर्ने अन्य चार कर्मचारीलाई पनि कोरोनाभाइरस लागेको छ भने नौजना कोरोनाभाइरस रोगीहरूलाई अस्पतालको टेलिमेट्री मोनिटरिङ युनिटमा राखेर उपचार गरिएको छ ।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्