विपन्‍नमाथि नै बढी मार

दाङको बंगलाचुली गाउँपालिका, बचनीका ऋषिराम विश्वकर्मा उत्तरप्रदेशको सराबस्तीस्थित होटलमा सेफको काम गर्थे । उनको नोकरीले सात जनाको परिवार पालिएको थियो । कोरोना भाइरसको त्रासले भारतले विदेशी उडान बन्द गरेपछि पर्यटक आउन छाडे । होटल बन्द हुने भयो, उनी नेपाल फर्किए ।

‘अहिले होटलसमेत संकटमा परेको छ । कहिले बन्द खुल्ने, कसरी जाने केही निश्चित छैन,’ उनले भने ।
भारतबाट आउँदा उनले ७५ किलो चामल ल्याएका थिए । अहिले त्यो सकिन लागेको छ । कमाएर राखेको खर्चले डेढ महिनासम्म पुग्ने अनुमान उनले गरेका छन् । त्यसपछि के खाने भन्ने समस्या छ ।


Advertisement

‘जोखिम मोलेर काममा जाने कुरा भएन । सबैतिर यस्तै समस्या छ । के गरूँ, कता जाऊँ, कसरी परिवार पालूँ ?’ उनले भने ।

ऋषिराम जस्ता धेरै नेपाली भारतमा वर्षैभर काम गर्छन् भने अरू धेरै नेपाली वर्षका केही महिना उता गएर काम गर्छन् । अहिले कोरोना भाइरसको संक्रमण फैलँदै गर्दा उनीहरूको रोजगारीमा असर परेको छ । उनीहरू धमाधम नेपाल फर्कंदैछन् ।


Advertisement

कर्णाली प्रदेश सरकारले यही चैत १० गते भारतमा रहेका आफ्ना नागरिकलाई १० दिनभित्र घर फर्कन आह्वान गरेको थियो । प्रदेश सरकारको मन्त्रिपरिषद्ले उनीहरूको स्वास्थ्य परीक्षण गराउने र क्वारेन्टाइनमा राख्ने विचार गरेको थियो । तर नेपाल सरकारले त्यही दिन र भारत सरकारले भोलिपल्ट मानिसको आउजाउ बन्द गरेपछि प्रदेश सरकारको आह्वानअनुसार नेपाली घर फर्कन पाएनन् ।

‘धेरै मान्छे आउन पाएनन्, आएका कतिपय पनि सीमामा अलपत्र परे,’ प्रदेश सरकारकी प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले भनिन्, ‘कतिपयलाई प्रदेश सरकारले उद्धार गरेर घर पुर्‍याएको छ, कति क्वारेन्टाइनमा बसिरहेका छन् ।’

केसीका अनुसार भारतमा काम गर्न गएकामध्ये कर्णाली प्रदेशका ५० हजारदेखि १ लाख मानिस स्वदेश फर्किर्ने अपेक्षा प्रदेश सरकारले गरेको थियो । फागुनको अन्तिम सातायता सुदूरपश्चिम प्रदेशको महाकाली नदी तरेर ७५ लाख र कैलालीको गौरीफन्टा नाकाबाट एक लाख २४ हजार नेपाली नेपाल फर्किएका थिए । यी नेपाली सुदूरपश्चिमका मात्र होइनन्, अरू प्रदेशका पनि हुन् ।

प्रदेश ५ को स्वास्थ्य निर्देशनालयले नेपाल र भारतबीचका विभिन्न नाकामा स्थापना गरेका हेल्थ डेस्कको रेकर्डअनुसार चैत १५ गतेसम्ममा २ लाख नेपाली भारतबाट फर्किएको निर्देशनालयका सचिव विनोद गिरीले बताए । यिनमा प्रदेश ५ का मात्रै नभएर अरू प्रदेशका नागरिक पनि थिए ।

