विपत्तिमा पनि मानवीयता गुमाएका हामी : युरोपेलीहरूबाट सिक्नै नसकेका यी 'कल्चर' र अनुशासन

सन्तोष अधिकारी
सन्तोष अधिकारी

त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्रमा स्नातकोत्तर अधिकारी हाल डेनमार्कको डेमन्फोन्ट युनिभर्सिटीमा अध्ययरत छन् ।

बन्दाबन्दी (लकडाउन) चलिरहेको छ । चौबीसै घण्टा गुल्जार रहने शहरमा सन्नाटा छाएको छ । मान्छेहरूको शायद समान कल्पना छ होला, कहिलेसम्म यो अवस्था रहला, कसरी यो विपत्तिबाट मुक्त हुन सकिएला ? तर यो सन्नाटाको बीचमा पनि मान्छेहरूले मानवीयता भुलेका छैनन् । व्यापारीहरूले आफनो कर्तव्य बिर्सेका छैनन् । छिट्टै कमाएर धनी भन्ने निकृष्ट सोचमा कृत्रिम अभाव र कालोबजारी गरेका छैनन् ।

खुलेका सुपरमार्केट र डिपार्टमेन्टल स्टोरहरूमा सामान किन्न जानेको संख्या धेरै भएपनि निश्चित दुरी कायम गर्दै भीडभाड मच्चाएका छैनन् । घरमा दैनिक उपभोग्य सामग्री होस् या अन्य आवश्यकीय वस्तु कुनै कुरापनि अभाव भयो भनेर ग्राहक रित्तो हात फर्कनु परेको छैन । मूल्यवृद्धिको त कल्पना नै नगरौं कतिपय सुपरमार्केटले छूटलाई समेत निरन्तरता दिइराखेका छन् । न सामान खरिदमा भ्रष्टाचार भयो भनेर कोलाहाल मच्चिएको छ न कपोकल्पित भ्रमहरू सिर्जना गरेर एकअर्कालाई दोषारोपणमै यहाँका मान्छेले दिन कटाएका छन् । संकट छ तर पनि शान्त छ ।


Advertisement

बजारको चुस्त व्यवस्थापन देख्दा लाग्छ अझै केही महिना यो संकट लम्बिएपनि यहाँ कुनै हाहाकार मच्चिने छैन । अपराध र डकैती हुने छैन । अनि सर्वसाधारणको ढाड सेकिने गरी मूल्यवृद्धि त झन हुने नै छैन । यहाँ सरकारको उच्च प्रथामिकतामा छन् त दैनिक काम गर्ने मजदुर, कम आयस्तर भएका नागरिक अनि बालबालिका वृद्धवृद्धा र अशक्तहरू नै । अहिले नै यहाँका व्यापारीहरू राहत चाहियो, छूट दिनुपर्‍यो भन्दै सरकारलाई गुहार्न पुगेका छैनन् ।

बरू सरकारले गरेका आह्वान नीति नियमलाई पालना गर्दै बजारलाई चुस्त बनाउन आपूर्ति प्रभावकारी बनाउनमै सक्रिय देखिन्छन् । अर्कातर्फ कामविहीन भएका आममजदुरका निम्ति न्यूनतम खाना र बस्न चाहिने अनुदान अर्थात् सहयोगको घोषणा गरेर कार्यान्वयन थालिसकेका छन् । अहिलेसम्मको अवस्थामा अधिकांश युरोपियन मुलुकले आफ्ना देशका नागरिक र आप्रवासीका लागि भनेर संकटमा दिइने सेवा सुविधामा छुट्टै नीति पनि बनाएको छैनन्, अर्थात् समान छ । तर यथार्थता यो हो कि संकट थप गहिँरिदै गयो भने, भिन्न नीति अख्तियार नगर्ला भनिहाल्न सकिँदैन ।


Advertisement

रोगको त्रास भएपनि भोकको त्रास नहुने गरी बजारमा यस्तो व्यवस्थापन कसरी गरिराखेका छन् त यिनीहरूले ? मैले यो जान्नका लागि केही दिनअघि लिजवनस्थित कन्टिनेन्ट सुपरमार्केटको एक शाखाकी सहायक व्यवस्थापक एड्रिना बोर्गेससँग जिज्ञासा राखें– ‘सामान्य अवस्थामा भन्दा १०औं गुणा सामानको माग बढेका बेला पनि यसको विना हाहाकार कसरी सजिलै व्यवस्थापन हुन सक्यो ?’ अनि एड्रिनाले हल्का हाँसोमा चुरोटको सर्को तान्दै जवाफ फर्काइन्, ‘विभिन्न देशमा यो संकट आएपछि हामीले यस्तो माग बढ्छ भनेर तयारी गरिसकेका थियौं, अधिकांश सामानको स्टोरदेखि प्याकेजिङ र फ्रोजन आइटमको उत्पादनमा वृद्धि गरेका थियौं ।

