कारागारमा कोरोना त्रास : १ वर्ष कैद सजाय तोकिएका कैदी एकैदिनमा रिहा

अजय अनुरागी
अजय अनुरागी

अजय अनुरागी लोकान्तरका लागि खोज, राजनीति र समसामयिक विषयवस्तुमा कलम चलाउँछन् ।

कोरोना भाइरस संक्रमणको जोखिमका कारण १ वर्षसम्म कैद ठहर भएका कैदीलाई अदालतले धमाधम रिहा गर्न थालेको छ ।

धनुषाको धनुषाधाम नगरपालिका–९ का दिपु भनिने दिपेन्द्र यादव डाँका मुद्दामा दोषी ठहर भएर १ वर्ष कैद सजाय भुक्तानका लागि २०७६ चैत्र ११ गते महोत्तरीको जलेश्वर कारागार पुगेका थिए । 


Advertisement

अदालतको फैसलाअनुसार यादव आगामी २०७७ चैत्र ११ गते रिहा हुने थिए तर उनी जेलमा १ दिन मात्रै बसेर रिहा भएका छन् ।

जलेश्वर कारागार शाखाका जेलर मकसुदन महासेठका अनुसार प्रतिदिन ३०० रुपैयाँका दरले जरिवाना तिरेर उनी रिहा भएका छन् । धनुषा जिल्ला अदालतमा निवेदन साथ उपस्थित भएपछि अदालतले उनलाई कैद सजाय बापतको जरिवाना लिएर रिहा गर्न आदेश दिएको हो ।


Advertisement

विगतमा कैदीलाई यस्तो सुविधा थिएन तर कोरोना भाइरसको महामारीको जोखिम नियन्त्रणका लागि चैत्र ७ गते सर्वोच्च अदालतको पूर्ण बैठकबाट पूर्व तयारी तथा अपनाउनुपर्ने सावधानीका सन्दर्भमा २३ बुँदे परिपत्र जारी गरिएको थियो । त्यही परिपत्रको छैठौं बुँदामा उल्लेख छ, ‘महान्यायाधीवक्ताको कार्यालयबाट अनुरोध भइआएको र विपद्को यो विशेष परिस्थितिमा कारागारमा रहने कैदीबन्दीको भीडभाड कम गर्ने प्रयोजनार्थ मुलुकी फौजदारी कार्यसंहिता, २०७४ को दफा १५५ अनुसारको कैदबापत रकम लिई कैदबाट छोडी पाउन निवेदन परेमा रकम लिई कैदबाट छोडिदिन उपयुक्त देखिए न्यायाधीशको इजलाशबाट आवश्यक आदेश गरी छोड्न व्यवस्था गर्ने ।’

सर्वोच्चले मातहतका सबै अदालतमा परिपत्र पठाएपछि १ वर्षसम्म कैद सजाय ठहर भएका र कैद सजाय काटिरहेका कैदीबन्दी धमाधम निवेदनसहित अदालतसमक्ष उपस्थित हुन थालेका छन् । जेलर महासेठका अनुसार जलेश्वर कारागारले चैत्र ११ देखि १३ गतेसम्म ९ जना कैदीबन्दीलाई रिहाइका लागि सिफारिस गरिसकेको छ ।

यसरी नै देशका सबै जेलबाट १ वर्ष वा सोभन्दा कम सजाय भुक्तान गरिरहेका कैदीबन्दीको कैदबापत प्रतिदिन ३०० रुपैयाँ जरिवाना लिएर रिहा गर्नका लागि सिफारिसहरू सम्बन्धित अदालतसमक्ष गइरहेको कारागार व्यवस्थापन विभागका महानिर्देशक प्रदीपराज कणेलले बताए ।

‘सर्वोच्च अदालतको पूर्ण बैठक नै बसेर दैनिक कैदबापत ३०० रुपैयाँ जरिवाना लिएर इजलाशसमक्ष पेश गर्ने निर्णय भएकाले देशभरका कारगारबाट नै सिफारिस भइरहेको छ,’ महानिर्देशक कणेलले लोकान्तरसँग भने, ‘कुल कति जनाको सिफारिस भइसक्यो र कति जना कैदी रिहा भइसके भन्ने तथ्यांक आइसकेको छैन ।’

देश लक–डाउनको अवस्थामा रहेका कारण ती तथ्यांक संकलनमा अलि कठिनाइ भएको उनले बताए । काठमाडौं उपत्यकाबाट मात्र ४० जना जति कैदी रिहा भएका उनले बताए ।