दाङ जिल्ला प्रशासन कार्यालयले संकलन गरेको तथ्यांकअनुसार कामका लागि विदेश गएका ३ हजार ६ सय मानिस बन्द भएका बेला दाङ फर्केका छन् । तीमध्ये भारतबाट फर्केका साढे तीन हजार जना छन् ।

घोराही उपमहानगरपालिकाका मात्रै १ हजार २ सय २५ जना भारतबाट फर्केको प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले बताए । उत्तरी पहाडी गाउँपालिका बंगलाचुलीका १ हजार १ सय ११ जना भारतबाट फर्केका छन् ।

गाउँ/नगरपालिकाले संकलन गरेको तथ्यांकअनुसार जुम्लामा पाँच हजार मानिस घर फर्केका छन् । धेरै नेपाली नेपाल–भारत सिमानामा अड्किएका छन् । अर्घाखाँचीमा झन्डै दुई हजार जना विदेशबाट फर्केका छन् । तीमध्ये ९५ प्रतिशत भारतबाट आएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । निकै जना नेपाल–भारत सिमानामा रोकिएका छन् । यस जिल्लाका निकै घरका एक जना भारतमा काम गर्ने र वर्षमा एक/दुई पटक आउजाउ गर्ने गर्छन् ।

कोरोनाको डर चाँडै हटिहाले पनि भारतमा नेपालीले पाउने रोजगारी धेरै मात्रामा घट्ने अनुमान गरिएको छ । त्यसैले नेपाल र भारतमा बन्द खुल्नेबित्तिकै अरू धेरै नेपाली घर फर्कन सक्छन् ।

भारतमा नेपालीले काम गर्न नपाउँदा नेपाललाई दुई किसिमले असर पर्छ । पहिलो, आम्दानी घट्छ । दोस्रो, खानेकुराको अभाव हुन्छ ।

आम्दानी घट्छ

नेपाल राष्ट्र बैंकका अनुसार यस आर्थिक वर्षको साउनदेखि कात्तिकसम्म चार महिनामा भारतमा काम गरिरहेका नेपालीले ४३ अर्ब १६ करोड रुपैयाँ नेपाल पठाएका थिए । गएको वर्ष भारतबाट एक खर्ब २८ अर्ब रुपैयाँ रेमिट्यान्स नेपाल आएको थियो ।

भारतमा काम गरिरहेका/गर्ने नेपालीमध्ये कोरोना भाइरसका कारण उत्पन्न परिस्थितिले आधालाई मात्र असर पार्‍यो भने पनि आउने एक वर्षमा भारतबाट नेपाल आउने ६४ अर्ब रुपैयाँ रेमिट्यान्स गुम्छ । यसको असर नेपालका सम्पन्न क्षेत्रमा अलि कम र विपन्न क्षेत्रमा अलि बढी पर्नेछ । भारतमा गएर काम गर्ने चलन नेपालका सम्पन्न क्षेत्रमा भन्दा विपन्न क्षेत्रमा बढी छ । अन्य देशमा काम गर्न जानलाई चाहिने पैसा जुटाउन नसक्नेहरू भारत जान्छन् ।

नेपालका धेरै ठाउँ रोजगारी र आम्दानीका लागि भारतमा अत्यधिक मात्रामा निर्भर छन् । उदाहरणका लागि दाङको बंगलाचुली गाउँपालिकाका ९० प्रतिशत मानिस भारतको रोजगारीमा भर परेका छन् । बालबच्चा पाल्न, पढाउन र दैनिक खर्च चलाउन उनीहरू मूल रूपमा भारतमा गर्ने काममा निर्भर रहेको गाउँपालिका अध्यक्ष भक्तबहादुर वलीले बताए । भारतको रोजगारी गुम्दा यस्ता ठाउँमा बढी असर पर्ने निश्चित छ ।