सबै लकडाउन भएपनि औषधि र खाद्यन्नको माग त झन बढ्नेछ नि, यो त हामीले मात्र होइन विश्वले गरेको तयारी र सजगता हो ।’ फेरि उही पारामा चुरोटको धुवाँ माथि फाल्दै एड्रिनाले थपिन्, ‘बरू तिमीलाई थाहा छ, हाम्रो पूर्वनिर्धारित छूट त छँदैछ, अन्य अत्यावश्यक सामानमा केही प्रतिशत छूट दिएका छौं नि यो संकटको बेलामा । सबैले सामान किनेर खाना र राख्न सक्नुपर्‍यो नि होइन र ?’ नभन्दै सबैजसो सुपरमार्केटमा उनले भनेजस्तै अत्यावश्यक दैनिक उपभोग्य सामानको मूल्यमा केही दिन २५ देखि ६० प्रतिशतको हाराहारीमा छूट दिइएको थियो ।

उसले दिएको छूट, जिम्मेवारी र उत्तरदायित्वको उदाहरण सम्झँदै म एकाएक नोस्टाल्जिक भएँ । एक मनले वाह! यहाँको राज्यसंयन्त्र र व्यवसायी भन्दै धन्यवाद दिइरहेको थियो भने अर्को मनले आफ्नो देश र त्यहाँका व्यापारीलाई पनि सम्झिरहेको थियो । 

वास्तवमा यस्तो संकटको बेलामा आमसर्वसाधारणलाई थप संकट सिर्जना गरेर हामी नेपाली कति धनी बन्न खोज्दैछौं ? व्यवसायीहरू कति पुस्तासम्म, कसका लागि यति धेरै कमाउन मरिहत्ते गरेका छन् ? राज्यको उपस्थिति र व्यवस्थापन कहाँ छ ?

म एकाएक कल्पनामा डुबें, ‘पटुकामा २/४ सय पैसा बाँधेर तेल र चामल किन्न नजिकको बजार पुग्दा भाउ बढेको थाहै नपाई कति गरीब आमाहरू संकटको यो समयमा विगतमा जस्तै रित्तो हात फर्कन बाध्य हुनेछन् अनि फेरि आधा पेट खाएर महिनौं कटाउन विवश हुनेछन् । मेरो बजारमा संकटको बेला एड्रिनाको जस्तो सस्तोमा चामल दिने संस्कार छैन, बरू दुनियाँलाई भोकै राखेर २/४ जना पहुँचवालाहरू मोटाए पुग्छ भन्ने मान्यता राखिएको हुन्छ । ताजा नजिरका रूपमा नाकाबन्दी र भूकम्पको बेलालाई सम्झिएँ । अनि अहिले आइराखेका समाचारहरू पनि ।’

वास्तवमा यस्तो संकटको बेलामा आमसर्वसाधारणलाई थप संकट सिर्जना गरेर हामी नेपाली कति धनी बन्न खोज्दैछौं ? व्यवसायीहरू कति पुस्तासम्म, कसका लागि यति धेरै कमाउन मरिहत्ते गरेका छन् ? राज्यको उपस्थिति र व्यवस्थापन कहाँ छ ? संकटको सामनामा एकाकर हुनुभन्दा ग्यासको कालोबजारी, खाद्यन्नमा कृत्रिम अभाव, औषधिमा सिन्डिकेट, अत्यावश्यक मास्कको अभाव, यस्तै समाचार दैनिक पढिराख्दा लाग्छ हामीमा मानवीयता छ कि छैन ? 

