कोरोनाले मान्छे मरे अन्त्यष्टि कसरी गर्ने ? आफन्तले शव छुन नपाउने, किरिया गर्न पाउने

अजय अनुरागी
अजय अनुरागी

अजय अनुरागी लोकान्तरका लागि खोज, राजनीति र समसामयिक विषयवस्तुमा कलम चलाउँछन् ।

कोरोना भाइरस संक्रमणका कारण बिरामीको मृत्यु भयो भने मृतकको शव परिवार र आफन्तले पाउने छैनन् ।

कोरोना रोगले मृत्यु भएको शवलाई दाहसंस्कार त के छोएर रुन समेत पाइन्न । ६ फिट टाढाबाट नै मृतकको मुख हेरर मात्र परिवारजनले चित्त बुझाउनुपर्ने छ ।


Advertisement

कोरोना संक्रमणबाट मृत्यु भएका व्यक्तिको शव व्यवस्थापन र अन्त्यष्टि सम्बन्धमा सरकारले कार्यविधि बनाएको छ । कार्यविधि बमोजिम मृतकको शवको अन्तिम संस्कार नेपाली सेनाको टोलीले गर्नेछ ।

२ नम्बर प्रदेशको प्रादेशिक अस्पताल जनकपुरमा कोरोना भाइरसको संक्रमणले मृत्यु भए शवको व्यवस्थापन कसरी गर्ने भन्ने पूर्व अभ्यास गरिएको छ । कोरोनाबाट मृत्यु भएका बिरामीको शव परिवारलाई नबुझाएर नेपाली सेनाको टोलीले नै व्यवस्थापन गर्ने अभ्यास गरिएको छ ।


Advertisement

प्रादेशिक अस्पताल जनकपुरका निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट डा. जामुनप्रसाद सिंहका अनुसार एउटा कृत्रिम शव राखेर अभ्यास गरिएको छ । भोलि उपचारको क्रममा मृत्यु भए शव व्यवस्थापन ठूलो चुनौती बन्नसक्ने हुँदा पूर्व अभ्यास गरिएको उनी बताउँछन् । ‘अहिलेसम्म नेपालमा कोरोनाबाट संक्रमित भएका बिरामीहरूको मृत्यु त के आईसीयूमा समेत बस्नुपरेको छैन, त्यो धेरै नै सकारात्मक कुरा हो,’ डा. सिंहले लोकान्तरसँग भने, ‘सामान्य आइसोलेसन वार्डमा उपचार गराएर निको भएर घर फर्किने क्रम बढेको छ ।’

विश्वव्यापी रुपमा हेर्दा कोरोना संक्रमणका बिरामीको मृत्यु हुनसक्ने सम्भावनालाई नकार्न पनि सकिन्न । त्यस्तो अवस्थामा शवलाई कसरी व्यवस्थापन गर्ने भन्ने पूर्व अभ्यास गरिएको उनले बताए ।

कोरोना भाइरस संक्रमणको उपचारका लागि नै बनाइएको अस्पतालको आइसोलेसन वार्डभन्दा पनि गम्भीर सिकिस्त बिरामीलाई आईसीयूमा राखेर उपचार गर्नुपर्ने हुन्छ । प्रत्येक आईसीयू शय्यामा कोरोनाका बिरामीलाई भर्ना गर्नुभन्दा अघि नै शय्यामा एउटा एयर तथा वाटरप्रूफ झोला समेत बिछ्याइएको हुन्छ । आईसीयूमा भर्ना हुने बिरामी बाँच्ने वा नबाँच्ने दुवै सम्भावना हुने हुनाले बिरामीलाई राख्ने शय्यामा पहिलेदेखि नै झोला बिछ्याइएको हुन्छ ।

यदि बिरामीको मृत्यु भयो भने झोलालाई खोलेर ‘अनफोल्ड’ गरेर शवलाई त्यसमा बन्द गरेर झोलाको चेन लगाइने छ । यतिसम्मको काम अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीको टोलीले नै गर्नेछ ।

त्यसपछि शव सहितको झोलालाई स्प्रे ट्यांकबाट ‘डिसइनफेक्ट’ गरिने छ । सरसफाइको काम गरिसकेपछि आईसीयू शय्यामा लागेको भेन्टिलेटर सहितको सामानलाई समेत हटाएर ती उपकरणसहित सम्पूर्ण शय्या र कोठालाई समेत ‘डिसइनफेक्ट’ गर्ने काम गरिन्छ ।

त्यसपछि नेपाली सेनाको टोलीलाई खबर गरेर एम्बुलेन्स वा शव बाहनमा शवलाई राख्ने काम हुन्छ । मृतकको परिवारजनलाई शवको मुख समेत अस्पतालसम्म हेर्न दिइने छ ।

त्यसपछि स्थानीय प्रशासनले तोकेको स्थानमा शव व्यवस्थापन गर्नुपर्ने हुनाले शवलाई गाडीमा लगिने छ । त्यहाँ सेना तथा स्वास्थ्यकर्मी समेतको टोलीले शवको मुख हेर्न बढीमा परिवारका ४ जनासम्मलाई मात्र मुख हेर्न दिने अवसर प्रदान गर्नेछ । डा. सिंहका अनुसार त्यसरी मुख हेर्न दिँदा पनि ६ फिट टाढाबाट नै हेर्न पाइन्छ, त्यो पनि बढीमा ५ मिनेटसम्मको लागि । 

त्यसपछि धर्म अनुसार शवको संस्कार गर्ने काम परिवारले गर्न पाउँदैनन्, त्यो सबै काम नेपाली सेनाले नै गर्छ । हिन्दू भए दाहसंस्कार गर्ने वा मुस्लिम, इसाई वा अन्य धर्मको भए त्यहीँ धर्म अनुसार गाड्ने काम वा अन्य काम नेपाली सेनाले नै गर्नेछ । शव व्यवस्थापन गर्ने काम भइसकेपछि सेना सहितको टोली फर्किएपछि गाडीसहित सम्पूर्ण टीमलाई पूर्ण रूपमा फेरि डिसइनफेक्ट गर्ने काम हुनेछ । शव व्यवस्थापनका लागि प्रयोग गरिएको गाडी केही दिन अन्य प्रयोगमा समेत ल्याइने छैन ।

आर्यघाटमा अन्त्यष्टिका काममा आफन्तले प्रत्यक्ष सहभागी हुन नपाएपनि घरमा आएर किरिया भने गर्न पाइने डा. सिंहले लोकान्तरलाई बताए । ‘संक्रमणमुक्त भएको सुनिश्चित भए आफन्तलाई मृतकको अस्तु दिइने छ, नत्र अस्तु समेत नष्ट गरिने छ,’ सिंहले भने, ‘यसबारेमा छलफल भइरहेको छ ।’ शव जलाउने चिताबाट टाढा रहेर सीमित व्यक्ति सहभागी भई आर्यघाटका संस्कारका काम समेत गर्न पाइने उनले बताए ।

अजय अनुरागी
अजय अनुरागी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्