कारागारमा सतर्कता

कोरोना भाइरसको संक्रमण नबढोस् भन्ने उद्देश्यले जेलमा कैद सजाय भुक्तान गरिरहेका कैदीबन्दीसँग बाह्य भेटघाटलाई पूर्णरुपमा बन्द गरिएको छ । ‘नयाँ कैदीबन्दी आए केही दिनका लागि कारगारभित्र नै छुट्टै एउटा कोठामा क्वारेन्टाइन गरेर राख्न निर्देशन दिएको छु,’ कारागार व्यवस्थापन विभागका महानिर्देशक कणेलले भने, ‘कम्तिमा १४ दिन राखेर संक्रमणको लक्षण देखा नपरे मात्र अन्य कैदीबन्दीको कोठामा पठाउने निर्णयसहित कारागारमा परिपत्र पनि गरिसकेका छौं ।’ कणेलले निर्देशन दिएपनि त्यसको पालना हुन सकेको छैन । 

जलेश्वर कारागारमा दैनिक ३ देखि ५ जनासम्म नयाँ कैदीबन्दी थपिने गरेका छन् तर उनीहरूलाई छुट्टै क्वारेन्टाइनमा राख्ने गरिएको छैन । पुराना कैदीबन्दीसँगै राख्ने गरिएको जेलर महासेठले बताए । ‘हामीसँग पहिलेदेखि नै क्षमताभन्दा ३ गुणा बढी कैदीबन्दी छन्,’ महासेठले लोकान्तरसँग भने, ‘कोठा अभावमा कैदीहरू छतमा, पाल टाँगेर भुँइमा सुतिरहेका छन् भने नयाँ कैदीबन्दीका लागि कहाँबाट छुट्टै क्वारेन्टाइन बनाउने ?’

कैदीमा जोखिमको त्रास 

नयाँ आउने कैदीबन्दीलाई पनि पुरानै कैदीबन्दीको कोठामा राख्दा साविकदेखि कैद सजाय काटिरहेका कैदीमा त्रास देखिएको छ । कारागारमा बाह्य भेटघाट पूर्ण रुपमा बन्द गरिएपनि विगतका कैदीबन्दीलाई अदालती प्रयोजनका लागि अदालतसमक्ष लैजाने र फेरि कारागारमा फर्काउने काम जारी नै रहेका कारण कैदीबन्दीमा मनोवैज्ञानिक त्रास देखिएको छ । 

देशका ७४ वटा कारागारमा फागुन मसान्तसम्म २४ हजार ६९ कैदी तथा थुनुवा छन् । जसमध्ये २२ हजार ५६४ पुरुष, १ हजार ५०५ महिला, ९१ जना आश्रित बालबालिका र १ हजार २८१ जना विदेशी नागरिक छन् । ८ वटा बालगृहमा रहेका बालबालिकाहरू समेत जोडेर २४ हजार ५ सय १२ जना कैदी छन् । त्यसमध्ये २३ हजार ४११ पुरुष, १ हजार ५२८ महिला, ९१ जना आश्रित बालबालिका र १ हजार २८१ विदेशी नागरिक रहेका कारागार व्यवस्थापन विभागका महानिर्देशक कणेलले बताए ।

जेलमा तत्काल साबुन–पानीले हात धुनका लागि पर्याप्त मात्रामा पानी तथा साबुनको ब्यबस्थापन गरिएको भएपनि मास्क, स्यानिटाइजर लगायतको व्यवस्था गर्न सकिएको छैन । पर्सनल प्रोटेक्सन इक्विपमेन्ट (पीपीई), थर्मल गन, मास्क, सेनिटाइजर, ग्लोब, टेस्टिङ किटसहित अन्य सामग्री स्थानीय तह, प्रदेश सरकार, मातहतका स्वास्थ्य संस्थासँग समन्वय गरेर उपलब्ध गराइदिनका लागि कारागार व्यवस्थापन विभागले गृह मन्त्रालयलाई चैत्र ९ गते नै पत्रमार्फत माग गरिसकेको छ तर हालसम्म कुनै पनि कारागारमा ती सामग्री पुगेका छैनन् ।

जेलमा क्वारेन्टाइन !

ललितपुरको नख्खु कारागार परिसरमा रहेको मनोपरामर्श अस्पतालमा २० शय्याको कोरोना विशेष आइसोलेसन अस्पताल बनाउने काम अन्तिम अवस्थामा रहेको कणेलले लोकान्तरलाई जानकारी दिए । त्यहीँ कारागारको महिला वार्ड भवनमा १०० शय्याको क्वारेन्टाइन बनाउने निर्णय समेत गरिएको उनी बताउँछन् ।

केन्द्रीय कारागार जगन्नाथदेवलको कारखानामा १० वटा पाल राखेर तत्काल २० जना राख्ने गरी क्वारेन्टाइन बनाइएको उनले बताए । सुनसरीको  क्षेत्रीय कारागार झुम्कास्थित १ नम्बर प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयको सहयोगमा  पाल टाँगेर क्वारेन्टाइन बनाउने काम समेत गरिएको उनले बताए ।

कैदीबन्दीलाई रासन अभाव नहोस् भन्ने उद्देश्यले सबै कारागारमा तत्काल रासन पुर्‍याउन आफूले पहल थालेको उनले बताए ।

अजय अनुरागी
अजय अनुरागी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्