यस्तो संकटमा पनि मास्कसँग मानवीयता बेच्ने व्यापारी भएको देशमा कहिले सुशासन र व्यावसायिक अनुशासन आउला ? अझ बिडम्वना त विश्वको मानव जगत एउटा भाइरससँग लड्न विगतका शत्रुता, तिक्तता भुल्दै मित्रवत भएर एकजुट भइरहेका बेला हाम्रा केही नेपाली भने किन आफ्नै दाजुभाइ र छिमेकीलाई एउटा ग्यासमा २ सय ठग्न, २/४ दर्जन मास्क लुकाएर राख्न, ८/१० बोरा चामलमा मूल्य बढाएर बेच्ने जस्ता निकृष्ट सोचमा समय खेर फालेका होलान् ? यो देख्दा उदेक लागेर आयो । 

साँच्चै सामान्य अवस्थामा भन्दा दशौं गुणा सामानको माग बढ्दा युरोपका व्यापारीले पनि त राज्यको नीति नियम छलेर कालोबजारी र मूल्यवृद्धि गर्न सक्थे, तर गरेनन् त । बरू अत्यावश्यक सामग्रीमा सबैको पहुँच पुगोस् भनेर मूल्यमा कटौती पो गरिएको छ त । हो यहाँबाट नै मूल्यांकन हुन्छ हाम्रो सभ्यता, संस्कार र मानवीय चेतनाको स्तर । सबैलाई एउटै बास्केटमा हालेर मूल्यांकन गर्नुपनि न्यायसंगत नहोला तर इमान्दारिताको नमूना संकलन गर्ने हो भने नगण्य मात्रमा भेटिनेछ ।

संकटमा मानवीयता नै गुमाएर सास्ती र समस्या उल्झन गराउने हाम्रा देशका व्यापारीहरूले यिनीहरूबाट कहिले सिक्लान् ? अनि अधिक लोभ लालाच र ठगीबाट कमाएको धनले मनमा कत्तिको चयन देला ? म यस्तैयस्तै सोचेर घोत्ली रहँदा एड्रिना भने चुरोटको ठुटो एस्ट्रेतिर फालेर मसँग बिदा हुँदै आफ्नो नियमित ड्युटीमा फर्किन् ।

उनले दिएका जवाफ र त्यहाँको व्यवस्थापन देख्दा म भने हाम्रो प्रवृत्तिलाई सम्झँदै एक्लै आफैंलाई धिक्कारिरहेको थिएँ । 

यत्तिकैमा मेरा पूर्वपरिचित साथी कार्लोस केही सामान बोकेर बाहिरिँदै थिए । उनले हात हल्लाउँदै ट्रेन स्टेसनसम्म सँगै जान आग्रह गरे । सामान्य सञ्चो–बिसञ्चो सोधाइपछि कोरोनाको प्रभावले गर्दा दैनिक जीवनमा परेको असरकै बारेमा कुरा केन्द्रित भयो । ‘हेर न सामान नपाइएला कि भनेर सामान खरिद गरेर राखें, झन् आज त दूध, अण्डा, ब्रेड, तेल र चामलमा छूट पो रहेछ,’ उनले ढुक्क हुँदै थपे, ‘अब त चिन्ता छैन, शुरूमा अभाव होला कि भन्ने चिन्ता लागेपनि छूट नै दिन थालेपछि समस्या आउँदैन ।’

हुन त यहाँका सरकारहरूले केही कुराको अभाव र समस्या नहुने भनेर नागरिकलाई आश्वास्त पारिसकेका छन्, तर पनि मानवीय स्वभाव हो कहिल्यै अभावको अनुभूति नगरेका कार्लोसहरू जस्तालाई शंका लागेर बढी चिन्तित हुनुलाई अस्वाभाविक मान्न नपर्ला । धेरै सामान स्टक राख्ने सोच बनाएका सर्वसाधारण पनि ढुक्क छन् । मात्र चिन्तित देखिन्छन् त कसरी कोरोनाबाट बच्न सकिन्छ भन्ने कुरामा ।

कार्लोससँगको बिदाइपछि पनि मेरो मानसपटलमा विविध प्रश्नहरू उब्जी राखे । युरोप र अमेरिकाका गल्लीहरूमा अनि कतार र कोरियाका फार्महरूमा आफ्नो र परिवारको भविष्य सोच्दै भौंतारिएका लाखौं नेपालीहरू यस्ता संकटमा देशभित्र नै सुखदुःख साटेर बस्ने दिन कहिले आउला ? अनि राज्यले केही गरेन भनेर दिनानुदिन गुनासो गर्ने हामीहरू पनि आफैं जिम्मेवार र नैतिकवानचाहिँ कहिले बन्छौं होला ?