जुम्लाबाट चाहिँ कामका लागि भन्दा पनि हिउँदे र बर्खे व्यापारका लागि धेरै नेपाली भारत जान्छन् । हिउँदे व्यापारमा गएकाहरू चैतको सुरुमा घर फर्किन्छन् भने बर्खे व्यापारमा गएकाहरू दसैंमा ।

जुम्लाको हिमा गाउँपालिकाका नन्दलाल रोकाया १२ जना साथीसँग व्यापारका लागि फागुनको पहिलो साता उत्तरप्रदेशको अम्बेडकर नगर पुगेका थिए । ‘व्यापार गर्ने भनेर गएको थिएँ, बेच्ने भनेर किनेको सामान पनि त्यहीँ छाडेर घर फर्किनुपर्‍यो,’ उनले भने ।

नन्दलालसँगै फर्किएका सार्की रोकायाले १० हजार रुपैयाँ ऋण काढेर किनेका व्यापारका सामान भारतमै अलपत्र छाड्नुपरेको सुनाए । ‘अहिले के दशा लाग्यो कुन्नि, व्यापार छाडेर घर आउनुपर्‍यो,’ उनले भने ।

हिउँदे व्यापारमा जानेहरूले पनि पूरै समय व्यापार गर्न पाएनन् । तिला गाउँपालिकाका नारायण देवकोटाले १०/१२ हजार मात्र कमाएर घर फर्किएको बताए । ‘साथीहरू व्यापार गर्दै थिए, म त डरले घर फर्किइहालें,’ उनले भने, ‘अहिले त साथीहरू पनि डेरामै बसिरहेका होलान् ।’

खाद्यान्न अभाव हुन्छ

दाङको बंगलाचुली गाउँपालिकाबाट वार्षिक सरदर ३ हजार ५ सय मानिस भारत गएर काम गर्छन् । ‘तीमध्ये आधाजति ६ महिना भारत बस्छन्, बाँकी समय नेपालमै काम गर्छन् । आधा जति वर्षभरि नै भारतमा काम गर्छन् । चाडपर्वमा मात्रै घर आउँछन् ।’

वर्षैभर अथवा वर्षका केही महिना धेरै नेपाली भारत बस्दा नेपालमा खाद्यान्नको माग कम हुन्थ्यो । अब उनीहरू नेपाल बस्ने हुँदा नेपाललाई बढी खाद्यान्न चाहिन्छ ।

उदाहरणका लागि बंगलाचुली गाउँपालिकाबाट भारत जाने गरेका मानिसले कामका लागि भारत जान पाएनन् भने त्यस गाउँपालिमा थप छब्बीस सय जना मानिसलाई खानेकुरा चाहिन्छ ।

भारतमा कति नेपाली काम गरिरहेका छन् भन्ने यकिन तथ्यांक कसैसँग छैन । विभिन्न अनुमानअनुसार १० लाख जति नेपाली भारतमा वर्षैभर वा वर्षका केही महिना काम गर्छन् । तीमध्ये ६ महिना काम गर्ने ६ लाख नेपालीले भारत नगई नेपाल बस्नु पर्‍यो भने तीन लाख मानिसका लागि वर्षभर पुग्ने खाद्यान्न जोहो गर्नुपर्छ ।

‘मान्छे नेपालबाहिर हुँदा एकातिर आम्दानी हुन्थ्यो, अर्कोतिर घरको अनाज बच्थ्यो, अहिले दुवैतिर असर परेको छ,’ तिला गाउँपालिकाका अध्यक्ष रतननाथ योगीले भने । हिमा गाउँपालिकाका नन्दलाल रोकायाले भने, ‘दौडेर यता त आयौं, अब घरमा के गरेर बस्ने हो अलमल भएको छ ।’

सबैभन्दा गरिबलाई त यसको असर परिसकेको छ । ‘कतिलाई अहिले नै जीविका चलाउन कठिन भइसकेको छ । लामो समय यस्तै भए हाहाकार हुन्छ,’ बंगलाचुली गाउँपालिकाका अध्यक्ष वलीले भने ।