अनि देशमा भएका सानाठूला व्यापारीले पनि मानवीयतालाई महान ठानेर यो संकटमा इमान्दार र जवाफदेही कहिले बन्लान् ? भनिन्छ संसार बदल्नु छ भने शुरूआत त आफैंबाट गर्नुपर्छ । हो परिवर्तन सरकारलाई सरापेर मात्र पनि त सम्भव छैन । पहिला हामी आफैंले पनि के गरिराखेका छौं सबैले सोच्ने कि !

यस्तै सोचमा तल्लीन भइराखेका बेला जर्मनीबाट साथी दिवाकरले फोन गरे । स्वाभाविक रूपमै पहिलो जिज्ञासा उनको र मेरो समान थियो, कोरोनाको प्रभाव कस्तो परिरहेको छ ? उनी पनि जर्मन गभरमेन्टले आमनागरिकप्रति देखाएको गाम्भीर्यता, शदासयता, बजारको चुस्त व्यवस्थापनको मुक्तकण्ठले प्रशंसा गरेर भन्दै थिए, ‘शहरमा भीडभाड छैन, सबै सजग छन् तर चाहिएका सामान बजारमा सहज उपलब्ध छ, धेरै सामान मार्केटमा छूटमा उपलब्ध छ ।’ समान नीति, समान प्रणाली अपनाएका युरोपियन युनियनका धेरै देश अहिले कोरोनाभाइरस (कोभिड– १९)को उच्च जोखिमको सामान गरिराखेका छन् ।

अहिले युरोप नै कोरोनोबाट उच्च प्रभावित महाद्वीप हो यहाँका सबै देश कुनै न कुनै मात्रामा यो संक्रमणबाट प्रभावित छन । हो यो महामारीको सामना गरिराखेका यी देशहरूमा सर्वसाधारणले नेपालमा जस्तो ग्यास नपाइएला भनेर सशंकित हुनुपर्ने अवस्था, मास्क र औषधि नपाएर जोखिम मोल्नुपर्ने बाध्यताबाट भने छटपटाउनु परेको छैन । न कि मास्क लुकाएको आरोपमा कुनै व्यापारी पक्राउ परेका छन् । मूल्य आकासियो भनेर कोही पनि ब्रेड, अण्डा र दूध नलिई घर फर्किन परेको छैन । अनि राज्यले गरेका आह्वान र दिएका सूचनालाई सक्दो पालाना गरिराखेका छन् । मतलब राज्य सबै कुरामा जिम्मेवार भएर प्रस्तुत भएको छ, भने जनता इमान्दार देखिएका छन् ।

एकजुट भएर संकटको सामना गर्नुपर्ने यो बेलामा फेरि पनि लुकाइएको मास्क बरामद गरिएको, ग्यासको कृत्रिम अभाव सिर्जना गरेर मूल्यवृद्धि गरिएको जस्ता नैतिकहीन र अमानवीय समाचारहरू पढ्न नपरोस् । आखिर जति कमाएपनि न मृत्युलाई माथ थर्न सकिन्छ, न सम्पत्तिको आडमा नै अजम्वरी बनिनेछ । बरू संकटमा देखाइने उदारता, उत्तरदायित्व र संवेदनशीलताले नै महान बनाउँछ, आत्मसन्तुष्टि दिन सक्छ ।

यी युरोपेलीहरूबाट अरू धेरै सिक्न नसकेपनि यस्ता संकटको घडीमा मानवीयता, नैतिकता र जम्मेवारी के रहेछ भन्ने कुरा सर्वसाधारणदेखि व्यवसायी सबैले सिक्ने कि ! सामाजिक दुरी कायम राख्नका लागि अभिवादनका रूपमा नमस्कार गर्ने हाम्रो कल्चर पश्चिामाहरूले सिकेकोमा गर्व गर्ने हामी नेपालीले पश्चिमीहरूसँग त्यो मानवीयता कहिल्यै सिक्न सकेनौं । यस विषयमा गम्भीर बनेर सोच्नै पर्ने भएको छ । 

अन्त्यमा एउटा अनुरोध, महाविपत्तिको यो बेलामा थोरै भएपनि मान्छे नै बन्न सिकौं, मास्कसँग मानवीयता नबेचौं । 
 

सन्तोष अधिकारी
सन्तोष अधिकारी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्