अहिलेसम्म बाहिर रहेका मानिस गाउँमै बस्दा खाद्यान्नले नपुग्ने दाङको बबई गाउँपालिकाका अध्यक्ष भुवनेश्वर पौडेलले बताए ।

सुर्खेतको सिम्ता गाउँपालिका, आग्रीगाउँका बुद्धिमान गन्धर्व र उनका छोरा भारतमा काम गर्थे । कोरोनाको त्रास फैलिएपछि उनीहरू दुवै जना फर्किए । ‘उता (भारत) को कमाइले पेट भरिन्थ्यो, त्यो पनि बन्द भयो,’ बुद्धिमानले भने ।

बुद्धिमानको घरमा ६ जना छन् । घरको अनाजले ३ महिना पनि पुग्दैन । ‘पेट के गरी भर्ने हो भन्ने चिन्ता थपिएको छ,’ बुद्धिमानले भने ।

सिम्ता सुर्खेतको सबैभन्दा कम उब्जनी हुने र अति विपन्न मानिस धेरै भएको गाउँपालिका हो । गाउँपालिका अध्यक्ष कवीन्द्रकुमार केसीले भने, ‘यहाँका बासिन्दा पेट पाल्नका लागि भारत नगई हुँदैन ।’


अवसर पनि हो

कृषिमा काम गर्ने प्राविधिकले भने यसलाई बेग्लै किसिमले हेरेका छन् । उनीहरू श्रम गर्ने जनशक्ति गाउँमा फर्केकाले यसलाई अवसरका रूपमा लिनुपर्छ भन्छन् । ‘बाहिर गएका मानिसलाई गाउँमै अड्याउन कृषि उपयुक्त क्षेत्र हो । यो जनशक्तिलाई कृषिमा लगाउन पाए उत्पादन बढाउन सकिन्छ,’ कृषि ज्ञान केन्द्र घोराहीका प्रमुख सन्देश धितालले भने, ‘अहिले धेरै जग्गा बाँझो छ । खेती गरेर राम्रो आम्दानी गर्न सकिन्छ ।’


आफ्नै खेतबारी हुँदा पनि रोजगारी खोज्दै भारत जाने चलनले स्थानीय उत्पादन घटेको र कृषि उपज बाहिरबाट ल्याउनुपरेको धितालको भनाइ छ । योजनाबद्ध रूपमा कृषिमा लागे राम्रो आम्दानी हुने उनले बताए । ‘सुरुमा पुँजी चाहिन्छ । कृषिमा अनुदानका कार्यक्रम धेरै छन् । स्थानीय सरकारले पनि विभिन्न अनुदानका कार्यक्रम ल्याउन सक्छन्,’ उनले भने, ‘गाउँ फर्केका मानिसबाट कृषि उत्पादन बढ्ने र खाद्यान्न आयात रोकिने सम्भावना छ । कृषिमा उद्यमी बन्ने अवसर अहिले छ । बाहिर सिकेको सीप पनि उपयोग गर्न सकिन्छ ।’


जुम्लाको कृषि ज्ञान केन्द्रका अनुसार जिल्लामा बर्सेनि २ हजार २० मेट्रिक टन खाद्यान्न पुग्दैन । तर केन्द्रका प्रमुख बालकराम देवकोटा व्यापार गर्न गएर बीचमै फर्केका मान्छे कृषिमा लागे आम्दानी बढ्न सक्ने ठान्छन् । ‘उनीहरू फर्किएपछि एकातिर खाद्यान्न खपत बढ्ने निश्चित छ भने अर्कोतिर कृषि उत्पादन पनि सुधार हुन सक्छ,’ उनले भने, ‘त्यसैले कोरोना प्रकोपलाई अवसरका रूपमा पनि लिन सकिन्छ ।’

छापाबाट
छापाबाट

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्